शोखका लागि चित्रकला कोर्ने गरेकी छेतेन डोका शेर्पाले अन्तर्राष्ट्रिय पुरस्कार हात पार्न सफल भएकी छिन् । पुरस्कार जितेर उनले नेपाली बालबालिका पनि चित्रकलामा निकै दक्ष र उत्कृष्ट छन् भन्ने सन्देश विश्वभरि दिन सफल भएकी छिन् ।
संयुक्त राष्ट्रसङ्घीय-बसोबास (यूएन-हृयाभिट्याट)को जापानको फुकुओकास्थित एसिया-प्रशान्त क्षेत्रीय कार्यालयले १० औँ विश्व बसोबास दिवसको अवसरमा ‘समुन्नत सहर, समुन्नत जीवन’ अर्थात् बेटर सिटी, बेटर लाइफ शीर्षकमा चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो ।
प्रतियोगितामा नेपालका छ विद्यालयका ६५ विद्यार्थी पनि सहभागी भएका थिए । एसिया तथा प्रशान्त क्षेत्रका १० देशका ८८५ बालबालिका प्रतियोगितामा सहभागी भएका थिए । रुसको सुदूरपूर्वका बालबालिका पनि प्रतियोगितामा सहभागी थिए । उनीहरूमध्ये १२ विद्यार्थीर्र् छ वटा विधामा पुरस्कृत भएका थिए । प्रतियोगितामा छेतेनले ‘चिल्ड्रेन्स फ्युचर अवार्ड’ प्राप्त गर्न सफल भइन् । प्रतियोगितामा चीनका बाल चित्रकारले स्वर्ण, भारतका बाल चित्रकारले रजत, चीनका अर्का बाल चित्रकारले काँस्य पदक पाएका थिए ।
सोलुखुम्बुको बेनी गाउँ विकास समिति-४ की छेतेन अहिले काठमाडौँको कपनमा रहेको ड्याफोडिल पब्लिक स्कुलमा कक्षा ६ मा पढ्छिन् ।
उनका चित्रकला विषयका शिक्षक रोशन प्रधानले ‘बेटर सिटी, बेटर लाइफ’ शीर्षकमा चित्रकला बनाउन भने । छेतेनसहित सो स्कुलका अन्य १० जना बालबालिकाले पनि चित्रकला तयार पारेर शिक्षक प्रधानलाई दिएका थिए । शिक्षक प्रधानले ती चित्रकलालाई जापान पठाइदिए । अन्य नेपाली बालबालिकाले तयार पारेका चित्रकला पनि जापानको फुकुओकामा पठाइए । छनोटकर्ताले छेतेनलाई चिल्ड्रेन्स फ्युचर अवार्डबाट पुरस्कृत गर्ने निर्णय गरे ।
छेतेन पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको चित्रकला प्रतियोगितामा सहभागी भएकी हुन् । पहिलो पटक नै अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाएको खबर सुने पछि छेतेन निकै खुसी भइन् । उनी भन्छिन्, ‘निकै मिहिनेत गरेर चित्रकला तयार पारेको थिए । पुरस्कृत भए । निकै खुसी लाग्यो । मैले पुरस्कार पाएको कुरा अमेरिकामा हुनुभएको बुबाआमालाई पनि भनेँ- उहाँले पनि खुसी हुँदै ‘स्याबासी दिनुभयो ।’
छेतेन अहिले १३ वर्षकी छिन् । उनले समुन्नत सहर, समुन्नत जीवन भन्ने शीर्षकमा कस्तो चित्र बनाउँदा ठीक होला भन्ने खुबै सोचिन् । उनका शिक्षकले यस्तो बनाउन भनेका थिएनन् । छेतेनले नै कल्पना गरी चित्रकला तयार गरिन् । हिमाल, पहाड, घर, खेलमैदान, खोलानाला, मन्दिर, गुम्बा, कृषि आदि कुरालाई चित्रमा देखाइन् । उनले वातावरण सुरक्षित राख्दै सहरीकरण गरिनुपर्ने र त्यसबाट मानिसको जीवन समुन्नत हुने बताइन् ।
‘मानिस पृथ्वीमा खुसी रहनुपर्दछ । कृषिको विकास हुनुपर्दछ । बच्चा खुसी भएर स्कुल जान पाउनुपर्दछ भन्ने सोचेर मैले चित्रकला बनाएको थिए “उनले भनिन् । २०६७ फागुन २० गते काठमाडौँको पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घको भवनभित्र रहेको राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)मा आयोजित विशेष कार्यक्रमकाबीच उनले आफूले जितेको पुरस्कार प्राप्त गरिन् । उनलाई युनिसेफका नेपालस्थित प्रतिनिधि जिलियन म्यालसपले पुरस्कार र प्रमाणपत्र दिइन् ।
छेतेनले बनाएको चित्रकलालाई यूएन-हृयाविट्याटले सन् २०११ को क्यालेन्डरमा समेत राखेको छ । त्यहाँ छापिएको क्यालेन्डर विश्वभरि नै पुर्याइन्छ । छेतेनले बनाएको चित्रकला विश्वभरिका मानिसले हेर्न पाउनेछन् । उनको चित्र फेब्रुअरी महिनामा राखिएको छ । क्यालेन्डरमा अन्य उत्कृष्ट विद्यार्थीले तयार पारेका चित्रकला पनि राखिएका छन् ।
छेतेनले खेल्न मन नलागेका बेला वा फुर्सदका बेलामा चित्रकला बनाउन मन लाग्ने गरेको बताइन् । सानो हुँदादेखि नै उनी चित्रकलाप्रति आकषिर्त भएकी थिइन् । आफ्ना दाइ, काका आदिको पनि उनले दुरुस्त चित्र बनाएकी छिन् । उनले शेर्पा युथ क्लबले आयोजना गरेको चित्रकला प्रतियोगितामा सहभागीका रूपमा प्रमाणपत्र पाएकी छिन् ।
उनका बाबु आङगेलु शेर्पा र आमा कान्छीमाया शेर्पा अमेरिकामा हुनुहुन्छ । बाबु आमासित भेट नभएको करिव १० वर्ष भइसकेको छ । टेलिफोनमा बाबुआमासित कुराकानी हुन्छ । दुई, तीन वर्षपछि बाबुआमा नेपाल आउँदै हुनुहुन्छ । ठूलो भएपछि चिकित्सक बन्ने चाहना छेतेनको छ । बाबुआमाले टेलिफोनमा कुराकानी गर्दा डाक्टर बन्नुपर्दछ भन्नुहुन्छ । उनले भनिन्, ‘ठूलो भएपछि मानव सेवा गर्ने विचार छ । त्यसैले डाक्टर बन्छु ।’
मुना २०६८ बैशाख
