हरिश र विपिन छिमेकी थिए । उनीहरू एउटै विद्यालयमा एउटै कक्षामा पढ्ने गर्दथे । हरिश मिहिनेती, जेहेन्दार र शान्त स्वभावको थियो तर विपिन भने गफ गर्ने, धाक धक्कु लगाउने घमण्डी स्वभावको थियो । हरिशका बाबु एउटा साधारण जागिरदार तर इमान्दार व्यक्ति थिए । त्यसैले हरिशको परिवारमा धनलाई भन्दा इज्जत र प्रतिष्ठालाई मर्यादा गर्ने संस्कार थियो ।
हरिशको बाबु सँधै उनलाई भन्ने गर्नुहुन्थ्यो ‘तिमीले जे काम गरे पनि, ध्यान दिएर लगनशील भई इमान्दारीपूर्वक गर्नु । कक्षामा पढाएको कुरा धैर्यपूर्वक सुन्नु र बुझ्ने प्रयास गर्नु, नबुझेको कुरा त्यसैबेला शिक्षकलाई सोधिहाल्नु । केवल घोकेर, अरूको सारेर, चिट चोरेर जाँचमा बढी अङ्क ल्याउँदैमा ठूलो भइन्न ।
तर, विपिनको बाबुको, सोच, काम र व्यवहार भने ठीक त्यसको विपरीत थियो । उहाँको खास कुनै पेसा र काम थिएन । जुन बेलामा जे भेटायो त्यही गर्ने, कहिले व्यापार गर्ने अनि कहिले अरूलाई ठग्ने, झुटो बाल्ने, झुक्याउने र फसाउने । पैसालाई नै सबैभन्दा ठूलो प्रतिष्ठा, मर्यादा र इज्जतको स्रोत ठान्ने । आफूले धेरै नपढेका हुँदा पढे लेखेको विद्वान र बुद्धिमान व्यक्तिहरूको मर्यादा नै नराखी जथाभावी बोल्ने र अनावश्यक फुर्तिफार्ति झिक्ने । विपिनका बाबु छोरालाई भन्ने गर्नु हुन्थ्यो ‘बुझ्यौ छोरा ! तिमीले जसरी भए पनि राम्रो नम्बर ल्याएर जाँच पास गर्नु पर्छ, सर्टिफिकेट भएपछि तिमीले जानेको छ कि छैन भनेर कसले भन्छ र ?
हरिश र विपिन दुवैले बाबुको आज्ञा पालन गर्दै गए । हरिश कक्षामा पढाएको बेला ध्यान दिएर सुन्ने । नबुझेको कुरा उठेर सोध्ने । शिक्षकले सोधेको प्रश्नको सही उत्तर दिने । अनावश्यक प्रश्नहरू नसोध्ने । तर, विपिन भने ठीक त्यसको उल्टो, कक्षामा पढाइको बेलामा ध्यान नदिने । शिक्षकले सोधेको प्रश्नको सही उत्तर नदिने । आफू पनि हल्ला गर्ने र अरू साथीभाइहरूलाई पनि हल्ला गर्न उक्साउने गर्दथ्यो । त्यसैले ऊ विद्यालयको अनुसासनहीन विद्यार्थीमा गनिन्थ्यो । शिक्षकले दिएको गृहकार्य विपिन आफैँले पढेर र गरेर समयमा बुझाउँथ्यो । विपिन भने साथीको कापीबाट सारेर ढिलो बुझाउँथ्यो । परीक्षामा हरिश मिहिनेत गरेर लेख्दथ्यो तर, विपिन भने रातभर चिट बनाएर बस्दथ्यो ।
परीक्षाको नतिजामा हरिशभन्दा विपिनकै नम्बर बढी आउँथ्यो । विपिनको बाबुआमा छोराको मार्कसिट बोकेर हरिशको बाबुआमा तथा अन्य छिमेकहरूलाई देखाउँदै आफ्नो छोराको प्रशंसा गर्ने र विपिनलाई होच्याउने गर्दथे । यस्तो देखेर कहिलेकाहीँ हरिश निरास र खिन्न पनि हुने गर्दथ्यो । तर, यस्तो अवस्थामा विपिनका बाबुआमा उसलाई सम्झाई बुझाई धैर्यपूर्वक अध्ययन जारी राख्न सल्लाह दिने गर्दथे ।
विपिन र हरिशले विद्यालय शिक्षा पार गरे, उच्च शिक्षा अध्ययनमा पनि ती दुवैसँगै भए । उनीहरूको स्वभाव पनि आ-आफ्नै प्रकारले विकास हुँदै गयो । एक पटकको परीक्षामा विपिनको चिट समातियो र उसलाई परीक्षाबाट बाहिर निकालियो । परीक्षाफल प्रकाशित हुँदा विपिन फेल भयो, हरिश सबै विषयमा राम्रो अङ्क ल्याएर उत्तीर्ण भयो । अर्को पटकको परीक्षामा विपिनले फेरि चिट चोर्ने मौका पायो र उत्तीर्ण भयो ।
हरिश र विपिनले एम.ए.सम्म पास गरे । अब दुवै जना जागिरको खोजीमा लागे । एउटा ठूलो कार्यालयमा कर्मचारी मागियो दुवैले दरखास्त हाले । परीक्षामा हरिश उत्तीर्ण भयो तर, विपिन भने फेल भयो । हरिशको योग्यता ज्ञान, सीप, लगन र इमान्दारीको कारणले काममा पनि दक्षता हासिल गर्दै गयो र छिटो छिटो पदोन्नती पनि हुँदै जान थाल्यो । विपिनले केवल त्यही योग्यताको प्रमाणपत्रको भरमा अन्य धेरै कार्यालयहरूमा जगिरको लागि प्रयास गर्यो । तर ज्ञान, शिप, लगनशील र ईमान्दारीको अभावको कारणले उसले कहीँ पनि जागिर पाउन सकेन । अहिले हरिश एउटा ठूलो हाकिम भइसकेको छ । छरछिमेक र चिने जानेको मान्छेहरूले देख्दा श्रद्धापूर्वक नमस्कार गर्छन् । विपिन भने हिजो आज हल्लीएर हिँड्ने, जुवातास पनि खेल्ने, मौका पाए अरूलाई ठगठाग गरेर पैसा कमाउने गर्दछ । भलादमी सज्जन मान्छेहरू सकेसम्म उसँग टाढै रहन्छन् । त्यसैले, हिजोआज विपिन हरिशसँग टाढै रहने गर्दछ ।
मुना २०६८ बैशाख
