मेरो देश…
तिम्रो छातीमाथि टेकिएका मेरो पाइलाहरू,
तिमीमाथि अन्जानमा गरेका कुकर्महरू,
आज मेरो निम्ति चुनौती बनेको छ !
तिम्रो अपार मायामा,
तिम्रै काखमा लाटपटिएका थियौ ..
तिम्रो शिरमाथि चढेर मेलापात उकाली ओराली गर्यौ,
कयौ खने होला खाडल पनि तिम्रो अंग-अंगमा…
घाँस दाउरा, स्याउला सोतोरको त कुरा छाडौं,
लगाउने गर्थे कयौं पटक डढेलो समेत..
तर तिमी चुपचाप सहिरह्यौ ..
मातृत्वको माया ममत्तामा लुटपुटाएर हुर्कायो ..
बाँच्ने योग्य बनायो
तर अफसोच !
ती तिम्रा माया र ममतालाई मैले बुझ्न नसक्दा …र ..
तिम्रो ऋण तिर्न नजान्दा अतृप्त भई,
अपूर्ण रुपमा बाँच्दैछु …
मलाई थाहा छ,
हिजो तिमी थियौ र म थिएँ,
आज पनि तिमी छौ र त म नि छु .
त्यसैले मैले आतिइहाल्नु पर्ने कारण देख्दिन ..
त्यसो भन्दैमा चुपचाप बस्ने समयपनि होइन यो .
किनकि,
तिखार्नुछ मैले पाखुराहरू
देशको ऋण “तिर्नु” छ ।
खनेका ती अनगिन्ती खाडलहरू
मेहनत गरी “पुर्नु” छ …।
बनाउनु छ हराभरा खेलेर त्यही माटोमा।
हिडाउनुछ सबैलाई सु-बाटोमा ।
…हो अब खुलेका छन् मेरो आँखाहरू,
देख्दिन कुनै संसार तिम्रो काख जस्तो,
पाउँदिन कतै तिम्रो माया जस्तो ..
किनकि तिम्रो काख,
तिम्रो माया ममत्ता निस्वार्थ थियो,
पाइन्छ पाइन त कयौं माया र काखहरू
भुलाएर पलभर लुट्न चाहने लाखहरू …
अत: म लुटिएको छु,
मलाई भुलिएको छ..
तर मैले तिम्रो माया चिनेको छु
र आफ्नो कर्तब्य बुझेको छु ..
त्यसैले त म भन्दैछु
यी, मेरो आँशुको कसम,
यो मेरो पसिनाको कसम,
एक चिम्टी माटो खाएर भए नि
तिम्रो काखमा गर्ने छु,
तिम्रै काखमा मर्नेछु ।
राजेश रुम्बा लामा “अतृप्त”
१०-०५-२०११
