Skip to content


जैतुनको हाँगो टेकेर
बिरह बोल्ने ढुकुर जोडी कुर्लन थाले
भू-मध्य सागरको बैँशालु हावा
तन मन छोएर बहन थाले
फेरि बाटैभरि निला शिरिष झुल्न थाले,
हरेक पटकको ओहोर-दोहोरमा
टक्क उभिन्छु र अनुहार थापेर नियालिरहन्छु,

झर्दै गरेको एक झुप्पाले मिठो थप्पड गालामा हान्दा
आँखाबाट बिछोडका पीडा यसरी ओइरिदिन्छन् ..
बितेका हर-एक कहाली लाग्दो एकाँकी पल
सोहोरेर आँखामा ल्याइदिन्छ यो निलो शिरिषले
म उँभो हेरिरहन्छु एक डालो निलो झुप्पा,

ओहो! कति पटक यी पोथ्रा यसरी नै निलाम्य भए
शिरिष फुले झरे फुले झरे,
हरेक पटकको यो निलो शिरिषले
मलाई ‘तिमी’ सम्झाउँछ
तिमीसँगको बिछोड सम्झाउँछ
हामी बिचको दुरी सम्झाउँछ
यो चौथो वसन्त पर भागेछ
मेरो हृदयको शिरिष ‘तिमी’
यो आँखाको सामुन्ने नफुलेको नझुलेको !

यो ताजा निलो शिरिष च्वाक्क म्वाइ खाएर
उँभै हिमालतिर फर्केर एक झोंका श्वास फ्याँकेको छु
कतै तिमीसम्म पुगोस यो सुवास
यो शिरिषदेखि त्यो शिरिषसम्म,
मनदेखि यो, त्यो मनसम्म
यो मनदेखि त्यो मनसम्म ।

2 thoughts on “निलो शिरिष !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *