उनी अनि विधाता

  • by


“सानी, सानी” कसैले एकाबिहानै मलाई बोलाउँदै थियो । म भर्खरै बाबुलाई गृहकार्य गराउन बसेकी थिएँ । यो सम्बोधनले तान्यो मलाई र म बाहिर हेर्न बाध्य भएँ ।

बाहिर हेर्छु त बिजय पो रहेछ।

“किन बिजय ? आऊ न भित्रै, ” मैले अघि पछि झै मुसुक्क हाँसेर सोधें र भित्र आउन आग्रह गरें ।

तर बिजयमा अरु दिनमा जस्तो चञ्चलता थिएन । अनुहार र हाउभाउ हेर्दा पक्कै पनि केही गम्भिर कुरा होला भन्ने मैले लख काटें ।

त्यस्तै १४, १५ वर्षको उमेरको बिजय नजिकैको स्कुलमा कक्ष ९ म अध्ययन गर्दैथियो ।

सानो भाइ र बहिनी पनि ऊसँगै त्यही पढ्दै थियो ।

मेरो भाइ पनि त्यही स्कुलमा बिजयकै सहपाठी भएकोले होला उनीहरू घनिष्ट मित्र हुनपुगेका थिए । भाइले मलाई सानैदेखि घरमा सबैले सानी भनेर बोलाएको सुनेर दिदी नभनी सानी नै भनेर बोलाउने गर्‍थ्यो । त्यसैले होला बिजय र उसको भाइ बहिनीले पनि मलाई सानी नै भनेर सम्बोधन गर्दथे । जुन मैले सबैभन्दा बढी मन पराउने सम्बोधनमा पर्दथ्यो । यो सम्बोधनले मलाई एक किसिमको न्यानो माया एवं नजिकपनाको आभास दिलाउँथ्यो । घनिष्ट र आत्मियपनाको महशुस गराउँथ्यो ।

“आमा सिकिस्त हुन्हुन्छ। सानीलाई बोलाएर ल्याउनु भन्नुभएको छ। ” केही अत्यासिएको आवाजमा बिजयले भन्यो ।

“बिजयको आमा केही महिना देखि बिरामी थिइन् भन्ने त थाहा थियो तर अचानक आज बिहानै किन बोलाएछ ? अस्ति मात्रै म पुगेर आएको थिएँ ।” मनमनै यस्तै कुरा सोच्दै हत्तपत्त म सल भिरेर बिजयसँगै हिडें ।

बिजय बस्ने कोठा हाम्रो घरभन्दा १० मिनेटको अन्तरमा थियो। उनीहरूको पुर्ख्याउली घर सिन्धुली थियो। जातले माझी भए पनि आफ्नो पेशा चटक्कै छाडेर १० वर्ष अगाडि उनीहरू काठमाण्डौं पसेका थिए ।

बालबच्चाहरूको उचित शिक्षादिक्षा र केही आर्थिक परिवर्तनको महत्वाकांक्षाले डोर्‍याएर बिजयको बुबा सपरिवार गाउँबाट काठमाण्डौ आएका थियो ।

हरेक मानिसले झै बिजयको बुबाले पनि काठमाण्डौंमा सपना पुरा हुने आशा लिएको थियो । बाहिरबाट हेर्दा जति सजिलो थियो काठमाण्डौको बसाँई र आम्दानी त्यतीनै कष्टकर हुन्छ भन्ने बिजयको बुबालाई पनि थाहा थिएन।

आफ्नो र परिवारको भविष्यको सुनौलो र गगनचुम्बी महल ठ्ड्याउँदै काठमाण्डौं पसेको बिजयको बुबाको सपना त्यतिखेर गर्ल्यामगुर्लुम ढल्यो जतिखेर काठमाण्डौंको महङ्गीले आकाश छोयो अनि आम्दानीकाबाटाहरू साँघुरिदैँ गयो ।

पेशाको हकमा कुनै सीप नभएपछि उनीहरू हाम्रो घर नजिकैको साहुको ठुलो कम्पाउण्डभित्र जमिन को हेरचाहको लागि मासिक १५०० रुपैयाँमा पालेको रुपमा बसेको थियो।

तर त्यति रकमले घरव्यवहार धान्न मुस्किल हुनेभएकोले बिजयको बुबा ज्यामी काम गर्न जान्थ्यो । ज्यामी कामबाट भएको आम्दानीको आधि हिस्सा मदिरा सेवनमै खर्च हुने हुदाँ आम्दानी बचत गर्न सकेनन् फलत: बिजयको आमा हाम्रै गाउँघरतिर मेलापात भर्न आउनेगर्दथि ।

असारको छिपछिपे हिलोमा होस्स या मंसिरको सिरेटोमा डल्ला फोर्न होस हरहमेसा सुरिलो भाकामा झ्याउरे गीत गुनगुनाउने बिजयको आमालाई हामी मझिनी भनेर बोलाउने गर्दथ्यौ ।

उनी त्यस्तै ३३, ३४ वर्षकी होलिन् भन्ने मैले अनुमान लगाएकी थिएँ । जस्तै कठिन काम, गह्रौ भारी बोक्न पनि किञ्चित झिंझारो नमान्ने मझिनीलाई वास्तवमै मेहनतीको पगरी भिडाउँदा पनि फरक पर्दैनथ्यो । सदैव हँसिली रसिली देखिने मझिनी कहिल्यै आफ्नो अनुहारमा पिडा उभार्दिनथि ।

कालो वर्णको भएपनि हिस्सी परेकी मझिनीको एउटै खराब बानी थियो त्यो हो जाँड-रक्सी पिउने र चुरोट खाने। । उनी घरभित्र पसेको बेलामा कोठानै धुवाँदार बन्ने गर्दथ्यो । तैपनि उनको कामप्रतिको लगनशिलता र ईमान्दारितालाई ध्यान दिदाँ यस्ता झिना मसिना कुरालाई नजरान्दाज गरिन्थ्यो उनी हाम्रो घरमा कपडा धुन हप्ताको २ पटक आउने गर्दथी ।

उनलाई म यस्को सट्टा मासिक १८०० रुपैयाँ दिन्थे । घर सरसफाई देखि बगैँचा सबै भ्याउँथिन्। मलाई माया लाग्थ्यो अनि कहिले पुराना कपडा कहिले हरिया तरकारीहरू पनि दिएर पठाउँथे। उनी त्यति पाउँदा पनि मप्रति नतमस्तक हुन्थिन् ।

पहिले त व्यवहारहरू सामान्य ढंगबाट चल्दै गएको थियो तर बिस्तारै खाने मुखको साथसाथै पेट पनि बढ्दै गएपछि मझीनीको घरव्यहार लथालिङ्ग हुनथाल्यो। श्रीमानबाट त उनले कुनै सहयोगको अपेक्षा नै राख्न छाडेकी थिइन्।

दैनिक हातमुख जोर्ने समस्या त यथावत नै थियो त्यसमाथि बच्चाहरूको पढाईलेखाई, लुगाफाटा लगायत अन्य मागहरू बढ्दैगएपछि मझिनीको घर व्यवहार असन्तुलित हुनपुगेको थियो। हामीले दिने र मेलापातबाट भएको आम्दानीले मझिनीको व्यवहार धान्न धौ धौ परेको थियो ।

त्यसैबेला १० वर्षे जनयुद्धमा शहिद हुनेको परिवारलाई जनही एक लाख दिने हल्ला चल्यो। यो सुनेर बिजयको बुबा हुरिएर सिन्धुली पुग्यो।

“शहिद परिवारलाई पो रकम दिने भनेको हो त बिजयको बुबा किन गएको त?” मैले शंकास्पद रुपले मझिनीलाई प्रश्न गरेकी थिएँ।

उनी केही बताउन हिच्किचाईरहेकी थिइन् ।

मैले निकै कर गरेपछि मात्रै कसैलाई नभन्ने शर्तमा बिस्तारै” बिजयको साख्खै आमा म हैन तर म र बिजयको आमा सगेत्रै दिदीबहिनी थियौं। ” भनिन्। उनको आवाज मेरो कानमा ठोक्किए लगत्तै हावामा यसरी विलिन हुन पुग्यो कि त्यो कोठाको भित्तामा पनि उग्न पाएन । छोरा छोरीले सुन्लान भन्ने डरले होला मझिनी मसिनो स्वरमा मसँग कुराकानी गर्दैथी ।

“अनि बिजयको आमा खै त? कसरी तिमी बिजयको कान्छी आमा बन्न पुग्यौ त? मैले पुन:प्रश्न गरें

मझिनी अब बिस्तारै मसँग खुल्दै गैइरहेकी थिइन् ।

“बिजयको आमाको जनयुद्धकालमा माओवादीमा लागी हिंड्दा सेनाको गोली लागेर मृत्यु भएको थियो ।” मझिनी दुखित हुदैँ भन्दै थिइन् । उनमा यो घटनाको पुन:स्मरण हुनपुगेको थियो सायद जुन उनले बिर्सिसकेकी थिइन्।

मेरो आखाँहरू आश्चर्यले खुलै थियो। उनी भन्दै थिइन् “हामीले दिदीलाई त्यसरी साना साना बच्चाहरू छोडेर नजानको लागि धेरै अनुनय गरेका थियौ यहाँ सम्मकी बिजयको बुबा पाउ नै पर्नुभएको थियो तर खै कस्तो भुत चढेको थियो मेरो दिदीमा कुनि हाम्रो लाख कोशिसका बाबुजुत पनि उहाँ माओवादीको जनयुद्धमा होमिनुभयो ।

उनी भन्दै थिइन् ” दिदीलाई छिमेकीले नै चुकुली लगाएर आफ्नो छोरा र श्रीमान भेट्न आउँदा सेनाको गोलीबाट मारिएकी थिइन्। त्यसपछि यी साना साना बाबुहरूको बिल्लीबाँठ हुने देख्रेर आमा बाले नै मलाई बिजयको बुबासँग विवाह गरिदिनुभएको हो। ”

अनि मैले निसंकोच सोधे “तिमीले कुनै प्रतिकार गरेनौ?”

“अहँ गरिन किन भने म आफै पनि यो बाबुहरूको बिक्षिप्त भएकी थिए। मलाई किन किन यो बाबुहरूको लागि मैले आफ्नो स्वार्थ हेर्न हुन्न भन्ने लग्यो । यिनीहरूप्रति असीम माया पलायो। त्यसैले मञ्जुर भएँ। ”

अहो! कस्तो बलिदान ? कस्तो एकाग्रता ? एकातिर बहिनीले दिएको त्यो निस्वार्थ बलिदानी भने अर्कोतिर देशले केही परिवर्तन पाउने आशामा दिदीले दिएको त्यो बलिदान ।

के सन्तान घरपरिवारै छोडेर जनयुद्ध, नेपालको सुन्दर भविष्य बनाउन होमिएका शहिदहरू यस्तै थिए? अनि यस्तो बलिदानी दिनेको परिवारको अवस्था चै पहिलेको भन्दा पनि नाजुक? त्यही बलिदानीबाट सरकारका उच्च ओहदामा पुगेका नेताहरू पजेरोमा चढ्दै हिड्ने? उफ् यो कस्तो परिवर्तन नेपालको? म अलमल परेकी थिएँ। किन भने त्यो उही परिवार थियो जसले जनयुद्धमा आफ्नो परिवार नभनी त्याग गरेको थियो जो आज घरबारबिहिन अवस्थामा भौंतारिरहेको थियो।

एकछिनपछि मैले मेरो उडदै गरेको मनलाई यथास्थितिमा ल्याएँ अनि “बिजयलाई थाहा छ त तिमी उसको आमा हैन भनेर?” भनी सोधें ।

अब मझिनीको अनुहार न्याउरो परेको थियो । उनीभित्र केही डर त्रास थियो । मैले चिने देखेदेखिनै उनले आफ्नो र दिदीको छोरा छोरी भनेर भेदभाव गरेकी कहिल्यै देखेकी थिईन।

उनी ती कुराहरू भन्दै गर्दा कताकता भयभित देखिन्थिन् ।

उनी त्यो कुरा सकेसम्म भन्न चाहँदिनथिइन् । हुन पनि उनले आफ्नो कोखबाट जन्मेको र अर्काको कोखबाट जन्मिएको भन्ने नजरले कहिल्यै हेरेकी थिइन। सधैं अफ्नै मुटुका टुक्रा झै गरेर सम्हालेर जस्तै दु:ख कष्ट सहेर पनि उनीहरूको ईच्छा आकाँक्षा पुर्‍याएर भरणपोषण गरेकी थिइन्। उनीहरूकै पढाईको लागि घामपानी नभनी रात दिन कर्मठ हातहरू खियाउँथिन्।

उनलाई यो डर थियो कि बिजय र अजयले आफ्नै आमा हैन भन्ने थाहा पाएर आफुलाई छोडेर जाला भनेर।

ओहो! कस्तो दुर्भाग्य ! खाउँखाउँ लाउँलाउँ भन्ने उमेरमा मझिनीले दिदीको छोराहरूको वात्सल्यतामा आफुलाई लतमन्न ओछ्याइदिएकी थिइन् । त्यसको लागी उनले ९ वर्ष जेठो भिनाजुसँग विवाह गर्न राजी भएकी थिइन् ।

उनको यो त्यागको म कति नै बयान गरु त्यो सूर्यको अगाडि मैन बत्तीको बयान गरे सरह हुन्छ। उनको त्यो त्यागले मेरो नजरमा प्रबल स्थान ओगटन सफल भएपनि भगवानको नजरमा भने सायद सकेन ।

उनको त्यो त्यागको बदला भगवानले उनलाई दु:ख पीडा दिएको थियो । कति क्रुर लाग्दै थियो मलाई भगवान । कति कठोर त्यो हृदय अनि कति विबश त्यो मान्छे जो त्यो सबै भोगिरहेको थियो ।

एकपछि अर्को दु:खको पहाड ठिङ्ग उभिदिन्थ्यो मझिनीको अगाडि। रङ्गीबिरङी सुखका रङमा अरु घोलिदा मझिनी भने बिना रङको जीवनमा घोलिदैथिई।

तर “उफ्” सम्म थिएन उनको मुखमा । कहिल्यै निराशाका धर्साहरू कोरिएन। निश्चिन्त अनि निर्धक्कको जीवन । कसैले जीवन बिताओस त मझिनीले जसरी सहज रुपमा दु:ख पीडालाई आत्मासाथ गरी ।

शहिद परिवारले पाउने भनिएको रकममा खै के के हो गरि बिजयको बुबाको हातमा जम्मा २०, ००० परेको थियो ।

त्यही लिएर ऊ काठमाण्डौं फर्कियो । सबै साथीहरूलाई बिदेश जाने भुतले छोपेको बेलामा ऊ मात्रै कहाँ चोखै बस्न सक्थ्यो र? त्यसैले सिन्धुलीमा भएको अलिकति बारी पनि बन्धकमा राखी ऋण स्वरुप ८०, ००० लिई मलेशिया पुग्यो ।

सानो घरसंसार सुखसँग बिताउने सपना आखाँभरि साँच्दै मलेशिया पुगेको बिजयको बुबाको सपनाको महल शिसाको महल त्यतिखेर चक्नाचुर भयो भएको थियो जतिबेला १४, ००० मासिक तलब दिने सम्झौतामा गएको मानिसलाई १०, ००० मात्रै मासिक तलब दिने भन्ने कुरा सुने। खाना पनि आफैले भर्नुपर्ने कम्पनिले त केवल बस्न सुबिधा मात्रै उपलब्ध गराउने रहेछ।

उफ् दुखियालाई जता जाउ मारै मार।

आधा पेट मात्रै खाएर पनि मासिक पाँच हजार बचाउन सकेको थियो बिजयको बुबाले जुन रकम साहुलाई ब्याज तिर्न मात्रै पुग्थ्यो। घर फर्किउ भने ऋण तिर्नुपर्ने बाध्यता बसुँ भने कमाएको पैसाले यता टाल्न नि नपुग्ने उता टाल्न नि नपुग्ने । परिबन्दमा परेको थियो । बिजयको बुबा यही परिबन्दमा अल्झिदै बसेको थियो ।

दिनभरिको कामले थकावट शरीर त यसै छदैँथियो उता मानसिक रुपले पनि बिक्षिप्त हुन थालेको थियो ।

जसो तसो दिनहरू बिताउँदै थियो ।

यता मझिनी अफ्नो शरीरले भ्याएसम्मको बलबर्कत लगाएर रातदिन नभनी अर्काको घर, दैला, बारी, पखेरामा कर्मठ हातहरू चलाउँदैथि। तर पनि भनेजसरी घरव्यवहार धान्न सकिरहेकी थिईन ।

यति बिघ्न दु:खमा पिल्सिरहेपनि उनको अनुहारमा कहिल्यै वेदनाका रेखाहरू छच्लकिएन । तर भित्र भित्रै गल्दै थिई ।

अब उनले शारीरिक एवं मानसिक पीडा कम गराउन बिस्तारै रक्सी र चुरोटको सहायता अलि बढि लिन थालिन् ।

सायद काम गरेर लखतरान परेको शरीर लाई आराम दिलाउनलाई होला उनको त्यो रक्सी पिउने क्रम निरन्तर बढ्दै थियो भने उता मानसिक रुपमा पनि केहीबेरलाई भएपनि पीडा कम गराउने भएकोले रक्सीको पिउन थालेकी थिइन् ।

फलत; उनी बिरामी परिन् । बिजयको बुबाको आउने कुनै टुङ्गो थिएन। आओस पनि कसरी ऋण जो तिर्नु पर्ने थियो । नतिरे बारी साहुले पचाउने । मझिनी बिस्तारै बिस्तारै कालो हुदै गएकी थिइन् । रातभर खोक्ने अनि ज्वरो आउने गर्‍थ्यो । हुदाँहुदाँ रगत नै छाद्न थालेकी थिइन् । उनी ओछ्यान परेकी धेरै भैइसकेको थियो । बिजय स्कुल नगैइकन आमाको हेरचाहमा बस्नथालेको थियो ।

बिजय र म हतार हतार ढोका उघारेर कोठाभित्र पस्यौं ।

साँघुरो कोठाको पुर्वपट्टिको खाटमा मझिनी लडिरहेकी थिइन् भने त्यही नजिकै पानीको बोतल लडिरहेको थियो । कोठामा सन्नाटा छाएको थियो । झ्यालबाट भर्खरै पसेको सूर्यको किरण मझिनीको अनुहारमा पर्दा उनी स्निग्ध देखिन्थिन् ।

“मझिनी ए मझिनी” म नजिकै गएर बोलाउन थालें ।

अहँ कुनै हलचल थिएन। मेरो मुटुमा अब ढ्याङ्ग्रो ठोक्न थालेको थियो । हातखुट्टाहरू अज्ञात भयले थरथरी काँप्न थाल्यो । मैले एक नजर बिजयमाथि पुर्‍याएँ । ऊ पनि म जस्तै भयभित देखिन्थ्यो ।

अनि म टुसुक्क मझिनी छेउमा बसे र उनको हात समाए। अहो! कति चिसा भैसकेको थियो । नाडीको गति मन्द भनु चल्नै छोडिसकेको थियो । मझिनीले हामी पुग्नु अगावै प्राण त्यागी सकेकी थिइ ।

उनी यस औलोकिक संसारबाट सदाको लागि बिदा भएर गएकी थिइन् । कहिल्यै नफर्किने गरि यो सांसारिक दुनियाँबाट मुक्त भएकी थिइन् ।

माया मोहको बन्धनबाट स्वतन्त्र भएकी थिइन् । निश्चल अनि निर्दोष देखिन्थिन् ।

उनको त्यो पुलकित मुहारले मलाई केही भन्न खोजे जस्तै आभास भयो । मर्नु अगाडि मलाई बोलाउन पठाउनुको केही रहस्यहरू उजागार गर्न खोजे झै अनुभुती गरें मैले त्यति बेलातर ढिला भैसकेको थियो ।

सायद उनी “सानी बिजयको बुबा फर्केर नाआउञ्जेल यी बच्चाहरूको रेखदेख गरिदिनु ल” भन्न चाहन्थिन् ।

मझिनीले बाचुञ्जेल जीवनमा सधै हार व्योहरेकी थिइन् तर अब उनले ती सबै हारमाथि जित हासिल गरेकी थिइन् । त्यसैले उनी चुपचाप थिइन् शान्त तलाउ झै ।

स्तब्ध वातावरण म अनि बिजय ।

जीवनको अन्तिम बिन्दुमा मझिनीले आफ्नोबाटो परिवर्तन गरेकी थिइन् ।

बिजयले के बुझ्यो मेरो मुखाकृति हेरेर कुनि आमामाथि घोप्टो परेर डाँको छोडेर रुन थाल्यो ।

बिना तामाङ्
काठमाण्डौं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *