एउटा सामान्य पुरुष थिएँ, समाजलाई नेतृत्व दिनसक्ने कुनै बिलक्षण प्रतिभा थिएन ममा । स्वभाव एकोहोरो थियो, तर समाजमा मिल्न नसक्ने छुद्र पनि थिइन । सहयोगी नै थिएँ जस्तो लाग्छ । मेरो जन्म सम्पन्न शहरको निम्नमध्यम वर्गमा भयो । परिवारको कनिष्ठ सदस्य भएकोले होला, सुबिधामै बित्यो मेरो बाला पन । त्यो नै मेरो कमजोरी बन्यो कालान्तरमा – दु:खमा बाँच्न नसक्नु ।
मेरो समाजमा किशोर-किशोरीहरू आत्मलम्बी बन्न रुचाउँछन । १४-१६ बर्षको उमेर पछि घर छोडेर हिड्छन । म पनि थोरै रहर र धेरै आफू भित्रको हठले आत्मनिर्भर बन्न हिडें घर छोडेर । मिलनसार स्वभाव, सुन्दर बनोट, सहयोगी मन । म खुशी प्राणी थिएँ, आफ्नो संसारको राजकुमार । तर मेरा खुशीहरू यथार्थ दुनियासँग लड्न सुरु भएपछि बिस्तार धमिरा लाग्दै मकाउन थाले । अहिले सम्म नभोगेको हण्डर र कष्ट सहँदै पेटका खातिर फुटपाथका सानातिना काम सम्हाल्न थालें । दिन जसोतसो बित्दै गए । म पनि लक्का जबान हुँदै गएँ । महत्वाकांक्षामा पुग्ने मेहेनत र तपस्या थिएन, धेरै प्रकारका रोजगारी चाख्नु मेरो स्वाभाविक नियति भैसकेको थियो । साँच्चै रेल विभागको जागिर त छाड्नै नहुने । अहिले पछुताऊ मात्र छ । जेहोस, अहिले म परिपक्वता तर्फ बढेको छु भला उमेर छिप्पिएपछि नै किन नहोस् । अहिले त म गृहस्थी जीवनमा समेत बाँधिइसकेको छु ।
हालको मेरो रोजगारी – एउटा ट्याक्सी चालक । समय – मध्य गर्मीको प्रचण्ड धूप । ब्यापार सुन्य । मालिकको कान् टट्याउने कच्कच । ४० डिग्रिको रापिलो दिनमा टिनको बट्टा भित्र गुम्सिएर बिताउन सारै कष्ट छ । ग्राहकको के कुरा गर्नु, दूनिया भर चौतर्फी मन्दी छाएको चर्चा छ । कामको त कामको भयो, घरमा श्रीमतीको गन्गन कहिले नटुङगीने पट्यार लाग्दो छ । बत्तिको पैसा बढ्यो- एयर कण्डीसन नखोल्नु, ग्याँस महँगो छ, किफायतसँग नुहाउनु, तलब कम भयो, चूरोट खर्च बन्द, फलानाको श्रीमानको त बोनस पनि आयो रे आदि आदि ।
जिन्दगीलाई धेरै उतार चढावले हेरें । परिवारको कान्छो लाड्ला थिएँ । स्वाबलम्बन सिक्दा सिक्दै धेरै चहारें, धेरै भोगें । लाग्थयो उमेर भन्दा पनि म पाको भै सकें । थोरै पैसा बचत भैहाल्यो भने देश बिदेश चाहार्नु मेरो शौख बनेको थियो । नशामा धेरै रुची नभए पनि यात्राको आदि भैसकेको थिएँ । एक सर्को चुरोटको धूवाँमा रिंङ बेर उड्ने धुवाँ जस्तो मेरा जिवनका सुनौला दिनहरू पनि गन्तब्यहीन आकारमा उड्दै हराए । शायद तेसैले अहीले हामी अर्थात- चुरोट र म एकअर्काको परिपूरक जस्तै बनेका छौँ । म पनि हावा सँगै बिलिनहुने चुरोटको धुवाँ जस्तै मेरा महत्वाकांक्षी सपनाहरू समात्ने धूनमा तल्लिन थिएँ । फलत सपनाको धागो समात्दै नजानिदो तवरले म जुवा घर यानेकि पाचिन्को स्लट तिर तानिएँ । टाउको तात्ने प्रचण्ड धूपमा पानि आधुनिक जुवा घरहरू बातानुकुलित ठण्डा थिए । फराशिला कर्मचारीहरू सधै-सधै फुर्तिला र स्वागतमा खटेका देखिन्थे । त्यो भन्दा पनि हालको रातीको ड्राईभरी कामले फूर्सद पाउने मेरा दिनहरूको लागी पनि उत्तम बिश्राम थलो बन्दै गयो पाचिन्को स्लट । न श्रीमतीको गन्गन, न साहूको कच्कचको तनाव । मेरो मानशिक राहतको गन्तब्य हुदैगयो जुवा घर ।
हो, गर्मीले सारै सतायो । भाउन्न होला जस्तो भयो । ट्याक्सीलाई सडकपारी किनारमा रोकेँ । बातानुकुलित बनाउने स्वीच दबाएँ र थोरैबेर सुस्ताएँ । अफ्सोच, रात खर्लप्पै बितेछ । कमाइ सुन्य । तेस्माथि रात भरी एयर कण्डीशन मेशिन खुल्ला । साहूलाई ठूलै निहु भै हाल्यो । श्रीमतीको ज्वालामूखी रुप भन्दा पनि चर्को गर्यो साहु भनाउदो ले । दण्ड स्वरुप तलब समेत घट्ने भो । उसैत मनभरि पोलेर “विचरा” बनेको म, श्रीमतीको ढाडे बिराला जस्ता आँखा देख्दा त होसै उडे । के मेरो भागमा कमजोरी मात्रै छ ? किन दूनिया मेरो कमजोरीमा हुकुम चलाउँदै छ ? मनभरि कुरा माथि कुरा को पहाड मडारिंदै छन । सुन्तला रँग हुदै रातोमा परिबर्तन हुने सडक बत्तीलाई पछ्याउँदै ग्राहकको गन्तब्य नाप्दै छू । कतै निर्जन देखिन्छ सडक, कतै साइकल सबार-बटुवा र अन्य बाहनको भिड देखिन्छ । एउटा बाहन हुर्रिएर गयो छेवै बाट । झल्याँस्स भएँ । साँच्चै मध्य रात मा नै पनि जोश बढाउँछ यो शहर । तेसैमाथि म त लठ्ठिएको छु, तनाब ग्रस्त मन बाट ।
जाननेलाई श्रीखण्ड-नजाननेलाई खुर्पाको बिंड भनेझै मेरो लागी त्यो आधुनिक जुवाघर खुर्पाको बिंड मात्र हैन , अभिसाप नै भयो । सपनाको सेतु पुल सोचेर पसेको त हिटलरको ग्यास च्याम्बर भयो । आज अलिकती हारे- भोलीको च्याँखे दाउमा कसो नतान्ला । । । गर्दागर्दै मेरा सामुमा रीनको भकारीनै तेर्सीयो । मन्मै हिसाब निकालेँ – घर खर्च निकालेर गोटा २ बर्षमा त चुक्ता हुन्छ । सम्झे- दिन लागे डराउनु, रिनलागे नडराउनु । अब मिहिनेत गरेर रिन उकास्छु ।
बुढापाकाको उखान जत्तिकै दरो मन पार्न त गारो रैछ हजुर जब आफ्नाहरू नै खनिन थाले पछि । सायद आत्मग्लानी पो हो की, सबैतिर तिरस्कार पो देख्न थालछु । हाकिमको ब्यबहार केलाए- स्वभाविकै हो । ऊ सम्पन्नतामा अडिएको ठूलो मान्छे । मलाई किनपो मान्छे गनिराख्थ्यो ? सहकर्मीहरूमा पनि निकै टूलो बदलाव देखेको छु । जो हिजो सम्म एकएक बिङगो-बहाना गर्दै मेरो पैसामा भोज हसुर्थे, आज मेरो गरीबीमा सबै भन्दा बढी घ्रिडा गर्ने भएका छन् । आफन्तहरूमा त आवतजावत नै बन्द प्राय भैसक्यो पानी बारे जस्तो । अरुको के कुरो मेरी आफ्नै प्रियतमा, जसलाई मेरो अँधकारमा साथदीने चहकिलो मैन्टोल सोचेको थिएँ, उनी पनि झन्झन् पेचिलो बन्दै छिन् । अब त उनीमा भयानक औंशीको कालो रात बाहेक जुनेली रातको कुनै प्रकाश नै बाँकी छैन ।
पछाडि यात्रुहरू आफ्नै दूनियामा मस्त छन् । मेरो मनमा आफ्नै ज्वारभाट छ । बिगतलाई फेरी सँझिए । भर्खरै नाता जोडिंदा मेरी श्रीमती साँच्चै आदर्शकी राजकुमारी थिईन । फरक जाती- धर्म र सँस्क्रीति बीचमै पनि हामि खुशि थियौ । सानैछँदा दादुराको प्रकोपले दाग भरिएको अनुहार भन्दा धेरै सुन्दर थियो उनको सरलता र ब्यबहारिक पाटो । तर आज समयको अन्तरालमा उन्ले गुमाईन् या मैले खोज्न जानिन ? पाउनै सकेको छैन उनका ती सुन्दरतम गूँणहरू । बिस्तार बिस्तार परिबर्तनले गाँज्दै लग्यो उनिलाई । हरेक कुरालाई पैसाको तराजूमा जोख्न मनपराउने भईन् । म छिनमै अतितको उनी र छिनमै बर्तमानकी उनी साक्षात्कार गर्न थालेँ । ऊफ् अनपेक्षित भूकम्पको महसुस भयो । एकै पटक हजरौ सूर्यका चमकले मेरो द्रिष्टी सुन्य बनाइदियो । टाउको चड्के जस्तो, छाती पोले जस्तो, कस्तो कस्तो । म बेहोशीमा हराएँ ।
घोर अचम्म । मलाई आज मेरै आँखामा बिश्वास हुन सकिराखेको छैन । बाघ जस्ती मेरी ज्वालामुखी आज सँधै भन्दा फरक, भाव सून्य र पराजित मुद्रामा ! आझै पत्याउन गारो त मलाई पुष्प अर्पण गर्दैछिन्, मानौकि भर्रखर हाम्रो बिहे हूँदाको बखतमा जस्तो । आफै माथि बिस्बास भएन । चिमोटेर हेरें । अहँ, न त पीडाको अनुभूती छ न त गुद्गुदीको । फेरी आफ्नै मुर्खता माथि हासो उठ्यो – उनी त मेरो तस्बीर लाई पो पुष्प अर्पण गर्दैछिन्, मेरो अस्तित्वलाई कहाँ हो र?
बल्ल बुझें- म त मन भरि तनाब का खिचडी पकाउँदा पकाउँदै दुई जना यात्रु सँगै गन्तब्य नाप्दै पो थिए । तेसपछि ? बल्ल कुरो को चूरो फेला पारें – म त बिपरित दिशाबाट बगेको बाहनसँग टोक्किंदा घटना थलोमै प्राँण गुमाइसकेको रहेछु । चिन्ताले चिता पुर्याउँछ भन्थे, कठै मेरा निरअपराध यात्रु पाहुना पनि मसँगै परमधान चढेछन ।
आज पितृहरूको दिन, अर्थात- “ओबोन नो ही” ! त्यसैले त मेरी प्यारीमा बदलाब रहेछ । हातमा फूल र नैबेद्य । भावमा शान्त पन । खानलाई नैबेद्य-पकवान ! आफ्नाहरूको स्मरणमा न्यानो पन खोज्दै भूत भैसकेको म आज उन्को सामूमा रहेछु । मन्ले आनन्द मान्यो- आहा ! मरेपछि पनि माया पाइने रहेछ । कति भाग्यमानी म !
अस्तु ।
२००९, डिसेम्बर १२, टोकियो
