जिन्दगी कहाँ-कहाँ दुख्छ
कतिबेला दुख्छ
केका लागि दुख्छ
तर दुख्न चाँहीँ दुख्छ, दुखिरहन्छ
बाध्यता र बिवशताको काँढा बिझाउँदा
आफ्नै मुटु छाम्न असमर्थ
यी कमजोर हत्केलाले
मैले तिम्रो घाऊ छुन सकिन सखी!
सत्य भनुँ!
जिन्दगी कहाँ-कहाँ दुख्छ … दुखिरहन्छ ।।
थाहा छ कि म कृतघ्न होइन
तर कृतज्ञताको नाममा केही गरेको पनि त छैन !
सस्तो बिलौना गरिन मैले सखी!
तर पल्पल कुँडिएर बाँचेको जिन्दगीलाई
कसरी निकम्मा भनुँ?
हृदयको पटाङ्गिनीमा सधैं
चैतको डढेलो हुर्हुराइरहेको हुन्छ
अभाबको ज्वालामा आँफैँ सल्किरहेको बेला
मानवताको बारीमा कर्तब्यको सिंचाइ
मैले गर्न सकिन
थाहा छ यो मुटु ढुङ्गाको होइन
तर नौनी हुनुको कुनै दृष्टान्त
पेश गर्न सकेको पनि त छैन!
निस्तो बाचा गरिन मैले सखी!
तर परिबन्दको बन्दी जिन्दगीलाई कसरी दुत्कारुँ?
कामना गर्नसक्छु
चाहना गर्न सक्छु
सम्भावनाको आकाश नियाल्दै
उज्याला ताराको भाकल गर्न सक्छु
पूर्वको रातो क्षितिज हेरेर
उज्यालो घामको प्रतिक्षा गर्न सक्छु
तर आँफै हजार टुक्रामा
बिभक्त मुटु बोकेर
तिम्रो घाइते हृदयमा मैले मल्हम लगाउन सकिन सखी!
म अँध्यारो रोज्ने कालो रात होइन
तर दिउसोको घाम बनी कसैलाई
उज्यालो दिन पनि सकेको छैन
कोरा कल्पनामा उडिन म
नियतिको खोटो सिक्का शायद म
फेरि,
सपनाको स्वर्णमूर्तिलाई कसरी धिक्कारूँ?
हो सखी!
सत्य भनुँ!
जिन्दगी कहाँ-कहाँ दुख्छ …दुखिरहन्छ ।।

कबिता मिठो छ
दीप्स जी तपाईको कबिता धेरै मिठो लाग्यो।अरु पनि यस्तै राम्रा-राम्रा रचनाहरु लिएर आँउदै गर्नु होला।
about your article
tapai ko nilo siris aru badi man pareko thiyo.
sada suva chintak
R,ktm