आजभोलि उनी खुसी देखिन्छिन् । उनको त्यो मुहारमा अनौठो चमकता देखिएको छ। मानौ वर्षातको बादल गड्किदाँ एकझमकमा देखिने त्यो बिजुलीको चम्काई हो ।
लगभग चार-पाँच महिना हुन लाग्यो उनमा यस्तो परिवर्तन देखा परेको त्यस भन्दा अघि नि साह्रै निरश देखिन्थिन् । उनलाई म राम्ररी चिन्दछु । आफ्नो एउटी छोरीसहित उनी मेरो घर भन्दा पुर्व पट्टीको घरमा बस्दथिन् । उनको आफ्नै घर हो । तर एक्लै बस्थिन् । सासु ससुरा गाउँकै घरमा बस्थे ।
उनको नाम संगीता हो । झट्ट हेर्दा त्यति आकर्षक देख्दिन शारीरिक रुपले । अगाडीका दाँतहरू उछिट्टिएका भएपनि बोलीमा मिजासिलोपन पाउन सकिन्छ। होची तर पातली शरीरकी धनि संगीताको कपाल लामो भएपनि घुमुर्किएकोले होला कोरेपनि नकोरेको झै देखिने गरी गुजुमुज्ज परेको छ ।
त्यो ठुलो घरमा उनी आफ्नो छोरी सहित एक्लै बस्दै आउनुको कारण चाहिं उनको श्रीमानले अर्कीसँग विवाह गरेर बजारतिरै डेरा गरी बस्न थालेको थियो । उनको श्रीमानले बाबु आमाको करकापले मन नपरेकी संगीतासँग बिबाह गर्नुपरेको भन्दै आफैलाई मनले खाएको केटी लिएर हिडेका थिए ।
विवाहको अघिल्लो दिनहरूमा त त्यही संगीता नै मन परेको थियो । मोटसाईकलमा हालेर यताउती पनि घुमाएकै थियो। मन नपरेको भनु भने उनीहरूको सम्बन्धबाट गुडिया जस्ती छोरी पनि जन्मिएकै थियो । तर यो मनपर्ने नपर्ने खेल धेरै दिन रहेन । छोरीको जन्म पश्चात संगीताले आफ्नो शरीर र रुप प्रतिको हेरचाहमा समय दिन सकिन वा अन्य कुनै कारणले हो उनको श्रीमान टाढा टाढा हुदैँ गए । बाहिरी रमझमको वातावरणमा चुर्लुम्म डुब्न मन पराउने बानीले घरको श्रीमती थोत्रो ट्याम्पु जस्तै देख्न थाले।
साथी साथीको बिचमा पनि आफ्नो श्रीमतीको तुलना अर्को साथीको श्रीमतीसँग गर्ने होडबाजी चल्थ्यो । अरुका श्रीमती सब फेसेनेबल र राम्री तर आफ्नो श्रीमती चाहिं अनपढ, गँवार र पाखे देख्न थाले।
साथीहरूको अगाडी फोस्रो आडम्बर र धाक रवाफ लडाउनकै लागि भए पनि संगीताको श्रीमानले झापातिरको केटी सौताको रुपमा भित्र्याएका थिए। सौताको जात कति नै बस्न सक्थे र मिलेर ? रातदिनको कोलाहल, झै झगडा रोदन, क्रन्दनबाट मुक्त हुन संगीताको श्रीमानले कान्छी काखी च्यापेर बजारतिर डेरा गरिबस्न थाले । घरमा नितान्त एक्ली संगीता अनि उनको सानी छोरी। श्रीमानको अनुहार देख्नु, माया स्नेह पाउनु त कता हो कता बोली सुन्न समेत काकुल थिई ।
श्रीमानको यस्तो व्यवहारबाट असाध्यै दिक्क भएकी थिइन्।
जसो तसो घर धानेकी थिईन् । जे भएपनि कोठाभाडा आउँथ्यो। त्यो घर चाहिं ल गरी खा भने जसरी उनको श्रीमानले उनलाई नै छाडेर गएका थिए। त्यही कोठाभाडाले दैनिक व्यवहार चल्थ्यो।
खै के भयो संगीतामा दिनप्रतिदिन नैराश्यता बढ्दै गयो । उनले आफ्नो अस्तिव नै भुलन थालीकी थिइन् । अस्तव्यस्त पहिरन शारीरिक स्याहारसुसारमा पनि त्यति ध्यान नदिने अज्ञात भुतले समाएको थियो । सधै झोक्राएर बस्ने मानौउनीभित्र आशाका त्यान्द्रो पनि बाँकी थिएन जसले जिवन रंगीन बनाओस ।
कहिलेकाहीं म कहाँ आउँथिईन् । दुखेसो पोख्न, बाँच्ने मनै छैन भन्थी। म उनलाई ढाढस दिन्थें तर मेओ सहानुभुति र ढाढसले के नै परिवर्तन् हुन्थ्यो र?
म आफै पनि असमञ्जमा परेकी थिएँ । उनी मसँग” बहिनी यो एउटा छोरी छे र मात्रै नत्र मरिदिन्थें। यस्तो स्वार्थी दुनियाँमा के बाँच्नु? जहाँ न कसैको माया छ न कसैको आड भरोसा।” भन्थिन् ।
उनको कुरा सुन्दा, अभिव्यक्ति गर्ने शैली देख्दा मलाई पनि जीवनप्रति बितृष्णा जाग्थ्यो । ‘उफ्! साँच्चै नै कसैको माया, प्रेम बेगरको जीवन कति निरश अनि आशाको दियो नबलेको जीवन आफ्नो हो भन्नु पागलपन मात्रै हो कि क्या हो भन्ने भान हुने।
उनले पनि कसरी के को लागि जीउनु आफ्नो भन्ने को छ र? कस्को सामिप्यता, आत्मियतामा बाँकी जीवनका पन्नाहरू पल्टाउँदै जाने जहाँ खाली कागजका पन्नाहरूको ठुलै ठेली नै बाँकी छ।
स्वार्थ पनि कस्तो कस्तो रुपवती नभएकै कारण सौता खेप्नुपर्ने। के रुप नै सबथोक हो त?रुप, यौवन समुद्रको छाल जस्तै त हो नि हुत्तिएर आउँछ अनि निमेषमै त्यही समुद्रमै विलिन हुन पुग्छ।
वैंशलाई समयले रोक्न सक्छ र?सधैभरीको जवान रहन्छ? यी सब त आखाँको भ्रम मात्रै त हुन् नि! आज आउँछ भोलि जान्छ। कसले यसलाई कैद गरेर राख्न सक्छ क्यामारामा जसरी?
खै किन हो यी सब कुराहरू संगीताको श्रीमानले बुझ्न सकेन वा बुझ पचाए। संगीताको हात बिचबाटैमा छोडेर अन्तै कतै यात्रा मोडिदियो । संगीता एकलासेपनको आभास गर्दैथिइन् ।
उनको एकलासेपनसहितको यो यात्राले अहिले कतै पुगेर विश्राम लिन पुगेको छ आजभोलि । उनी अहिले कसैको माया, प्रेम अनि असिम स्नेहको ठुलो चौतारीमा सुस्ताउँदैँछिन्। थकाई मार्दैछिन्, मिठो निन्द्रामा परेकीछिन् ।
मलाई थाहा छ उनको यो विश्रामले गन्तव्य पहिलाउन कुनै दिन फेरि गतिशिलता लिनुपर्नेछ अनि त्यो मिठो निन्द्राबाट ब्युँझेर यथार्थको धरातल टेक्नुपर्नेछ। तर उनी त्यसरी निदाउँदा अति सुन्दर अनि स्निग्ध देखिन्छिन् ।
उनमा बिषादका रेखाहरू बिल्कुलै देखिदैँन। अहिले उनमा कञ्चनता देख्छु मानौ ठुलो भेलबाढी आई खोलाको सबै फोहरमैला बगाएर लगेको छ। उनी यहि बसाँईमै आनन्दले सुस्ताउँदैछिन् । मलाई उनलाई तत्कालै त्यहाँबाट उठाउन बिल्कुलै मन छैन ।
आजभोलि उनी कसैको प्रेममा परेकी छिन् । कसैको कपोकल्पित दुनियाँमा हराउन थालेकी छिन्। उनी भ्रममा छिन् तै पनि तिनै भ्रमले उनलाई दिएको रंगिन जीवनमा उनी भरपुर बाँच्दै छिन् । उनी एककिसिमले तरंङ्गित हुन पुगेकीछिन्। एकदिन मसँग आएर भन्दै थिइन्, “मीना यो मोबाइलमा भर्खरै आएको यो नम्बर सेभ गरिदे न ।”
उनलाई मोबाइलमा कल गर्न र रिसिभ गर्न मात्रै आउँथ्यो । त्यसैले बिषेश नम्बरहरू मैले नै सेभ गरिदिने गरेको थिएँ मैले नम्बर हेरें कतारबाट आएको नम्बर रहेछ।
“यो त कतारको नम्बर रहेछ नि कसको हो?” मैले कोही आफन्तको पो हो कि भन्ने सोचले सोधिहालें ।
उनी अलिक हिच्किचाईन् र भनिन्, ” हैन मैले पनि चिनेको छैन तर मलाई फोन गरिरहन्छ । त्यसैले सेभ गरिदेऊ भनेको ।”
यसो भनिरहदाँ उनले मेरो अनुहारमा हेर्न सकेकी थिइन । सायद केहि अफ्ट्यारो महशुस गरिन् ।
मलाई अलिक कौतुहलता भयो यसरी नचिनेको मान्छेको नम्बरप्रति किन मोह ? अनि मैले” यसरी नचिनेको मान्छेको नम्बर राख्न पनि हुन्न र दिन पनि हुन्न ।” भनेर मुख फोरिहालें ।
छड्के नजरले हेरें उनमा संकोच देखें । तत्कालै फेरी मैले ” हैन को हो को फेरी भोलि समस्या पर्न सक्छ भनेर मात्रै हो भनेको त। नत्र ठिकै छ नि म सेभ गरिदिन्छु ।” भनिहालें ।
उनी मुसुक्क हाँसिन् ।
“खै मिना नम्बर त कसले दियो तर मलाई प्राय फोन गरिरहन्छ । अनि माया पनि गर्छु भन्छ ।” संगीता अलिक खुल्न थालेको अनुभव गरें ।
“ए त्यसो पो! ” मलाई बल्ल थाहा भयो । यो वैदेसिक रोजगारीमा जाने केहि मानिसहरूले फुर्सदको समय व्यतित गर्न त्यस्ता ब्लफकल जथाभावी गर्ने गर्दछन् । अनि कुनै केटीले उठायो भने नानाँभातीका कुरा गरेर अल्मलाउने गर्दछन् । यस्ता कुराहरू त मैले अरु साथीहरूबाट पनि सुन्ने गरेको थिएँ ।
उनी पनि यस्तै जालमा परिछन् भन्ने मैले सजिलै अनुमान लगाएँ । तर उनले त यो झुटलाई नै सत्य स्वीकार गरिसकेको परिस्थिति थियो ।
उनी भन्दै थिइन् ” मीना त्यो मान्छे अरु जस्तो हैन। मलाई एकदम माया गर्छ। मेरो बारेमा निकै चिन्ता लिन्छ । नेपाल आएपछि मलाई भेट्छु भनेको छ ।”
म भ्रममा थिएँ वा उनी म असमञ्जमा थिएँ ।
“तिमीले कहिले देखेकी छौ त उसलाई?अनि तिम्रो विवाह भएको कुरा थाहा छ?” मैले उनलाई सम्झाउने आशयले सोधें ।”छैन उसले मलाई अनि मैले उसलाई देखेकी छुईन । मात्रै हाम्रो फोनमा कुराकानी हुने गरेकोछ । ‘ संगीताले लजाउँदै भन्न थालिन् ।
उफ्! म रिङ्गिएँ ।
“मेरो विवाह भएको कुरा मैले भनेको छु । कुनै आपत्ती छैन रे ।”फेरि शिर निहुराउँदै संगीताले भनिन् । यो कस्ती लाटी रहेछे।
किन यो बुझिरहेकीछैन कि ती सब कुराहरू झुट हुन । कसरी विश्वस्त बनाउँ म यिनलाई? एकैछिन घोरिएँ, एक दृष्टी उनीतिर फालेँ। उनको त्यो अनुहार गौर गरेर हेर्न थालें।
अहो! कस्तो परिवर्तन ?
हिजो सम्म हाँसो कुन चरीको नाम हो भन्ने थाहा नभएकोसँगीत आज त स्वतन्त्ररुपले आकाश विचरण पो गरिरहेकीथिइन् । अनुहार त धपक्कै बलेको थियो ।
कस्तो अनौठो एकएक परिवर्तन । उनको हेयर स्टाईल पनि परिवर्तित थियो सायद ब्युटीपार्लर गएकी हुनुपर्छ भन्ने मेरो अनुमान थियो ।
अनि कपडा पनि सफा चट्ट पारेर लगाएकी मैले त यी सब कुराहरूमा ध्यानै दिएकी थिईन।
मैले यि सब देखेपछि अनि उनको कुराहरू सुने पछि अनुमान लगाएँ पक्कै पनि त्यो परिवर्तन ल्याउने त्यही फोनवार्ता थियो ।
मैले सोधें, “यसरी देख्दै नदेखेको मानिसले भनेका कुरामा तिमी कसरी बिश्वास गर्छौ त?”
मैले यो प्रश्न गर्नुको कारण थियो। लोग्ने मानिस बधि रुप र यौबन मा बिश्वास गर्छन् । उनकै श्रीमानले पनि त उनीमाथि सौता हाल्नुको कारण त्यही थियो ।
अनि अहिले जसले माया गर्छु भन्दै थियो त्यो पनि उहि लोग्ने मानिस नैत थियो नि। भोलि भेट भएपछि छि! काली, होची, दारे भनिदेला अनि त्यो खाटो बसिसकेको घाउ पुन : बल्झिन जाला बरु त्यो भन्दा त अहिले त्यो घाउ नकोट्ट्याउनु नै बेश जस्तो मलाई लाग्यो ।
उनी तत्कालै सम्बोधित भिइन् र भनिन् ” हैन उ त्यस्तो मान्छे हैन । मलाई पुरा बिश्वास छ उसले मलाई अपनाउँछ ।”
म दङ्ग परें। कुन भुट्टिएको दिमाग भएकोले यस्ती सोझी केटीलाई टिप्नै नसकिने आशाका फलहरूलटरम्म फलेको वृक्ष देखाईदिएछ। कस्तो पापी, निर्दयी ।
आफ्नो स्वार्थ पुरा गर्न अनाहकमा त्यो बिचरीलाई आफ्नो माकुरे जालीमा फँस्दै थियो । धिक्कार त्यो अल्पज्ञानको भण्डारलाई जसले अर्काको बिचार, भावनामा ठेस पुर्याउने मार्गगरु प्रशस्त खोलिदिएको थियो ।
एकदिन जब उनी त्यो काल्पनिक रङ्गमञ्चबाट यथार्थको धरातलमा झर्छ त्यो दिन कति कहाली लाग्दो दिन हुनेछ म अनुमान लगाउनै नसक्ने स्थितिमा पुगेंकी थिएँ ।
जे जस्तो भए पनि उनी आजकल खुसी छिन्, धपक्क बलेकी छिन् । उनको सौन्दर्यतामा निखारता आएको थियो ।
प्रेम ! कस्तो अचम्म जसले क्षणिक रुपमा भएपनि कसैलाई ईन्द् रनगरी सयर गराउँदो रहेछ। निला निला गगनमा चरी भएर उडन सिकाउँदो रहेछ चाहे त्याहाँबाट कुनै क्षण कहाली लाग्ने गरी खस्न परोस।
यो संगीताको कस्तो प्रेम हो जुन आवजको दुनियाँमा पनि अंकुराउँदो रहेछ?जहाँ न ती आवाजहरूको न कुनै बिम्ब छ न कुनै आलंगिन ।
क्षणिक प्रेमानन्दले कसैको जीवनको बाटो नै मोदिदिने र त्यही क्षणिक प्रेमकै अनुभुतिमा बाँकी जीवनका पलहरू हाँसी हाँसी बिताएको सुखद घटनाहरू नदेखेको पनि हैन । सायद यहि मोडमा आज संगीता छिन् ।
कुनै दिन उनको त्यो प्रेम मिर्मिरेमा तारा झरेर गए झै झर्नेछ तर पनि उनी बाँकी जीवन त्यही प्रेमको ज्योतिले जगमग्ग पारेर जिउनेछिन् भन्ने मलाई लाग्यो ।
त्यसैले मैले उनलाई सम्झाउने तिर लाग्नु व्यर्थ ठानें । यो सबै हुनुमा उनीसँग भएको मोबाइलले प्रमुख भुमिका खेल्दै छ। मोबाइल नभएको भए न त्यो अपरिचितको फोन आउँथ्यो न उनी यो भ्रामक प्रेममा अल्झिन्थिन् ।
उनी पटक पटकको फोन वार्तालापपछि मेरोमा आईपुग्छिन् अनि बेली बिस्तार लाउन थाल्छिन् । म उनको कुराहरू एकदमै ध्यान दिएर सुन्छु । अनि उनमा भएको परिवर्तन नियालेर हेर्ने मौका पाउँछु ।
त्यतिखेर उनको मुहारमा कान्ति छाएको प्रष्टै देख्न सकिन्छ । माधुर्यता देख्छु। त्यो माधुर्यतामा जो कोही पनि रस्वदापन गर्न लालायित हुन्छन्।
किन किन उनी खुसी हुँदा मनमा एकप्रकारको आनन्द आउँछ। अनि कता कता उनको श्रीमानप्रति व्यङ्ग्यात्मक मुस्कान छर्न मन लाग्छ।
आज भोलि उनी खुसी, सुखी, हँसिली अनि उन्मात्त देखिन्छिन् । सायद यो त्यही प्रेमकै उपज हो । सायद यो त्यही मोबाइलकै देन हो।
बिना तामाङ
काठमाण्डौं

आहा!कति मिठो कथा हो!
आहा!कति मिठो कथा हो!
धन्यवाद प्रेम जी हजुरलाई
धन्यवाद प्रेम जी हजुरलाई
nice
nice story…… dear…..
tnx…sweety…
tnx…sweety…