Skip to content

म क्याकटसको फूल मन पराउँछु

  • by


फूल, बासना, सुख, उपहार सबै मन पराउँछन्
तर म ती सबलाई पछाडि राखेर दु:ख मन पराउँछु
दु:खमा नै जीवानुभूति गर्न सक्छु
पीडामा नै म आत्मीयता महशुस गर्न सक्छु
सुख क्षणिक हुन्छ, साथ दु:खले पो दिन्छ
पुरै जीवनको केही अंश मात्रै सुखको
बाँकी दु:ख त्यसैले म तिमीलाई यहि दु:खमा
अनन्तकाल सम्म अनुभुती गर्न चाहन्छु
किनकिम अरुभन्दा नितान्त फरक हुन मन पराउँछु

म क्षितिजमा बादलसँग लुकामारी खेल्न मन पराउँछु
रङ्गी चङ्गी बादलु फूलबुट्ट्यानहरूमा लुक्न मन पराउँछु
जहाँ हामीलाई कहिल्यै कसैले नभेटोस
क्सैले नदेखोस, तिमी अनि मात्रै म
म तिमीसँगै नरम भुवादार सेता कपासमा हिंड्न मन पराउँछु
किनकि म अरुभन्दा नितान्त फरक हुन मन पराउँछु

म मुर्त जीवनभन्दा अमुर्त जीवन मन पराउँछु
जहाँ जीवन शैली अदृश्य हुन्छ
अदृश्यताभित्र पनि सादृश्यता हुन्छ
केवल म तिमीलाई देख्न सक्छु
जहाँ हामी हुन्छौ, हाम्रो माया अनि छुट्टै संसार हुन्छ
आस्थाको महल हुन्छ, विश्वासको दियोले जगमग्ग हुन्छ
अनि निश्चलता हुन्छ, स्पन्दनमा हामी हुन्छौ
हो त्यहि काल्पनिक धरातल म मन पराउँछु
किनकिम अरुभन्दा नितान्त फरक हुन मन पराउँछु

म क्याकटसको फूल मन पराउँछु
त्यो कठोरतामा पनि फुल्न सक्छ तर प्राप्त गर्न कठिन छ
म तिमीलाई पनि क्याकटसको फूल जसरी प्राप्त गर्न चाहन्छु
सहजै प्राप्त गरिने बस्तुको कुनै मुल्य हुन्न
अर्थहिन बस्तु जसरी फालिन दिन्न
म तिमीलाई बहुमुल्य बनाउन चाहन्छु
काँडा र दुखाई बिच तिमीलाई टिप्न चाहन्छु
किनकिम अरुभन्दा नितान्त फरक हुन मन पराउँछु

म नदीहरूको गीत मन पराउँछु
सुरम्य संगीत श्रवण गर्न मन पराउँछु
छङ्छङ् गर्दै आफैलाई प्रतिध्वनित गर्दै
अविरल बग्ने नदीहरूको ताल मन पराउँछु
मिलन अश्वम्भावी दुई किनारहरूको स्पर्श गर्ने
दुई किनाराको हृदय संगम गराई गुञ्जने
नदीहरूको अन्तरसंस्करणलाई अनुभुती गर्न मन पराउँछु
बिछोडमा पनि सामिप्यता जगाउने नदीहरूसँगै बहन मन पराउँछु
किनकि म अरुभन्दा नितान्त फरक हुन मन पराउँछु

बिना तामाङ्
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *