Skip to content


बिहानीपख घामले तेजिला किरणको प्रभाव धरतीमा फिँजायो । कुलबीर दुध दुहुँदै थियो । बालिकाको तिखो आवाजले गोठैमा उसलाई झस्कायो । ऊ कान ठा-ठाडा पार्दै हातमा दुधको बालटिन बोकी भित्र पस्यो । उसकी दिदी गौंथली फत्फताउँदै बाहिर निक्ली । एक तमासले फत्फताउँदै गरेकी दिदिलाई अचम्म मान्दै सोध्यो उसले -हैन ए दिदी एकाबिहानै के भयो तिमीलाई ? सञ्चो भएनकी कसो ?

रिशले आगो भएकी गौंथली सोच विचारै नगरी प्याच्च बोली- के हुनु नि ! तेरी स्वास्नीले छोरी जन्माई । अब तेरो यो झुप्रो घरमा छोरी छोरीको ओइरो लाग्ने पर्‍यो । अनि ठुलो भाग खालास गोज्याङ्ग्रे मोरा । दिदीले हात मुखसम्म पुराएर नाप्छे । उसले दुधको बालटिन थपक्क राख्यो । जवाफविहीन ऊ थाप्लोमा हात लगाएर थचक्क भुईमा बस्यो । स्वास्नी म्यौची अलि पर शिथिलभै चिसो भुइँमा पल्लटिरहेकी थिई । ऊ ईन्तु न चिन्तु थिई । छेउमा भर्खर जन्मेकी बालिका हातको औंला चुस्तै ठु-ठुलो स्वर निकालेर रुँदै थिई ।

‘के छ हँ तिमेरुको खबर ?’ छिमेकी जेठिआमै भित्र पसिन । उनी ढोकाबाट भित्र के पसेकी मात्रै थिइन्, कुलबीरको घरको अवस्था देखेर चकित परिन् । उनी हातले फरिया समेट्दै कुलबीरलाई कराउँछिन -‘हन ए बा ! तेरो पारा के हो कुलबीर ? मणि हराएको सर्प जस्तो के भयो ? खौलामा परेको गाई र माई दुबै एउटै हुन । अरुलाई त सेवा गर्नु पर्छ भने आफ्नी अर्धाङ्गिनीलाईपनि यो दशा ? तेरी दिदी गौंथली के भएकी ? ऊ आफू पनि त आईमाई हो नि ! बुझ्नु पर्दैन आईमाई भएर आईमाईको दु:ख र अप्ठेरो ? लु बा छिटो तातो पानी तताएर यहाँ ल्याईदे । बच्चाको साल-नाल बेडाउनु पर्छ । बरा यो म्यौचीलाई पनि कति भोक लाग्यो होला कठै ! तातो भात र गुन्द्रुक छिटो उमाली दे । यो बच्चीको पनि घाँटीनै सुकीसके छ रुँदारुँदा । तँ कति निर्दयी, सुनेको नसुनै भएर बस्ने हो । ब्यथा लाग्नासाथ मलाई बोलाउनु पर्दैन ?

गनगनाउँदै जेठिआमै म्यौचीको छेउमा जान्छिन । कुलबीर उठेर चुलोतिर लाग्छ । आज-भोलि भन्दा-भन्दै दिनले फड्का मारेर म्यौची सुत्केरी भएकी पनि एघार दिन बितेछ । न्वारानको लागि कुलबीरले अघिल्लो दिन नै पण्डित खोजेर तयार पार्‍यो । कुनामा पसेको एघार दिनपछि म्यौची घामको पारीलो रापले आङ सेकाउन पाउँने खुशीले पुलकित भएकी थिई । बालिकाका भर्खर बन्दै गरेका कलिला अङ्ग प्रत्यङ्गलेपनि । भोलिपल्ट रीति-संस्कार अनुसार न्वारन सकियो । पण्डितले छोरीको नाम प्रतिमा जुरायो। आफन्तहरुले पनि खाई-पिई सके । म्यौची पनि यत्रो दिन कुना बसी खाएर पोटिली भएकी थिई । घाम डाँडा पारी ओरालो लाग्दै थियो । आफ्नो पनि बाटो लागे ।

कुलबीरका बाबु आमा कुलबीर पाँच-बर्षको हुँदा नै परलोक भएका । उसलाई उसैकी दिदी गौंथलीले हुर्काएर बैबाहिक सुत्रमा बाँधिदिएकी । अब त कुलबीरका जोइपोइ र छोरीगरि परिवारमा तीनजना भए । एक-दुई पैसाको मुख हेर्न, नुन भुटुन टार्न दुई माउ भैंसी पालेको थियो उसले । ऊ तिनैको दुध बेचेर घरको गर्जो टार्थ्यो ।

एकदिन सधैं जस्तै ऊ दुध बोकेर बाटो लाग्यो । जाँदाजाँदै साथी धनेसँग भेट भयो । उसलाई धेरै दिनमा भेटेर होला हतास र माया दुबै एकैसाथ ओंठमा निकाल्दै भन्यो ‘हन ए धने, यो त शहर गएपछि चिन्नै नसक्ने गरी सरलक्कै फेरिएछ बा ! कैले आएको ? ‘

‘हिजो साँझ-साँझमा आईपुगेको’ धने उत्तर फर्काउँछ ।

‘अनि तेरो के छ नि खबर ? बिहा पनि गरिस रे ? बिहा भोज कहिले खुवाउँछस ? ‘

‘मेरो बिहा गाउँमै भको भए उसैबेला खान पाउँथिस् । खुवाउँला नि ! निकै बस्छस् क्यारे । बल्ल-बल्ल धेरै वर्षपछि गाउँमा आएको छस । पैसा पनि निक्कै कमाएको पो हल्ला सुनेको थिएँ मैले ?’ कुलबीर एक सासमा बोलीसक्छ । रमाईला कुराकानी चल्दा चल्दै भञ्ज्याङ आइपुग्छ । धने र ऊ अन्तरेको चिया पसलमा पुगे । पसलमा उसले दुध दियो । धनेले दुईकप तातो चिया मगायो । केहीबेरमा पसलेले बाफ उड्दै गरेको चिया ल्याइदियो । दुबैले देखे सुनेका गफ गर्दै चिया खाए । त्यसपछि उसले धनेतिर हेर्दै भन्यो- ‘ल धने आफ्नु त अभागी कर्म । यिनै बस्तु भाउको स्याहार सुसारमा नै दिनरात बित्छ । म अब घरतिर लाग्छु । स्वास्नीले गर्ली भनुँ त बच्ची सानी छ ।’

धनेले भन्यो ‘तँ पनि जान्छस भने हिड क्यारे शहर । काम खोजेर लगाइदिने काम मेरो जिम्मा भयो ।

‘खै धने मत एक्लो मान्छे सोच्नु पर्छ, यसै भन्न सक्तिन । तेरो जस्तो फुकिदाइ भएर कहाँ हिँड्न पाउँछु । तेरो पो आमा बुवा छन् घर परिवारको रेखदेख गर्ने ।’ त्यसो भन्दै ऊ धनेसँग छुट्टीएर घर हिँड्यो । बाटोमा धनेले भनेको कुरा पटक-पटक उसको दिमागमा घुमिरह्यो । ‘जान्छस भने हिंड् क्यारे शहर ।’ तिनै कुरासँगै बाटो काटेको पत्तै नभैकन घरको आँगनमा पाइला राखी सकेछ । गाइबस्तुको चर्को आवाजले उसलाई झस्कायो । अनि पो पानी छर्केर पस्रिन तयार पारिएको बोको जसरी आङ जिरिङ्ग पार्यो उसले ।

घामपनि धेरैमाथि आइपुगेको थियो । गाइबस्तुपनि भोकले आत्तिएर किलोबाट दाम्लो नै छिनालुम्ला झैं कराईरहेका थिए । गोठमा पुगेर कुलबीर कराउँछ – ‘ए म्यौची ! यो त बा त्यो छोरीको गफसँगै अल्मलिछे कस्ती आईमाई । कुनै सुर्ता छैन । म आउन ढिला भएपछि यस्सो बस्तुभाउको पनि त ख्याल गर्नु पर्थेन ? अरु नभ्याएपनि काटेर राखेको घाँस त खानदिनु पर्छ’ फतफताउँदै भैंसीलाई हरियो अलिकति घाँस लगाइदिन्छ ।

म्यौची पनि बुढाको बोली सुनेर बाहिर आउँछे । हन ए प्रतिमाका बा, आज त सधैं भन्दा अबेला गर्यौ नि ! कहाँ अल्मल भयो हँ ?

‘कहाँ हुनु नि ! मेरो साथी छ नी, त्यहि धने के । हो त्यो बाटोमा भेट भयो । उसैसँग अलमल भयो ।’

‘ए धने कैले आएछ ?’

‘हिजो साँझ साँझमा आएको रे ।’ बाख्रालाई पानीदिँदै स्वास्नीलाई जवाफ दिन्छ । भोकले आत्तिएका बाख्रा पाठाका किलो, दाम्लो बोकेर बारीको पाटोतिर झर्छ ऊ । म्यौची भित्र पस्छे ।

फेरि केही बेरमा ऊ अलि चर्किएझैं बोलाउँछ ‘ए म्यौची ? ‘

म्यौची पिँढीमा निक्लिन्छे ‘फेरि के भयो ? ‘

‘भात पाक्यो ? साह्रै भोक लागेको छ ।’

‘पाक्दैछ ।’

‘आमा पनि आएकी छिन् ।’

‘कति खेर नि ?’

‘अलि बेर भयो मलाई सुत्केरी खुवाउँन लिन आएकी रे ।’

‘ए ल ल म आउँछु यी बाख्रापाठालाई घाँस भएको ठाउँमा सारी राखेर ।’ म्यौचीकी आमा चुलोको छेउमा बसेर नातिनीलाई चिल्लो घसिदिँदै छे । नातिनी हाइसञ्चो मानेर चुपचाप छ । कुलबीर भित्र पसेर सासू नजिकै गएर नमस्कार चढाउँछ । ‘भाग्यमानी हुनु ‘ म्यौचीकी आमा ज्वाँईलाई आशिर्वाद दिन्छे । ऊ प्रश्न गर्छ ‘घरतिर सबै बेसै छ ? ‘

‘तपाईका ससुरा बा अलि चिसोले होला रुघा मर्किले बिरामी परेका थिए । अरु त बेसै छ ।’ सासू जवाफ फर्काउँछे ‘ए औषधि मुलो केही गर्नु भएन ?’

’गरेको बैद्यकाँ’बाट झारबुटी ल्याई खुँवाएँ !’

म्यौचीको बोली निस्कियो ‘ल भान्छा तयार भयो । प्रतिमाका’बा तिमी पनि आऊ । ‘हात धुन अंखोरामा पानी दिई । आमाको तातो काखमा निदाएकी छोरीलाई म्यौची झोलुंगोमा लगाई । अनि आमालाई भात दिँदै भनि ‘ल आमा, छोरीको घरमा आएकी के खानु छ र ! यहि रुखोसुखो बाहेक । तिम्रा ज्वाँईले कतिदिन भयो ठेकामा दुध पनि जमाएका होईनन । भैंसीका डाम्ना पनि हेर्दाका डाल, खानका काल मात्रै छन् । देख्नलाई गोठैभरी । सबै थाँकिसकेका छन् । यी बेचेर लैना ल्याउँ भनेको कानमा बतास लाएका होईनन् तिम्रा ज्वाँईले ।’

आमाले गाँस हाल्दै भनि “यहि पनि ईश्वर दाहिने भएर खानपाएका छौ बाबै । तेरी सानीमा ‘अन्नको अनिकाल लागेर एक गेडो उब्जाउन सकिएन दिदी । केटाकेटीको सास अल्झाउनकै लागि पारी गाउँमा सुबिदारको घरबाट घुन लागिसकेको मकै आउँदो बर्ष एकको दुई दिन्छु भनि ल्याएर खोले खुवाउँदैछु’ भन्थी । त्यो पनि साह्रै अभागी रहिछे । छोराछोरी स-साना छन कसरी हुर्काउनु ? तेरा सानुबालाई पनि औलोको ज्वरोले लगिहालो चट्क्कै चुँडेर ।”

म्यौची ‘के थपौ आमा ? ‘

‘मलाई केही पर्दैन । सबै थोक पुग्यो । तँ पनि खान बस भात सेलाउला ।’

‘प्रतिमाका बा तिमीलाई के थपौ ?’

‘अलिकति तिउनको झोल ।’ म्यौची लोग्नेलाई तिउनको झोल दिएर खान बस्छे । आमा उठेर जुठेल्नातिर लाग्छे । हात चुठेर पिँढीको सुकुलमा बस्छे । सालको पात पोल्टाबाट निकाली चुर बेरेर धुवाँ उडाउँदै एक धुनमा तान्छे । केहीबेरपछि कुलबीर पनि सासूको छेउमा गै बस्यो । चुरको सरको तान्दै सासूकुरा थाल्छे ‘के गर्ने ज्वाँई गाउँले शत्रुका मुखेन्जेल लाजगाल ढाक्नकै लागि पनि दुईचार दिनलाई छोरी लानु पर्‍यो । हाम्रो आँखाको नजिक पिरलाई भुलाउने बाटो । दिग्दार मान्दै दाजु थियो भन्नु मात्रै भयो । मरे बाँचेको टुङ्गो छैन् ।’

कुलबीर मन भारि बनाउँदै जवाफ दियो ‘ठिकै छ नि आमा । तपाईलाई थाहाँ’नै छ । मता एक्लोमान्छे । म्यौची नहुँदा दैलो नै लाग्छ । चाँडै पठाईदिनु होला ।’

सबै काम सकेर माइत जान फुरुक्क परेकी म्यौची नानीका थाङना भुकुना पोको परेर बाटो लागी । अलि तल उभिँदै लोग्नेलाई सम्झाई ‘कतै जादा दैलोमा साँचो ठोकेर हिँड है प्रतिमाका बा ? यसो पानी खाने सिलबरे लोटा कसैले लगे भने पनि खाँचै हुन्छ ।’

‘ल ल जा । छोटा दिन छन । मिलिक्कै जान्छन । घरमा पुग्न अबेला हुन्छ । फेरि बाउ पिँढीमा बसेर बाटोमा आँखा ओछै रहँदा हुन ! फर्किन त छिट्टै फर्कि है म्यौची ? तँलाई थाहा नै छ । बस्तुको लठारोले भातपनि पकाएर खान भ्याउँदिन । घरै शुन्य हुन्छ । न्यास्रो पनि लाग्छ छोरी र तँ नहुँदा ।’

‘ल ल चिन्ता धेरै नगर । एकदिन घर जेठी आमैलाई जिम्मा लगाइराखी हम्लाई लिन आउनुपर्छ केरे तिमी है ?’ त्यसो भन्दै म्यौची बाटो लागि ।

कुलबीर खुँशी हुँदै म्यौचीलाई बिदा गर्छ । ऊ धेरै माथी पुगुन्जेलसम्म म्यौचीलाई हेर्दै मनमनै बोल्छ ‘यो दैबको लीला कति अनौठो । उत्ती टाढा जन्मीहुर्की मेरो साहारा हुन आईपुगेकि म्यौची । अहिले कति खुशी माइती जान पाउँदा । आफ्नो त आमा बाउ अघि लागिहाले । अहिले कठै ! बाबै थाकिस् नि बरा भनेर सुम्सुमाउने मायालु आमा बाउको न काख न हात । एउटी भएकी दिदि उसको आफनै घरको भित्ता टाल-टुल गर्दै ठीक्क । त्यै माथि म्यौचीले छोरी जन्माइ भनेर रिसले फुलेकी छन् । न्वारन कत्ति बोलाउँदापनि भिनाजु र भान्जा भान्जी पठाएर टारिन । अब दिदी भाइको भेट हुन दसैं तिहार र तिज कुर्नु पर्छ ।

अन्यासै आवाज गुञ्जियो- ‘कुलबीर ! ए कुलबीर ! यस्सो मुन्टो घुमाएर हेर्यो । ए धने पो होस् ? आइज आइज यता सुकुलमा बस । ‘

धनेले हाँस्दै भन्यो- ‘हन तँ दिउँसै सपना देख्न थालिसकिस् के हो ? ‘

‘होईन सासू आएकी रैछिन छोरी र नातिनीलाई लिन । पठाइदिएको । ‘

‘ए आज मैले भाउजु हेर्न पाइन उसो भए ? ‘

‘अलि अघि आएको भए पाउँथिस् क्यारे । ऊ बाटो लाग्नु पनि तँ आइपुगिस् । अब मैलाई हेरेर चित्त बुझा ।’ हाहाहाहा…लामो हाँसो गुञ्जिन्छ ।

केहेबेरपछि कुलबीर साविक मुद्रामा फर्किएर गफिन शुरु गर्छ ‘तँ त शहरको सुखमा बसेको धेरै भयो, गाउँमा आउँदा पनि झिजो लाग्दो हो है ?’

‘त्यसैले यसपाली स्वास्नी छोराछोरी उत्तै लिएर जाउँ भनेको ।’

‘ए हो ? ‘

‘भनेको त त्यसै हो बाउआमा मानेका छैनन । के हुन्छ ।’

‘यहाँको हालत देखिहालिस । घाम पनि कति चर्का हुन । यसपाली पनि पोहोर सालको झैँ खडेरी पर्छ जस्तो छनक छ । दु:खलेपनि कहिल्यै छोड्ने भएन ।’

‘मैले तेरो दु:ख बुझेको छु कुलबीर । त्यसैले त शहर लगेर राम्रो काम लगाइदिन्छु भनेको ।’

‘खै सबैको भाग्य तेरो जस्तै बलियो कहाँ हुन्छ धने । मेरा जेठान धन धेरै कमाएर आमा बाउलाई सुख दिन्छु भन्दै घर-खेत बन्दग राखेर गएका । पाँच बर्ष बितीसक्दापनि न कुनै खबर न मान्छे नै फर्केर आएका हुन् । कहाँ होलान् । के गर्दै होलान् । सधैं ससुरा बा त्यहि छोराको पिरले रोगिएका छन् । सासू आमाको आँखामा आँशु कहिल्यै ओभाएका होईनन् ।

कोहि त छोराको नाममा मोरानै जन्मिदा रैछन् ‘ ऊ लामु सुस्केरा काढ्दै दु:खको गह्रुंगो भारी बिसाउँछ ।

‘झन राम्रो तँ मसँग गइस भने तेरो जेठानको खोजी गरौंला । ‘

‘साँच्चै हो धने ? ‘ उत्साहित हुँदै भन्यो – मेरा जेठान पत्ता लगाइस् भने त तँलाई कत्रो धर्म मिल्नेथ्यो ! ‘

‘सकेको गर्छु नि हेर । एउटालाई दु:ख परेको बेला अर्कोले सघाएन भने के काम भन त हामी साथी भएको ? ‘ सोझो कुलबीरलाई छट्टु धनेका कुराले निक्कै प्रभाव पार्‍यो ।

‘तैंले कुरा त साह्रै मुनासिव गरिस् धने । मलाई चित्त बुझ्यो । शहरमा गएपछि मान्छे बदलिन्छन् भन्थे । होइन रैछ, तँ त अझै दयालु भैछस् ।’

‘घरमा म्यौची पनि छैन । बस्तु भाउको यत्रो चटारो छ । खर्चबर्चको जोहो पनि त गर्नु पर्‍यो ।’

‘खर्चको चिन्ता नगर म लगाइदिन्छु । काम पाएपछि मलाई तिर्नु । मत भोलिनै जान्छु । तँपनि जाने हो भने झिसमिसेमै त्यो मेरो घरछेउको वल्लो रुखको छेवैमा कुखुराको डाँकसँगै आइपुग । बिहानको मिर्मिरे पहर नफाड्दै माने भञ्ज्याङको डाँडा काट्नु पर्छ ।’ यति अर्थ्याएर धने उठेर हिँड्यो ।

यता बस्तु कराईरहेका थिए । कुलबीर गोठतिर लाग्यो । केहीबेर मनमनमा कुरा खेलायो । उसलाई धनेले गल्ती बोलेको जस्तो लागेन । आखिरी धनेले मेरो लागिनै भनेको हो भन्ने विश्वाश भयो । तैपनि बिभिन्न सोचाइले उसलाई रातभरी निन्द्रा परेन । जुरुक्क ओछ्यानबाट उठ्यो । सन्दुसबाट दुईचार जोर लुगा पोको पार्‍यो । जेठिआमैलाई गाइवस्तु र घर जिम्मा दिंएर धनेले भनेको ठाउँमा पुग्यो । त्यहाँ पुग्दा त ऊ एक्लो रहेनछ । गाउँले सुन्तली, जुनेली, सानी र मनमाया पनि थिए । ती सबैलाई देखेर उसलाई ढुक्क लाग्यो ।

उसलाई देखेर धनेले बडो प्रशन्न हुँदै भन्यो- ‘सप्पैजना भेला भयौं अब बाटो लागौं ।’ त्यसपछि सबै धनेका पछि लागे ।

बिहानीको चिसो हावासँगै पाइलाका गती बढाउँदै जाँदा पत्तै नभैकन उनिहरु धेरै अगाडि पुगे । घामपनि उदायो, गाउँको कच्ची बाटो छोडेर पक्की सडक देखियो । त्यसपछि धने सडकछेउकै होटेलमा ‘ए दिदी भन्दै’ पस्यो । सुन्तली, जुनेली, सानी, मनमाया र कुलबीरले थाकेको शरीर बाहिरैको कुर्सी बेञ्चमा टस्याकटुसुक अड्याए । निक्कैबेरमा भित्रबाट एउटी महिला मुसुमुसु हाँस्दै निक्ली- ‘ए धने भाइ यी सबैलाई काम लगाइदिन लगेको ? ‘

‘हो नि दिदी, गाउँले हुन् माया लाग्छ । सँगै खाइखेली हुर्केका साथीहरु कसरी सहयोग नगर्नु दिदी । शहरमा काम फाला फाल छ । गाउँमा यिनिहरुको दु:ख टुलुटुलु के गरि हेर्नु ? त्यसैले सबैलाई लिएर हिँडेको ‘ निकै दयालु देखिन खोज्यो ऊ ‘बरु खाने कुरा दिनु न । मुखमा पानीको थोपा नराखी बाटो लागेका । यिनिहरु भोकाए ।’ धनेले त्यसो भनिरहँदा सप्पैको अनुहार उज्यालियो ।

केहीबेरपछि धनेले कुलबीरलाई एकान्तमा बोलाउँछ- ‘कुलबीर तँ यहाँ आईज न । ‘

कुलबीर भित्र पस्छ । ‘हेर कुलबीर, कुरा के भने नि यो शहर हो । यहाँ हामी चेली माइती भनेर हुँदैन । अब केहीबेरमा हामी गाडी चढ्छौं । बाटोमा कसैले हाम्रो नाता के हो भनेर कसैले सोध्यो भने ‘लोग्ने स्वास्नी’ भन्नु । बुझिस ? नत्र जान दिँदैन के । ‘

एकछिनसम्म त कुलबीर अक्क न बक्क परेर धनेलाई हेरिरह्यो । मनमनै सोच्यो ‘के शहरमा चेली माइती हुँदैनन होला ? ‘ नमीठो लाग्यो उसलाई ।

‘के भयो ? यतिधेरै गम्भीर हुनु पर्नेनै के छ र ?’ आक्रोश हुँदै बोल्यो धने ।

बल्लतल्ल साहस जुटाएर उसले भन्यो- ‘हेर धने यी’त हाम्रा गाउँले चेली हुन्, सँगै खेली हुर्किएका । कसरी स्वास्नी भन्न मनले मान्छ ? नाई नाई । अलिकति पापको डर पनि मान्नु पर्छ । म यो पाप बोक्न सक्तिन । साँच्चो सत्य कुरा बोल्नै राम्रो । आखिर शहरमा पनि त मान्छेनै बस्छन् । उनिहरुका पनि दिदी बहिनि हुन्छन् ।’

‘तँलाई के थाहा शहर ? जन्मेर बल्ल त आउँदैछस् मेरो दयाले ।’

कुलबीरलाई धनेका कुराले साह्रै नरमाइलो लाग्यो । तैपनि उसको अघिल्तिर चुप्पै भयो । उसलाई म्यौचीको औधी माया लाग्यो । उसका आत्ममा कुरा खेल्न थाले ‘लोग्ने लिन आउला र घर जाउँला भन्दै बसेकी होली । म चाँही जेठान खोजी पसौला भनेर धनेले मुख लाईदिएकै भरमा अघि पछि केही सोच विचारै नगरी उसलाई सुइकोसम्म नदिइ घर छोडी हिडेँ ।’

होटेलमा भेट भएकी अपरिचित महिलाले भनि ‘कुरा मिल्यो धने भाइ ? छिटो अहिले रात पर्छ । अचेल त शहरमा कडा जाँच गर्छ ।’ महिलाको त्यो वाक्यले कुलबीरको मनमा कता कता चिसो पस्यो । आत्तिँदै भन्यो – ‘हामी मजदुरी गरेर खाने मान्छे, यसमा डराउनुपर्ने के छ ? ‘

‘यसलाई त सम्झाउँनै बेक्कार छ’ धने फन्किदै भित्र पस्यो । अब त्यो होटेलमा भेट भएकी महिलाले सम्झाउन थाली । कुलबीरले भित्र भित्रै गम्यो ‘आखिर जेठानलाई खोजेर सासू ससुराको आँखाका आँसु पुछ्ने कुराभन्दा ठूलो पूण्य अरु के होला ?’ यहि सोचेर धनेले यसो भन्नु भनेर सिकाएका कुरा स्विकार्ने मनशाय बनायो ।

त्यसपछि भने सबै त्यहाँबाट सिधै बस रोक्ने स्थान तर्फ लागे । लगभग एक घण्टाको पैदल यात्रापछि बस स्टाण्ड भेटियो । नभन्दै प्रहरीको जमात देखा पर्‍यो कुलबीरको सामुन्ने । यता धनेको मुटुमा बेस्सरी कम्पन हुन थाल्यो । एक जत्था प्रहरी नजिकै आएर कुलबीरलाई सोधपुछ गर्न थाले । कुलबीरका आँखा धनेलाई खोज्दै थिए, तर धने र त्यो महिला भने कतिखेर कता चिप्लिए थाहा भएन । प्रहरीले कुलबीरको कठाला समातेर ‘हामीसित हिँड’ भन्दै प्रहरीको भ्यानमा कोचे । केटी बेचबिखन गरेको अभियोग उसलाई लगाइयो । उसँगै सुन्तली, जुनेली, सानी र मनमायालाईपनि चौकीतिरै लगे । कुलबीरका हातगोडा डरले काँपे । मन हिउँझैँ चिसियो । ऊ लल्याकलुलुक्कै गल्यो । मुख वाक्यविहीन लाटो झैं भयो । त्यसपछि के के भयो थाहा भएन । होस् खुल्दा त जेलमा पायो आफूलाई उसले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *