त्यै नजरको मात मीठो, पिएँ अलिकति
जुन नजरको प्यासी म, थिएँ अलिकति!
फाटेको मन सिलाउन सकिंदैन भन्थे-
धुजाधुजा यो, मन पनि सिएँ अलिकति!
धेरै नै आशक्त थिई ऊ, सायद त्यसैले
आशक्तिको बदला मैले लिएँ अलिकति!
यो भूल भुलैयाहरुको ठूलो सहरमा
सानो रहरको जिन्दगी जिएँ अलिकति!
नजराना चढाउने क्यै थिएन मसित
नजरभित्र मायाँ राखी दिएँ अलिकति!