रेखा कविता-३७ : विसङ्गतिवादमा

  • by
DeshSubba-03


कामुको मान्छे
यो संसार एउटा कोठा
कोठामा घुम्दै बास बस्न
आइपुगेको ‘म’ मान्छे

पहाडको बाटो
घुम्ती र नागबेली खोला
आँधीबतास काट्दै
भाग्दै-भाग्दै हिंस्रक पशुबाट
जीउ उम्लिने गर्मी र
खुट्टा खाने जाडो
तरेर यहाँ आइपुगेको छु

मिलेका छैनन कोठाका
झ्यालढोका
मिलेको छैन बिस्तारा
आँखालाई पुग्दैन उज्यालो
मेरो अगाडि
तेर्सिएको लामो रात छ
कहिले जाडोले कठिङग्रिन्छु
कहिले गर्मीले बाफिन्छु
उडुस, उपियाँ र मच्छर
मिलाई-मिलाई टोक्छन्
कति घिनलाग्दो कोठा

म चाहेर बदल्न सक्दिनँ
यो स्वरूप
न मारेर सक्छु रक्त-पिपासु
न रोक्नु सक्छु उम्लिने हावा

म बाहिरबाट आएको एक ‘पाहुना’
पाहुनाको कुनै अधिकार हुँदैन
न भने जति कर्तव्य नै हुन्छ
सबै मेरो विरुद्ध छन्
विसङ्गत छन्

रातमा आरामदायी निदाउन
मैले आफै बिस्तारा मिलाउँदै
टकटकाउनु छ
झ्यालबाट जीवन दिने हावा छिराउन
एकपाटा झ्याल खोल्नुछ
त्यो भन्दा उता म
केही पनि गर्न सक्दिनँ
किनभने म
बाहिरबाट आएको एक ‘मान्छे’ हुँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *