डायमनशमशेरको साथमा लेखक धरान (सुनसरी) मा वि.सं. २०१४ सालदेखि २०६० सालसम्म लगभग साढे चारदशकसम्म औषधोपचार क्षेत्रमा संलग्न रही २०६१ साल फागुन महिनामा ललितपुरको ज्वागल, कुपण्डोलमा स-परिवार बसाइँ सारेर आउनु अघिदेखि नै डायमनशमशेर राणाद्वारा लिखित ‘वसन्ती’ (२००६) र ‘सेतो बाघ’ (२०३०) उपन्यासले नेपालको साहित्यिक तथा राजनीतिक क्षेत्रमा ठूलो हलचल मच्चेको तथ्य-सत्यलाई आत्मसात् गरिसकेको थिएँ ।

यथाशीघ्र मेरो छिमेकीको रूपमा रहनुभएका वरिष्ठ उपन्यासकार डायमनशमशेरसँग जीवनमा प्रथमपटक साक्षात्कार हुँदा उहाँको स्वभाव र व्यवहार अत्यन्त सरल, शिष्ट तथा मृदुभाषीका साथै प्रजातान्त्रिक विचारधाराले ओतप्रोत पाएर मेरो हृदय खुसीले गद्गद्भएको थियो ।

केही दिनपश्चात् एकाबिहानै उहाँले आफूद्वारा लिखित ‘वसन्ती’, ‘सेतो बाघ’, ‘प्रतिबद्ध’, ‘सत्प्रयास’, ‘अनिता’, ‘धनको धब्बा’ र ‘गृहप्रवेश’ उपन्यासको ठेली आफैँले बोकेर मेरो निवासभित्र प्रवेश गर्दै भन्नुभो-लौ, डाक्टर साहेव मेरा यी सात वटा उपन्यासहरू उपहार स्वरूप ल्याएको छु, स्वीकार गर्नुहोस् । ९० वर्षको उमेर छेउछाउ पुगिसकेको म आफैँ पनि अनेकौँ असाध्य रोगबाट ग्रसित अवस्थामा ‘तपाईंजस्तो वरिष्ठ र अनुभवी चिकित्सक छिमेकी पाउनु मेरो अहोभाग्य हो । हाम्रो मित्रताको सम्बन्ध भविष्यमा पनि यस्तै सुमधुर रहिरहोस् भन्ने कामना गर्दछु ।’

तत्पश्चात् हाम्रो भेटघाट बाक्लिँदै जाँदा प्रायः जसो हामी मर्निङवाकका लागि बिहान सबेरै यू.एन. पार्क छेउछाउमा छिटोछिटो हिँड्थ्यौँ । आधा घण्टापश्चात् मैले उहाँकै निवासमा समाचार पत्रिका पढेर सुनाउँथेँ । बेलुकी ६-७ बजेतिर सँगसँगै एक-डेढपेग स्कच हृविस्की रसास्वादन गर्दै आ-आफ्नो जीवनमा विगतमा घटेका रोमाञ्चकारी तीता-मीठा घटनाहरू आदान-प्रदान गर्दै आनन्दको अनुभूतिका साथै एक-अर्काले मार्ग दर्शनको रूपमा लिने गरेका थियौँ । उहाँ खानपानका अत्यन्त सौखिन हुनुहुन्थ्यो । उहाँलाई बढी मनपर्ने बँदेल र खसीको मासु तथा ज्यादा मात्रामा मदिरासेवन नगर्ने, बढी चिल्लो पदार्थ नखाने र अपेक्षाकृत छाला निकालेको कुखुराको मासु झोल हालेको वा माछा, हरियो साग तथा मौसम अनुसारका फलफूल आदि खाँदा उचित मात्रामा प्रोटिन प्राप्त हुने विषयमा विशेष सल्लाह दिने गर्थेँ । प्रायःजसो मैले आफ्नो भान्सामा पकाएको मुँगीदालको चिल्लोरहित बारा बफाएर तथा चिकेन मोमो साँझपख लगेर उहाँको कोठामा रसास्वादन गर्दै विभिन्न प्रकारका विचारको आदान-प्रदान गरेर तनाबबाट मुक्त हुन्थ्यौँ ।

उहाँ केही वर्षदेखि दीर्घ मधुमेह तथा उच्च रक्तचापको समस्याबाट ग्रसित हुनुहुन्थ्यो । उचित रहनसहन तथा खानपानद्वारा आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्न आवश्यकताबारे ज्ञान र सल्लाहको अभावका कारण उहाँ ‘डायबेटिक रेटिनो पैथी’ तथा ‘उच्च रक्तचाप’बाट ग्रसित हुनगई एउटा आँखाले शतप्रतिशत दृष्टिशक्ति गुमाइसक्नुभएको र अर्को आँखाको पनि दृष्टिक्षयका कारण पाँच प्रतिशतमात्र देख्नसक्ने अवस्थामा हुनुहुन्थ्यो । त्यसकारण विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारहरू मैले पढेर सुनाउने गर्थेँ । विगतमा बढी मदिरासेवन गर्नुहुने तथ्यलाई हृदयङ्गम गरी मैले उहाँलाई आदर्शको रूपमा सानो एक पेग स्कच हृविस्कीको मदिरापानले हृदयाघातको जोखिमको सम्भावना कम हुने तर उच्च रक्तचाप भएका व्यक्तिले तीन पेग मदिरापान गर्नेहरू सुरक्षित नभएको अनुसन्धानले निष्कर्ष निकालेको पाइएको भनी सल्लाह दिन्थँे ।

उहाँ डेमेन्सिया (सुद्धि हराउने) समस्याबाट पनि ग्रसित हुनु भएका कारण विगत र वर्तमानका धेरैजसो घटनाहरू बिर्सने तर लामो प्रयासपछि मात्र एक्कासि सम्झने तथा सोच्ने र तर्क गर्न असक्षम हुनुहुन्थ्यो ।

नेपालको ऐतिहासिक उपन्यासको पर्याय मानिएका उहाँका सबै उपन्यास सगरमाथाजत्तिकै उच्च स्थानमा पुगेका छन् । वसन्ती र अनिता उपन्यास हिन्दी भाषामा तथा सेतो बाघ, अङ्ग्रेजी, हिन्दी, फ्रान्सेली, जापानी र जर्मन भाषामा अनुवादित भएका कृतिले विश्वका विभिन्न राष्ट्रका पाठकवर्गमा समेत नेपाल र नेपाली साहित्यको उचित पहिचान हुन सकेको गौरवको विषय मान्नु पर्दछ ।

समृद्ध राणा परिवारमा जन्मे-हुर्केका डायमनले सैनिक सेवामा प्रवेश पाएपछि कतिपय विषयमा उच्चपदमा आसिन राणाहरूका विचारसँग सहमत हुन नसक्दा तथा प्रजातन्त्रका निम्ति आवाज उठाउँदा उहाँलाई राणाविरोधी आरोप लागेर सैनिक नियमअनुसार कोर्ट मार्सल (फाँसी) दिने निर्णय गरेको रहेछ तर २००७ सालको जनक्रान्तिको फलस्वरूप उहाँले पुनर्जीवन प्राप्त गर्नुभएको सुनाउनु हुन्थ्यो । प्रजातन्त्रवादी हुनु भएका कारणले पटकपटक गरी ३० वर्षसम्म विभिन्न जेल तथा खोरमा राख्दा गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, डा. के.आइ सिंह आदिसँग निकटतम सम्पर्क कायम रही रहृयो ।

प्रजातन्त्रको कट्टर समर्थक भएका कारणले नै ललितपुर जिल्लाको नेपाली काङ्ग्रेसका सभापति पदमा तीन पटकसम्म चुनाव जितेर १५ वर्षसम्म जनताको सेवामा संलग्न रहनुभयो ।

नेपाली साहित्यको आराधनामा संलग्न भई उल्लेखनीय योगदान गरेवापत उहाँलाई गरिमामय जगदम्बा श्री पुरस्कारका साथै अन्य विभिन्न सङ्घसंस्था तथा साहित्यिक प्रतिष्ठानबाट समेत सम्मानित र अभिनन्दित हुनुभो तर उहाँलाई राज्यस्तरबाट कुनै प्रकारको पनि मान तथा प्रतिष्ठा प्रदान नगरिएको गुनासो आफ्नो जीवनकालको अन्तिम घडीसम्म पनि सुनाउनु हुन्थ्यो ।

मृत्युपश्चात् पनि राज्यको तर्फबाट उहाँलाई सम्झना गर्ने केही गरिदिए खुसीको विषय हुने थियो । प्रजातन्त्रवादी भावनाले ओतप्रोत उहाँले आफ्ना मनमा तरङ्गीत विद्रोही भावनालाई बन्दुक नउठाई कलम चलाएर भए पनि राणातन्त्र र पञ्चायततन्त्रविरुद्ध अभिव्यक्ति दिन थाल्नु भो जसबाट नेपाली जनसमुदायको मनमा दबिएको भावनालाई टेवा दिँदै जनक्रान्तिलाई सफलतापूर्वक सघाउन ठूलो मद्दत मिल्यो ।

प्रजातान्त्रिक आस्था र मान्यतालाई साहित्यको माध्यमद्वारा व्यक्त गर्दा प्रजातान्त्रिक राज्य व्यवस्थाबाट मात्र सम्पूर्ण राष्ट्रको सर्वतोमुखी विकास हुन सक्ने प्रवल धारणा उहाँमा थियो । डायमनले प्रायजसो सबै सभा-समारोहमा भन्नुहुन्थ्यो, विदेशीहरूको हातमा एयरपोर्ट होस् अथवा रेल्वे स्टेसन र पार्कमा समेत पुस्तक वा पत्रपत्रिका हुने गर्छ । किताव पढ्ने बानी बसाल्दा बौद्धिक विकास हुने हुनाले नेपालीहरूले पनि पुस्तक तथा पत्रपत्रिका नियमितरूपले पढ्ने बानी बसाल्नु पर्दछ र राज्यले पनि गोलीगठ्ठा, बारुद आदि खरिद गर्दा खर्च कटौती गरेर भए पनि साहित्यको विकासका लागि खर्च गर्नु अतिउत्तम कार्य हुन्छ ।

दिन प्रतिदिन शारीरिकरूपले कमजोर हुनु भएपछि मलाई समारोहमा सहयोगीको रूपमा प्रायः जसो साथै लानुहुन्थ्यो । ११ पुस ०६२का दिन बिहान ८ बजेतिर उहाँसँग अन्तर्वार्ता लिने देवेन्द्र भट्टराई र फोटोग्राफर कुमार आले उहाँको निवासमा आउनु भएको थियो । त्यही बेला कुन्नि कुन आधारमा मसँग प्रभावित भई डायमनजी सँगसँगै मेरो पनि अन्तर्वार्ताका साथै दुवैजनाको फोटो खिच्ने काम भयो । फोटोको मुनि आफ्ना दौँतरी डा. केदार कर्माचार्यका साथ उपन्यासकार डायमनशमशेर लेखिएको थियो । प्रथम पानाको देव्रेतिर माथिल्लो भागको कुनामा मेरो फोटो छेउ ‘डायमनका दौंतरी साँझ बिहान साथीको साथ उपन्यासकारलाई’ कान्तिपुरमा प्रकाशित भएपश्चात् मबाट बिस्तारै टाढिन थाल्नु भो । अनि मात्र ममा पनि आत्मसम्मानको भावना जागृत हुन थालेपछि ‘स्वास्थ्य जागरण अभियान’अन्तर्गत कान्तिपुर दैनिकको ‘डाक्टरको सल्लाह’ स्तम्भमा प्रत्येक महिना रोगसँग सम्बन्धित विषयमा ५० वटा लेख प्रकाशित गर्न सफल भएको छु । मेरा प्रत्येक लेख उहाँलाई पढेर सुनाउँदा प्रोत्साहनस्वरूप भन्नुहुन्थ्यो- “तपाईंले पत्रिकाको माध्यमद्वारा देशविदेशका लाखौँलाख पाठक स्वास्थ्यसम्बन्धी ज्ञान पस्केर सर्वोत्तम सेवा प्रदान गरिरहनु खुसीको कुरा हो ।” उहाँबाट यस्तो अभिव्यक्ति सुन्न पाउँदा अनि मात्र मैले आफूले गरेको सेवाको उचित पुरस्कार पाएको आभास हुन्थ्यो ।

० दिवङ्गत हुनु केही महिनाअघि नर्भिक अस्पतालमा उहाँको एन्जियोप्लास्टी मुटुसम्बन्धी शल्यक्रिया गरिएको थियो । घुँडाको जोर्नीमा ‘ओस्टोआरथ्राइटिस’बाट ग्रसित भएर हिँड्डुल गर्न असक्षम हुनुहुन्थ्यो ।

‘किड्नी (मृगौला) फेल्युवर’ निदान भएपश्चात् डायलिसिस गराउँदा गराउँदै स्वास्थ्य स्थिति बिग्रेपछि पुनः नर्भिक अस्पतालको आई.सी.यू.मा ३-४ दिन राखी उपचार गरिँदागरिँदै फागुन २० गते बेलुकी ६ः२५ बजेतिर सदाका लागि यस धर्तीबाट बिदा लिनुभयो । सिकिस्त भएर अस्पतालको सघन उपचार कक्षमा जीवन-मृत्युसँग सङ्घर्ष गरिरहेको अवस्थामा तथा मृत्युपश्चात् पनि उहाँसँग मेरो मित्रताको घनिष्ठ सम्बन्ध सञ्चार माध्यममा आएबाट ममा आत्मसन्तुष्टिको अनुभूति भइरहेको छ ।

मधुपर्क २०६८ जेठ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *