जनगणतन्त्र, लोकतन्त्रका विषयमा विचारको अनुभूति गर्ने सिर्जनात्मक मूर्ति ढुङ्गामा बनाउन सकिन्छ । अहिलेको समयसापेक्ष हुने गरी ढुङ्गामा मूर्ति कुँद्ने हाम्रा मूर्तिकारले विचारका मूर्ति बनाउनु कर्तव्य हो । अहिले सम्पूर्ण जनताको हितमा अझ दुःखी जनताको हितमा प्रत्याभूति गर्ने मूर्तिकलाको खाँचो छ । जनताका पक्षमा जनसंविधान बनाउनुपर्छ भने महत्त्वपूर्ण सन्देश बोकेको आकर्षक मूर्ति सिर्जना गर्नुपर्छ भन्नु अहिलेको आवश्यकता हो । मूर्ति बनाउने कार्य अगावै मूर्तिकारले निकै सोच, विचार र सम्झना गरी विचारपक्षको चेतना संश्लेषण गर्नुपर्छ । त्यसपछि विचारको प्रतिबिम्बमा ध्यान दिनु पर्दछ ।
मिति २०६५ मा ललितकला क्याम्पसको प्राङ्गणमा नै ढुङ्गाको मूर्ति बनाउन ५ दिने कार्यशाला सम्पन्न भएको थियो । सो कार्यशालामा म जनसंविधानको विषयमा मूर्ति कुँद्ने कार्यमा लागेको थिएँ । दुःखी, गरिब जनता नै समाजको सर्वाेच्च स्थानमा भएको हुँदा उनीहरूका विषयमा उद्गार गर्ने मूर्ति सिर्जना गर्नुपर्छ भन्ने विचारले ‘जनसंविधान’ को मूर्ति सिर्जनामा लाग्न उत्प्रेरित भएको थिएँ ।
देश र जनताका सेवामा, जनताको मुक्तिका लागि सङ्घर्ष गर्दै लडाइँ लड्दै अघि बढ्ने अनेक क्षेत्र छन् तर अहिले जनताको संविधान बनाउने कुरा नै महत्त्वपूर्ण हो । अहिले यो विषय जनताको बीचमा विभिन्न माध्यमबाट पुर्याउनु पर्छ । यदि जनताका पक्षमा ‘संविधान’ नबनेमा जनताले त्यस्ता जनविरोधी संविधानलाई च्यातचुत पारिदिन पछि पर्ने छैनन् भन्ने विचार सामयिक विचार हो । यही विचार केन्द्रमा राखी मैले ढुङ्गामा ‘जन संविधानको’ मूर्ति बनाएको थिएँ ।
राजनीतिक विचारअनुसार सबै दुःखी जनताहरूलाई चेतनशील रूपबाट रूपान्तरण गर्दै, जनमुक्तिको मार्गबाट प्रगतिशील विचारधारा बुझाउने, समाजवाद र साम्यवादको मार्ग स्पष्ट पार्ने, जनताका दुःख दर्दलाई हटाउने र जनताका मर्मको विषयमा मूर्तिकारले आफ्ना मूर्ति सिर्जना गर्दै जानुपर्ने आजको वैचारिक पक्ष हो । यो नयाँ नेपाल बनाउने सन्दर्भमा अति नै आवश्यक चिन्तन र व्यावहारिक पक्ष पनि हो ।
नयाँ नेपालको परिप्रेक्ष्यमा विचारधाराअनुसार राम्राराम्रा सिर्जनाका मूर्तिहरूको निकै महत्त्व देखिन्छ । व्यवहारिक र विषयगतरूपले कार्यलाई अगाडि बढाउँदै जानु पर्दा मूर्तिकारको चेतनाको स्तरअनुसार विचारको प्रस्फुटन गर्ने गरी समाज र जनताका लागि नै मूर्ति सिर्जना गर्नुपर्ने चिन्तन मूर्तिकारमा हुनु जरुरी छ । यस किसिमका कार्यबाट देशको गरिमा बढ्दै जाने हामीले बुझ्नुपर्ने छ ।
विविध विषयमा जस्तै मूर्तिकलामा पनि जनताहरू सुसूचित भएर उठ्नुपर्छ । मूर्तिकलाले पनि जनतामा नौलो जागृति ल्याउनुपर्छ । समय, कार्य, ‘आन्दोलनको’ समयलाई सन्तुलन मिलाएर मूर्ति सिर्जना गर्दै गएमा एक दिन लक्ष्यमा पुग्न सकिने
छ । प्रगतिशील विचारधाराअनुसार सोचविचार गरी बनाएका मूर्तिकलाले दुःखी जनतामा क्रान्तिकारी सन्देश दिनु लोकतान्त्रिक जनआन्दोलन भाग-२ र दस वर्षे जनयुद्धका लागि मार्गनिर्देश र त्यसको यथार्थभाव प्रतिबिम्बित हुनेछ ।
संविधानको किताबलाई शिरमाथि उठाएको नयाँ नेपालको सोचअनुसार मैले ढुङ्गामा कुँदेर मूर्ति बनाएको थिएँ । अहिलेको मूल कार्य जनसंविधान बनाउनु नै हो भनी मूर्तिकलाका माध्यमबाट आकृतिको मूर्ति सिर्जना गरी मूर्तिकलाको प्रदर्शनी ‘त्रिपुरकला’ आर्टकाउन्सिल बबरमहलमा २०६५ मा मैले सो मूर्ति प्रदर्शनमा राखेको थिएँ ।
मधुपर्क २०६८ जेठ
