Skip to content

सुधा त्रिपाठीका कवितामा क्रान्तिचेतना

  • by


विषयप्रवेश

समकालीन नेपाली प्रगतिवादी साहित्यका फाँटमा सुधा त्रिपाठी स्थापित प्रतिभासम्पन्न हस्ताक्षरको नाम हो । बुबा प्रा.जगन्नाथ त्रिपाठी र मुमा भवानी त्रिपाठीको कोखबाट जन्मेकी सुधा त्रिपाठी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेसामा कार्यरत छिन् भने साहित्यका फाँटमा पनि त्यतिकै क्रियाशील छिन् । उनको एघारौँ प्रकाशित कृति जिराहा वर्तमान (कवितासङ्ग्रह, २०६७) हो ।

कविताका रूपमा भने यो पहिलो सङ्ग्रह हो । तीसको दशकबाटै कविता रचना गरेकी सुधा त्रिपाठीका कविता अरू विधाको जस्तै स्तरीयता यसमा पनि कायमै छ । साहित्यकारका रूपमा खारिएका हात र प्राध्यापकीय पेसाका खारिएका दिमागले एउटा सही मार्ग पहिल्याउनु उनको आफ्नै लगनशीलताको प्रतिफल हो । उनका रचना पढ्दा एउटा खारिएको साहित्यकारको पहिचान त दिन्छ नै त्यसमा पनि उनका रचनाका विषयवस्तु राजनीतिमै केन्द्रित छन् ।

यस ‘जिराहा वर्तमान’ मा कविका २०३६ देखि २०६५ सम्मका जम्मा ३५ शीर्षकका कवितासङ्गृहीत छन् । यी सबै कवितामा विषयगत विविधता पाइए पनि यी राजनीतिमै केन्द्रित छन् । पञ्चायतकालदेखि प्रजातन्त्रकाल र गणतन्त्र घोषणासम्मका समयावधिका यी कविताका मुख्य उद्देश्य पञ्चायतकालभरि प्रजातन्त्र प्राप्तिका लागि कविता रच्नु, २०४६ पछि लोकतन्त्रका लागि, २०६३ पछि गणतन्त्र प्राप्तिका लागि र २०६५ पछि गणतन्त्र मास्न खोज्ने षड्यन्त्रकारीप्रति खवरदारी गर्दै कविता रच्नु हो । इतिहासमै सङ्घर्षको दृष्टिकोणले विशिष्ट समय मानिएको पञ्चायतकाल, बहुदलको पुनस्र्थापनाकाल र जनयुद्धयताको कालमा रचिएका यी कविताहरूले राजनीतिलाई नै केन्द्रविन्दु बनाएको छ । यसैलाई आधार मानेर यी कवितालाई भिन्नभिन्न समयावधि दिन उपयुक्त देखिन्छ ।

कवि त्रिपाठीका कवितायात्रालाई क्रमशः पहिलो चरण (वि.सं. २०३६-२०४०), दोस्रो चरण (२०४५-२०४६) र तेस्रो चरण (०५३-०६५) गरी जम्मा तीन चरणमा बाँडेर अध्ययन गरिन्छ । यी तीनै चरणमा नेपालमा महत्त्वपूर्ण राजनीतिक घटनाहरू घटेका छन् । कवि त्रिपाठीको पहिलो कविता २०३६ सालमा रचिएको हो र यो समय पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन भइरहेको समय हो । त्यस आन्दोलनलाई मत्थर पार्न तत्कालीन राजा वीरेन्द्रले २०३७ सालमा जनमतसङ्ग्रह गराए । त्यसको उल्टो परिणामलाई मध्यनजर गरेर रचिएको कवितालाई यहाँ पहिलो चरणको रूपमा लिइएको छ । दोस्रो चरण २०४५ देखि २०४६ सम्मको समयावधि हो र यसमा पनि २०४६ सालको जनआन्दोलन भइरहेको थियो । यी कविताहरू जनआन्दोलनसँग सम्बन्धित छन् । २०४६ देखि २०५३ सम्म कविले कुनै पनि कविता सिर्जना गरेको देखिँदैन । २०५३ सालमा आएर तीन वटा कविताहरू सिर्जना भएका छन् । यो समय नेकपा (माओवादी) बाट २०५२ सालमा जनयुद्धको घोषणा भएपछिको समय हो । २०५३ पछि रचिएका कविता पनि त्यतिबेलाको राजनीतिक परिस्थितिसँग सम्बन्धित छन् । नेपालको इतिहासमा जनयुद्ध भइरहेको अवस्था र त्यसबाट उत्साहित कवि हृदय र क्रान्तिकारी लेखकहरूको दायित्वसम्बन्धी कुराहरू कविताहरूमा देख्न पाइन्छ । २०६३ मा जम्मा आठ वटा शीर्षकका कविताहरू सिर्जना भएका छन् । राजनीतिक घटनाका आधारमा यी कविताका चरणगत विभाजन गरिएको छ । यसको पहिलो चरणको प्रवृत्तिगत विश्लेषण पनि यसै आधारमा गरिन्छ ।

पहिलो चरण र यसका प्रवृत्तिगत विश्लेषण ः

क) विद्रोहात्मक स्वरको अभिव्यक्ति ः

सङ्घर्ष नै जीवन हो र जीवन सङ्घर्ष गरेर बाँच्नु हो भन्ने सङ्घर्षशील भावना कवितामा पाइन्छ । ‘मलाई जन्माइदेउ’ ‘रातो रगतको चिहानमा सेतो फूल फुल्नेछ’, ‘रातो रगतको आहाल’ यी कविताहरूमा तत्कालीन व्यवस्थाको विरोध, अर्को क्रान्तिको आवश्यकता र नेपालीहरूको सङ्घर्षप्रतिको प्रतिबद्धतालाई यहाँ प्रस्तुत गरिएको छ । ‘सशस्त्र क्रान्ति गर्न आतुरिएको मन’ (रातो रगतको आहाल) भन्ने हरफले २०३७ सालको जनमतसङ्ग्रहको उल्टो परिणामलाई क्रान्तिकारी नेपालीहरूले नस्वीकारेको र अर्को सशस्त्र आन्दोलनको आवश्यकता भएको कुरा व्यक्त भएका छन् । जनताका हक र स्वतन्त्रताका निम्ति क्रान्ति नै अपरिहार्य भएको कुरा उनको पहिलो चरणका कवितामा देख्न पाइन्छ ।

ख) वर्गीय आन्दोलनको अपरिहार्यता ः

मानव सभ्यताको सुरुआतदेखि नै उपल्लो वर्गले तल्लो वर्गलाई, हुने खानेले हुँदा खानेलाई, बलियाले निर्वलीयालाई, दमन गर्दै आएकाले अब पिछडिएका निम्नवर्गले जुर्मुराउनुपर्ने बेला भएको कुरा कविले गरेकी छन् । वर्गीय आन्दोलनको महत्त्वको विषयमा कवि त्रिपाठीका ‘मेरा लागि नेपाल’, ‘मलाई जन्माइदेऊ’ कविताहरू महत्त्वपूर्ण छन् । निम्नवर्गको सार्थक मुक्ति आन्दोलनको सारथि बन्न कवि त्रिपाठीका कविताले मार्ग निर्देशकको काम गरेको छ ।

ग) निरङ्कुश व्यवस्थाको विरोध ः

‘जिराहा वर्तमान’ सङ्ग्रहभित्रका ३५ वटै कविता जनमुक्तिका लागि रचिएको भए पनि ‘सगरमाथा’ शीर्षकको कविताचाहिँ सोझै राजतन्त्रलाई नै प्रहार गरिएको छ । निरङ्कुश व्यवस्थाको अन्त्य हुनैपर्ने र प्रजातन्त्रको आवश्यकता भइसकेको कुरा कविले गरेकी छन् । एउटा ठूलो आन्दोलनको धक्काले राजसंस्थालाई परास्त गर्नुपर्ने विचार कविको रहेको छ ।

घ) उत्पीडनको चित्रण र त्यसको विरोध ः

‘बहिनीलाई सन्देश’ शीर्षकको कवितामा विभिन्न क्षेत्रमा भएका उत्पीडन दमन र शोषणका चित्रहरू चित्रित छन् र त्यसमा एउटी महिला जुन क्रान्तिकारी छन्, उनी आफू दिदी बनेर अर्की समाजसेवी महिला बहिनीलाई राष्ट्रका सबै उत्पीडनको यथार्थ चित्रण गरेकी छन् । ती क्रान्तिकारी महिलाले अर्की महिलालाई क्रान्तिकारी बन्न र आन्दोलित हुन सचेत समेत गराएकी छन् । यसरी सामन्ती उत्पीडनको विरोध गर्दै कविले उत्पीडित वर्गको हकहितका लागि पक्षपोषण गरेको पाइन्छ । साथै राष्ट्रका ऐतिहासिक आन्दोलनमा आन्दोलित हुने महिलाहरू पनि त्यतिकै सचेत र चेतनशील हुन्छन् भन्ने कुराको सङ्केत पनि यसमा गरिएको छ ।

दोस्रो चरण र यसका प्रवृत्तिगत विश्लेषण ः

क) आमूल परिवर्तनका लागि आन्दोलित हुन आग्रह ः

यस दोस्रो चरणमा ‘युद्ध आमाहरूको’, ‘कालिमाटी’ र ‘म बीज हुँ असिना’को यी तीन शीर्षकका कविताहरू रहेका छन् । यी कविताहरूले सारा नेपालीलाई प्रजातन्त्रका लागि आन्दोलित हुन आग्रह गरिएको छ । निरङ्कुश व्यवस्थाको विरोध र प्रजातन्त्रका लागि आन्दोलित हुन सबै क्षेत्रका क्रान्तिकारी जनतालाई आ-आफ्ना क्षेत्रबाट युद्ध लड्न आग्रह नै गरिएको छ ।

म सहरबाट युद्ध गर्छु
तिमीले गाउँबाट युद्ध गर्नु
………………
हो आमा ! तिमी एक्ली छैनौ
बहिनीहरू अब ओठबाट युद्ध सुरु गर्नेछन्
बुहारीहरू हातबाट युद्ध सुरु गर्नेछन्
दिदीहरू मस्तिष्कबाट युद्ध सुरु गरुन्
म मनहरूबाट युद्ध सुरु गर्नेछु
एउटा दिग्विजयी युद्ध
एउटा संसारव्यापी युद्ध ।

ख) नारी सचेतताको उद्वोधन ः

कवि त्रिपाठीका कवितामा नारी अस्मिताको संरक्षणको आहृवानका साथै नारीले गरेका योगदानको कदर गरिएको छ । २००७ सालको आन्दोलनमा महिला सहभागिता रहेका कुरा र उनीहरूले गरेको कामको सही मूल्याङ्कन नभइरहेको अवस्थामा कवि महिलाको योगदानलाई उच्च मूल्याङ्कन गर्दै ‘युद्ध आमाहरूको’ शीर्षकको रचना गर्न पुगेकी छन् । कुनै पनि राजनीतिक आन्दोलनमा शीर्ष स्थानमा पुरुषलाई राख्ने गरिन्छ । यस पुरुष सत्तावादी संरचनाको विरोध गर्दै कवि देशका महत्त्वपूर्ण ऐतिहासिक घटनाहरूमा महिलालाई स्थान दिन रुचाउँछिन् । यो कवितासङ्ग्रहको महत्त्वपूर्ण पक्षमध्ये यो पनि एउटा हो । ‘छोराहरू पामर बन्दै गइरहेछन् व्यवहारमा’ अर्थात् सत्ताधारीहरू पामर बन्दै गएका र ‘त्यसैले म भन्दैछु आमा ! अब तिमीले काखबाट नै युद्ध सुरु गर्नु’ भनेर सत्तावादीहरूलाई यथास्थितिवादी र महिलाहरूलाई क्रान्तिकारीको रूपमा अघि सारेकी छन् । यसमा पुरुषहरूको पुरुषसत्तावादी प्रवृत्तिको विरोध र पुरुषसरह महिलालाई समानभाव नपाउनु त्यसको विरोध हो । राष्ट्रका ठूला-ठूला ऐतिहासिक आन्दोलनमा अग्रपङ्क्तिमा बसेर बालबच्चा काखमा च्यापेर महिलाहरूले आन्दोलन गरिरहेका हुन्छन् । त्यसको सही मूल्याङ्कन हुँदैन र त्यसका विरुद्ध कविले ‘वीर पुर्खा हो उठ ! वीर छोरा हो उठ !’ भन्ने परम्परावादी सत्ताको विरुद्धमा आमा, दिदी, बहिनी, बुहारी, छोरीहरूलाई स्थान दिएकी छन् । यसरी महिलाहरूको योगदानलाई कदर गरी उनीहरूको उच्च मूल्याङ्कन गरिएको हुँदा त्रिपाठीका यस सङ्ग्रहका कविताहरू अरू थप विशेषताले योग्य बन्न पुगेका छन् ।

तेस्रो चरण र यसका प्रवृत्तिगत विश्लेषण ः

क) गणतन्त्रको आवश्यकताको महसुस ः

वि.सं. २०४७ सालको संविधानले नेपाली जनताको चाहना पूरा नगरेपछि कविमा गणतन्त्रप्रतिको चाहना जागरुक भएको देखिन्छ । राष्ट्रमा अर्को आन्दोलन नगरी यथास्थितिवादीहरू पराजित नहुने र त्यसका लागि आन्दोलन अपरिहार्य भएको भन्ने कविको भनाइ रहेको छ । यस्तो स्थितिमा एउटा ठूलो जनयुद्धको आवश्यकता भएको भन्ने कविको बुझाइ रहेको छ । जनमुखी ऐनकानुन, जनमुखी शासन प्रणाली, जनमुखी शिक्षा, जनमुखी राज्यसंयन्त्र, जनमुखी प्रशासन र व्यवहार भएको भए क्रान्तिकारी नेपालीहरूले जनयुद्धको आवश्यकता महसुस गर्दैनथे होलान्, सदियौंदेखि जरा गाडेर देशका कुना काप्चामा फैलिएका सामन्ती प्रवृत्तिका विरुद्ध हतियार उठाउँदैनथे होलान् । २०४६ पछि रचिएका त्रिपाठीका कवितामा गणतन्त्रको आवाजलाई नै केन्द्रविन्दु बनाइएको छ र गणतन्त्रका लागि पुरानालाई परास्त गर्न जनयुद्धको आवश्यकतालाई महसुस गरिएको छ ।

ख) यथास्थितिवादीहरुको विरोध ः

उत्पीडित जनताले आफ्नो मुक्तिका लागि गरेको सङ्घर्षलाई आत्मसात् गर्न नसक्नेहरू यथास्थितिवादी हुन् । यथास्थितिवादीहरूले जहिले पनि प्रतिक्रियावादीहरूसँग साँठगाँठ गर्छन् र सर्वहारा वर्गको क्रान्तिलाई दवाउने प्रयत्न गर्छन् । नेपालमा २०५२ को जनयुद्ध र २०६३ को जनआन्दोलन अपरिहार्य हुँदाहुँदै यथास्थितिवादीहरूले यसलाई दवाउने प्रयत्न गरे । प्रतिगामीहरूको यस्तो षड्यन्त्रप्रति कवि दुःखी छन् । यस्तो प्रवृत्तिप्रति उनले तीखो व्यङ्ग्य प्रहार गरेकी छन् र त्यस्ता खालका राजनीतिक दलहरूलाई पहेलो सूर्य र कालो चन्द्रमाको संज्ञा दिँदै यिनीहरू अधोगतितिर गइरहेको सङ्केत पनि गरेकी छन् । २०४७ पछि सत्तासिन भएका राजनीतिक दलहरूको नैतिक चरित्र गिर्दै गएको उनीहरू दिशाहीन भएका र जनताको समस्यालाई सम्बोधन गर्न नसक्ने भएकाले उनीहरू व्यक्तिवादी र विदेशीका दलाल भएको भन्ने कविको बुझाइ रहेको छ । यस्तो परिस्थितिमा नयाँ विकल्पको खोजी गरिरहेको कुरा यी कविताहरूमा देख्न सकिन्छ ।

जीवन दिँदैन पहेँलो सूर्यले शीतलता दिँदैन कालो चन्द्रमाले
हराई सकेछन् प्रकृतिबाट
वसन्ते, शरदे र ग्रीष्माहरू
वास, कालो गुराँस
लालीगुराँसका रङ बोकेका पानीहरू
मरणासन्न पहेँलो सूर्य
र कालो चन्द्रमा
……………………
र सिङ्गो देश
हृदयहीनताको एम्बुसमा छट्पटाइरहेको छ
र ऊ, परिसरमा मानवता खोजिरहेको छ । (विदग्ध वर्तमान)

ग) सांस्कृतिक रूपान्तरणको खोजी ः

वर्गीय समाजमा वर्गीय संस्कृतिहरूप्रति गम्भीर नदेखिने नेपाली परम्परामा कम्युनिष्ट भन्नेहरूले समेत सामन्तवादका रक्षक संस्कृतिलाई निरन्तरता दिएकोमा कवि असन्तुष्ट छन् । समाजमा प्रचलित अव्यवहारिक असमानता र अवैज्ञानिक संस्कृतिको विरोध गर्दै यस्तो गलत संस्कृतिको साटो अर्को परिवर्तित नयाँ संस्कृतिको खोजी गरिरहेको देखिन्छ ।

हजुर पैसा पैसा !
एउटा रोगी गरिब
यताउता आफ्ना आँखालाई
ती रसाउन छाडिसकेका, बिर्सिसकेका आँखालाई
जतासुकै फिँजारिदिन्छु
अकासिन्छन्, बेसरी अकासिन्छन्
यी जोडी आँखा
अनि अर्कै एक जोडी आँखा चाहिँ
पातालिन्छन्, बेसरी पातालिन्छन्
आफ्नै टाउकाको वजनले
यिनलाई झन् निहुराइदिन्छ ।
…………………………………
बरु एउटा गर्विलो आँधी आइदिए हुन्थ्यो
अनि हृदयभरिको उकुसमुकुसलाई
एक्कैचोटि फारिदिए हुन्थ्यो । (जोडी आँखा)

घ) सहिदप्रति सम्मानभाव ः

कवि त्रिपाठी जनताका मुक्तिका लागि आत्म वलिदान गर्ने महान् सहिदहरूको कदर गर्न चुकेकी छैनन् । गणतन्त्र घोषणा हुँदासम्म नेपालमा धेरै जनताहरू सहिद भएका छन् । यसै क्रममा सहिद विजय ढकाल पनि हुन् । कविले सहिद विजय ढकालको सम्झना गर्दै ‘विजयको कविता’ शीर्षकको कविता रचेकी छन् ।

खै के लेखुँ म विजयको कविता ?
कविता त उनको रगतले लेखेको छ
………………………………..
खै के लेखुँ र म कविता ?
बस केही शब्द पुष्प बटुलेर
उनका सिरानीमा चढाउँछु
मुटुको दियो बालेर
विजयको विकासलाई उकासिदिन्छ (विजय कविता)

ङ) गणतन्त्रलाई सफल पार्न आहृवान ः

कवि त्रिपाठीका ३५ वटै शीर्षकका कविता मानवमुक्ति र लोकतन्त्रका लागि रचिएका छन् । यस सङ्ग्रहको ‘रामसाइली’ सबैभन्दा अन्तिममा रचिएको हो । २०६५ जेठ १५ मा गणतन्त्र घोषणा भयो र यसको ५ दिनपछि यो कविता रचिएको हो । यसभन्दा अघि २०६३ पुसमा ‘गणतन्त्रको सूर्य’ शीर्षकको कवितामा गणतन्त्र आउन लागेको कुरा कविले गरेकी छन् । २०६३ सालको सुरुमै कवि गणतन्त्र ल्याउन धेरै उत्सुक भएको बुझिन्छ र गणतन्त्र घोषणा लगत्तै रचिएको ‘रामसाइली’ मा गणतन्त्र ल्याउन नेपाली जनताले धेरै कष्ट गरेका छन् र यसलाई फलाउन, फुलाउन र संस्थागत गर्न कविले क्रान्तिकारी राष्ट्रप्रेमीहरूलाई आहृवान नै गरेकी छन् । गणतन्त्रलाई प्रतिगामीहरूले फल्न फुल्न नदिने हुन् कि भन्ने सङ्केत पनि यस ‘रामसाइली’मा गरेकी छन् । ‘अनेकन दुस्वप्नहरूले आतङ्कित भएकी छु ‘रामसाइली’ रामसाइली गणतन्त्रलाई सफल पारौंला ।’ यी हरफले जनताले धेरै दुःख गरेर ल्याएको गणतन्त्रलाई प्रतिगामीहरूले फेरि पहिलेकै ‘स्थितितर्फ फर्काउने हुन् कि’ भन्ने आशङ्का गरेकी छन् ।

निष्कर्ष ः

‘जिराहा वर्तमान’ मा रहेको जिराहा शब्दले अटेरी भन्ने अर्थ जनाउँछ । त्यस्तै ‘वर्तमान’ ले अहिले भइरहेको समय भन्ने बुझिन्छ । यस ‘जिराहा वर्तमान’ को अहिले भइरहेको समय भनेको कविले कविता सिर्जना गरेको पहिलो कविता २०३६ देखि अन्तिम कविता २०६५ सम्मको ३० वर्षको समयावधि हो । यी कविताहरूले राजनीतिलाई नै केन्द्रविन्दु बनाएर रचेको हुनाले यही ३० वर्षका अवधिका राष्ट्रिय राजनीतिक घटनालाई केलाउनु आवश्यक देखिन्छ । २०३६ सालमा पहिलो कविता ‘मन लागेको छ’ ले कविलाई आन्दोलन गर्न मन लागेको छ भन्ने बुझिन्छ । यतिबेला राष्ट्रमा पञ्चायतविरुद्ध आन्दोलन चर्किरहेको अवस्था थियो । त्यस समयमा पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलित हुनु भनेको सरकारको आदेशको अवज्ञा नै हो । अर्थात् जिराहा वा अटेरी हुनु नै हो । त्यसपछि २०३७ सालमा जनमतसङ्ग्रह भयो । जनमतसङ्ग्रहको उल्टो परिणामले कवि दुःखी भएकी छन् र राजाको त्यस कदमको विरोध गरेकी छन् । त्यो पनि जिराहा वा अटेरी नै भयो । त्यसपछि गर्विलो क्रान्तिको अपेक्षा गरिएको छ । २०४७ पछि जनताले चाहेजस्तो शासन नभएपछि त्यसमा पनि परिवर्तनको आवश्यकता गरिएको छ । २०५२ सालमा यथास्थितिवादीहरूले जनयुद्ध चाहेका थिएनन् । क्रान्तिकारीहरूले यथास्थितिवादीहरूको आज्ञाको अवज्ञा नै गरेर जनयुद्ध लडेँ । त्यसपछि २०६३ सालमा भएको जनआन्दोलन दवाउन तत्कालीन राजा ज्ञानेन्द्रले भरमग्दुर कोसिस गरे । क्रान्तिकारी नेपालीहरूले त्यसको पनि अवज्ञा गरेर क्रान्ति सफल पारी छाडे । त्यसपछि २०६३ साल मङ्सिर ५ गते शान्ति सम्झौता हुँदा पनि यथास्थितिवादीहरूले सम्झौता हुन नदिन ठूलो प्रयत्न गरे । शान्तिप्रेमी नेपालीहरूले त्यसलाई सफल पारी छाडे । ०६५ मा गणतन्त्र घोषणा गर्न षड्यन्त्रकारीहरूले त्यस्तै षड्यन्त्र गरे । त्यसमा पनि नेपालीहरूले सफलता प्राप्त गरे । यसरी पञ्चायत कालदेखि लिएर गणतन्त्र घोषणासम्मको ३० वर्षको अवधिमा पञ्चायतकालमा पञ्चायतविरुद्ध, प्रजातन्त्रकालमा त्यसविरुद्ध, २०५२ मा यथास्थितिवादीविरुद्ध २०६३ सालमा प्रतिगामीविरुद्ध आन्दोलन भयो । यसरी विभिन्न समयमा यथास्थितिवादी, प्रतिगामी, अप्रजातान्त्रिक, अलोकतान्त्रिकविरुद्ध अवज्ञा नै भयो र गणतन्त्रका लागि तिनका आज्ञाविरुद्ध अवज्ञा गरेर गणतन्त्र घोषणा भएरै छाड्यो । यसरी सरकारका आदेशविरुद्ध अटेर गर्नु, अवज्ञा गर्नु जिराहा प्रवृत्ति हो । परिवर्तनको बाटो तय गर्नका लागि अलोकतान्त्रिक र कुरूप व्यवस्थाप्रति जिराहा बन्नु नै ‘जिराहा वर्तमान’ हो ।

मधुपर्क २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *