नेपाली साहित्यमा सबैभन्दा बढी पढिने विधा कविता हो । आफ्ना भावनालाई सहज रूपमा अभिव्यक्त गर्न सकिने र कम समयमा लेखिने अनि गोष्ठीहरूमा वाचनमा सजिलो भएकाले कविता विधा लोकप्रिय बनेको हो । यस्ता विभिन्न शृङ्खलाहरूका माझमा काभ्रेली साहित्य समाजका केही उत्साही युवाहरूबाट ‘प्रतिनिधि काभ्रेली कविता’ शीर्षकमा कविता सँगालो प्रकाशित भएको छ ।
‘प्रतिनिधि काभ्रेली कविता’ भित्र कविता अभ्यास गर्दै गरेका शिकारू कलमदेखि राष्ट्रियस्तरमा स्थापित कलमहरू पनि छन् । जनकप्रसाद हुमागाई, कृष्णप्रसाद पराजुली, मोहन दुवाल, अर्जुन पराजुली, रमेश खकुरेल, लिखत पाण्डे, नर्मदेश्वरी सत्याल, हरि मञ्जुश्री, दिनमान गुर्मछान, छविरमण सिलवाल, अनन्तप्रसाद वाग्ले, प्रभात सापकोटा, ब्रहृमप्रिय प्रेमस्वरूप, गीता त्रिपाठी, सिर्जना दुवाल, सरस्वती चिमोरिया, यशोदा अधिकारी, गौरी नेपालीलगायत ६८ जना कविहरूका कविताहरू सँगालिएको यस कृतिले काभ्रेली कविहरूलाई अझ सघन रूपमा प्रकाशमा ल्याएको छ ।
यस कृतिभित्र गद्य र पद्यमा गीत, गजल, मुक्तक, कवितासहित १०८ रचनाहरू समेटिएका छन् । लामोमा १०२ पङ्क्तिसम्म र छोटोमा ४ पङ्क्तिसम्म रहेका यस कृतिभित्रका कविताहरू पढ्दै जाँदा यस्तो लाग्छ, कविहरूले कविताको कला मूल्य बुझेका छन् ।
कविताहरूलाई सुन्दर बनाउन विम्ब र प्रतीकलाई खेलाउन सक्नुपर्छ, सोझो र नारा लेखिनु हुँदैन । यस कृतिभित्रका कविहरू यी कुरामा सजग भएकाले यहाँका कविताहरू सुन्दर लाग्छन् ।
दुःखी गर्छन् कामकाज बहुतै, त्यै बन्छ भोको किन ?
दुःखी बुन्दछ शानदार कपडा, त्यै हुन्छ नाङ्गो किन ?
दुःखी नै छ बनाउने महल, त्यै पाउन्न छाप्रो किन ?
जस्तो काम गरी मरोस् तर सधैँ रित्तो भएको किन ? (कृष्णप्रसाद पराजुली! राँको, पृष्ठ ४)
आफू केही नभए पनि
मर्म नभए पनि
ठिङ्ग परेर
अरूलाई हेरिरहेजस्तो
सधैँ हेरिरहने
बुँख्याँचाको परिचय के हो ? (मोहन दुवाल! बुँख्याचाहरू बुझ्न खोजिरहेछु, पृष्ठ १२)
हामी रोगीलाई गोली खान्छु भनेर
माग्दा माग्दै पनि दिँदैनौँ
निरोगीलाई गोली खान्न भनेर
भाग्दाभाग्दै पनि दिन्छौंँ
हामी लोग्नेको ज्यान लिन्छौ र
बदलामा स्वास्नीलाई तक्मा दिन्छौँ (अर्जुन पराजुली! हामी, पृष्ठ ३४)
सफेद पृष्ठमा
रङ्गीन जीवनका अपूरा स्केच खिचेर
विवशताको पृष्ठमा
निरशता बाँचेको छ ऊ (गौरी नेपाली! समयदिशा, पृष्ठ ११७)
यस कृतिभित्रका सबै कविताहरूले समसामयिक युगबोध बोलेका छन् । कविहरूका आवाज हामीले भोगेको समय हो । मान्छेका जीवनमा भएका हाँसो, खुसी, दुःख, पीडा, छट्पटी, सपना, यथार्थ सबै छताछुल्ल पोखिएका छन्, कविताहरूमा ।
कृति ः प्रतिनिधि काभ्रेली कविता
सम्पादक ः नरेन्द्रकुमार नगरकोटी
प्रकाशक ः काभ्रेली साहित्य समाज
संस्करण ः प्रथम, २०६७
पृष्ठ ः ञ+११७
मूल्य ः रु. १५०/-
