मोफसल भनिए पनि गजलको राजधानी मानिने चितवनका स्रष्टाबारे जानकारीमूलक पुस्तक ‘स्रष्टाविम्ब ः व्यक्तित्व आरेख’ मार्फत कवि-समालोचक कपिल अज्ञातले चितवन क्षेत्रको लेखकीय योगदान र लेखकको दर्बिलो उपस्थितिलाई एकसाथ उजागर गरेका छन् । समालोचनात्मक पुस्तक ‘स्रष्टाविम्ब ः व्यक्तित्व आरेख’ भित्रका एकतीस जना सर्जकबारे वस्तुनिष्ठ परिचयात्मक टिप्पणी र रचनागत विशेषतालाई सङ्क्षेपीकरण गर्दै ४ पेजदेखि १० पेजसम्मको आयाममा लेखक कपिल अज्ञातले निबन्धात्मक प्रस्तुति र काव्यिक भाषाको पकडले अभिव्यक्तिमा हक्कीपनका साथ व्यक्तिवृत्त खिचेका छन् । जन्मले वा कर्मले चितवनलाई केन्द्र बनाएर सिर्जनामा लागेका प्रतिनिधि स्रष्टाहरूको जीवनी, व्यक्तित्व, कृतित्व, प्रवृत्ति र योगदानको दस्तावेज हो प्रस्तुत पुस्तक ।
समीक्षा प्रस्तुत कृतिमा डा. लक्ष्मणप्रसाद गौतम, धनराज गिरी, भूपिन व्याकुल, खुमनारायण पौडेल, गोर्खे साइँलोजस्ता रचनामार्फत् धेरैले चिनेका स्रष्टादेखि होमनाथ सापकोटा र प्रभातकुमार जोशीजस्ता पुस्तककृति प्रकाशित नभएका रचनाकारसम्मलाई अटाएर लेखक कपिल अज्ञातले लेखकीय दायरा फराकिलो बनाएका छन् । निबन्ध, समालोचना, गीत, गजल, नियात्रा, काव्य, कविता, नाटक, पत्रकारिता, मुक्तक, लघुकथा, हाइकु र कथा लेखनमा उद्यत स्रष्टाहरूको जन्म, बाल्यकाल, शिक्षा, स्वभाव, लेखकीय प्रवृत्ति, विचार, कृति, पुरस्कार र सम्मान, साहित्य र सिर्जनाप्रतिको धारणा र समग्र व्यक्तित्वलाई समेट्ने प्रयासमा छोटो र सटिक शैलीको अबलम्बन कृतिकार अज्ञातको सफलता र सवलता दुवै हो । अत्यन्त आलङ्कारिक भाषाको प्रयोगले लेखकको व्यक्तित्वलाई किञ्चित नडराई वर्णन गरेका कपिल अज्ञातले लेखकैपिच्छे फरक-फरक शैलीको अवलम्बन, विषयको उठान र समापन गरे पनि दुराग्रह र मनोमालिन्यलाई भने रत्तिभर स्थान दिएका छैनन् । कसैलाई प्रशंसाले फुक्र्याउने त कसैलाई निन्दाले गिराउने समालोचकीय प्रवृत्तिबाट यस पुस्तकका स्रष्टा पूर्णतः मुक्त छन् । आलेखभित्र उपशीर्षकको प्रयोगले अध्ययनमा छनोटको सुविधा प्रदान गरेको छ भने सन्दर्भ सामग्रीको उल्लेखले विषयवस्तुको आधिकारिकता प्रमाणित गरेको छ । ‘स्रष्टाविम्ब ः व्यक्तित्व आरेख’ चितवनको साहित्यिक इतिहासको मापदण्ड भए पनि पुस्तकमा दुई जना मात्र नारी हस्ताक्षर सामेल हुनु, एकतीस जना लेखकमध्येकै दुई समालोचक डा. लक्ष्मणप्रसाद गौतम र डी. आर. पोख्रेललाई भूमिकाकारको जिम्मासमेत लगाउनु, डा. गौतमको भूमिकाले पुस्तकको सारसङ्क्षेप सर्लक्कै खिच्नुजस्ता अभिलक्षणले केही कमजोरीबाट यो पुस्तक पनि पूर्णतः मुक्त नभएको आभाष मिल्दछ । यद्यपि शोधार्थी, अन्वेषक र जिज्ञासु साहित्यध्येता अनुरागीका लागि भने प्रस्तुत पुस्तक मानक र आधिकारिक दस्तावेजको रूपमा स्वीकार्य छ ।
पुस्तक ः ‘स्रष्टा विम्ब ः व्यक्तित्व आरेख’
लेखक ः कपिल अज्ञात
प्रकाशक ः चितवन साहित्य परिषद्
प्रकाशन ः प्रथम, २०६७
पृष्ठ ः १९६+२०
मूल्य ः रु. २५०।-
