प्रवासमा बसे पनि नेपाली माटो, नेपाली भावना र नेपालप्रतिको मायालाई हृदयमा सजाएर बसेका कवि हुन् निष्प्रभ सजी । अस्ट्रेलियामा बसेर पनि नेपाललाई मनमा बसाएर नेपालीपन कागजमा उतार्ने कवि तथा गीतकार निष्प्रभको दोस्रो कविता सँगालो हो ‘इजलासमा लाहुरेफूल’ । यस अगाडि कवि सजीको पहिलो कविता सङ्ग्रह भूपरिवेष्ठित खुट्टाहरू आइसकेको छ ।
निष्प्रभ सजीको प्रस्तुत कवितासङ्ग्रहमा कुल ५४ वटा छोटा लामा कविताहरू समेटिएको छ-जहाँ माया भेटिन्छ देशप्रतिको, समाजप्रतिको, घर र परिवारप्रतिको । कवि सजीको यो सङ्ग्रहका कविताहरूले सुखानुभूति प्रदान गर्दछ र पाठकहरूले उनका कविताका पङ्क्तिहरूमा आफ्ना भावनाहरूलाई महसुस गर्नसक्छन् ।
कविता भनेपछि अलिक गह्रौं विधा मानिन्छ पढ्नलाई तर पनि उनका कविताहरूले पाठकलाई सरल भाषामा भावनात्मक सन्देश प्रदान गर्ने प्रयास गरेको छ ।
कवि निष्प्रभ सजीको यो कवितासङ्ग्रहमा देश छ, सिमाना छ, सहर छ, सडक छ, सपना छ, सौन्दर्य छ, मलामी छन्, सर्पहरू छन्, शून्यता पनि छ, फूल छ, घर छ, आमा छिन्, अनि नेपाल आमा पनि छिन् ।
आमाले हिँउँदभरि सकिनसकी बोकेको दाउराले,
आज उनकै चिता जलिरहेको छ,
मैले बल्ल थाहा पाएँ
आमाले दाउरा किन बोकिन् । (आमाहरू-२)
यस कवितामा नेपाल आमाले भोग्दै आएको द्वन्द्व र पीडा छताछुल्ल भएर पोखिएको छ । त्यस्तै प्रवासमा बस्नेहरूको अर्को पीडा हो परिचयको सङ्कट । पर्ख म एउटा कविता लेख्छु, मा त्यो सङ्कटलाई दर्साएका छन् कविले । उनी चाहन्छन्, भूगोल नछोइकन देशलाई विश्वसामु चिनाउने ।
सङ्ग्रहका छोटाछोटा कविताका भावहरूमा अग्निज्वालासँगै सरलता पोख्दै हिँडेका छन्, कवि आफैँ पनि । डायस्पोरिक जीवन बिताउँदा बिताउँदै पनि कवि सजीलाई देशको सिमाना दुखिरहेको पाउँदछौं ।
प्रकृति प्रेमले पनि कविलाई बेलाबेलामा छोएको छ भने सबैभन्दा बढी माटोको मायाले कविलाई उद्वेलित बनाएको पाइन्छ सङ्ग्रहमा । त्यसो त अहिले माटोको मायालाई धेरैले आफ्ना भावनाहरूमा प्रस्तुत गर्दै आइरहेका छन् । सायद माटो भन्ने तत्त्वमा नै देशप्रेम लुकेको हुन्छ । त्यसैले माटासँग सम्बन्धित भावनाहरूमा कवि सजीले मनलाई द्रवित मात्र होइन झङ्कृत तुल्याउने भाव पस्केका छन् ।
सङ्ग्रहमा देशको सिमानाले मात्रै होइन, कविलाई देशको विकृति विसङ्गतिहरूले पनि दुखाएको पाइन्छ ।
सजीको प्रस्तुत कवितासङ्ग्रह ‘इजलासमा लाहुरेफूल’ ले थोरै मात्र पनि कवितामा रुचि राख्नेहरूलाई सरल भाषामा काव्यात्मक भावनाका प्रशस्त खुराक प्रस्तुत गरिदिएको छ ।
कृति ः इजलासमा लाहुरेफूल ः (कवितासङ्ग्रह)
कवि ः निष्प्रभ सजी
प्रकाशक ः नेपलिज एसोसिएसन अफ क्विन्सल्यान्ड, अस्ट्रेलिया
प्रकाशन ः २०६७
पृष्ठ ः ९७
मूल्य ः रु. १५०।-
