Skip to content


कवि दिनेश अधिकारी नेपाली साहित्यको समकालीन पुस्तामा काव्य विधा केन्द्रित सक्रिय स्रष्टा हुन् । उनी जति सक्रिय छन्, समानुपातिकरूपमा उत्ति नै चर्चाको वरिपरि पनि रहिरहेका छन् । वि.सं. २०३७ सालमा ‘अन्तरका छिटाहरू’ कवितासङ्ग्रह प्रकाशित भएपछिको उनको काव्यिकयात्रा निरन्तर शिखरोन्मुख छ । धर्तीको गीत, आदिम आवाज, अतिरिक्त अभिलेख, अविराम यात्रा, आफ्नै मन ः आफ्नै आँगन, मन र मोडहरू, इन्द्रजात्रालगायतका काव्यिक सँगालोहरू पछि उनी ‘सीमान्त सपना’ मा आइपुगेका छन् ।

रचनाकालको गणनामा वि.सं. २०५४-०६५ सम्मको समयावधिमा सिर्जित विविध विषय र सन्दर्भका कविताहरू ‘सीमान्त सपना’ मा सङ्गृहीत छन् । विभिन्न पत्रपत्रिकामा पूर्वप्रकाशित यी कविताहरूमध्ये साहित्यिक मासिक मधुपर्क र गरिमामा प्रकाशित कविताहरूको सङ्ख्या ज्यादा रहेको छ । वि.सं. २०५६ सालमा ‘अतिरिक्त अभिलेख’ कवितासङ्ग्रहले मदन पुरस्कार पाएपछिको उनको कवितासङ्ग्रह चाहिँ यो नै हो । यसबीच उनी गीति सिर्जनाका सङ्ग्रहहरूमार्फत् पाठकमाझ आइरहेकै थिए । प्रस्तुत सङ्ग्रहका कवितामा देशको साझा समस्याका रूपमा रहेका विषयहरू-गरिबी, असमानता, असुरक्षा, मानवीय विवशता, विकृति र विसङ्गतिका गहिरा खाडलहरू नै हुन् । प्रारम्भको ‘भोक’ शीर्षकीय कवितामा मान्छेको भोक खप्ने क्षमता र यसको पराकाष्टा देखाइएको छ । नीलो बह र जुम्ला शीर्षकका कविताले कर्णालीको पीडा बोलेका छन् । ठूल्दाजु, सेतो सिंह जस्ता कविताले तत् समयको राजतन्त्रको रबैया र अवश्यम्भावी अन्त्यको कामना व्यक्त गरेका छन् । संस्कृतिप्रधान कविता-भोटोजात्रा ः ज्यापू दाइको प्रतिक्रिया, यात्राप्रधान कविता अनुभूतिमा रारा, समयकेन्द्रित कविता- अब म के गरुँ ?, समयको सामर्थ्य, समय ः अवचेतन, चरम पीडाबोधका कविता-सपना मेरो सन्तुष्टि, विस्तारित कुरुक्षेत्र, युद्धविराम, सङ्कटकाल, धर्मसङ्कट आदिले कविमनको गहिराईलाई राम्ररी उजागर गरेका छन् ।

कवि अधिकारी ‘सीमान्त सपना’ भित्र पीडैपीडामा ज्यादा फैलिएका भए पनि प्रकृतिसँग साक्षात्कार गराउन पनि चुकेका छैनन् । शासन र सत्ताको दुरूपयोग, शक्तिको उन्माद र खिचातानी, स्वार्थकेन्द्रित लुछाचुँडी, असमानपूर्ण व्यवहार, विकृतिजन्य संस्कार, संवेदनाहीन सभ्यता, यावत् कुराहरूबाट सोझा-निमुखालाई बाँच्न दिनानुदिन धौधौ परिरहेको छ । मान्छेलाई ढुङ्गाभन्दा साह्रो र आगोभन्दा जलनको बनाउने पनि मान्छे नै हो । वास्तवमा मान्छे यतिबेला नारकीय जीवन जिइरहेको छ, त्यसैले कविले मरेपछि स्वर्गको कल्पना गरेका छन् । सबै मान्छेमा यस्तो कल्पना हुनु जीवन भोगाईकै असन्तुष्टिवश हो भन्ने यथार्थ कविताले बोलेको छ । वर्तमान समयसँग यावत् कारणहरूले कविको मन कुँडिएको छ । यही मन कुँड्याइका विम्ब र भावहरूले सङ्ग्रहलाई ओजिलो बनाएका छन् तर मान्छेले पाएको सीमाहीन सत्य भनेकै त्यही एउटा सपना हो । सपनाको उडानलाई न कसैले तगारो हाल्न सक्छ, न कसैले तँ सपना नदेख् भनेर नै सपना देख्न बन्द हुन्छ । नखा भनेर खान नदिन सक्ला, नसुत् भनेर ओछ्यान नदिन सक्ला तर तुरुङ र ढिगुँरोमै हालेर भोकैप्यासै राखे पनि, तन्द्रामै मात्रै पनि सपना देख्न सकिन्छ, सुखको-दुःखको-पीडाको । सीमाहीन उडान हो सपना । कविले प्रस्तुत सङ्ग्रहको नामकरण ‘सीमान्त सपना’ राखेर सम्भवतः त्यही सीमाहीन हक पनि खोसिएको निरीह वर्तमानलाई खिसी गरेको हुनुपर्छ । उनको काव्यिक यात्रा निरन्तरको छ र समकालीन पीडाबोधमा तीखा कवितामार्फत् कविचेतना अग्रणी प्रतीत हुन्छ ।

कृति ः सीमान्त सपना (कवितासङ्ग्रह)
कवि ः दिनेश अधिकारी
प्रकाशक ः साझा प्रकाशन
प्रकाशन ः २०६७
पृष्ठ ः १२६
मूल्य ः रु. १७५।-

मधुपर्क २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *