युग समय दिनेछ
र नयाँ दिनको प्रारम्भ हुनेछ
सपनाहरूले दृश्य पाउनेछन्
द्वन्द्वको तस्बिरमा देखिएको देश
हराएर
नयाँ इतिहास बनेपछि
देश अर्को तस्बिरमा आउनेछ
बालकहरू
आफ्ना बाबुको हत्याको खबर सुनेर
आमाहरूसँग
प्रश्न सोध्ने छैनन्
दम्भ प्रदर्शन गर्नेहरू
आफूलाई नेता भन्ने छैनन्
अलोकप्रियहरू
कुनै पहिरनमा
दृश्यमा देखिने छैनन्
अवसरवादका लागि
अवसरवादीबाहेक
कोही बोल्ने छैनन्
उल्टो हिँड्नेहरू
देशलाई बिगारेर
आफ्नो प्रचार गर्न
बाहिर निस्कने छैनन्
बुद्धको सुरक्षा हुनेछ
गरिबहरू स्वतन्त्र हुनेछन्
विद्वान्हरू विचारको रक्षा गर्नेछन्
जनता
नयाँ युगलाई लिएर हिँड्न
आफूलाई खटाउनेछन्
र बुद्ध
र रुकुम रोल्पा नेपालबाट कसरी देखाउने
देखाउनेछन्
मौन समय सकिनेछ
देश बोक्नेहरू
विजयी झण्डा लिएर
अगाडि उभिनेछन्
समय अतीत छोडेर आउनेछ
एकवाद
र केन्द्रीयतामा
प्रश्नचिहृन लागेको यस बेला
जनता
एकजस्तो लाग्ने
कसैको महाख्यानलाई हटाएर
स्थानीय
क्षेत्रीय आख्यानको सुरुआत गर्नेछन्
यथास्थितिलाई
कोही सहयोग गर्नेछैन
समय
पुरानो
महानतालाई बिदा दिनेछ
र सामान्यतालाई सम्भव बनाउनेछ
नेपाल
एकसाथ स्थानीय
र भूमण्डलीय भएर उठ्नेछ
रामबहादुर
आफ्नो प्रथम सपनामा
ओछ्यानबाट उठ्नेछ ।
– कोटेश्वर
मधुपर्क २०६८ जेठ
