“आमा म आउँछु, चाडै धेरै पैसा कमाएर ल्याउँछु । तपाईं चिन्ता नलिनुस्, बाको उपचार पनि शहरमै लगेर राम्रो अस्पतालमा गराउँछु, अनि दिदीको बिहे पनि राम्ररी गर्ने हो । गरिबी पनि चाडै टुंगिन्छ आमा, म चाडै धेरै पैसा कमाएर, पढेर फर्किन्छु । तर तपाईं धक नमानी बस्नुस है आमा । म जसरी पनि…”

पानीको छिटा मुखमा परेपछि मुकेश निद्राबाट उठ्यो अनि अगाडि देख्यो उसको साथी कृष्णलाई । “कति बेरसम्म सुतेको यार, उठ् न अवेला भैसक्यो । के कराउदै थिइस् ? सपना के देखिस् र त्यस्तो ?” कृष्णले सोध्यो ।

निद्राले राम्ररी नपुगे झैं गरी हाई गर्दै उसले भन्यो, “केही होईन घरको याद आ’को हो । हिजो ग्यारेजमा रातिसम्म काम गरेको भएर आज उठ्नै सकिन । के गर्ने काम नगरी गुजारा चल्दैन ।”

बिस्ताराबाट उठ्दै उसले फेरि भन्यो, “अनि कतिखेर आईस् त, किन उठाएको केही छ र काम ?”

कोठामा पूरानो अम्खोराले मुकेशले मुख धुदै गर्दा कृष्णले भन्यो, “हैन खासै क्यै छैन । आज त शनिबार तेरो पढाई पनि छैन, ग्यारेजमा पनि छुट्टी दिन्छन् तलाई हैन ? हिड् जाउँ फिल्म हेर्न सिनेमा हलमा, दामी फिल्म लागेको छ रे । मोज हुन्छ हिंड ।”

शरीर तन्काउदै मुकेशले भन्यो, “हैन मलाई अरु धेरै काम छ, त्यही पनि फिल्म हेरेर के हुन्छ र ? याँ कति चिन्ता छ आफुलाई । सरि, तँ जान है । पछि जाउला नी ।”

कृष्णले केही ठूलो स्वरमा भन्यो, “हैन तँ मेरो साथी हैनस् कि क्याहो ? मलाई पनि गन्न छाडिस् ? हिड् नत्र हेर बोल्दिन कहिल्यै तसँग, हिड् न भन्या ?”

मुकेश हठ गर्ने स्वाभावको थिएन त्यसैले जिद्दी गर्न सकेन र हार खायो, “ल त हिड् जाउँ ।”

मुकेश आफ्नो विकट गाउँमा भएको घरको गरिवी र दुख हटाउन एवं परिवारमा खुसी ल्याउने ठूलो आशा र सपना बोकेर दुई महिना अगाडि शहरमा पढ्न र पैसा कमाउन आएको थियो । शहरमा महंगो भाडा तिरेर एउटा सानो कोठामा बस्थ्यो । बिहान पढ्न क्याम्पस जान्थ्यो, दिउँसो ग्यारेजमा काम गर्थ्यो । कसरी पैसा जुटाउने भन्ने उसको प्रमुख उद्देश्य हुन्थ्यो । कृष्ण मुकेशकै क्याम्पसमा पढ्थ्यो र उसको कोठा भन्दा केही पर आफ्नै घर भएको मध्यम परिवारको व्यक्ति थियो ऊ । उसलाई पैसा र कामको खासै चिन्ता थिएन जति मुकेशलाई थियो । मुकेशले कृष्णलाई राम्रो साथीको रुपमा हेरेको थियो ।

दिउँसभरि काम, त्यसमा पनि कहिलेकाही रातिसम्म, अनि बिहान पढाई, उसको दिनचर्या थिए । काममै बढी ध्यान दिने भएकाले पढाईलाई खासै समय दिन सकेको थिएन । त्यसमा पनि छुट्टीहरूमा कृष्णले कहिले कहाँ, कहिले कहाँ भनेर उसलाई डुलाउथ्यो । तर ति डुलाई मुकेशलाई कुनै उपलब्धि भएनन्, मात्र उसका लागि ती थिए समय बिताउने बेफ्वाकका उपाए । तर मुकेशलाई समय बिताउनु थिएन बरु काम र पढाईका लागि सक्दो समय जुटाउनु थियो । यसका बाबजुद पनि ऊ कृष्णको आग्रहमा हिड्न थालेको थियो । यसमा लुकेको थियो मुकेशको साथीप्रतिको विश्वास र त्याग । कृष्णको कुनै पनि आग्रहलाई ठाडै अस्विकार गर्न सक्ने मुकेशमा शहरी स्वाभाव उदाईसकेको थिएन ।

समय यसैगरी बित्दै थियो । क्याम्पसको परीक्षा पनि आयो । छुट्टीमा कृष्णकै बहकाइमा लागेर कोठामा पढ्न पाउदैनथ्यो । मात्र क्याम्पसमा पढेको भरले कति नै हुन्थ्यो र ? त्यसमा पनि घरको चिन्ता र कामको धपडी । परिक्षामा मुकेशले खासै राम्रो गर्न सकेन ।

“पढाईमा राम्रो गरेर छात्रवृत्तिमा (फिरीमा) पढेको छु, आमा तपाईंको छोराले राम्रो गर्दै छ तपाईं चिन्ता नलिनुस् है” भनेर आमालाई खबर गर्ने ठूलो आशा थियो मुकेशको । तर, त्यो आशा निराशामा बदलियो ।

एकदिन कृष्णका दुई जना अरु साथी र ऊ मुकेशको कोठामा आए ।

मुकेशलाई कृष्णले अनुरोध गर्यो, “हिड् मुकेश जाउँ डिस्को बारमा, ऊ मेरा दुई साथीहरूपनि छन्, आज पैसा पनि टन्नै छ मोज गरौं ।” मुकेश दुविधामा पर्यो अनि आग्रह गर्यो, “हैन भयो तिमीहरू जाओ, म कहिल्यै गा’को छैन बारमा । मलाई जान मन पनि छैन, तिमीहरू रमाइलो गरओ न है ?”

कृष्णले फेरि उही हठ् गर्यो, “हिड् न भन्या तैले पैसा खर्च गर्नु पर्दैन क्यार ? हरेक कुरामा पहिला गएर न त थाहा हुन्छ । त्यसमा पनि आज खाली छस्, लास्टै रमाईलो हुन्छ के हिड् ।”

मुकेशलाई पटैक्कै जान मन थिएन, त्यसैले केही हिम्मत जुटाएर भन्यो, “तिमीहरू जाओ न । म आज जान्न के । सरी के नराम्रो नठान् न कृष्ण ।”

कृष्णले र उसका साथीहरूले अनेक कुराहरू गर्न थालेपछि मुकेशको केही जोर चलेन र भन्योः “लौ त जाऔं, मैले भनेको त के मान्थेउ र तिमीहरूले ?”

उनीहरू डिस्को-बारमा गए । मुकेश पहिले कहिल्यै गएको थिएन । त्यसैले बार उसलाई नौलौ लाग्दै थियो । रक्सीका बोतलहरू जताततै पिईरहेका अनि कोही जाडको तालले बेढंगले नाचिरहेका उसले देख्यो अनि सोच्यो, “म नआउनुपर्ने थियो यहाँ”

कृष्णका साथीहरूले महंगा रक्सीका बोतलहरू मगाएर एउटा टेबलमा बसे ऊ पनि लुसुक्क सँगै वस्यो । उनीहरूले रक्सी गिलासमा खन्याएर पिउन थाले, मुकेशलाई पनि पिउन भने । मुकेशले कहिल्यै नपिएकाले नपिउने अड्डी कस्यो । तर त्यस्तो ठाउँमा उनीहरूको जिद्दी आग्रहले गर्दा मुकेश अलिअलि भएपनि पिउन बाध्य भयो । मुकेशलाई यो सबै ठिक लागेको थिएन । उनीहरू गफमा मस्त हुदै थिए । एकैछिन्पछि त्यहाँ चार पाचजना पुलिसहरू आए र सोझैं कृष्ण र साथीहरूलाई समाते मुकेशलाई पनि । बारको मालिकले पुलिससँग सोध्यो, “के भयो र सर् ? किन यिनीहरूलाई समाउनुभाको ? के गल्ती गरेर यिनीहरूले ?”

उनीहरूसवै रक्सीको नशामै थिए, मुकेश पनि अलिअलि । पुलिसमध्येका एकले भन्यो, “हिजो राति सिडीओको छोरीको घरमय चोरी गर्ने अपराधी यिनै हुन् । धेरै धनमाल चोरी भएको छ । यी कुख्यात चोरलाई अब कडा सजाय हुन्छ ।”

मुकेशलाई विश्वास लागेन बरु गलत मान्छेलाई भूलबस समातेका छन् भन्ने सोच्दै थियो । पछि थानामा उजुरीका प्रमाणहरू आफैले प्रत्यक्ष देखेपछि मुकेश अत्यन्त विस्मित भयो । उसलाई पनि चोरहरूको सहयोगीका रुपमा पुलिसले अपराधी ठान्यो । जति नै आग्रह गरे पनि सिडीओकी छोरीको घरको कुरा थियो, अहँ केही लागेन । सबै चार जनालाई दश वर्षका लागि थुनामा राखियो । मुकेशले सोच्यो, “कृष्ण र उसका साथीहरू त पैसावालाका परिवार थिए, धरौटी राखेर छुट्न सक्लान् तर म ?”

सँग-सँगै मुकेशले आमासँग गरेको वचन र आफ्नो परिवारको अवस्था सम्झियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *