Skip to content

आमा आशिक दिन कन्जुस नगर


मलाई थाहा भयो आमा
आशिक दिन कन्जुस गरेछौ
नत्र मेरो यात्रा
गन्तब्यमा बढेको पाइला त्यसै किन रोकिन्थे ?
के मैले छोरी भएर जन्मनु भुल गरें ?
के म तिम्रो सन्तान हैन ?
छोरालाई झै स्वतन्त्रता किन छैन ?
गर्भको पीडा जन्मको मर्म त्यही हैन ?
फेरि किन भेदभाव छोरा र छोरीमा
शिक्षाले पुञ्ज
चेतना पूर्ण छौ तर बुझ्न सकिन
मैले चिताएको पुग्न सकेन
म तिम्रो आशक्ति, सपना, उमंग, भावना,
कल्पना, चाहनामा परिनछु
सायद जल्पनामा परेछु क्यार
आमा म के त्यही नियतिको जाँतोमा पिनिरहुँ ?
नाई म चाहन्न पिनिन
मलाई अघि बढन असमर्थ गराउन खोजेका
आग्रह परामर्शलाई स्वीकार गरी
हौसला, उत्प्रेरणा, मार्ग निर्देशन ठानी
समय चोर भएर
आफ्नो लक्ष्य, गन्तब्य अंगाल्न
भाकेकी छु देवी देउराली
संघर्ष गर्न तयार छु
निरन्तर बग्ने अठोट लिएँ सास रहुन्जेल
तर बिन्ती आमा
अंकुराएको बिउलाई त्यही मर्न नदेऊ
एक पटक बारबेर लगाएर त हेर
ती कलिला नाजुक मुना हुक्र्याउने रहर जन्माऊ
खुट्टा हुँदा हुँदै बैशाखी खोजेकी हैन
खोजेकी हुँ उन्मुक्त हाँसो
मान्छे हुनुको अर्थ
मान्छे भएर बांच्ने अधिकार
पिंजडाको सुगा झैं कति रटौ पुरातन कुरा
स्वतन्त्रता चाहिन्छ
यो माटो आफ्नै दुई खुट्टाले टेक्न खुल्ला बाटो हिंडन
कति नौटंकी गर्नु झुटको खेती सप्रदैन
भो अब आडम्बर बोकेर बस्न सक्दिन
आमा रहर छैन
छोरीको मुहारमा आभा हेर्न
हिमालको झै ओज हेर्न
नविन आभास बोक्ने, बटुल्ने
आधा आकाश ढाकेका हामी नारी बुख्याचा हैनौ
त्यसैले म कदापी बुख्याचा भएर बाच्न चाहन्न
धडकने मुटु, संसार नियाल्ने दुई आंखा,
बोल्ने हाँस्ने ओठ
गन्ध लिने नांक, सुन्ने कान, बुद्धि-विवेक
पौरख गर्ने हात गोडा सबै छन
आशिक दिन कन्जुस नगर आमा
हामी अस्तित्वहिन किन हुने
दासत्व, जन्जिर, लगाम तोडन सकौ
त्योभन्दा बढी आफ्नो बुद्धि विवेकले
चुनौती कुल्चन सकौ
सामर्थ्यले भ्याएको उर्जा बटुलेर आफ्नो अठोट
प्रति बिचलित नभई
कलमले नयाँ इतिहास
नयाँ नेपालको खाका कोर्न अनि सबै नारी जातिको
अस्तित्व कायम गर्न सकौ
नितान्त नारी मान्छे हुनुको अर्थ बुझ्न बुझाउन सकौ
आमा आशिक दिन कन्जुस नगर
पानी पर्छ सबैका लागि
घाम झुल्कन्छ सबैका लागि
हावा चल्छ सबैका लागि
जुन उदाउँछ सबैका लागि हैन र ?
सन्तान एकै हुन तिमी कन्जुस नगर
आशिक दिन
झाँसीकी रानी, इन्दिरा गान्धी, पारीजात, पासाङल्हामु, तारादेवी
पनि छोरी हुन
संसारमा हामी पनि मान्छे भएर बाँच्न सक्छौ
आमा आशिक दिन कन्जुस नगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *