Skip to content

सूर्य – १
एउटा विवश सूर्य
प्रत्येक दिन मकहाँ आउँछ
र आग्रह गर्छ आकाशमा टाँसिदिन ।
बेलुकी
ओरालिदिन्छु उसलाई
ऊ आफ्नो बाटो लाग्छ, म आफ्नो ।

सूर्य – २
अर्को एउटा सूर्य
प्रत्येक दिन मकहाँ आउँथ्यो
हरेक दिन एक–एक पाइला नजिकिँदै ।
बढ्दो तातो सहन सकिनँ
धारामा पानी आएको दिन
खन्याइदिएँ एक बाल्टिन
च्वाईंय …
सूर्य निभ्यो ।


4 thoughts on “दुई सूर्य”

  1. दुई सूर्य
    कविता साह्रै प्रतीकात्मक जस्तो लाग्छ । ‘सूर्य’ भनेर के(कस)लाई ईङ्कित गर्नुभएको हो, कृपया बताइदिनुहुन्छ कि !

    1. प्रतिक्रियाको लागि धेरैधेरै धन्यवाद !
      प्रतिक्रियाको लागि धेरैधेरै धन्यवाद !

      कवितामा सूर्य दुईवटा बताइएका छन्– एउटा विवश र अर्को तातो । मानिसको स्वभावै यस्तो हो कि यदि कोही उप्रति निर्भर गर्छ भने ऊ खुशी मान्छ र राम्रै होस् तापनि उसलाई मन पर्दैन भने टाढिन्छ । आफ्नो सर्वोच्चता देखाउन धेरै कुरा गुमाउन पनि पछि पर्दैन । सूर्य २ मा ताप सायद मन परेन र वा महत्त्व बुझेन ।

      सूर्य यही हो भनेर किटान गर्नु मेरा लागि ठीक नहोला किनभने पाठकको बुझाईलाई यसले बाँध्न सक्छ । तैपनि समग्रमा भन्दा सूर्य भनेको मानिसको इच्छा, चाहना हुनसक्छ, आवश्यकता हुनसक्छ, विद्रोही स्वरुपको प्रतीक हुनसक्छ भन्ने मेरो सामान्य अर्थ छ ।

      कोही मान्छे समूहमा भन्दा पनि एक्लो रहन रुचाउँछ र उसका इच्छाहरु छानीछानी राख्न र फ्याँक्न सक्छ, त्यो वक्ता सायद कोही रुष्ट एकान्तप्रेमी हुनसक्छ जो सामान्य मानवीय संवेदना, इच्छा, चाहनाभन्दा पर बस्न चाहन्छ ।

      – प्रकेश सिन्धुलीय

  2. घटनाको असर
    देख्दा एउटै देखिने वस्तु्/ब्यक्ति/घटनाले आ­-आफ्ना स्वभाव देखाएर अरुलाई प्रभाव पार्छन्‌ । कलाकारले मात्र त्यस प्रभावलाई कलामा उतार्छन्‌ , बाँकी अरुले धिकार्छन्‌, सराप्छन्‌ र गालिगर्छन । विम्ब प्रयोगले कलाको दोहोरो बुझाइ निकाल्छ । लेखक आफैले विम्बको अर्थ किटान गर्न अनिच्छा ब्यक्त गरेकोबाट के थाहा लाग्छ भने कलाको असर स्वम्‌ श्रष्टालाई समेत पर्दछ ।

    घटना वा ब्यक्ति जेसुकै वा जोसुकै भएता पनि विचारणीय पक्ष चाहिँ के छ भने दुई सूर्यको असर कविलाई परेको रहेछ हामीलाई चाहिँ असरको पनि असर परेको हो । घटना र कल्पना नभए पहिलो असर पर्ने नै थिएन अनि कला नभए दोश्रो असर हामीलाई पर्ने नै थिएन ।

    ­– सुशील सुब्बा

    1. असरको असर महसुस गर्नुभएकोमा धन्यवाद ।।
      मलाई तपाईँको (सुशील सुब्बा) विवेचनात्मक प्रतिक्रिया निकै चित्त बुझ्यो । सर्वप्रथम त्यसका लागि धन्यवाद ।

      घटना र कल्पना पहिलो असर अवश्य थियो, अरुको लागि पनि थियो होला र तर दोस्रो असर हुनका लागि त्यतिले मात्र पुगेन सायद ।

      असरको असर महसुस गर्नुभएकोमा म हर्षित छु ।

      – प्रकेश सिन्धुलीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *