… झ्यालबाहिर
एउटा ठूलो कोठा छ
हामी थुनिएको यो कोठाभन्दा पनि ठूलो ।
थुप्रै अरु झ्यालहरु छन्
तिनै झ्यालभित्र अरु कोठाहरु,
जहाँ
हामीजस्ता अरु खुम्चिइरहेका छन्
मात्र अनुमानमा ।
बाछिटा छिर्दा
बाँडिएर छिर्छ सबैतिर ।
अन्त के हुन्छ थाहा छैन,
हामी भेट्छौँ
प्रत्येक छिटामा एक–एक समुद्र
अनि डुबुल्की मार्छौं ।
हामीलाई छालहरु रमाइला लाग्छन्
सुनामी रमाइलो लाग्छ
ती गिटी र बालुवामा
छहरासँग हारेका ढुङ्गाहरु भेटिन्छन् …
अझ रमाइलो लाग्छ ।
खुशी लाग्छ,
हामीसँगै छन् सम्पूर्ण समुद्रहरु ।
अहो !
सायद हामी भ्रममा थियौँ ।
झ्यालबाहिर
एउटा सानो कोठामात्र छ
हामी थुनिएको यो कोठाभन्दा निकै सानो ।
