नेपाली विश्व साहित्यमा हङकङ

  • by


हामी नेपालीहरू अहिले दुई विश्वमा उभिरहेका छौँ । एउटा विश्वभरि छरिएका नेपालीले निर्माण गरेको विश्व र अर्को विश्वमा नेपालीको बढ्दो उपस्थितिको विश्व । यी दुई विश्वमा एउटा आफ्नै आँगन, घर, गाउँ र देशको ममतामय अनुभूति अर्को पराइ मुलुकमा दुःख, कष्ट, संघर्ष, भोक, रोग मिश्रित जीवनको अनुभूति । एउटा विश्वभरि छरिएका नेपालीले आविष्कार गरेको विचार र साहित्य, अर्को विश्वभरि जन्मेका विचार र साहित्यले नेपालीलाई पारेको प्रभाव । यस्तै विश्वको जाँतोमा बाँचिरहेको जिन्दगीले सृजना गरेको साहित्य, विचार । यिनै सृजना, आविष्कार, प्रयोगले विश्व नेपाली साहित्यको केन्द्र भएको छ हङकङ । फलस्वरूप हङकङका साहित्यकारहरूको धमाधम शोधपत्र लेखिंदै छ, अनुसन्धान गरिन्दैछ र नेपालको त्रिभुवन विश्व विद्यालयमा अध्ययन गराइन्दै छ । भरखरै त्रिभुवन विश्व विद्यालयका स्नातकोत्तरका विद्यार्थी दीपक सुबेदीले ‘नेपाली साहित्यमा हङकङको योगदान’ स्नातकोत्तर दोस्रो वर्षको दर्सौ पत्रको प्रयोजनको लागि शोध तयार पारेका छन् । त्यस्तै प्रा. डा. गोविन्दराज भट्टराईको उत्तर आधुनिक विमर्शबाट ‘हङकङको साहित्यिक पृष्ठभूमि र प्रकाशन’ स्नातक तह तेस्रो वर्षमा अध्यापन हुन थालेको छ । यसरी नेपाली विश्व साहित्यमा कुनै एउटा देशको बारेमा शोधपत्र लेखिएको र अध्यापन हुन थालेको हङकङ नै पहिलो हो ।

यतिखेर यी दुवै विश्वको ध्यान हङकङमा यसकारणले केन्द्रित भएको छ, प्रा. डा. गोविन्दराज भट्टराईले पटक पटक “ईन्द्रबहादुर राईका दर्शनलाई अहिलेका विश्वमा प्रभावित गर्न बुझाउन सके-आई. बी. राई संसारकै १०-२० जना बौद्धिक चिन्तकमा पर्नुहुन्थ्यो ।”१ भन्नु भएको नेपाली साहित्यका सगरमाथा हङकङमा अवतरित भएका छन् । साथै नेपाली विश्व साहित्यमा हङकङबाट अंक कविता, चक्र कविता र गिलासमा रंग कविताजस्ता कविताका प्रयोग भएका छन्, योभन्दा पनि नयाँ आयामबाट केन्द्र भञ्जन गर्दै नयाँ विचार, सृजना दृष्टिकोण आइरहेका छन् । उता नेपालमा हुँदा वि.सं. २०५२ सालबाट केन्द्र भञ्जन गर्दै आदिवासी जनजाति साहित्यको अभाङ्गगार्ड ‘अपमान’ प्रकाशित भएको थियो । सन २००९ सालको डिसेम्बर २६ तारीखमा भयवाद अध्ययन केन्द्र धरानले हङकङबाट नेपाल गएको ‘समुच्च विचार’ को घोषणा कार्यक्रम गरेको थियो । त्यस्तै भयवाद र रेखा कविता पनि यतैबाट विश्वभरि फैलिरहेको छ । यी धेरैमा मेरो प्रत्यक्ष संलग्नता छ भने कुनैमा अप्रत्यक्ष संलग्नता । तर म आज यी सबैतिर जान चाहान्न । भय र आतङ्कले चारैतिर ‘सुनामी’ उठिरहेको यसबेला धामी, झाँक्री उठाउँदै दशाग्रह शान्ति गर्न भयवाद र रेखा कवितामा उत्रिन चाहान्छु ।

भयवाद सन १९९९ बाट तरङ्गित हुँदै आफ्नै ब्रह्माण्ड निर्माण गर्न अगाडि बढिरहेको जीवनवादी विचारको आकाशगंगा हो । यसमा केही मनोविज्ञानबाट, केही भौतिक दर्शनबाट, केही आध्यात्मिक दर्शनबाट, केही चिकित्सा विज्ञानबाट, केही नृतत्वशास्त्रबाट, केही समाज शास्त्रबाट, केही माक्र्सवादीय विचारबाट, केही विश्व दर्शनबाट आएका छन् । भयवादको प्रारम्भिक घोषणा देश सुब्बाको सम्पादनमा प्रकाशित भएको टापू पत्रिका-२००५ मा प्रकाशित भएको थियो । भयवाद सिद्धान्त प्रयोग भएको उपन्यास आदिवासी-देश सुब्बा, धरानमा भएको राष्ट्रिय सम्मेलनमा भयवाद र आदिवासी उपन्यास सम्बन्धी प्रस्तुत कार्यपत्रहरूको संकलन भयवाद वैचारिक चिन्तन सम्पादन-प्रकाश थाम्सुहाङ, भयवादमा समालोचना गरिएको नाटक हेच्छाकुप्पा-प्रवीण पुमा र विभिन्न पत्रपत्रिकामा प्रकाशित भयवाद र आदिवासी सम्बन्धी लेखहरू र मेरो प्रकाशित अन्तर्वार्ताहरूको संकलन ‘भयवाद चिन्तन र विमर्श-दीपक सुबेदीका पुस्तकहरू प्रकाशन भएका छन् । प्रा. डा. टंकप्रसाद न्यौपानेले भन्दै आउनु भएको ‘भयवाद दर्शन विश्वको लागि नेपाली उपहार’२ भयवाद दर्शन प्रकाशोन्मुख छ । भयवाद दर्शनमा भयको परिभाषा, प्रकार, स्रोत, भय युग, पिरामिड भय, भयको जञ्जीर र वृत्त, भयको परिधि र सापेक्षता, मान्छेको स्वभावबाट उत्पन्न भय, भयको उपयोगिता, असर र मापन, चिकित्सा शास्त्रमा भय, भयको क्षेत्र, क्षेत्रगत भयको पिरामिड, भयको विश्व रूप, ब्रह्माण्ड र शून्य, भय हतियार, भयसँग सम्बन्धित संस्था, विश्व दर्शनमा भय र भयबाट निकास इत्यादि उल्लेख भएको छ ।

भयवाद दर्शनको मूल सार जीवन-चेतना-ज्ञान-भय-संज्ञान हो । मान्छे घडीभन्दा छिटोछिटो ब्राउनीयन सिद्धान्त जस्तो दौडिरहेको देखिन्छ । उसको बुझाइ एक्लो मान्छेले एउटै वस्तुलाई विभिन्न देख्ने शंकराचार्यको जगत् भ्रम, ईन्द्रबहादुर राईको धेरै मान्छेले एउटा कृष्णालाई विभिन्न रूप, रंग र आकारको देख्ने लीलाभ्रम जस्तै बुझ्छ, ऊ अन्धाले हाती छामेको जस्तो वा आँखा खोलेर जीवन टिप्न हिँडेको बटुवाजस्तै दौडिरहेको हुन्छ । ऊ अब्राहम मास्लोको आवश्यकता सिद्धान्तलाई उछिनेर पनि दौडिरहन्छ, माल्थसको सिद्धान्तले व्याख्या गरेको मरुभूमि, समुद्र, वनजंगल, पहाडमा अतिक्रमण गरेर पनि दौडिरहन्छ । किनभने ऊ डार्बिनको सिद्धान्तजस्तो बाँच्नलाई संघर्ष गरिरहन्छ । बाँच्न सकिएन भने यस संसारबाट सदाको लागि लोप भइन्छ भन्ने भय हुन्छ । यी जैविक सिद्धान्तको आडमा भयवाद ‘मान्छेलाई वरिपरि भयले छोपिरहेको हुन्छ । यही छोपाइले ऊ छटपट्टिन्छ र निकास खोज्दछ । यही उसको जीवन हो’ भन्ने परिभाषा गरिरहेछ ।

अर्कोतिर युद्ध र आतङ्कले विश्वलाई निलिरहेको छ । खाँदा, हिँडदा, डुल्दा, बोल्दा, लेख्दा सबैतिर भय हुन्छ । एकछिन अगाडि देखेको, भोगेको जीवन एकैछिनपछि सोचेर, शंका गरेर, ईष्र्या, लोभ इत्यादिले भय गर्ने वस्तुमा परिणत गर्दछ । युद्ध, आतङक आत्महत्या, डिप्रेसन, पलायन, हीनताबोध, अहम् सबै भयको कारणले भइरहेको छ । यसैलाई बुझाउने र निकासा दिने सिद्धान्त हो भयवाद ।

भयवादलाई विकास गर्न वि.सं २०६६ सालमा धरानमा ‘भयवाद र आदिवासी राष्ट्रिय सम्मेलन’ भएपछि ‘भयवाद अध्ययन केन्द्र धरान’को स्थापना भएको छ । यो केन्द्र पूर्वाञ्चल स्तरीय चिन्तक, समालोचक समावेश भएको केन्द्र हो । यसमा हाल भाषाविद्, समालोचक प्रा. डा. टंकप्रसाद न्यौपाने अध्यक्ष, धरान, लेखक समालोचक मुनाराज शेर्मा उपाध्यक्ष, झापा, लेखक, समालोचक दीपक सुवेदी सचिव झापा, कवियत्री, गजलकार ज्योतिजंगल विराटनगर सदस्य रहेका छन् । हाल भारतको दार्जिलिङमा पनि दार्जिलिङ भयवाद केन्द्र खोल्ने कुरा चलिरहेको छ ।

अब रेखा कवितातिर उत्रिन चाहान्छु । रेखा कविता सेप्टेम्बर १२, २०१० का दिन मेरो कविता ‘सीमा समाधिस्थ गर्दछु” फेसबुकमा प्रकाशित भएपछि निरन्तर अगाडि बढिरहेको विचार कविता हो । हाल रेखा कविताको ६ बूदे मान्यतालाई आत्मसात गर्दै विश्वका ५ देशबाट १२ जना कविहरू कविता लेख्दैछन् हङकङबाट देश सुब्बा, टंक सम्बाहाम्फे, बिमल राई, डि. बि. पालुङ्वा, नेपालबाट अतित मुखिया, लोक सिंघक र हिमाल सुब्बा, दार्जिलिङ भारतबाट मनोज बोगटी, बेलायतबाट टंक वनेम, केदार संकेत र खेरेस देवेन्द्र । रेखा कविहरू बीच अघोषित विश्व नेपाली साहित्य संगठन बनिरहेको छ । अरु कविहरू पनि धमाधम थपिन्दै छन् । ती कविहरूको संयुक्त कविता संग्रह प्रकाशोन्मुख छ । अल्प समयमा यति धेरै कविहरूको उपस्थितिले यसको गाम्भीर्यता र महत्व झल्किन्छ । पृथ्वीभरि ईष्र्या, अतिवाद, प्रतिद्वन्द्वी, प्रतिकार, प्रतिवादको द्वन्द्व चलिरहेको बेला रेखा कविताका मान्यताहरू सबै अतिवाद, युद्ध, आतङक विरुद्ध उभेका छन् र सह-अस्तित्व, समानता, प्रेम, सद्भाव र शान्तिको आग्रह गरिरहेका छन् ।

कालको सापेक्षतामा हाललाई रेखा कविताका ६ मान्यताहरू छन् :
१. समानता
२. क्षेत्रता
३. सामयिकता
४. सहनशीलता
५. अलङ्कारिता
६. रेखीय प्रस्तुति

यही रेखाबाट हामी जीवन र जगत् हेर्न खोजिरहेका छौँ । यो लेखाइको पहिचान हो, जीवन र जगत् हेर्ने अर्को दृष्टिकोण । रेखाको व्याख्या युकिलिड हुँदै आइन्सटाइनसम्म आएको छ । यसबीच रेखाहरूको चित्र बनाउँदा यो दृष्टिकोण भौतिकवादी देखिन जान्छ । तर यसभित्र सुकरातदेखि रेने डेकात्र्तसम्मको अर्को आध्यात्मिक प्रत्यय पनि छ । लियोनार्दोदा भिन्ची, पिकासो हुँदै लैनसिंह बाङ्देलसम्मका रेखा चित्र आएको छ । बिन्दू, रेखा, कोण सबैले दृश्य जगत्को व्याख्या गर्न सक्दछ । ब्रह्माण्डको व्याख्या गर्न सक्दछ । यी दृश्य रेखाहरूको भित्र अर्को अदृश्य भावना, मन, आत्मा, मस्तिष्कका प्रत्यय रेखाहरू छन् । यो सम्पूर्णताको काव्यिक रेखा कविता हो । यो दृश्य र अदृश्य, भौतिक र आत्मीक रेखाहरू बीच थुप्रै हत्या, आतङ्क, अपराध, अन्याय, दमन, विरोध र अशान्त काँडाहरू हुन्छन् । ती काँडाहरूलाई सम्याउँदै लाने बाटो हो रेखा कविता ।

अन्त्यमा

यसरी साहित्यका शिखर ईन्द्रबहादुर राईको उपस्थितिमा नेपाली विश्व साहित्य र दर्शनको केन्द्रबाट केही विचार राख्न पाएकोमा अति नै उच्चतम मानेको छु । संयोकले जुरेको महान अवसरलाई सदुपयोग गर्न सकेकोमा ‘आत्म सन्तोष’ लागेको छ । हङकङले यस उचाइको पिरामिड निरन्तर कायम राख्न सकोस र उज्यालो ज्योति विश्व नेपाली साहित्यमा छर्न सकोस भन्ने कामना गर्दै यहाँबाट बिदा हुन चाहान्छु । धन्यवाद ।

(प्रस्तुत कार्यपत्र डा. इन्द्रबहादुर राईको उपस्थितिमा हङकङ नेपाली महासंघले २०११ साल अप्रिल २२ तारिख आयोजना गरेको ‘हङकङमा नेपाली साहित्य र विचार गोष्ठी’ मा प्रस्तुत भएको कार्यपत्र हो ।)

सन्दर्भः
१. स्रष्टा सम्पादक प्रधान सम्पादक केदार गुरुङ्ग वर्ष २८, अंक ५६
२. भयवादः वैचारिक चिन्तन सम्पादक प्रकाश थाम्सुहाङ प्रकाशक नेपाली साहित्य प्रतिष्ठान हङकङ २०६६
३. प्रकाशोन्मुख भयवाद दर्शन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *