Skip to content


चर्चित महिला अधिकारवादी, अभियानकर्ता, समाजशास्त्री एवं पत्रकार मञ्जु थापाले आफ्नी आमा ईश्वरादेवीको जीवनी जीवन संघर्षका पलहरू लेख्नुको आवश्यकता र औचित्यलाई यी शब्दहरूमा स्थापित गर्न खोजेकी छन्, “महिलाहरूको जीवनीलेखन मूलत: तीनवटा कारणले महत्त्वपूर्ण छ। पहिलो, कुनै अमुक महिलाले भोगेको जीवनले तत्कालीन समाज, त्यहाँका आममहिलाहरूको अवस्था र त्यस समाजसँग महिलाहरूको सम्बन्ध बुझ्न मद्दत गर्छ। दोस्रो, ती अमुक महिलाले खास समयमा गरेको विशिष्ट योगदान छ भने त्यसको अभिलेखीकरण हुन्छ र तेस्रो, ती महिलाका पीडा, संघर्ष र उपलब्धिहरूबाट पछिल्लो पुस्ताले प्रेरणा पाउन सक्छन्।”

लेखक मञ्जु थापाले आमा ईश्वरादेवीको जीवनी लेख्नुका पछाडि रहेका यी मान्यताहरूमा आम र खास दुवैथरी पाठकहरू सहमत हुनेछन्। त्यसैले जीवन संघर्षका पलहरूलाई एउटा कृतज्ञ छोरीले आफ्नी ममतामयी आमाप्रति सम्मान प्रकट गर्न तयार गरेको फगत पारविारकि सरोकारको पुस्तक मानेर पन्छाउन मिल्दैन। ईश्वरादेवीको जीवनकहानी पृष्ठभूमि र परिवेशका दृष्टिले सामान्य तर धैर्य, साहस, रचनात्मक सोच र अथक् अध्यावसायका हिसाबले असाधारण ती महिलाको अद्भुत गाथा हो, जसको दर्पणमा नेपाली समाजको विस्तारैविस्तारै फेरिंदै जानथालेको मुहारचित्रलाई पनि देख्न सकिन्छ।

जीवन संघर्षका पलहरूकी नायिका ईश्वरादेवीको कथा अनेक नाटकीय स्थितिहरूले भरिएको कुनै चलचित्रको कथाभन्दा कम्ती रोचक छैन तर कथाको चुरोमा छ- जीवनलाई सार्थक बनाउने सकारात्मक सोच र अदम्य साहस। १२ वर्षको कलिलो उमेरमा वैधव्य बेहोर्न बाध्य रुढीग्रस्त ब्राह्मण परिवारकी अवोध बुहारीले सबै प्रकारका पारविारकि र सामाजिक जञ्जाललाई तोड्दै आफ्नो वैयक्तिक जीवनमा सन्तुष्टि र सम्पन्नता प्राप्त गरेको मात्र होइन, समाजमा समेत अनेक प्रकारका दूरगामी प्रभावका योगदानहरू दिन सकेको दृष्टान्त सितिमिती पाउन सकिँदैन। ईश्वरादेवी महिलाहरूलाई सम्मानित स्थान दिलाउनका लागि दुनियाँको कुनै पनि कुनामा सञ्चालित नारीवादी आन्दोलनले उदाहरणका रूपमा प्रस्तुत गर्नसक्ने नायिका हुन्।

मूल रूपमा पुरुषप्रधान मानसिकताले राज गरेको नेपाली समाजमा धेरै महिलाहरू अगाडि आउनै सकेका छैनन्। इतिहासमा सही-गलत जुनसुकै हिसाबले भए पनि केही रानी-महारानीले आफ्नो समयलाई प्रभावित पारेका छन्। आधुनिक समयमा राजधानी काठमाडौँको सामाजिक र राजनीतिक परिवेशलाई प्रभावित पार्ने मंगलादेवी सिंह, सहाना र साधना प्रधान दुई बहिनी, चन्द्रकान्ता मल्ल, शान्ता श्रेष्ठ, कनकलता आदि केही महिलाहरू देखापरेका हुन्। यी सबैले शिक्षाको उज्यालोको अनुभव गर्न पाएका थिए। र, यी सबैको पारविारकि पृष्ठभूमि पनि केही मात्रामा सहयोगी थियो। तर, ईश्वरादेवी त लगभग निरक्षर थिइन्, पारविारकि र सामाजिक परिवेश यिनको व्यक्तित्व विकासका लागि अनुकूलभन्दा बढी प्रतिकूल नै थियो। घरका लोग्नेमान्छेहरूबाट प्रोत्साहन र सहयोग पाउने सम्भावना लगभग थिएन। यी र अरू पनि अनेक प्रकारका प्रतिकूलतालाई नाघ्दै/पन्छाउँदै ईश्वराले निजी र सामाजिक दुवै मोर्चामा हासिल गरेको सफलता एउटा चमत्कार नै हो।

कैशौर्य र तारुण्यका उत्कृष्ट दिनहरू निरस र शुष्क विधवाका रूपमा बिताएकी ईश्वराले ती कठोर दिनहरूलाई सामाजिक र राजनीतिक गतिविधिमा खर्चेर प्रतिकूलताका बीच पनि सार्थकताको अन्वेषण गर्ने जुन उपाय अवलम्बन गरेकी थिइन्, त्यसले उनको भावी जीवनको सफलताको ढोका उघार्न सहयोग गरेको थियो। विसं ०१५ सालमा भएको मुलुककै पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसका पक्षमा प्रचार गरेकी ईश्वराका लागि ०१७ सालको काण्डपछि लामो अवधिसम्म कांग्रेस कार्यकर्ताका रूपमा सक्रिय रहिरहन सम्भव नभएको कुरा बुझ्न गाह्रो छैन। त्यसैले उनले पञ्चायत नामको निरंकुश प्रणालीको एउटा वर्गीय संगठन, महिला संगठनमार्फत आफ्ना सामाजिक सेवाका गतिविधिहरूलाई जारी राखिन्। महिला संगठनकी नेतृका रूपमा ईश्वरा सक्रिय रहेको अवधि उनले आफ्नो समाजलाई दिएको योगदानका दृष्टिले सर्वाधिक उपलब्धिमूलक रहेको देखिन्छ। पुस्तकमा वर्णन गरिएका घटना र उद्धृत कागजातका आधारमा भन्नुपर्दा ईश्वरादेवी सम्भवत: मुलुककै सबैभन्दा सक्रिय र प्रभावकारी महिला नेतृ थिइन्- राष्ट्रियस्तरमा नभए पनि लुम्बिनी अञ्चलस्तरमा।

पुस्तकमा ईश्वरादेवीको व्यक्तित्व र कृतित्वलाई सम्पूर्ण रूपमा प्रस्तुत गर्ने हेतुले लेखक मञ्जु थापाले क्रमबार ढंगले उनको कहानी उतार्न खोजेकी छन्। साथै, उनले ईश्वरादेवीका बारेमा उनलाई चिन्ने-जान्ने, सहयात्री, सहकर्मीहरूका मन्तव्य र टिप्पणीहरू पनि समेटकी छन्। यस्ता लेखहरूमा सबैभन्दा महत्त्वपूर्ण लेख ईश्वराका पति केशरबहादुर थापाको छ। ३५ वर्षको अधबैँसे उमेरमा यी विधवा ब्राह्मणीलाई कान्छी पत्नीका रूपमा स्वीकार गर्ने र पछि गएर ईश्वराका छ सन्तानहरूका बाबु बनेका यी सरल हृदय र विनम्र पुरुषले थोरै शब्दमा आफ्नी पत्नीको संघर्षमय जीवनको रेखाचित्र कोर्ने प्रयत्न गरेका छन्। ईश्वरादेवीको सफलता र कीर्तिका पछाडि केशरबहादुरको महत्त्वपूर्ण भूमिका भएको सजिलैसँग बुझ्न सकिन्छ।

पुस्तक सुसंगठित ढंगले तयार भएको भने देखिँदैन। धेरै ठाउँमा कुरा दोहोरिएका छन्। सूचनाहरूको ठूलो भण्डारबाट सही प्राथमिकता-क्रम तोकेर पुनरावृत्ति नहुने गरी अन्तिम आलेख तयार गर्नसकेको भए यसको गुणवत्ता अझ बढेको हुने थियो। हुन त लेखक मञ्जुले आफ्नो पुस्तकलाई उच्च साहित्यिक मूल्य भएको कृति नभएको र ‘एउटी प्रतिनिधि पात्र महिलाको जीवनकथाको आधिकारकि दस्तावेज र त्यसमार्फत तत्कालीन समाजको यथार्थको ऐना बनाउने’ प्रयास गरेको भनेकी छन्। उनले दाबी गरेको कुराको कसौटीमा राखेर हेर्दा भने पुस्तक सार्थक देखिन्छ। पुस्तककी नायिका लेखक मञ्जुकी आमा भएको एउटा संयोगबाहेक ईश्वरादेवी शतत: कर्मशील, मातृशक्तिको अत्युच्च प्रतिमान र नखोजिएका नारीहरूको प्रतिनिधि व्यक्तित्व भएकाले उनको यो जीवन-कथा नेपालका सवा करोडको हाराहारीमा रहेका सम्पूर्ण महिलाहरूका लागि प्रेरणाको पुञ्ज हुनसक्छ। पुस्तकले उग्र नारीवादको एकांगी दृष्टिकोण लिएर निरपेक्ष रूपमा पुरुषको विरोधका नारा उराल्नेहरूका लागि पनि ‘पुरुषहरूबाट सहयोग र टेवा मिलेकैले ईश्वरादेवीले सफल र अर्थपूर्ण जीवन-यात्रालाई अघि बढाउन सकेको कुरा दर्शाएर’ अति जरुरी सन्देश दिएको छ। नारीवादी अभियानमा सक्रिय रहँदै आएकी यस पुस्तककी लेखक मञ्जु थापाले इंगित गर्न खोजेको यो महत्त्वपूर्ण विषयमाथि सबैको ध्यान जानेछ भन्ने विश्वास गर्न सकिन्छ। ध

जीवन संघर्षका पलहरू
लेखक : मञ्जु थापा
प्रकाशक : विक्रान्त प्रकाशन प्रालि
मूल्य : २२५ रुपियाँ
पृष्ठ : १७६

नेपाल साप्ताहिक ४५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *