पण्डित मुक्तिनाथ शर्मा गण्डकक्षेत्रको परििचत नाम हो। विशेषत: पोखरा र वरपरको क्षेत्रमा आधुनिक शिक्षाको जग हाल्नेमा उनको नाम अग्रपंक्तिमा आउँछ। विचारले कांग्रेस उनी राणाकालमा केही समय जेल परे र जेलमुक्त भएपछि शिक्षक र राजनीतिसँगै साहित्यकर्ममा लागे। राणा शासनको उत्तरार्धतिर भारत प्रवासमा रहँदा पनि उनले लेखनकार्यलाई निरन्तरता नै दिइरहे। यसै क्रममा प्रकाशित भएका हुन् उनका दुई कृति, मातृत्व र धर्मपुस्तक जो जनक्रान्ति हुनुअघि २००७ साउनमा बनारसबाट प्रकाशन भएका थिए।
शर्माको ०११ सालमा प्रकाशित को अछूत ? पनि त्यस समयका लागि क्रान्तिकारी कृति थियो। उनले यस कृतिमा जातपातमा आधारति व्यवस्थालाई समूल नष्ट गर्नुपर्नेर् विचार पोखेका थिए। फलत: त्यो प्रजातान्त्रिक काल नै भए पनि पुस्तकलाई समाजविरोधी घोषित गरी प्रतिबन्धित गरयिो । अहिले यही कृतिलाई पुन: प्रकाशित गरिएको छ।
को अछूत ? मानवता र आधुनिकतावादी कृति हो। उनका दृष्टिमा जम्मा दुई जात छन््, पुरुष र स्त्री। संकुचित अर्थमा धनी र गरिब। उनी कुनै पनि कृति कोरा कल्पनामा आत्मरञ्जनाका निम्ति मात्र लेख्दैनन्। उनी सामाजिक रूपान्तरणका लागि लेख्छन्। आख्यानविधासँग नजिक रहेर लेखिएको यस पुस्तकमा उनले पात्रहरूकै माध्यमबाट आफ्नो विचारलाई अभिव्यक्त गरेका छन्। घटनाकेन्द्रित बहस पुस्तकको अर्को सफल पाटो हो। उनले पात्र-पात्राहरूसँगसँगै घटना, उपघटनासँग जोडेर संवादका माध्यमले स्पष्ट सन्देश दिएका छन्। पात्रहरूकै समस्यालाई विषय बनाई त्यसैमाथि वादविवाद गराउँदै चुरो कुरामा पुग्छन्।
को अछूत ? मा तत्कालीन राणशासनकालमा माथिल्ला जातका महिला र विधवाहरूमाथि हुने चरम यौनशोषणको चित्रण गर्दै तिनको उपयोगिता सकिएपछि भारतमा लगेर दलितहरूको जिम्मा लगाइने उल्लेख छ । यसरी ब्राह्मणलाई दलितमा झारिन्थ्यो।
यो प्रसंग पुरानो होइन। त्यस कालखण्डमा आमरूपमा जनताले भोग्दै आएका सामान्य घटना हुन् तर तिनको परणाम भोग्नेहरूको जीवन सारै असामान्य बन्न पुग्यो। हो, यहीँनेर पुगेर लेखक विद्रोही बन्छन्। एक नारी पात्रामार्फत लेखकले रुढिग्रस्त शोषणका विरुद्ध उद्वेलित र विद्रोही भई ‘नयाँ क्रान्ति’को बिगुल फुक्छन् र समाजलाई नयाँ वैज्ञानिक ढंगमा अग्रसर गराउने विद्रोही विचार अघि सार्छन्। लेखकले यी सम्पूर्ण शोषित र उत्पीडित वर्ग र समुदायलाई समानता र योग्यताका आधारमा सत्ताका विभिन्न तहमा पदासीन गराएर निचोड प्रकट गर्छन्। त्यसबेलाको सरकार र समाजलाई अपच भएको मुख्य कुरा सायद यही नै हो। यस कृतिमा हुने खानेले हुँदा खानेमाथि गरिएको शोषणसँगै यौनशोषणको कुरालाई सशक्त रूपमा उठाएका छन्।
५७ वर्षअघि यस्तो क्रान्तिकारी सिर्जना बुन्ने यी लेखक र आज उनले परकिल्पना गरेको विभेदरहित विचारलाई समर्थन गर्दै राज्य ‘गणतान्त्रिक नेपाल’ मा रूपान्तरति भइसक्दा पनि यो कालजयी कृतिको चर्चा कतै हुन सकेन। शर्मा र उनको कृतिका बारे ‘प्रगतिशील’ कित्ताबाटै मौनधारणा हुनु त झन् विडम्बना हो। त्यसैले यस कृतिलाई पुन: प्रकाशित गरिएको हो। जातिपाति र छुवाछूतविरुद्ध आन्दोलन गर्छु भन्ने जमातले एकपटक यो कृति पढेर सही मूल्यांकन गर्नेछ भन्ने अपेक्षासहित यसको समीक्षा गरिएको हो।
नेपाल साप्ताहिक ४५०
