साहित्यले अधकल्चो भएको प्रतिभा (पोएट्री फर पिस : अ लिटिरेरि एभनिङ)

  • by
NirveekRai-05


रुसी सांस्कृतिक केन्द्रको सानो कन्फेरेन्स हलमा उक्त कार्यक्रम सञ्चालन हुने तयारी । डा. युवराज भट्टराई मञ्चमा उक्लँदै गर्दा उनलाई मैले झलक्क देखेँ । तर उनले चस्मा भिरेको र दुई दशकपछि उनलाई हेरेकोले अढाई वर्षसँगै कक्षा लिएको, डेढ वर्ष जति एउटै भाँडाको खाना लिएको र साहित्यको कारणले हिमचिम भएको साथीलाई उनी हो कि भनी मैले अन्दाजसम्म गर्न सकिनँ । उनी अमेरिका भासिएको कुराले र चिकित्सक बाहेक कवि पनि हो भन्ने कुरा सोच्न नसक्नाले र उनको नामको अघि ‘डाक्टर’ सम्बोधन नहुनाले पनि त्यसो भएको थप कारणहरू हुनसक्थ्यो । ज्ञानुवाकर पौडेलले उनी अमेरिकाबाट आएको कुरा फुकेपछि भने मैले राम्ररी ठम्याउँदा उनी मेरो पूर्व क्याम्पस (महाराजगन्ज क्याम्पस) को सहपाठी युवराज भट्टराई ‘दीपज्योती’ हुन् भनी पक्का भएँ । त्यसपछि उक्त कार्यक्रममा उपस्थित भएकोमा रमाइलो थपिएको अनुभूत मलाई हुनथाल्यो । धर्के कमिजलाई पेन्टबाहिर झरेको, ३४ इन्चे गोगो पेन्ट, ब्लकहिलवाला जुत्ता, सिल्कि कपाल निधारतिर झर्ने, प्रायः हाँसेर बोल्ने र ठूलोठूलो अक्षरहरू मौलिक पाराले लेख्ने त्यस जमानाको युवराज भट्टराई ‘दीप ज्योति’ सँगको भेटले नोस्टल्जिक भएँ । उनी २०३२ साल (तेस्रो ब्याच) को प्रमाणपत्र तह (सामान्य चिकित्सा) समूहको फस्टब्याइ तथा कविता गोष्ठीमा पुरस्कार थाप्ने कवि थिए । तेस्रो सत्रमा भने भक्तराज दाहालले उछिनेर उनी दोस्रो मात्र । बङ्गलादेशको एमबिबिएसको उनको पढाइ साहित्यले बिगारेको भन्ने कुरा मेरो कानमा परेको थियो । साहित्यप्रतिको अनुरागले उनलाई तै पनि नछाडेको देख्दा उनीप्रति मेरो विशेष श्रद्धा जाग्यो ।

युद्धको मोर्चामा पनि प्रेमगीत र प्रेमकविता लेखिएको र लेख्न सकिने तर्क जङ्गव चौहानको रह्यो ।

सन्तोषी अधिकारी, ध्रुवकुमार सुमन, जोतारे धाइवा, इन्दिरा अर्याल, विक्रम तिमिल्सिना, युवराज भट्टराई, सुरेश सुवेदी, सुशील देउजा, विद्या वज्राचार्य, बलराम दाहाल, सञ्जिता देउजा, ठाकुर शर्मा, समीक्षा भट्टराई, विभोर बराल र किरण पाठकले आआफ्नो रचना सुनाए । नवोदित कविहरूले पनि कविता सुनाएको देख्दा तर आफूले सुनाउन पहल नगरेकोमा म थकथकाइरहेको ।

मन्तव्यमा हरिप्रसादले भने, “विपिले भन्थे- राजनीति विवादित भए पनि साहित्य विवादित हुन सक्दैन ।” यो कुरामा म सहमति हुन सकिनँ । साहित्यमा पनि विचार र कला पक्ष दुवैमा विवाद नभई छाड्दैन ।

नीलम कार्की ‘निहारिका’ कार्यक्रम तुरिने बेलामा हस्याङफस्याङ गर्दै आएर ‘भोकाएको देवता’ कविता सुनाइन् । तिनी चाँडै अमेरिका जाने कुरा ज्ञानुवाकर पौडेलले सगौरव फुके । अमेरिका जाने कुरा ठूलो लागि फुक्नै पर्ने उनको मानसिकता देख्दा मैले दिक्दारी बेहोरेँ ।

उत्घोषक शङ्करले ज्ञानुवाकर पौडेललाई ‘गजल सम्राट’ सम्बोधन गर्दै वाचनको लागि नाम लिए । उनले थुप्रै गजलहरू सुनाए । उनले वाचन गरेको बेला ताली र वहावहाको आवाजले जिबि गुन्जियो । एउटै कविता तुलसी दिवसले २० चोटिसम्म भनेको उदाहरण दिदैँ उनले पुरानो गजलहरू दोहोर्याए । कुनै रचना त्यसरी दोहोर्याउँदा अझ राम्ररी बुझ्ने मौका हुन्छ र monotonous भएर दिक्दारी हुने सम्भावना पनि उस्तै ।

उनको गजलवाचनको समाप्तिपछि उत्घोषकले फेरि उनलाई ‘गजलसम्राट’ को पगरी गुथाए । सो उपाधि दिएबापत उनले mic नजिक गएर खण्डन गर्नथाले, “म कुनै पनि प्रकारको ‘सम्राट’ होइन केवल साधक मात्र हुँ । ‘सम्राट’ उपाधि यो देशमा खोसिने परिवेशमा म सो उपाधि (गजलकै भए पनि) कसरी भिर्न रुचाउँछु र ! यो उपाधि मैले बारम्बार अस्वीकार गर्दै आएको छु ।” ‘सम्राट’ उपाधि सम्बोधन गरेकोमा मलाई कुरीकुरी लागिरहेको थियो । उनी उपाधिको भोको रहेछन् भन्ने मलाई लागिरहँदा त्यसरी खण्डन गर्नाले उनीप्रति मेरो सम्मान स्वाट्टै फर्कियो । तर उनको खण्डनपछि पनि फेरि उत्घोषकले जिकिर गरे, “कोही तानाशाह उपाधि जबरजस्ती खोसेर लिन रुचाउँछन् तर उहाँ पाएको उपाधिसमेत ग्रहण गर्नु रुचाउँनु हुन्न यो उहाँको महानता हो । म सगौरव फेरि सम्बोधन गर्छु- ‘गजलसम्राट ज्ञानुवाकर पौडेल’ ।”

कार्यक्रम सकियो । मैले बातमार्नु पर्ने मान्छे युवराजबाहेक कोही थिएन । उनले मलाई कत्तिको चिनेछन् वा अन्दाज गरेछन् भनी पत्ता लगाउनु मैले उनलाई बोलाउन पहल नगर्ने निधोमा थिएँ, उनलाई भेटेर कुरा गर्ने मनमा अट्टहासको बावजूद । मञ्चबाट ओर्लिन्दै गरेको उनलाई नपर्खी म बाहिरिँदै थिएँ ।

तल्लो बाहिरी जबिि मा सहभागी र श्रोताहरू नास्तामा चरिरहेका । मलाई पट्यार लागि युवराजलाई बोल्ने फुर्सद भयो कि भन्ने ठान्दै उनी भएको ठाउँतिर लम्केँ । मेरो लम्काइ र उनको म तिरको लम्काइ ठयाक्कै टाइमिङ मिल्यो । मैलेजस्तै उनले हात बढाए ।

“चिन्नु भो हैन ?” मैले यकिन गराउन चाहें ।

“ चिनेँ । एचए सुमन हैन ?” ‘एचए’ सम्बोधनले मेरो चित्त दुख्न सक्छ भन्ने उनलाई ख्याल भएन वा अचानक गल्ती भएको हनसक्थ्यो । ‘एचए’ योग्यतालाई ‘एचए’ भनेकोमा मैले गुनासो गर्ने कमजोरी गर्नुको साटो बरु त्योभन्दा अर्को विशेष पहिचान बनाउने चुनौती फुकिएको खरो महसुस गरेँ ।

उनी ‘डाक्टरसाब’ माथि अमेरिकाबाट हालसालै सवारी भएको कारणले आशामुखी मानसिकता बोकेका जनता र साहित्यकारहरूले घेरिए । मैले कुरा बढाउन खोज्दा उनीसँग बोल्नेको घुइँचोले ठेलिएर म छेउ लागेँ ।

उनले बोले, “पत्रकार हुनु भा’को छ कि क्या हो ?”

“होइन ।” कार्यक्रमको सुरुबाट मैले कागजमा टिप्दै गरेको उनले ख्याल गरी पत्रकार ठाने । उनलाई अझै बोल्न फुर्सद थिएन । मैले पर्खेर मौका छोप्दै धीतमर्दो बोल्ने सोचिरहेको । उनीसँग बोल्ने भीडको बावजूद मैले गीती अल्बम निकालेको कुरा उनले बताए । पूर्व सहपाठीहरू भेट्दा मेरो कुरा निस्केको ठानें ।

“तपाईँको कवितासङ्ग्रह पनि निस्केको छ ?” उनीसँग कुरा गर्नेको भीडबीच मैले सोधें ।

“२ वटा सङ्ग्रह निस्किसकेका छन् ।”

“अध्ययनको सिलसिलामा हो अमेरिका ?”

“अँ ।”

“के विषयमा ?”

“फेमिली मेडिसिन ।”

“त्यसो भए एफआरसिएस छाड्नु भयो ?”

“पढ्ने विषय कत्ति हो कत्ति ! पढेर कहिल्यै नसकिने ।” उनले एफआरसिएस पूरा नगरी स्वास्नीको अमेरिकी डिभि चिठ्ठामा उत्तै भासिएको कुरा सुनेको थिएँ । एफआरसिएस पूरा नगरी फेमिलि मेडिसिन पढ्नुलाई म अवनति वा पलायन नै ठान्छु ।

डा. सुबोधकुमार पोखरेल (उनको ब्याचको फस्टब्याइ नै) जो एमबिबिएस मात्र भए पनि आफूलाई यौनविशेषज्ञ (सेक्सोलोजिस्ट) को दाबी गर्दै झीनाझाँकर वा अनभिज्ञ जमातलाई अलमल्याइरहेका छन् । फस्ट ब्याइले त भविष्यमा कुनै एक विषयमा समर्पित भएर प्रख्यात वैज्ञानिक वा विज्ञ भई कहलिन्छु भनेर कृतसङ्कल्पित हुनु पर्छ भन्ने मलाई लाग्छ । त्यस्तो हुनुलाई नेपालीको गिदीको खैरियत नहुने र नेपालीलाई परिवेश र सुविधा नहुने हुनसक्छ । नेपालमा जन्मेर र हुर्केर एसियाको धनी कहलिनु त कता हो कता विश्वकै धनी कहलिनु खोज्नु जस्तै कठिन कुरा त्यो मैले सोचेको हुनुसक्छु । प्रतिभा हुँदाहुँदै पनि नेपालीहरू निर्विकल्प लक्ष्यमा संर्मपित नहुने स्वभाव, परिस्थिति र आँट नभएको हुँदा अल्मलिएर शक्ति र सोच एकत्रित गर्न नसकेर अलमलिई वा कमजोर बनी महान् वैज्ञानिक हुनु नसकेको होला ।

ल हेर त ! डा. सुन्दरमणि दीक्षित आफ्नो जमानामा नामी फिजिसियन हुँदाहुँदै अनुसन्धानमा समर्पित हुन छाडेर राजनीति चिन्तक, व्याख्याकार, नागरिक समाजको अगुवा वा बहु प्रतिभाशाली कहलिनु पर्ने । त्यस्तै डा. भोला रिजाल गाइनेकोलोजि एन्ड अब्सटेरिक्समा विशेष योगदान (अनुसन्धान) दिनु छाडी गीत लेखेर, गाएर र चलचित्र निर्माण गरी बहु प्रतिभा देखाउने र ख्याति कमाउनै पर्ने । डा. भक्तराज दाहाल (जोसँग राम्रो मेमोसि पावर थियो, अझै हुन सक्छ (जो हाम्रो ब्याचको जेहेन्दार छात्र) लुइस पास्चर, वा रोबर्ट हुकजस्तो वैज्ञानिक किन हुन नसकेको ? डा. उपेन्द्र देवकोटाकै उदाहरण लिउँ कि आफ्नो क्षेत्रमा अझै योगदान दिनुको साटो बाबुराम भट्टराई (उनको पूर्व सहपाठी) भन्दा राजनीति सुझबुझमा पनि के कम्ती भन्दै स्वास्थ्यमन्त्री पड्काएर अलमलिए । एक विषयसँगै अर्को विषयमा संलग्न हुँदा मानसिक freshness त होला तर mind बाँडिएपछि समय र शक्ति बाँडिई प्रधान विषय वा लक्ष्यमा केही न केही कमजोरी हुन जान्छ । तर के गर्ने हामी नेपालीको छोट्टापन ! आफ्नो क्षेत्रको प्रतिष्ठाले मात्रै चित्त नबुझेर अन्य क्षेत्रको प्रतिष्ठामा पनि लोभिने स्वभाव कहाँ छुट्छ त ! हुन त सर्जरीमा मात्र एकोहोरिएका साहित्य, राजनीति वा अन्य क्षेत्रमा पनि संलग्न नभएका डा. अन्जनीकुमार शर्माले पनि आफ्नो क्षेत्रमा अन्तरराष्ट्रिय स्तरको ठोस अनुसन्धान गरेको बुझिँदैन ।

चिकित्सक भएको हिसाबले भन्दा पनि कवि भएको हिसाबले मैले डा. युवराजसँग विस्तृत कुरा गर्ने चाख लिएको तर उनले बोल्न फुर्सद नपाएको साथै उनले मसँग बोल्नलाई प्राथमिकता नदिएको र मलाई पनि हतारले च्यापेकोले धिरीबाट पानी खसाएको जस्तो मुसलधारे झरीको चुटाइ खाँदै रेनकोटको भरमा मोटरबाइकमा गुड्किएँ ।

२०६४ जेठ १०

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *