(आज म तपाईंहरूमाझ रोपाइँ दिवशको पुनित अबसरमा नयाँ प्रस्तुति असारे गीत पस्कदै छु । साथमा सुझाब र सल्लाहको पनि आशावादी छु; “प्रशंसाले मान्छेलाई भुत्ते बनाउछ है !”)
“ओई साइँला… गोरु नारिस…?”
“नारे है… खोल्सापरी बा!”
“रोपार आई पुगे… ?”
“अँ… आई पुगे है …”
छुपुमा छुपु हे कान्छी नानी
लै धान रोप रे
तिर्खामा लागे सर्बत पानी
खाजामा दोपरे
पानी पर्यो असार लाग्यो है
अर्म-पर्म गरेर सबैले
बेंसी खेत रोपाइँ गरौं है …!
उठ है उठ बाउसे दाजै
लौ हिलो बसे छ
कान्छीले दिएको कुसुमे रुमाल
हिलोमा खसेछ
पानी पर्यो असार लाग्यो है
अर्म-पर्म गरेर सबैले
बेंसी खेत रोपाइँ गरौं है …!
बिऊमा काड्ने हे ब्याडे आमै
बिऊ सकियो हातमा
पानी है पिउँला गिलासमा सारी
दोपरे पातमा
पानी पर्यो असार लाग्यो है
अर्म-पर्म गरेर सबैले
बेंसी खेत रोपाइँ गरौं है …!
कान्छीलाई हिलो छ्यापेछन् क्यारे
बाउसे दाइले
कान्छीको चोली पछौरी भिज्यो
मार्ली नि अहिले
पानी पर्यो असार लाग्यो है
अर्म-पर्म गरेर सबैले
बेंसी खेत रोपाइँ गरौं है …!
के हेर्छौ कान्छी रिसले आँखा
तरेर त्यसरी
छ्यापेर हिलो देखाइदेऊ कान्छी
भिजाइदेऊ बेसरी
पानी पर्यो असार लाग्यो है
अर्म-पर्म गरेर सबैले
बेंसी खेत रोपाइँ गरौं है …!
आमैले खाजा ल्याउनु भो अब
लौ खाजा खाऊ त
हे बाउसे दाइ रिसाई कान्छी
तिमी नै बोलाऊ त
पानी पर्यो असार लाग्यो है
अर्म-पर्म गरेर सबैले
बेंसी खेत रोपाइँ गरौं है …! …
आऊ है कान्छी दोपरे खाऊ
संगमा बसेर
खेलौला हिलो मनभरी फेरी
खाजा खाई सकेर
पानी पर्यो असार लाग्यो है
अर्म-पर्म गरेर सबैले
बेंसी खेत रोपाइँ गरौं है …! …
सकियो रोपाइँ हे बाउसे दाइ
आजलाई छुटौ है
बेसीमा भोलि रोपाइँ गर्न
सखारै जुट्यौ है
पानी पर्यो असार लाग्यो है
अर्म-पर्म गरेर सबैले
बेंसी खेत रोपाइँ गरौं है …! …
तीर्थ “यात्री” पौडेल