गृष्म छोडी गयो, प्रचण्ड भेष
वर्षा आयो, फिजाउँदै जलाधार केश
झिलमिल बत्ती बाली आयो कालो साँझ
ट्वार्रट्वार्र गाउँदो हो कुन गह्रा माझ
पसिनाको खेती रोप्दैछ मेहनती
सुनौला बाला उपहार पाई गर्छ त्यो उन्नति
मेघ गर्जन बिजुली चम्कनहुँदा रमायो
खेतमा पस्न अब हलो कोदालो समायो
गोरु र पाडा अगाडी सारी, ऊ पछि लम्कियो
दबदबे हिलो, असारे मेलो बेफुर्सदिलो क्षण
कम्मर कसी लागेको छ, फर्छनलाई ऋण
चाड पर्व आँउदा, खुसीको साथ ऊ मख्ख छ
मङ्सिर झुल्दा मेहनत देखी ऊ दङ्ग छ
ओठको खुसी बोल्छ, मनमा केही गम छ
संसारभरमा परिश्रमी के ऊ कम छ ?
