कवि सचित राईका २५ वटा कविता समाविष्ट गरिएको संग्रह अर्को भ्रममा आञ्चलिक विम्बहरूको मिठासपूर्ण संयोजन देख्न सकिन्छ। कवितामा राष्ट्रियताको पक्षपोषण कवि राईले विम्बहरूको सहारामा किराँती दर्शन, संस्कृति र भौगोलिकताको सुगन्धलाई पोखेका छन्। राईका कविताले दिमागलाई मात्रै झंकृत तुल्याउँदैनन्, मानवीय संवेदनालाई समेत झकझक्याउने सामथ्र्य राख्छन्।
राईले आफ्नो कवितालाई परविर्तनको पक्षमा उभ्याएका छन्। विषयजस्ता नलाग्ने तथ्यहरू, विम्बजस्ता नलाग्ने घटनाहरूलाई पनि कविले सुन्दर कविताको विषयवस्तु बनाएका छन्। राईका कतिपय कविताहरू स्वादका दृष्टिले पृथक्, विचारका दृष्टिले नवीन र अर्थका हिसाबले दुर्बोध्य नलाग्ने किसिमका छन्। र, ती कविताहरूमा मानवीय जीवनका संगति र असंगतिहरूको चित्र कोरिएको छ।
राईका कतिपय कविताहरूमा प्रयुक्त विम्ब विधानहरू अप्ठ्यारो पहाडजस्तो बनेर पनि उभिएका छन्। राई संस्कृतिप्रतिको उनको माया कवितामा छताछुल्ल भएर त पोखिएको छ तर कतिपय ठाउँमा ठेट शब्दहरू बढी नै दुर्बोध्य प्रतीत हुन्छन्। त्यस्ता शब्दहरूलाई पादटिप्पणी गरेको भए राम्रो हुने थियो। कतिपय कवितामा उस्तै विम्बहरू दोहोरिएका छन्, जसले कतिपय कविताको सुन्दरतामाथि प्रश्नचिन्हसमेत उठाएका छन्।
जीवनलाई सार्थक तुल्याउन नसक्नेहरू र परविर्तनको गतिलाई पक्रन नसक्नेहरूप्रति कविको आक्रोश कवितामा भेट्न सकिन्छ। कविले फूल मान्छे र मान्छे फूल भएको अवस्थाका कल्पना गरेका छन्। र, मान्छे बाँच्नुको अस्तित्वमाथि प्रश्न उठाएका छन्। उनका कविताहरू आकारमा दृष्टिले लामा छैनन् तर व्याख्याका हिसाबले ती लामा हुन सक्छन्। समग्रमा कविले आफ्नो कवितामार्फत समयको चित्र उतारेका छन्।
अर्को भ्रम
कवि : सचित राई
प्रकाशक : पुष्पा लोहोरुङ (सिप्तुङ्खा)
पृष्ठ : ४५
मूल्य : १५० रुपियाँ
नेपाल साप्ताहिक ४५३
