बाल्यकालदेखि नै म निकै भलाद्मी थिएँ रे ! युवा अवस्थामा पुगेपछि त जिम्मेवार पनि उत्तिकै भएँ। म पढाइमा पनि बाल्यकालदेखि नै अति तीव्र थिएँ, बाले भन्नुहुन्थ्यो बैनीहरूलाई।

हाइस्कुल पढ्दासम्म म कहिल्यै पनि दोस्रो भइनँ। २०३२ सालमा एसएलसी परीक्षा दिएँ, परीक्षा दिएको तीन महिनापछि हृदयाघातबाट आमाको मृत्यु भयो। त्यसबेला उहाँको उमेर केवल ३४ वर्षको थियो। बा एक वर्षले जेठो हुनुहुन्थ्यो आमाभन्दा।

मुटुको बिरामीको कुनै लक्षण देखिएको थिएन आमामा। निकै स्वस्थ देखिनुहुन्थ्यो जहिले पनि। त्यो दिन बिहानीपख एक्कासि छाती दुख्यो भन्नुभयो। हामीलाई सामान्य किसिमको दुखाइ हो जस्तो लाग्यो। तर, स्थिति गम्भीर हुनथालेपछि रक्िसामा राखेर हतारिंदै छपकैया अस्पताल पुर्‍यायौँ। त्यस समयमा वीरगन्जमा त्यति भीडभाड हुँदैनथ्यो पनि। मेरो ध्यान केवल आमामा थियो। आमालाई समातेर म रक्िसामा बसेको थिएँ, बा रक्िसाको पछिपछि साइकलमा आउनुभयो। अस्पताल पुगेको एक घन्टापछि नै डाक्टरले आमाको मृत्यु भएको घोषणा गरे। त्यही दिन दिउँसो आमाको जीवनयात्रा सिरसिया नदीको किनारमा समाप्त भयो। उहाँको शरीर पञ्चतत्त्वमा विलीन भयो।

आमाको मृत्युले मलाई निकै विचलित पार्‍यो। जुनबेला पनि आमाको सम्झना आइरहन्थ्यो। घर एकदम शून्य लाग्थ्यो। बा त बिरामी परेजस्तो नै हुनुभयो केही दिनसम्म। बहिनीहरू पनि टोलाइरहन्थे। यस्तो दु:खद घडीमा मेरो पढाइ राम्रोसँग हुनसकेन। तैपनि, आईएस्सी दास्रो श्रेणीमा उत्तीर्ण भएँ। मेरो अध्ययनजीवनमा म दोस्रो भएको पहिलोपटक थियो। त्यसबेला म १८ वर्षको थिएँ।

बा माइस्थानको एउटा पसलमा काम गर्नुहुन्थ्यो, उहाँको सीमित आम्दानीले जेनतेन गृहस्थी चलेको थियो। हजुरबाको पालाको पुख्र्यौली घर नभएको भए सायद हाम्रो सामाजिक र आर्थिक दुवै जीवन अझै कष्टकर हुन्थ्यो।

मैले बीएस्सी पढ्न काठमाडौँ जाने इच्छा प्रकट गरेँ। बाले कुनै उत्सुकता देखाउनु भएन, म ज्यादै निरास भएँ। बाले आर्थिक कारणले गर्दा उत्सुकता नदेखाउनुभएको मलाई थाहा थियो। त्यसैले पनि म उहाँलाई बढी दबाब दिन चाहिरहेको थिइनँ। अर्कोतिर, मेरा दुईवटी बहिनीहरूको पनि पढाइको खर्च जुटाउनुपर्ने थियो। दुवै बहिनीहरू हाइस्कुलको माथिल्लो कक्षामा थिए।

बाको समस्या पनि समाधान हुने अनि मेरो इच्छा पनि पूरा हुने जुक्ति निकालेँ मैले। एक साँझ बा कामबाट फर्केपछि मैले भनेँ, “बा, म काठमाडौँ पढ्न जान्छु, तपाईंले खर्च पठाउनु पर्दैन। ट्युसन पढाएर पढ्ने र बस्ने खर्च निकाल्छु। काठमाडौँमा बसेको वीरगन्जकै मेरो एक जना साथीले ट्युसन पढ्ने विद्यार्थी खोजिदिन्छु भनेको छ। बस्ने पनि उसैसँग हो। उसको डेरा पुतलीसडकमा छ।” तर पनि बाको मुहारमा प्रसन्नता देखिएन। तर, पीडा थिएन। केही क्षण सोचेर भन्नुभयो, “तिमीलाई उतै जाने इच्छा छ भने जाऊ, म के भनौँ ! मैले रोक्नु पनि उचित हुँदैन। ठीकै छ त, जाने तयारी गर्नू।” मैले भनेँ, “अँ बा, सुरुका दुई-तीन महिनाको खर्चको व्यवस्था त तपाईंले मिलाइदिनुपर्छ।” बाले केवल सहमतिमा शिर हल्लाउनु भयो, केही बोल्नुभएन। भोलिपल्ट साँझको कुरा हो, बा कामबाट आउनेबित्तिकै भन्नुभयो, “कृष्ण यता हेर् त !” म हतारिंदै बाको नजिक पुगेँ। उहाँले खल्तीबाट पैसा झिकेर मेरो हातमा राखिदिँदै भन्नुभयो, “सात हजार छ, राम्रोसँग प्यान्टको भित्री खल्तीमा राख्नू।” पैसा पाएपछि मेरो मनमा खुसीको बाढी नै आयो, म ज्यादै हषिर्त भएँ। साइन्स पढेर प्रोफेसर हुने मेरो सपनाले बाटो पाउँदै थियो। तर, म फेरिकेही सोचेर उदास भएँ। मेरो मुहारको उदासीलाई पढेर बाले भन्नु भयो, “किन, यति पैसाले पुग्दैन?” मैले भने, “होइन, पैसाको कारण होइन बा, यत्रो पैसा कहाँबाट ल्याउनुभयो भन्ने चिन्ता लागेको !” बाले भन्नुभयो, “पसलमा सामान्य तलबमा काम गर्ने मान्छेसँग यति पैसा एकैचोटि कसरी हुनु? तिम्रो आमाको गहना थियो, बैनीहरूको बिहेमा दिनुपर्छ भनेर राखेको, तिनै गहनाहरू बैँकमा बन्धकी राखेर पैसा झिकेको हो।”

म काठमाडौँ आएको दुई वर्ष भइसकेको थियो। बीएस्सीको पढाइ सकिनसकिन आँटेको थियो। परीक्षाको तयारीमा म एकाग्र भएर लागेको थिएँ। तर, वीरगन्जबाट आउने खबरहरूले भने मलाई निकै चिन्तित तुल्याइरहेका थिए। पछिल्लोपटक पठाएको चिट्ठीमा जेठी बहिनी पद्माले प्रस्ट लेखेकी थिइन्, “दादा बाले अर्को बिहे गर्ने विचार गर्नुभएजस्तो छ। अचेल घर पनि अबेर आउनुहुन्छ। प्राय: रात परेपछि मात्र आउनुहुन्छ। उदास देखिनुहुन्छ, जुनबेला पनि। अस्ति माया फुपूकहाँ गएका बेला बिहे गर्ने इच्छा जाहेर गर्नुभएछ पनि। यो कुरा माया फुपूले नै भन्नुभएको हो।”

बाको यस इच्छाले मलाई निकै चिन्तत तुल्यायो। घरमा आउने नयाँ सदस्य र बहिनीहरूको बीचमा राम्रो समन्वय हुन नसक्ला कि भन्ने पीर लाग्यो। बहिनीहरू आमासँग घुलमिल हुन्थे र खुल्थे पनि। म र बा हुँदाहुँदै पनि आमाको मृत्युले उनीहरू टुहुराजस्ता भएका थिए। उनीहरूले आमासँगै आत्मीयता बाँड्ने एउटा साथी पनि गुमाएका थिए। कतिपय इच्छा र आवश्यकता उनीहरू आमालाई मात्र भन्थे। सानै उमेरमा घर गृहस्थी चलाउन सिक्नुपरेको थियो बहिनीहरूले। दिदीबहिनी निकै मिलेर बसेका थिए। त्यसैले गर्दा पनि बाको त्यस इच्छाले अलि बढी नै चिन्तित हुन पुगेको थिएँ म।

चिट्ठीमा बहिनीले लेखेकी थिइन्, “दादा बाले अर्को बिहे गर्ने निधो नै गरेजस्तो छ, एक जना विधवासँग। हरि काकाले नै खोजिदिनुभएको रे ! तपाईं एकचोटि वीरगन्ज आउनूस् अनि बालाई सम्झाउनूस्। हामीले त बालाई केही भन्ने आँट पनि गर्न सकेका छैनौँ।” म बीएस्सी परीक्षा सकिएको भोलिपल्टै वीरगन्ज पुगेँ हतारिंदै।

थकाइले गर्दा म राती खाना खाएपछि बासँग कुरा नगरी सुतेँ। भोलिपल्ट भने बिहान चिया खाने क्रममा कुराको आरम्भ बाले नै गर्नुभयो। भन्नुभयो, “हेर् न बाबु ! मलाई त मान्छेहरूले बिहे गर्, बिहे गर् भन्छन्। हरलिे, मायाले, ठूली भाउजू, सबैले…। छोरा पढाइमै व्यस्त छ, भोलि जागिरको खोजीमा कताकता लाग्ने हो। छोरीहरूको पनि बिहे भएपछि आ-आफ्ना घर लाग्छन्। तपाइर्ं एक्लो पर्नुहुन्छ। बिहे गरे दुवैलाई एकअर्काको सहारा हुन्छ। ढुंगालाई माटोको, माटोलाई ढुंगाको भर भएझैँ। लौ भन् तिमीहरूको के सल्लाह छ?” मेरो लामो मौनतालाई चिरेर बाले नै भन्नुभयो, “तिमीहरूको विचारमा के गर्दा ठीक होला?” मैले खालि यत्ति भनेँ, “एकपटक बहिनीहरूसँग पनि सोधौँ न ! उनीहरूको पनि त राय बुझ्नुपर्‍यो।” मेरो प्रतिक्रियामा बाले केही भन्नुभएन।

खासमा मैले बाको इच्छाको विरोध उहाँसँगै गर्नु उचित ठानिनँ। अनि, हरि काकाकहाँ पुगेँ। उहाँलाई भनेँ, “काका ! हजुरले बालाई सम्झाइदिनुपर्‍यो। बाले यस उमेरमा बिहे गर्नु उपयुक्त हुँदैन। काकाको कुरा बाले सुन्नुहुन्छ पनि।”

मेरो विचारप्रति हरि काका सहमत हुनुभएन। ठाडै विरोध गर्नुभयो, “हेर्, कतिपय कुरा प्रस्ट पार्न सकिँदैन, अवस्था वा उमेरमा पुगेपछि स्वत: थाहा हुन्छ यस्ता कुराहरू। कुनैकुनै कुरा नभोगी थाहा हुँदैन। छोटकरीमा के बुझ् भने बिहे गर्ने तेरो बाको स्वेच्छा होइन, बाध्यता हो।” मैले असहमति प्रकट गरेँ, “काका घरमा नयाँ आमा आएपछि के बहिनीहरूले सजिलै स्वीकार गर्लान् ! यदि नयाँ सदस्य र बहिनीहरूबीचमा टकरावको स्थिति आयो भने बाले सजिलोभन्दा पनि उल्टै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने हुन्छ। साँचो कुरा भन्ने हो भने बाको इच्छा मलाई पनि मन परेको छैन। बाको स्थितिमा धेरै मान्छेहरू एक्लै बसेका छन् र पनि खुसी नै छन्। नरेन्द्र भिनाजुलाई हेर्नूस् त ! फुपू बित्नु हुँदा भिनाजुको उमेर केवल ३० वर्षको थियो तैपनि भिनाजुले आजसम्म बिहे गर्नु भएन। छोराछोरीको लालनपालन र शिक्षामै जीवन बिताउनुभयो। फेरि हामी बालाई एक्लो हुन दिँदैनौँ पनि, हामी एकदम राम्रो हेरविचार गर्छौं।” धेरै तर्क र वितर्कपछि हरिकाका बल्ल बालाई सम्झाउन तयार हुनुभयो।

काकाले बालाई धेरै सम्झाउनुभयो। तर पनि, बिहे गर्ने इच्छा त्याग्नुभएन। केवल इच्छालाई थाती मात्र राख्नुभयो। बालाई सम्झाएपछि काकाले मलाई यही कुरा भन्नु भयो, “हेर् केटा ! दाइले अहिले नै त बिहे गरहिाल्नु हुँदैन तर बिहे गर्ने इच्छाचाहिँ त्याग्नुभएको छैन।”

साइन्सको पढाइ, अलि बढी नै मिहिनेत गर्नुपर्ने। पढाइको पीरले नै म एक महिनापछि काठमाडौँ फर्कें। उता वीरगन्जबाट खबर आउने क्रम भने जारी नै थियो। तर, खबरको रूप फरक थियो। अब बाको स्वास्थ्य बिग्रेको खबर आउँथ्यो। कहिले कुन क्लिनिक, कहिले कुन क्लिनिकमा पुर्‍यायौँ भनेर बहिनीहरू चिट्ठीमा लेख्थे।

०४२ सालतिरको कुरा हो, मैले एमएस्सी पूरा गरसिकेर एउटा क्याम्पसमा जागिर पनि पाएँ। तर, वीरगन्जबाट बाको बिरामीको खबर आउने क्रम भने टुटेन। अन्तत: बालाई बहिनीहरूसँगै काठमाडौँ ल्याएँ। यो ०४५ सालको कुरा हो। तर, काठमाडौँका सारा अस्पतालहरू चहार्दा बाको उपचार हुन सकेन अनि भारतको भेलोरसम्म पुर्‍याएँ। करबि एक महिनाजति बसेँ त्यहाँ। तर, त्यहाँको इलाजबाट पनि बालाई फाइदा भएन।

०४८ सालको कुरा हो, भेलोरबाट इलाज गराएर फर्केको दुई वर्षभन्दा बढी भइसकेको थियो। बाका गतिविधि घरभित्रै सीमित भइसकेका थिए। कतै जाने, कसैसँग भेट्ने रुचि हुन्थेन बालाई। बहिनीहरू दुवैले एमए सकेर सानोतिनो जागिर समातिसकेका थिए। उमेरका कारणले अब उनीहरूको बिहे गर्न हतार भए पनि योग्य केटा पाइएको थिएन। उनीहरूको पढाइ पनि घाँडोजस्तो भएको थियो। सबै कुरा मिले पनि बहिनीहरूभन्दा कम पढेका केटाहरू मात्र भेटिन्थे। तर पनि, योग्य वर खोजेर बहिनीहरूको बिहे सक्याएँ। ०४८ सालतिरकै कुरा हो यो। आफ्नो बिहे गर्न पनि ढिलो भइसकेको थियो। सहरे युवतीहरूले मसँग बिहे गर्ने उत्सुकता देखाएनन्। त्यसैले मेरो पनि ०५० सालमा मात्र बिहे भयो। यो वर्ष हाम्रा लागि सुखान्त र दुखान्त दुवै भयो। हामीले बिहे गर्‍यौँ तर त्यही वर्ष बाको देहान्त भयो।

मेरो बिहे भएको १६ वर्षपछिको कुरा हो, म मोटरसाइकलमा मेरी पत्नी प्रभालाई राखेर भक्तपुर जाँदै थिएँ। एकअर्कालाई उछिन्न प्रतिस्पर्धा गरिरहेका मिनीबसहरूमध्ये अगाडिकाले मेरो मोटरसाइकललाई गठ्ठाघरमा पछाडिबाट ठक्कर दियो। त्यसपछिको स्थिति मलाई केही थाहा छैन। पाटन अस्पतालको सर्जिकल वार्डमा मेरो होस खुलेपछि थाहा पाएँ, त्यस दुर्घटनाले मेरी प्यारी पत्नीलाई मबाट सदाका लागि खोसेछ।

प्रभाले मलाई एक्लो र तीनवटा छोराहरू विनय, विवेक र विशाललाई टुहुरो बनाएर गएको एक वर्षजति हुन थाल्यो। सबैभन्दा जेठो विनय त १३ वर्षको छ। कलिलो उमेरमै आमाको मायाबाट बञ्चित भए मेरा छोराहरू।

यो संयोग हो कि विडम्बना ! यसलाई म हाम्रो परिवारसँग जोडेर हेर्छु। उमेरमै बा आफ्नी पत्नी र हामी आमाबाट वञ्चित भयौँ। बाले पछि बिहे गर्न खोज्नुभयो। अहिले म आफ्नी पत्नीको र सन्तानहरू आमाको वियोग सहन बाध्य छन्। सायद हाम्रो सारा परिवारको नियति नै यही होला। र, दुई वर्षपछि आज म पनि बिहे गर्ने तयारी गर्दैछु ।

नेपाल साप्ताहिक ४५२

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *