Skip to content


यो एकादेशको कथा पनि होइन र अनाम पात्रको कथा पनि होइन । यो कथा यही देश र यसको एक नागरिकको कथा हो जसको कथा मेरा यिनै हातले धेरैअघि लेखिसकिएको छ तर कुनै बखत के, आजको पचास, सय वर्षपछि यो कथा एकादेशकै बन्नेछ र यसलाई यसै देशका नागरिकले पढ्नेछन् ।

धेरै भयो भाग्यनाराँलाई मैले नदेखको । खोइ यतै कतै हुनुपर्ने हो भाग्यनाराँ, मनमा लागिरहन्छ तर अहँ कतै भेट्दिनँ म उसलाई । न त ऊ हिजोआज मेरो घरअगाडिको बाटोबाट हिँडेको नै देखिन्छ, न त मेरै घरअगाडि आएर ‘ए बाज्या !’ भनेर चिच्याएर नै कराउँछ । गौशाला, पशुपति, गुहृेयश्वरीको बाटोतिर पनि देख्दिनँ म उसलाई । न त गुहृयेश्वरीअगाडिको गौरीघाट वरिपरिको चितामाथि वा छेउछाउको चौरमा नै लम्पसार परेर आनन्दले सुतिरहेको देखिन्छ ऊ । त्यसो भए खोइ त भाग्यनाराँ… … … … ? झ्या….प्पै…. ब्रेक लाग्छ । ऊ ड्या….ङ्गै …. लड्छ । “लौ….! लौ…. ! लौ…. ! राम…. राम…. ! लौ गयो कि क्या हो…. !

हेर रगत…. ! गयो….गयो…. !” एकैचोटिमा विभिन्न स्वरहरू अत्तालिन्छन् । कुल्चिने बस सडकको बीचमा तेर्सिन्छ । चालक कुलेलम ठोक्छ । मात्र खलासी बाँकी रहन्छ । ऊ थुरथुर कामिरहेको हुन्छ ।

मानिसहरू झुम्मिन्छन् । सडक यातायात जाम हुन्छ । सवारी साधनहरूका ट्वाँ….ट्वाँ…. र टुँ…. टुँ…. को आवाजले सबका कान तात्छन् । सडकमा ट्राफिक प्रहरी हुँदैन । हूलबाट एउटाले भन्छ, “ए हेर ! हेर ! हाम्रै पार्टीको कार्यकर्ताजस्तो छ नि !”

“हो ! हो !” अर्कोले थप्छ । तत्कालै अर्को पार्टीको बोल्छ, “कहाँ हो तपाईँको पार्टीको ! यिनी त हाम्रो पार्टीका हुन् ।”

“हाम्रो पार्टीका ।”

“हाम्रो पार्टीका ।”

त्यही विवादको बीचमा अर्को विवाद सिर्जना हुन्छ, आ-आफ्नै पक्षका बीचमा । तुरुन्तै क्षतिपूर्तिको माग राखेर नारा र जुलुसले सडकजाम मात्र गराउने या लासलाई नै सहर परिक्रमाको सुरु गर्ने ? या भनौँ, मृत कार्यकर्ताको सम्मान कसरी गर्ने ? एउटाले भन्छ, “लासलाई सहर परिक्रमा गराउने ।”

“तर सहर परिक्रमाअघि पार्टी कार्यालयमा लगेर राख्नुपर्छ,” अर्को भन्छ । त्यसैबखत कुनै एउटाले राम्रै चिनेको बोली बोल्छ, “ए ! ए ! ए ! उनी त पार्टीका भन्दा पनि एउटा लेखक-साहित्यकार पो हुन् त…. । त्यसैले प्रज्ञाप्रतिष्ठानमा लगेर राखिनुपर्छ ।”

“लेखक-साहित्यकार पार्टीको हुन सक्दैन कि क्या हो ? कुनै पार्टीबिनाका पनि कुनै लेखक-साहित्यकार हुन्छन् र हिजोआज ?” अनौठो बोलीले एकजना जङ्गिन्छ । विवाद बढेर जान्छ । कुकुर भुके पनि, साँढे जुधे पनि काम नपाएर रल्लिरहने काठमाडौँवासीहरूको त्यहाँ भीड लाग्छ । त्यसैबीच लासमाथि तेस्रो, चौथो पार्टीको पनि दावी हुन्छ । अनि त स्वतः ती हरेक पार्टीपार्टी पक्षका तमासेको खात चाङ्गिँदै जान्छ ।

उनीहरू आ-आफ्नो अडान छोड्दैनन् तर त्यहाँ पार्टीबाहिरका पनि धेरै हुन्छन् । भन्छन्, “पार्टी भनेको एक समूहको मात्रै हो तर साहित्य, कला र सङ्गीत सम्पूर्ण देशवासीको हो । यदि उनी लेखक वा साहित्यकार नै हुन् भने हामीले उनलाई पार्टीको सीमित घेराभन्दा माथि राख्नुपर्छ । त्यसैले उनलाई कुनै पनि प्रज्ञाप्रतिष्ठानमा होस्, लगेर राख्नु जरुरी छ ताकि कुन प्रजातन्त्रवादी, कुन साम्यवादी, कुन राष्ट्रवादी, कुन अराष्ट्रवादी, कुन प्रतिगामी र कुन अग्रगामी, सबैसबैले आफ्ना आदरणीय साहित्यकारलाई अन्तिमपटक देख्न सकून्…. । साहित्यकार, कलाकार भनेका त राष्ट्रका गहना हुन्, अमूल्य निधि हुन्…. ।”

तर कुन प्रतिष्ठानको प्राङ्गणमा लगेर राख्ने ? पहिले पो एउटा मात्र थियो र साहित्यकार, कलाकार, सङ्गीतकार जसको मृत्यु भए पनि त्यहीँ लगेर राखिन्थ्यो । अहिले त तीन-तीनवटा खडा छन् । कसैले तर्क पेस गर्छ, “उनी साहित्य लेख्थे र त अरूलाई आफ्ना कथाव्यथा सुनाउँथे । त्यसैले भाषा-साहित्यपट्टि लगेर राख्ने । देशको पुरानो प्रतिष्ठान पनि त्यही हो ।” कोही भन्छ, “उनी गीतकार हुन् र त कहिलेकाहीँ विरहको गीत गाएर हिँडेका पनि देखिन्थे । यसैले नाट्य तथा सङ्गीत प्रतिष्ठानपट्टि लैजानुपर्छ ।” अनि फेरि कोही अर्को दावी गर्छ, “होइन, उनी त सडकसडकमा केके चित्र कोर्दै हिँड्थेँ र मानिसहरूलाई त्यसको माने पनि सम्झाउँथे । मलाई लाग्छ उनी नामुद कलाकार थिए । त्यसैले ललितकला प्रतिष्ठानपट््टि नै लानु उपयुक्त हुनेछ ।” पहिले एउटा पार्टीको एकजना कार्यकर्ता भनेर मात्र चिनिएको लासबारे अब अरूअरूबाट अरूअरू कुरा पनि उधिनिँदै जान्छन् ।

“हुँदैन, बान्चेट् कहाँ त्यसो हुन्छ ?” पार्टीपट्टकिा फेरि कुर्लिन्छन्, “देशको साहित्य र संस्कृतिभन्दा पार्टी ठूलो हो । हाम्रो पार्टीभन्दा ठूलो देश त हुन सक्दैन भने एक व्यक्तिको कुरा त परै जाओस् । यसैले लगेर पार्टी कार्यालयमा लास राखिनुपर्छ र पार्टीका तमाम कार्यकर्ता र शुभेच्छुकबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न पाउनुपर्छ ।”

“त्यसो भए कतै लगेर पनि नराख्नोस् । केवल सहर परिक्रमा गराउनोस् र ‘यसरी लापरवाहीमा मान्छे मार्न पाइँदैन’ भनेर चालकमाथि दवाव दिनोस् । आजकल काठमाडौँमा चालकको लापरवाही पनि निकै बढेको छ,” बीचका कोही बोल्छन् ।

“तपाईं बोल्ने यहाँ को ?” भीडबाट अर्को कुर्लिन्छ । बोल्ने नम्र बनेर भन्छ, “म कोही होइन, एक साधारण जनता हुँ ।”

“तपाईं हाम्रो पार्टीको होइन भने के अधिकारले कतै नलगी सहर परिक्रमा गराउने र सर्वसाधारणलाई तमासा मात्र देखाउने कुरा गर्नुहुन्छ त ?” प्रश्नकर्ता पुनः प्रश्न गर्छ । जवाफ दिनेले दिन्छ “तपाइर्ंहरू आ-आफूकै बीचमा कुरा नमिलेको देखेर मात्र मैले बोलेको हुँ । पहिलो कुरा त यी मृत व्यक्ति कुन पार्टीका कार्यकर्ता वा नेता हुन् तपाईंहरू आफैँलाई थाहा नभएका बेला अब कहाँ लाने, कसरी सम्मान दर्शाउने भनेर केको किचलो हो यो ? भनेर मैले बीचको बाटो बोलेको हुँ ।”

भीडमा पार्टीबाहिरका पनि धेरै छन् । उनीहरू पनि बीचको बाटो अँगाल्नेकै पक्षमा समर्थन जनाउँछन् । भन्छन्, “होइन भने सहमतिका नाममा सहमति गर्नोस्, देशका नेताहरूले गरेजस्तो गरेर ।”

अकस्मात् हूलबाट एकजना चिच्याउँछ, “ऊ ! ऊ !

ऊ ! फेला पर्‍यो, पर्‍यो ।”

“के पर्‍यो फेला ?” अर्कोतिरबाट सोधनी हुन्छ ।

“उनी हाम्रै पार्टीका रहेछन् । अघि नै भनेको होइन उनी हाम्रै पार्टीका हुन् भनेर ?” उसको अनुहारमा खुसियाली छाउँछ र बोलीमा सगौरवको भाका फेरिन्छ ।

“खोइ प्रमाण ?” सब उत्सुक बन्छन् थाहा पाउन ।

“ऊ ! हेर त ! उनको छातीमा नै हाम्रो पार्टीको झण्डा छ ।” सबैले देख्छन् मृत शरीरको छातीमा कुनै पार्टीको झण्डा छ । सबैले आ-आफ्नै पार्टीको रूप देख्छन् त्यसमा र नजिकै गएर हरेकले हरेक कोणबाट नियाल्छन् । शरीर रगतमा लत्पतिएको कारण झण्डा कुन पार्टीको हो भनेर चिन्ह पनि गार्‍हो हुन्छ तर पछि पक्का हुन्छ अब उनी त्यही अमूक पार्टीको कार्यकर्ता हुन्, त्यो पनि पार्टीप्रति प्रतिबद्ध र पूर्ण बफादार । प्रमाण फेला परिसकेपछि अरू पार्टीको दावी फिका त हुन्छ नै तर पनि लासलाई आफ्नो पक्षमा पार्न उनीहरू अरूअरू दाउ खोजिरहन्छन् । भीड कम हुँदैन । उल्टो, एउटा अमूक पार्टीको झण्डाको भरमा मात्र मौका गुमाउन अरू पार्टीका कार्यकर्ता चाहँदैनन् । भीडमाथि भीड बढ्दै जान्छ । आफ्नो पार्टीको झण्डा देख्नेहरू भन्छन्, “हरदम छातीमा पार्टीको झण्डा राखेर हिँड्ने मानिस कम आदर्श र कम सिद्धान्तवादी हुनै सक्दैन । उनलाई त हामीले महान सम्मान दिनुपर्छ ।” तर कसरी ? निकै सल्लाह हुन्छ उनीहरूका बीच । एकमाथि अर्कोगरी लास पहिचानअघिका तिनै विवादहरू निस्किन्छन् फेरि अनेक थरीका ।

“….हो ! हो ! बरु त्यसै गर्ने । उनको अन्तिम इच्छा पनि अनाहकमा आफूलाई यस्तो ठूलो मान्छे बनाउनेजस्तो देखिँदैनथ्यो । मैले कताकता यो पनि सुनेको थिएँ,” एकजना उपबुज्रुकजस्तो देखिने व्यक्ति बोल्छ ।

“भैहाल्यो न त भैहाल्यो । कतै पनि नलैजाऔँ बरु । फेरि पार्टीका नेताहरूले नै नचिनेका मानिस मन्त्री बनेजस्तै नेताहरूले हाम्रा यस्ता निष्ठावान कार्यकर्तालाई नै चिनेको छैन भनिदिए भने हामीलाई पनि नराम्रो हुन्छ र हाम्रा सहिदको पनि अपमान हुन्छ ।”

“के ठेगान नेताज्यूहरूको ? अब त उहाँहरूले आफ्ना निष्ठावान कार्यकर्ताहरूलाई चिन्ह पनि छोडिसक्नुभयो । चिन्नुपर्ने त अरू नै भइसके उहाँहरूका लागि,” एउटाले जुक्ति सुझाउँछ, “बरु पार्टी अध्यक्षलाई जानकारी गराएर यहीँ बोलाऔँ र अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न लगाऔँ । हामी यतिकाको तर्फबाट आग्रह गरेपछि उहाँ पक्कै आउनुहुन्छ । त्यसपछि सहर परिक्रमा गराऔँला र र लगेर दाहसंस्कार गरौँला ।”

“हो ! हो ! त्यसै गरौँ, अब कतै पनि नलैजाऔँ,” भीड त्यतै मोडिन्छ । ठेगान हुन्छ अब सबैको कि उनलाई कुनै पार्टीको कार्यालय वा प्रतिष्ठानमा पनि लगेर नराख्ने तर त्यसैबीच अर्को झमेला आइलाग्छ त्यहाँ । प्रहरी प्रशासनको टोली आइपुग्छ भीड हटाउन र मृत्युको कारणको सत्यतथ्य पत्ता लगाउन । “सरासर एउटा बसले किचेर मृत्यु भएको मान्छेको पनि केको अरू कारण खोज्नुपर्‍यो अब यी प्रहरीलाई पनि,” आफ्नो पार्टीका कार्यकर्ता भनेर दावी गर्ने एउटा बोल्छ, “सबैले देखेकै छन् केहीअघि मात्र अमूक यातायातको बसले किचेर मारेको र त्यसको साक्षी हामी यहाँका सम्पूर्ण नै छौँ भने फेरि केको कारण चाहियो यिनीहरूलाई ।” तर प्रहरी मान्दैन र मृत व्यक्तिको मुचुल्का उठाउने तरखर गर्छ । उता, लासको नाममा नारावाजी र हूलदङ्गा पनि हुन आँटिसकेको हुन्छ । भन्छन्, “लेऊ हाम्रा साथी हाम्रो जिम्मा । जे गर्नुपर्छ हामी गर्छौं ।” तर प्रहरी प्रशासन लास कसको हो र कसलाई जिम्मा लगाउनुपर्ने हो मुचुल्का नगराई दिने पक्षमा हुँदैन ।

“कार्यकर्ता भन्दैमा नाम त हुनुपर्‍यो नि ? के नामै नभएको नेता वा कार्यकर्ता कोही हुन्छ तपाईर्ंहरूको ?” प्रहरी हाकिम कड्किन्छ ।

“ल उहाँको नामै नेता बहादुर सिंह रे, भयो तपाईंलाई ?” कोही फेरि हूलको माझबाट बोल्छ ।

“त्यसोभए कतै त जन्मिनुभएको होला नि ? बाबुआमाको नाम होला, घर पनि होला कतै । केही पनि थाहा नपाइकन हामीले लास कसलाई बुझाउने ? उहाँको आफ्नै कोही आफन्तबिना लास हामी अरूलाई दिन सक्दैनौँ,” प्रहरी आफ्नो विवशता पोख्छ, “फेरि यसरी मृत्यु हुने व्यक्तिका लागि पोस्टमार्टम गरिनु पनि जरुरी हुन्छ ।”

“लेउ न लास हामीलाई, हामी जिम्मा लिन्छौँ” उनीहरू सुनाउँछन्, “मरिसकेको मान्छेको केको पोस्टमार्टम न सोस्टमोर्टम ? कसरी उनको मृत्युभएको हो सब हामीलाई थाहा छ,” अर्को बोल्छ । यसको साथै केमा पनि शङ्का उठ्छ भने मृतकको मृत्युमा कसैको हात छ तर कसको हात छ ? कोही भन्न सक्ने पक्षमा छैनन् “निश्चित् छ उनको मृत्युमा कसैको हात छ । होइन भने अहिलेसम्म चालकलाई समात्न नसक्नुमा प्रहरी प्रशासन किन मौन छ त ?” शङ्का गर्ने आरोप लगाउँछन् । कसैलाई विदेशीको चलखेल भन्ने लाग्छ भने कोही स्वदेशभित्रकै विरोधीहरूको हात रहेको ठोकुवा गर्छन् “विदेशी तत्त्वबाट हो भने उतैका कुख्यात डनहरू आएर मार्थे यिनलाई तर यिनको मृत्यु एउटा साधारण तवरले र शङ्कास्पद किसिमले भएको छ बाटोमा हिँड्दाहिँड्दै ।”

“त्यसैले रहस्यात्मक छ यो मृत्यु । नत्र त कतै चोटपटक लाग्थ्यो नि त्यत्रो बसले हिर्काएर मृत्यु हुँदा ।

हातखुट्टा भाँचिन्थे, टाउको छ्यालब्याल हुन्थ्यो । किन केही भएन त ? केवल नाक र मुखबाट मात्र रगत बगेको छ त्यसै आफैँ लडेर मृत्यु भएको जस्तो गरी …. !”

“हुनसक्छ मोटर हाँक्ने चालक उतैतिरबाट आयातीत होस् पूरा तालिमप्राप्त र मोटरको प्लेट पनि सिमानावारि आएपछि फेरिएको होस् ! यहाँ यस्तो त भई नै रहेको छ भने यिनको हकमा पनि यस्तो भएको नहोला भनेर भन्न कहाँ सकिन्छ र….. !”

“फेरि तपाईंहरूको कुरा सुन्दा शङ्कास्पद अवस्थामा पुर्‍याइदिनुभयो हामीलाई,” प्रहरी हाकिम बोल्छ, “अब त हामीले तपाईहरूलाई नै अधीनमा लिएर जाँचपड्ताल गर्नुपर्लाजस्तो छ…. ।”

“के लिनुहुन्छ हामीलाई अधिनमा, बरु भोलिदेखि नै तपाईंको जागिर हाम्रो अधीनमा होला, होस् राख्नोस्,” यस कुराले त्यहाँ फेरि प्रहरी र पार्टी कार्यकर्ताबीच झडप हुने स्थिति देखापर्छ । दावी प्रमाणित पार्टीको केही प्रौढजस्तो देखिने एउटाले प्रहरीलाई सम्झाउँछ, “भैगो यी केटाहरूको कुरालाई छाडिदिनोस् । अब जहाँसम्म यी मृतकको बारेको कुरा छ, मान्नोस्- यिनका बारे हामीलाई केही थाहा छैन रे तर अहिलेका लागि त उनी यस देशका सपुत हुन् नि ! सबैका छोरा । सहिद बनेका छन् उनी यस देशकै जनताको मुक्तिका लागि । पार्टीकै काममा कतै जाँदै थिए अहिले र तपाईंलाई थाहै होला हाम्रो पार्टी कुन हो भनेर ! जनताको मुक्तिका लागि लड्ने पार्टी हो हाम्रो । शोषण, अन्याय र अत्याचारको विरुद्धमा र यसको अन्त्यका लागि लड्ने पार्टी हो हाम्रो । सामन्तवादको विरोधमा र समानताको पक्षमा लड्ने समाजवादी पार्टी हो हाम्रो । त्यसैले हाम्रा कार्यकर्ता पनि जनताको मुक्ति, शोषण र अन्याय, अत्याचारको अन्त्य र समानताको पक्षमा नै काम गरेर हिँड्ने हुनाले उनी नेपालमाताकै सपुत- भूमिपुत्र, धर्तीपुत्र रे, भयो अब तपाईलाई ? उनको ठेगाना कुनै एक ठाउँको एक टुक्रा जमिनमा मात्र रहेको छैन र उनी कुनै एक अमुक बाबुआमाको मात्र छोरा होइनन्, बुझ्नुभो ! उनी त अब सत्बीज बनेर देशभरि जहाँतहीँ छरिनेछन् । अब देशभरि नै हाम्रा पार्टीका कार्यकर्ताद्वारा शोकलाई शक्तिमा बदल्न गरिने कार्यले देशमा नै उथलपुथल ल्याइदिन्छौँ हामी । लौ अब कोही हाम्रो पार्टीको विरुद्धमा लागून् त ? त्यसैले पहिले उनको लासलाई हाम्रो पार्टी कार्यालयमा लगेर राखिएपछि सहर परिक्रमा गराउने भनेका हौँ ।”

जहाँ तथाकथित कार्यकर्ताको मृत्यु हुन्छ, घटनास्थलमा मानिसहरूको व्यापक भीड लाग्छ र त्यसको वरपरका यातायात सब बन्द हुन्छन् । बाहिरबाट आउने सवारी साधनहरू बीचमै रोकिन्छन् । जुलुसबाट केही अप्रिय घटना भइहाल्छ कि भनेर सरकारका तर्फबाट पूर्ण बन्दोबस्तका साथ सतर्कता अपनाइन्छ । जुलुसका साथमा नारा घन्किरहेको हुन्छ- हाम्रा साथीको सम्मान, पार्टीको अभियान….., हाम्रा साथीको सम्मान, पार्टीको अभियान…. । हाम्रा साथी ! चिरायु रहून्…. । हाम्रा साथी ! अमर रहून…. इन्कलाव ! जिन्दावाद्…. आदि आदि ।

“लल टुङ्गो लाग्यो अब । सनाखत हुने भो लासको र लास पनि उठ्ने भो,” बीचबाट कोही कराउँदै आउँछ, “पार्टी अध्यक्ष आउँदै हुनुहन्छ उनलाई पार्टीको झण्डा ओढाउन ।”

त्यहाँ एकत्रित प्रहरी सतर्क बन्छन् । उताबाट इमर्जेन्सी साइरन दिँदै प्रहरीको अर्को गाडी आउँछ । त्यसको सँगसँगै नेताज्यू पाल्नुहुन्छ । नेताका साथमा अरू केही दोस्रो दर्जाका नेता पनि हुन्छन् । अब त्यहाँ प्रहरीले अहिलेसम्म खोजेको प्रमाण खोज्ने पनि आवश्यक ठान्दैन र लासको सम्बन्धमा मुचुल्का पनि उठाउँदैन । न त पोस्टमार्टमका लागि कतै लैजानुपर्ने आवश्यकता नै ठान्छ ऊ । उसले नेताज्यूलाई स्यालुट ठोक्छ र दायाँबायाँका हूललाई पन्छाउँछ । नेताजीले पहिले त लासमाथि आफ्नो पार्टीको झण्डा नै ओढाउनुहुन्छ र त्यसपछि पुष्पगुच्छा अर्पण गरिसकेपछि निकै भावविहृवल मुद्रामा एकछिन हात बाँधेर मुण्टो निहुराइरहनुहुन्छ । उहाँका साथ आएका अन्य नेताले पनि पालैपालो पुष्पगुच्छा चढाएर मृत कार्यकर्तामाथि अन्तिम श्रद्धाञ्जलि चढाउँछन् ।

केही मलिन मुद्रामा पार्टी अध्यक्षज्यूको भाषण सुरू हुन्छ । त्यसअघि उहाँले नजिकैको कार्यकर्तासँग मृत्यु हुने व्यक्तिको बारेमा केही विशेष जानकारी पनि लिइसकेको हुनुहुन्छ । भन्नुहुन्छ- “साथी हो ! अहिले हाम्रो शोकको यस घडीमा म त्यति धेरै बोल्न चाहन्न । उहाँको मृत्युले हामी र हाम्रो पार्टीमा अपूरणीय क्षति भएको छ । उहाँ बहुआयामिक एक सशक्त कार्यकर्ता हुनहुुन्थ्यो । आफ्नो सम्पूर्ण जीवन नै पार्टीमाथि त्याग गर्न सक्ने, अविचलित र निडर भएर । एकोहोरो आफ्नो काममा लागिरहनुभयो, लागिरहनुभयो । बिहानदेखि बेलुकासम्म नै घरबार, परिवार वा नातागोता कोही नभनिकन पार्टीकै लागि, केवल पार्टीकै लागि एउटा झोला पिठ्यूँमा बोकेर हरदम हिँडिरहनुभयो, हिँडिरहनुभयो । अरूको सहयोगका लागि, मद्दतका लागि आफूले जे गर्न पनि तयार रहनुभयो र बरु असनदेखि पशुपतिसम्मको बेपार गरी आफ्नो जीविका आफैँ पनि चलाउनुभयो तर कहिल्यै कसैको माया, दया वा केही पद वा आर्थिक लाभको अपेक्षा गर्नु भएन । म त भन्छुँ- उहाँजस्तो होनाहार व्यक्तित्वको मृत्युले देशले एक सपुत गुमाएको छ र पार्टीले एक कर्मठ कार्यकर्ता । हामीलाई शङ्का छ- उहाँको मृत्यु रहस्यमय ढङ्गले भएको छ । यसैले उहाँको मृत्युको रहस्य छानविनका लागि हामी सरकारसँग एउटा उच्चस्तरीय आयोग बनाउने जोडदार माग गर्दछौँ र उहाँलाई तत्कालै सहिद घोषणा गर्नुपर्छ भन्ने पनि हाम्रो आग्रह छ । अनि उहाँको परिवारको भरणपोषणका लागि क्षतिपूर्तिबापत दस लाख रुपियाँ भराउने कार्य पनि भोलिदेखि नै थालिनेछ भनेर म तपाईंहरू यहाँ उपस्थित सबैलाई आश्वस्त पार्न चाहन्छुँ…. ।”

जनसमूहबाट ताली बज्छ । शोकको घडीमा यसप्रकारको ताली वर्जित नै गरिन्छ तापनि पार्टी अध्यक्षको यति दमदार आवाजमा ताली नबजाउनु पनि उनको अपमान हुने कार्यकर्ताले सम्झिन्छन् । लास उठाउने तरखर पनि हुन्छ, सहर परिक्रमा गराउन । फूलमाला, अबीर, सवारीसाधन, घाटको बन्दोबस्त सब सरकारका तर्फबाट प्राप्त भइ नै हाल्छ । कुनै पनि एउटा पार्टीको नेता वा कार्यकर्ताका लागि सरकारी साधनहरूको दुरूपयोग त यस देशमा वर्षौंवर्ष पहिलेदेखि हुँदैआएको हो भने अहिलेको सबभन्दा जल्दोबल्दो पार्टीका लागि त झन् नहुने कुरै भएन । यसैबीच एकजना सर्वसाधारण भीडलाई चिर्दै सोध्छ, “होइन, कसको मृत्यु भएछ हँ ?”

“कुनै अमुक पार्टीको अमुक कार्यकर्ता रे,” कसैले भन्छ, “त्यो पनि कसैले राम्रो चिनेकै छैनन् रे ।”

“ल ! कुन पार्टीका हुन् भनेर चिन्ह त छातीमा बेरेको पार्टीको झण्डा हेरेर चिनेका रे,” अर्को सर्वसाधारण सुनाउँछ । नजिकै उभिएको तेस्रो मज्जाले हाँस्छ । भन्छ, “के गरोस् त विचरो ! गरिब र असुन्तलित मनस्थितिको त यसै थियो, उसै थियो पहिलेदेखि नै तर पछिल्ला दिनमा आएर बहुलायो नै । जहाँ जे पायो कपडाका टुक्राटाक्री बटुल्दै हिँड्थ्यो र त्यसलाई छातीमा बेर्थ्यो । होला ! यसबखत उसले कुनै पार्टीको झण्डा फेलापारेको होस् कतै र त्यसैलाई छातीमा बेरेर हिँडेको होस् ! भाग्यले परेछ नाइँ यसबेला जल्दोबल्दो नै पार्टीको झण्डा । अनि ऊ नेता, कार्यकर्ता सबै बन्यो । सहिद बन्यो, क्षतिपूर्ति पायो । अहिले लास देख्दा पो चिनेँ ऊ मेरै टोलको भाग्यनाराँ हो तर थियो कर्महारा….. ।

मधुपर्क २०६८ कार्तिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *