साहित्यमा सहलेखन तथा संयुक्त सङ्ग्रह प्रकाशन धेरै अघिदेखि हुँदै आएको छ र अहिले पनि विभिन्न विधाका पुस्तकहरू प्रकाशन भैरहेका छन् । नेपाली साहित्यमा प्रतिभाशाली हस्ताक्षरका रूपमा परिचय भइरहेका नारी स्रष्टाहरू ज्ञानु अधिकारी र सिन्धु गौतमको ‘शब्दमृत्यु र सपनाको हत्या’ पछिल्लो संयुक्त कवितासङ्ग्रह हो ।

नेपाली नारी समालोचनाको अनुसन्धनात्मक कृति प्रकाशित गरिसकेका ज्ञानु अधिकारी नारायणी अञ्चल सर्वोत्कृष्ट कविता पुरस्कारबाट सम्मानित स्रष्टा हुन् । त्यस्तै स्वास्थ्यसम्बन्धी पुस्तक प्रकाशन गरेका सिन्धु गौतम प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवमा पुरस्कृत कवयित्री हुन् । काव्य जगत्मा सशक्त उपस्थिति जनाएका दुवै कवयित्रीका बीसबीस कविताको यस सङ्ग्रह नै पहिलो कवितासङ्ग्रह हो ।

यस सङ्ग्रहका कविताहरूले आजको समयमा भोगिएका सामाजिक तथा सांस्कृतिक विकृति र विसङ्गतिलाई उजागर गरेका छन् । विषयवस्तुका दृष्टिले दुवै कवयित्रीहरूका कविताहरू विविध प्रकारका भए पनि मूलस्वर भने नारी अस्तित्वमाथि केन्द्रित छन् । आजका नारीहरू परम्परागत नारीहरूझैँ पराधीन भएर अपमानको साङ्लोले बाँधिएर बस्न सक्दैनन् । यस्ता विभेदलाई भत्काएर समानता, स्वतन्त्रता र आफ्नो उच्च अस्तित्वको लागि नारीहरू सक्षम छन् र हुनुपर्छ भन्ने आवाज सङ्ग्रहका कविताहरूले गरेका छन् ।

सधैँ विचरा, निरीह र पराधीन नबनेर नारी अस्मिताको रक्षा गर्न तथा पितृसत्तात्मकताको विरोधमा कवयित्री ज्ञानुले ‘खुलामञ्चमा अक्षरहरू’ कवितामा यसरी अभिव्यक्त गरेका छन् ।

भत्काएर पर्खालहरू
बढाएर कुत्सित कसिङ्गरहरू
मलाई खुला आकाश चाहिन्छ
पराश्रिता र
परिचयहीनताको पीडाबाट मुक्त
मलाई एउटा उच्च आस्था चाहिन्छ
मलाई मेरै सर्वोच्चता चाहिन्छ ।

यसै गरी कवयित्री सिन्धुले ‘विद्रोह बोल्छन् शब्दहरू’ कवितामा आफ्नो हक, अधिकार र समानताको लागि नारीहरू विद्रोह गर्न सक्षम भैसकेको विचार यसरी व्यक्त गरेका छन्-

आफ्नो लागि, अब उसले
माग्ने होइन्……
खोज्ने र खोस्ने भइसकी ।
लक्ष्मण रेखा तोडेर अब ऊ,
ब्रम्हाण्डमा आइसकी
किनकि ऊ नारी हो ।

यसरी प्रस्तुत सङ्ग्रहका कविताहरूमा नारीका विद्रोहस्वरहरूको बाहुल्यता रहेको छ । प्राध्यापक तथा समालोचक मोहनराज शर्माले भनेजस्तै दुवै कवयित्रीका कविताहरूमा सार्थक विम्ब, प्रतीक र सादृश्यहरूको पर्याप्त प्रयोग भएको भए पनि ती विषय प्रेषक र प्रेषितका बीच वाधा भएर उभिएका छैनन् । प्रस्तुत सङ्ग्रहको प्रकाशनबाट कवयित्री द्वयले नेपाली काव्यजगत्मा सशक्त उपस्थिति जनाउन सफल भएका छन् ।

पुस्तकः शब्दमृत्यु र सपनाको हत्या (कवितासङ्ग्रह)
कवयित्रीः ज्ञानु अधिकारी र सिन्धु गौतम
प्रकाशकः पैरवी प्रकाशन, रामशाहपथ
संस्करणः प्रथम, २०६७
पृष्ठः ६४
मूल्यः रु.७५ ।-

मधुपर्क २०६८ असार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *