नेपालमा सवारी साधनका बारेमा सामान्य ज्ञान राख्ने व्यक्ति पनि थोरै छन्। विशिष्ट जानकारी राख्नेहरू त छैनन् भन्दा पनि हुन्छ। यो भीडमा अटोमोबाइलका सम्बन्धमा चौबीसै घन्टा गफिन सक्ने आशिष प्रसाईंको प्रतिभा अचम्मकै छ। नेपालमा कस्ता सवारी साधन चल्छन्, तिनीहरूको विशेषता के छ, संसारका महँगा गाडी र तिनका विशेषतादेखि लिएर कुन व्यक्तिले कस्तो सवारी चलाइरहेको छ, आशिषलाई लगभग कण्ठस्थ छ। कान्तिपुर टेलिभिजनमा दुई वर्ष ‘लाइसेन्स टु ड्राइभ’ कार्यक्रम चलाएका आशिष नेपालमा सवारी साधनको सर्वेक्षण गर्ने, महँगा मोटरसाइकलको प्रचार एवं नेपाली समाज र सवारी साधनबीचको सम्बन्धको विश्लेषण गर्न रुचाउँछन्। जापानको आईएसएस कलेजमा सवारी साधन म्यानेजमेन्टसम्बन्धी अध्ययन गरेका आशिष आफ्नो कम्पनी आइडिया फ्याक्ट्रीमार्फत कुन व्यक्तिले कस्तो सवारी साधन चढ्ने भनेर स-शुल्क सल्लाह दिने अभियानमा पनि छन्।
नेपालमा महँगा सवारी साधन चढ्ने व्यक्तिहरूको सङ्ख्या बढिरहेको छ, राम्रो सडकसमेत नभएको नेपालजस्तो गरिब मुलुकमा महँगा गाडी चढ्न रुचाउनुको कारण के होला ?
देश गरिब छ, तर नेपाली गरिब छैनन्। पहिले मोटरसाइकल चढ्नु युवाहरूको सौख थियो, अहिले त्यो नभै कामै गर्न नसकिने अवस्था छ। जब साधारण व्यक्ति पनि मोटरसाइकल चढ्न थाले, पैसा हुनेहरूले आफूलाई फरक देखाउन महँगा मोटरसाइकल किने। पहिले गाडी चढ्ने व्यक्तिहरू सीमित थिए, अहिले अलिकति पैसा कमाउनेबित्तिकै जसले पनि गाडी चढ्न थालेपछि आफ्नो स्टेटस देखाउन चाहनेहरू महँगा गाडी चढ्न थालेका हुन्।
भनेपछि अरूभन्दा ठूलो देखिन ….?
हो, समाजमा म प्रतिष्ठित छु, बढी पैसा कमाउँछु भन्ने देखाउन नै महँगा गाडी चढ्ने प्रमुख कारण हो। जब मानिसले सफलता प्राप्त गर्छ, त्यो कहीँ न कहीँ देखिनुपर्छ। यो सामान्य नियम पनि हो। आफूलाई फेसनेबल सावित गर्न पनि महँगा गाडी चढिन्छ। नेपालमा यस्ता व्यक्तिहरू पनि छन्, जो कुनै ब्रान्ड लन्च हुनेबित्तिकै त्यो गाडी चढ्नु आफ्नो अधिकार सम्झन्छन्।
विश्वमा जुन स्तरको अटोमावाइलको बजार छ, त्यो नेपालमा छैन। सौखिनहरूले पैसा भए पनि राम्रा गाडी चढ्न पाएका छैनन्, यस्ता व्यक्तिहरूको गुनासो के छ ?
यस्ता व्यक्तिहरू विदेश घुम्न गएका बेला विश्वकै महँगा गाडी भाडामा लिएर आफ्नो सौख पूरा गर्छन्। नेपालमा यस्ता व्यक्तिहरू पनि छन्, जो विदेश गएका बेला लिम्बुजिन गाडी (विश्वको सबैभन्दा लामो कार) चढेर आफ्नो छुट्टी मनाउँछन्।
युवावर्गमा गाडीभन्दा मोटरसाइकलको क्रेज छ, यसको कारण के होला ?
नेपालमा साँगुरो बाटो र गाडीभन्दा सस्तो भएकै कारण मोटरसाइकलको क्रेज बढेको हो। फाइनान्स सुविधाका कारण थोरै पैसा हातमा हुने वा एउटा जागिर खानेबित्तिकै मोटरसाइकल किन्न सकिने अवस्था भएकाले पनि मोटरसाइकल चढिएको हो।
नेपालमा दुई थरी मोटरसाइकलका क्रेता देखिन्छन्, एकथरी कामकाजी र अर्को थरी सौखिन। सौखिन क्रेताहरूको मनोविज्ञान कस्तो हुन्छ ?
नेपालमा दुई थरी होइन, तीन थरी मोटरसाइकल क्रेता छन्। पहिलो कामकाजी दोस्रो स्टाइलिस तेस्रो सौखिन। १ सयदेखि २ सय सीसीसम्मका बाइक कामचलाउ हुन्। तिनले कामकाजमा सहयोग गर्छन्। स्टाइलिस बाइक २ सय सिसीभन्दा माथिका हुन्छन् र ती बाइक त्यस्ता युवाले चढ्छन्, जो स्पोर्ट बाइक चढ्न चाहन्छन्, तर खर्चको अभावमा २ देखि ३ लाख पर्ने गाडीबाट आफ्नो रहर पूरा गर्छन्। तेस्रो वर्ग भने सौखिन हो। यस्ता व्यक्तिहरू ५ लाखभन्दा माथि पर्ने बाइक चढ्छन्।
पाँच लाखभन्दा बढी मूल्य पर्ने मोटरसाइकल नेपालमा कति छन्, उनीहरू कुन बेला यस्ता बाइक चलाउँछन् ?
५ लाखदेखि ३५ लाखसम्म पर्ने यस्ता मोटरसाइकलको संख्या नेपालमा ५ सयको हाराहारीमा छ। सम्पन्न घरमा भएका यी मोटरसाइकल काठमाडौं, धरान र पोखराका बजारमा राति-राति हुइँक्याइन्छ। साँगुरो बाटोका कारण दिउँसो उतिसारो देखिँदैनन्। यी मोटरसाइकलका धनी यति सौखिन छन् कि मोटरसाइकल किनेर दुई चार पटक कुदाएपछि उनीहरूको रहर पूरा हुन्छ। फलस्वरूप आधा दाममा बेच्दा पनि उनीहरूलाई दुःख लाग्दैन।
एक थरी युवाले जथाभावी हेभी बाइक हाँक्दा दुर्घटना बढिरहेको छ, यो कुन वर्ग हो, उनीहरू मोटरसाइकल हाँक्दा किन यस्तो रिस्क लिइरहेका हुन्छन् ?
अटोमोवाइलको क्षेत्रमा गाडी र बाइकलाई सुन्दर युवतीका रूपमा लिइन्छ। मेरो गाडी क्या सेक्सी छ, मेरो बाइक क्या कुल छ भन्ने थेगो नै हुन्छ। यदि उक्त बाइक वा गाडीमा आफूलाई मनपर्ने युवती छिन् भने युवालाई आफू विशेष हुँ भन्ने भ्रम पर्छ। हेभी बाइक वा ठूलो आवाज भएको बाइक चढेर हिँड्दा एक पटक सबैले हेर्नु स्वाभाविक हो। यसले आफूद्वारा अरू डोमिनेट भएको फिल हुन्छ। यहि प्राउडनेसले नै बिस्तारै गलत रूप लिन्छ। आफूमा गौरव गर्नु नराम्रो होइन, तर यो बढी भयो भने रफ राइडिङ सुरु हुन्छ, जसले दुर्घटना निम्त्याउँछ। यस्ता युवाहरूमा स्पोर्ट्स बाइकको रहर हुन्छ, तर त्यो किन्ने क्षमता नहुँदा उनीहरू मोटरसाइकललाई विभ्ािन्न रूपले मोडिफाइ गर्न थाल्छन्, फलस्वरूप दुर्घटना बढ्छ।
एक थरी युवाले नजाने पनि स्टन्ट गर्ने, ग्रुप बनाउने र अरूलाई आतंकित बनाउने गरेको गुनासो सुनिन्छ, यसलाई रोक्न सकिँदैन ?
नेपालमा नजानी स्टन्ट गर्नेहरूको संख्या ठूलो छ। यू टयुब र फेसबुकमा यस्ता युवाका प्रशस्त सामग्री पाइन्छन्। त्यसले धेरै दुर्घटना पनि गराएको छ। यसका लागि नेपालका केही बाइक कम्पनीले स्टन्टको जानकारी दिने तथा सुरक्षित हुने उपाय सिकाउने कार्यक्रम पनि गर्न थालेका छन्। मैले पनि यस्ता काम गरेर जनचेतना जगाउने कार्यक्रम सुरु गरेको छु। यद्यपि ग्रुप बनाउनु नराम्रो होइन। अरूले धनीका बिगि्रएका छोरा भनेर गाली गरे पनि उनीहरूलाई कसले यस्तो बनायो भनेर सोच्नु आवश्यक छ। उनीहरूको ग्रुपलाई ट्राफिक नियमसम्बन्धी जानकारी गराउने, सरसफाइका कार्यक्रममा सरिक गराउने आदि गर्न सकिन्छ। योङ उमेरमा सबै अलिअलि एग्रेसिभ हुन्छन्, हिजो अर्कै तरिकाले एग्रेसिभ भइन्थ्यो भने अहिले त्यो फुर्ती देखाउने शैली फरक छ। बरु त्यो ग्रुपलाई हामीले कसरी युज गर्ने भन्ने कुरा मुख्य हो।
dev lama Qatar……..
