Skip to content

राष्ट्रव्यापी प्रतियोगितामा मुक्तक पठाउने म्याद थपियो

  • by


काठमाडौं– अन्तरङ्ग राष्ट्रिय साप्ताहिकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा भदौको पहिलो साता(२ गते) पुरस्कार वितरण गर्ने गरी आयोजना गरिएको राष्ट्रव्यापी मुक्तक(दोस्रो) प्रतियोगिताका लागि मुक्तक पठाउने म्याद साउन १० गतेसम्म थप गरिएको असार २२ गते बताइएको छ ।

यस अघि सो म्याद असार मसान्तसम्मका लागि तोकिएको थियो । वर्षाको मौसम र सकेसम्म दुर्गम जिल्लाहरूबाट पनि प्रतियोगितामा व्यापक सहभागिता होस् भन्ने उद्देश्य राखिएको हुँदा दुर्गमस्थानमा इमेलको सुविधा नहुने र हुलाकमा नै निर्भर गर्नु पर्ने भएको कारणले गर्दा त्यो वस्तुगत स्थितिलाई ध्यानमा राख्दै म्याद थप गरिएको आयोजक समितिका संयोजक एवं अन्तरङ्गका सम्पादक/प्रकाशक नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार प्रतियोगिताका लागि प्राप्त भइसकेका र बाटोमा आउँदै गरेका मुक्तकहरूका स्रष्टाहरूले पुनः पठाउनु पर्ने छैन ।

नेपाली साहित्यमा पछिल्ला वर्षहरूमा फस्टाउँदै आएका आधुनिक विधाहरू मध्येको मुक्तक विधाको प्रवद्र्धन, प्रचार एवं मुक्तकका स्रष्टाहरूको मनोबल उच्च बनाउने र सो विधामा निरन्तर योगदान गर्नु हुने स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यले मुलुकभित्रका मात्र नभई विदेशमा समेत रहेर नेपाली साहित्यलाई माया गर्नेहरूले सो प्रतियोगितामा भाग लिन सक्नु हुने बताउँदै प्रतियोगितामा साउदी अरबमा बस्नुहुने २ जना स्रष्टाहरूले पठाउनु भएका मुक्तक प्राप्त भैसकेको आयोजकको भनाई छ ।

सो प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरूले चतुष्पदीय(रुवाई) विधि अनुसार लेखिएका ५ वटा मुक्तक पठाउनु पर्ने छ । ती मध्ये एक– एक वटा क्रमशः राष्ट्रियता, सामाजिक विसंति र प्रेमका बारेमा र बाँकी दुई खुला रुपमा जुनसुकै विषयमा लेख्न सक्नु हुने संयोजक पहाडीले बताउनु हुन्छ । उहाँका अनुसार प्रतियोगितामा पहिला, दोस्रा र तेस्रा हुनुहुनेलाई क्रमशः रु ७, ५ र ३ हजार नगद र सान्त्वना स्थान हासिल गर्नुहुने १२ जनासहित सबै विजेतालाई विशेष उपहार र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका लागि पठाइने मुक्तक अब ढिलोमा साउन १० गतेसम्म आयोजकलाई प्राप्त हुनु पर्ने छ ।

संकलित मुक्तकहरूको पहिलो प्रतियोगितामा जस्तै संग्रह (अनुपम– २) प्रकाशन गरिने भएको हुँदा स्रष्टाहरूसँग बायोडाटा र फोटोसमेत माग गरिएको पहाडीले बताउनु भएको छ । उहाँका अनुसार मुक्तक संकलनका लागि विभिन्न जिल्लामा रहेका साहित्यिक संस्थाहरू र स्रष्टाहरूलाई अनुरोध गरिएको छ । उहाँहरूको उक्त सहयोगको कदर गर्दै सबैभन्दा बढी मुक्तक संकलन गरी सहयोग गर्ने साहित्यिक संस्था वा स्रष्टा दुईलाई कदरपत्र र कम्तिमा १० भन्दा बढी मुक्तक संकलन गरी सहयोग गर्नुहुनेहरूलाई पुरस्कार वितरण समारोहमा मायाको चिनो प्रदान गरिने छ । यो समाचार वा यसको विज्ञापन पढेर संकलनका लागि सहयोग गर्नुहुनेहरूलाई पनि सो सम्मान प्रदान गरिने पहाडीको भनाई छ । त्यसोत प्रतियोगीहरूले आफ्ना मुक्तक ब्यक्तिगत रुपमा अन्तरङ्गको पोष्ट वक्स नं ३५११ सुन्धारा काठमाडौं तथा इमेलमा पनि मुक्तक पठाउन सक्नु हुनेछ । प्रतियोगिताको पुरस्कार वितरण समारोहमा पाँच विकास क्षेत्रबाट १– १ जना मुक्तकका स्थापित ब्यक्तित्वहरूलाई सम्मान गर्नेतर्फ पनि सोच भइरहेको समेत कार्यक्रमका संयोजक पहाडीले जानकारी दिनु भएको छ ।

राष्ट्रव्यापी रुपमा मुक्तकको पहिलो प्रतियोगिता ०५६ को फागुन १ गते लमजुङको बेसीशहरमा गरिएको थियो र सो प्रतियोगिताको संयोजन पनि नवराज पहाडी नै गर्नु भएको थियो ।

स्मरणीय छ, लमजुङबाट प्रकाशित हुँदा अन्तरङ्गले हरेक वर्ष आयोजना गर्ने आफ्नो वार्षिकोत्सवका अवसरमा वर्षभर सो पत्रिकामा प्रकाशित भएका मुक्तक, गजल र बालकविता विधाका उत्कृष्ठ १०– १० प्रतिभाको छनौट गरी सर्वोत्कृष्ठ रचनाकार २– २ जनालाई पुरस्कार, प्रमाणपत्र र बाँकी ८– ८ जनालाई प्रशंसापत्र प्रदान गर्दै आएको थियो । अन्तरङ्गको प्रकाशन काठमाडौंबाट थालनी गरिएपछि स्रष्टाहरूको सम्मानमा अन्तरङ्गमार्फत गर्न लागिएको यो अर्थात राष्ट्रव्यापी मुक्तकको(दोस्रो) प्रतियोगिता पहिलो कार्यक्रम हो ।

विज्ञापनको प्रतिलीपि:

राष्ट्रव्यापी मुक्तक प्रतियोगिता !
मुक्तक लेखौं, प्रतिभा देखाऔं, पुरस्कार जितौं,
नेपाली साहित्यको भण्डार समृद्ध बनाऔं !

अन्तरङ्ग राष्ट्रिय साप्ताहिकको २०औं वार्षिकोत्सवका अवसरमा राष्ट्रव्यापी मुक्तकको दोस्रो प्रतियोगिता आयोजना गरिएको सहर्ष जानकारी गर्दछौं । विजेताहरूलाई अन्तरङ्गको आगामी भदौको पहिलो हप्तामा काठमाडौंमा सम्पन्न गरिने वार्षिकोत्सवको विशेष कार्यक्रममा पुरस्कार वितरण गरिने छ ।

विजेतालाई निम्नानुसारको पुरस्कार प्रदान गरिनेछ–

१) पहिला– विशेष उपहार सहित रु सात हजार नगद र प्रमाणपत्र १ जनालाई ।

२) दोस्रा– विशेष उपहार सहित रु पाँच हजार नगद र प्रमाणपत्र १ जनालाई ।

३) तेस्रा– विशेष उपहार सहित रु तीन हजार नगद र प्रमाणपत्र १ जनालाई ।

४) सान्त्वना– विशेष उपहार र प्रमाणपत्र १२ (बाह्र) जनालाई ।

५) प्रतियोगिताका लागि योग्य भएका मुक्तकहरूको संग्रह (पहिलो प्रतियोगिता जस्तै– अनुपम– २ मा) प्रकाशित गरिने छ ।

प्रतियोगितामा सहभागी हुने नियम तथा सर्तहरू–

क) मुक्तक चतुस्पदीय(रुवाई) विधि अनुसार लेखिएको हुनुपर्ने छ ।

ख) प्रतियोगीले ५ वटा मुक्तक पठाउनु पर्ने छ । त्यसमध्ये १– १ वटा राष्ट्रियता, सामाजिक विसंगति र प्रेमका बारेमा लेखिनु अनिवार्य छ । यस्ता मुक्तकको नंवर बाँकी २ मुक्तकको भन्दा बढी हुनेछ ।

ग) मुक्तक टाइप गरिएको राम्रो मानिने छ । प्रतियोगी मुक्तक इमेलमा पनि पठाउन सकिनेछ ।

घ) मुक्तक यसअघि प्रकाशित÷प्रशारित वा कपि(चोरी) गरिएको हुनुहुँदैन । मौलिक मुक्तकलाई प्राथमिकता दिइने छ ।

ङ) मूल्यांकन गर्दा कोडनं राखिने हुँदा वायोडाटा र मुक्तक अलग– अलग पानामा हुनु पर्ने छ ।

च) सर्त पुरा नभएका रचनाहरू प्रतियोगितामा समवेश हुने छैनन् ।

छ) कुनै विवाद भएमा निर्णायक समितिको निर्णय अन्तिम हुने छ ।

ज) प्रतियोगी मुक्तकको संग्रह प्रकाशित गरिने हुँदा वायोडाटाका साथ हालै खिचिएको १ प्रति फोटोसमेत पठाउनु होला ।

झ) प्रतियोगी मुक्तकका उत्कृष्ठ संकलक(कम्तिमा १० जना प्रतियोगीभन्दा माथिको संख्यामा) साहित्यिक संस्था तथा स्रष्टा एवं सहयोगी मध्ये उत्कृष्ठ २ लाई कदर पत्र र बाँकीलाई मायाको चिनोद्वारा सम्मान गरिनेछ र सहयोगको विवरण संग्रहमा प्रकाशित गरिने छ ।

ञ) मुक्तक साउन १० गते(२०६८) भित्र आयोजक समितिलाई प्राप्त हुने गरी पठाउनु पर्नेछ ।

ट) मुक्तक पठाउने ठेगाना–
अरुणबहादुर खत्री “नदी” मोबाइल नम्बर ९८४१७९७६६४
लोक सेवा आयोग,
केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं (नेपाल) पोवनं– ३५११ सुन्धारा, काठमाडौं ।
arunnadi2024@gmail.com

(कहिलेकाहि इमेलको फायल नखुल्ने समस्या हुने हुँदा हुलाकबाट पनि रचना पठाउने कष्ट गर्नु होला ।)

ठ) पुरस्कृत हुने व्यक्तित्वलाई फोनबाट आमन्त्रण गरिने छ ।

प्रार्थी

नवराज पहाडी, संयोजक, सम्पर्कः ९८४१०९४८६६

राष्ट्रव्यापी मुक्तकको दोस्रो प्रतियोगिता आयोजक समिति एवं अन्तर· राष्ट्रिय साप्ताहिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *