Skip to content

लुङ्मारी मिथकभित्र डुबुल्की मार्दा


यति खेर मेरो हातमा नयाँ स्वादको, नयाँ ढंगको अनि नयाँ हातको, हृदयबाट नै अर्पित ‘प्रेमिल शब्द थुँगाहरू’ “लुङ्मारी मिथक” कवितासंग्रह छ । म स्वाद मानी मानी बिदेशी भूमिमा यो पट्यारलाग्दो समयमा यही संग्रहको रसास्वादन गरिरहेकी छु । मुहार पुस्तिकाको माध्यमबाट परिचित बहिनी मनुको आगमन साहित्य क्षेत्रमा एउटा सशक्त कविको रूपमा मानेकी छु मैले । पहिला पहिला साधारण गीतहरू मात्र लेख्ने उनका औँलाहरू अहिले आएर यति सशक्त कविता लेख्नमा पनि पोख्त भएको देख्दा लाग्छ, नारी हस्ताक्षरहरूमा साहित्यले अर्को पृथक र ओजिलो हस्ताक्षर प्राप्त गर्न सफल भएको छ ।

“लुङ्मारी मिथक” मा कवि मनुले आफ्नै लोहोरुङ भाषालाई उभ्याएर शीर्षक राखेकी छिन् । उन्को अर्थमा लुङमारीको आशय “हृदयबाट अर्पित प्रेम” अर्थात छुट्टै प्रकारको प्रेम जो अन्य प्रेमभन्दा पृथक प्रेम आफ्नो देशको साहित्यलाई माया गरेर अर्पण गर्न चाहेकी छिन् र यो छुट्टै पनि लाग्दछ । लगभग ३०/३२ वटा मात्र संग्रहित कविताहरू भए पनि गन्तीको हिसाबले न्युन लाग्दछ तर सन्देश र अर्थको हिसाबले यी कविताहरू सयौं लादछन् ।

म सोँच्छु कति त परदेश भासिएर घरदेशको झझल्को, अनेकौँ दु:ख पीडा, आफन्तको सम्झना र बिछोडको दागले पनि कवि बन्न प्रेरित बनेका छन् र आ-आफ्ना भावनाहरू रचना बनाएर छचल्काएका छन् अनि सन्तोषको सास फेर्ने जबर्जस्ती प्रयास गरिरहेका छन् । हो हामी धेरै परदेशीहरू यस्तै सान्त्वनाको लौरो टेकेर उभिन वाध्य छौं । तर मनुले यसरी परदेशमा आफूलाई सान्त्वना दिन आफन्त र घ्ररदेशको यादमा मात्र रुन्चे कविता लेखेकी छैनन् । मैले जति कविता पढ्दै गएँ कहीं त्यो आभास पाईन । बरु पोख्त कविले झैं साहसी बनेर देश र जनता अनि आफ्नै भाषा, भेषलाई तक्मा बनाएर यो संग्रहमा उभिन सक्षम बनेको पाएँ । उनका केही कवितामा पक्कै गाउँ घरका पुर्बेली राई, लिम्बु जाति युवाहरूको शब्द र चालचलन पनि भेटिन्छ । जस्तै-“हौ लुंङ्गा” यो सम्बोधन गाउँघर तिर अझै पनि प्रचलित छ । एकपटक म आफ्नै मावली गाउँतिर फर्किएँ यो सम्बोधनले । अनि फेरि अर्को शब्द “हौ जन्तरे”ले पनि गाउँकै भाषाको प्रतीक बनेर कवितालाई गाउँ घरसम्म पुर्‍याएको छ । यसरी कवितामा असाहित्यिक शब्दहरू पनि गाउँ घर थरको पर्याय बनेर उभिएको छ भने मनुको कवितामा प्रशस्त क्लिष्ट शब्दहरू पनि छन् जस्ले गर्दा शब्दकोषको सहायता लिनै पर्छ । उसो त उनका क्लिष्ट शब्दहरूको प्रयोगका कविताहरू बुझाईमा उत्तिकै मार्मिक र सत्य छन् ।

लेख्न त सबैले लेख्छन् देश दुख्नुको कविता, नारी मात्रको पीडाको भयावह ब्यथा । यस्तै भावनाका कविताहरूमा म मनुको यी भावनाहरूमा घोत्लिएँ “आधा आकाशको गीतभित्र ”
विश्वतिर फर्किएर
नारी इतिहास हेर्न
तिम्रा आँखाहरूमा,
गान्धारी पट्टी बाँधिएकै छ
किनकि …….,
यो जगतको तिम्रो धृतराष्ट्र
स्वयं अझै अन्धो छ ।

ओहो! कति शालीन शब्दहरू । न त कसैलाई गाली गलौज, नत कसैलाई ब्यंग्य प्रहार । बस सिधा अर्थमा नारीको सास्वत उत्पीडनको कथा । त्यस्तै अर्का हरफहरू “उपेक्षित बर्तमानहरूबाट”।
यतिखेर मौन ठडिएर
चुप रहनुको अर्थ
यो होइन कि म लाछी हुँ
तर यो सत्य मान्नु
हेपिएको बर्तमानको हिसाब
भविष्यले एक एक चुकाउनेछ ।

यो भावले मेरो मन यसरी चिमट्यो कि साँच्चै बर्तमानको सार्थकतामा क्षणिक रमाउँनेहरूलाई भविष्यले चुनौती यसरी दिएको छ कि क्षणभरको सफलतामा अहमताको ढोङ नरच्नु भन्ने किसिमका सचेतताको आभास दिलाई दिएको छ । यसरी कवितारुपी भावमा मनुले सके सम्म सबैलाई आव्हान गरेकी छिन् । यस्तै मलाई मन परेको अर्को हरफ “बिराग अर्पणबाट ”
“म जागटीमा राखिएँ
मगजको श्रमले
आफैलाई उकास्न सकिन ”

कति हृदय बिदारक शब्दहरू! साँच्चै जागटीमा परेपछि मगजले कहाँ थेग्न सक्छ र ? जागटीमा पर्नुको अर्थ नै आफू स्वयं परिस्थितीको चपेटामा पर्नु हो जतिबेला मान्छेका सारा अवयवहरू नै शिथिल बन्छन् भने मगजको त के नै कुरा रह्यो र ?

त्यस्तै मनुको अर्को पक्ष हेर्ने हो भने उनले गाउँका अन्य शब्दहरू टपक्कै टिपेर कवितामा सजाएकी छिन् । “मुन्धुम”, “फेदाङ्मा”, “खकान” “जस्केला” आदि आदि । यी शब्दहरू गाउँघरमा प्रचलित छन् । यसरी मनुका कविताका हर भाव र शब्दहरूमा डुबुल्की मार्दा साँच्चै नै मैन झैं पग्लिन्छ र फलाम झैं कठोर बन्न पनि उत्प्रेरित भईन्छ । मनुको यो नै सफलता र प्राप्ति भनेर उनका सृजनाहरूलाई बिट मार्न लगाउँन पनि हामीले अन्याय गरे झैं हुन्छ । यत्तिमा मात्र उन्को यात्रा पूर्ण भएको म ठान्दिन । उनले अझै कलमी धारलाई अर्जाप्नु अत्यावश्यक छ । उसो त “लुङ्मारी मिथकमा” कृष्ण वस्ती सर जस्ता गुरुलाई आफ्ना सारा भावनाहरू सुम्पेर बर्ण बिन्यास मिलाउँने जिम्मा लगाएपछि खोट त कहाँ हामीले पाउँने र ? कृष्ण वस्ती गुरुको जलप, मनुका भावनामा वाह! क्या तार्तम्य मिलेको। होस् त यस्तो संयोग अनि चुम लिम्बुको सुझाव ।

हुन त म कुनै समीक्षक होइन । मैले त एउटा सही पाठकको नाताले र मनुको आग्रहले केही भन्ने हिम्मत गर्दैछु । मनुले स्वदेशबाट यति टाढा पनि दिदी सम्झेर पुस्तक उपलब्ध गराएकीमा मैले उनिप्रति अनुग्रिहित बनेर यति त भन्नै पर्छ । सही ढंगले हेरेर पढ्ने हो भने मैले यहाँ धेरै गल्ती गरेकी छु । यो मैले चाहेर नभए पनि आफ्नो गल्ती स्वीकार्दै लेख्दैछु किनकि म सधैं युनिकोडको साहारा लिन्छु । प्राविधिक गड्बडीको कारणले यहाँ अशुद्धिहरू धेरै छन् यस्मा मेरो कम्जोरीपन ठानेर आत्मसात गरिदिनु होला । अब अर्को उपाय नजानेसम्म म मेरो कम्जोरीलाई स्वीकार गर्ने नै छु ।

अन्तमा “लुङ्मारी मिथक” कविले चाहे जस्तै प्रेमिलो उपहार बनेर सबैको मन मस्तिष्कमा छाउने नै छ ।

(प्रभाजी, केही हिज्जेहरू प्रकाशन गर्नुअगाडि सच्याइएको छ । -मझेरी डट कम)

1 thought on “लुङ्मारी मिथकभित्र डुबुल्की मार्दा”

  1. मनुजीको कविता पढ्न पाए!
    आहा कस्ता शब्दहरु अझ सुनौ अझ पढौ जस्तो लाग्ने मनु जीको कविता दिनुभएको मा धन्यवाद छ ल!

Leave a Reply

Your email address will not be published. Required fields are marked *