Skip to content


अभिवादन, शून्यलाई अभिवादन । नमन्, रिक्ततालाई नमन् । पराकृतिलाई नमन् । निराकृतिलाई नमन् ।

नमन्, आत्मालापलाई नमन् । आत्मोद्गारलाई नमन् । निहत्था कोहरामलाई नमन् । बलात्कृत, सन्ध्यालाई नमन् ।

अनाधिकृत, अभिवादन नगर्नु समयलाई । नगर्नु, समयलाई अभिनन्दन । समय छैन, समयसित ।

समयको अनुपस्थितिमा उचित-अनुचित, नीति-कुनीति, अजीव-अस्वाभाविक, केही छैन । केही होइन । उपयोगिता-अनुपयोगिता, उपलब्धि-अनुपलब्धि, अर्थ-अनर्थ, केही छैन । सार-निस्सार किमार्थ छैन ।

उत्तरित-अनुत्तरित, अनुत्तरित-उत्तरित ।

दिक् र कालसित केही रहेन ।

छापाहरूमा । स्याटेलाइट तरंगहरूमा । छाइरहेको एउटा प्रमुख शीर्षक । शीर्षकीय आवृत्ति । अमूक आकृतिगत । विदीर्ण पहेलीयुक्त । नाट्याभिमुख । रङ्गमञ्चीय ढिटौरा । संसद् हराएको छ, संसद्बाट । संवाद बिलाएको छ संवादसूत्रबाट । नागरसभ्यता हराएको छ उपनगरीय वृत्तबाट । हराएको छ वसन्त, वसन्तपुर डबलीबाट ।

दृश्यमा । दृश्यमान स्क्रिनहरूमा, सूत्र र सूत्रधारको अभिनय । पजनी गरेको छ कसैले । दृश्यावलीमा । चलायमान ब्ल्याकआउटहरूमा । सपनाकांक्षाहरूको सार । साधिकार, मानमर्दन गरेको छ क्रमैले, कसैले ।

झोक्तालाई ज्ञात छ ।

परपिञ्चलाई ज्ञात छ ।

सरोकारवालाहरू को हुन्, किन हुन् ! कुन यौगिकबाट उत्प्रेरित हुन् ! भन्न सकिने स्थिति छैन । जवाफदेहिता किन छैन ! चुल्बुल खुल्दुली थालिँदैन किन ! सापेक्ष-निरपेक्ष । निरपेक्ष-सापेक्ष । परस्पर कन्ट्रास्टको सन्देश-संप्रेषणमा छ ।

मनोविनोद-हास परहिासको ‘डेटलाइन’ तय गरेर ।

भविता पनि होइन । भोग्यता पनि होइन ।

मलिन छन्, कलेँटी कोटहरू । कातैकात कमिजहरू । मौन छन्, धोती-कुर्ताहरू । सुरुवाल-लवेदाहरू । सलवार टवहरू । साडी ब्लाउजहरू । कुशल क्षेमहरू, सबै ती मौन छन् । लज्जा र लज्जातीत पर्दाहरू मौन छन् ।

मलिनहरू, मौन छन् ।

उन्मुक्तिको, अन्तर्लय । खोज्दै हिँड्ने एक संवाहक । सुदूर बस्तीको भोक तृप्ति । चहार्दै हिँड्ने एक प्लेनम ।

फायरबाख, तिम्रो मनुष्य, सम्पूर्ण सांस्कृतिक परम्पराको कुशल प्रितविम्ब, जसलाई एकसाथ अक्सिजन र सल्फर डायोक्साइडको कक्षमा राखियो । संसद् बोलेन । आदर्श राज्यको, आदर्श बोलेन । सँघारमा, नागरिक ब्युरो बोलेन ।

चौतर्फी ग्लोबल वार्मिङ्को प्रभाव छ । ओजोन स्पेसको दुर्दमनीय विस्तार पनि छ । समयको गाथमा समयलाई आरोग्य नभएजस्तो बदली लागेको मौसममा, समयको रुमानी दुर्घटना छ ।

कुन्नि, मलिन छन्, पुनश्चः ओठहरू । मुस्कानहरू । धुनहरू । गन्तव्यहरू । भदौराहरू । भत्खौराहरू । लक्ष्य र रणनीतिहरू । दूरी र परििधहरू ।

अकिञ्चनको बस्तीमा, मौनहरू मौन छन् ।

संक्रमणको चटारो पनि होइन यो । लय-निर्लयलाई बिसाउन असंन्दिग्धहरूको, संदिग्ध चाल पनि होइन । रत-विरत । राग-वितरागलाई तरलिकृत तुल्याउन ।

शरीरको निरस पोसाकमा, आरोपित अस्थिपञ्जरीय आत्माहरू पाइलैपिच्छे, छद्मचाल बढिरहेका छन् ।

श्वेतपत्रमा, सूचनै सूचना भएर सूचनाकै निक्षेप नभएजस्तो । ज्ञानै ज्ञानले यो जीवकोष भरँिदा पनि अज्ञान-अन्धकारले पाठकदीर्घा परास्त भएजस्तो ।

ती सबै तिर्यक स्थितिमा, रुमलिनुपर्ने स्थितता छ ।

बेमौसम, मौसम परविर्तनको । नीति परविर्तनको । मर्यादा विघटनको । सुनामी तूफान आउने हो कि ! सन्त्रास राखेर सन्त्रास कबुल गर्न नहुने थरीथरी आदेश छ । भर अभर निर्देश छ ।

टुँडिखेलमा सभा छ ।

तामझाम छ, ग्यालरीमा ।

टुँडिखेल होइन । टुँडिखेलको चित्रपुरमा, सभा छ । सभाको घम्साघम्सी छ । जात्रा छ । नाच छ । पर्व छ । ताण्डव उत्सव छ ।

लिङ्गो गाडे पनि । लिङ्गो ढाले पनि । सभाजस्तो सभा छ । थरीथरीका शिरच्छेदन, पदचिन्हहरू छन् । थुप्रिएका । शिरच्छेदन, अनुभूतिहरू छन्, परस्पर भेदिएका । झुन्डका झुन्ड गतिहरू छन्, चिथोरिएका । रङजस्तो रङैरङका रगतले लतपतिएका । वैजनी गन्धले पोतिएका ।

स्वजनहरू । मित्र परजिनहरू । युद्धकालीन सहयात्रीहरू । बन्दोवस्तीय संयन्त्रहरू । हाँसोमा रन्थनिएका छन् । हाँसोजस्तो अट्टहासमा रन्थनिएका छन् ।

सभा छ, निरन्तर । अघिदेखि, अमूक विषयमाथि । अमूक नजिरहरू राखेर फैसला गर्नैपर्ने सभा छ ।

को के बोलिरहेको छ ! बुझिँदैन । कसले के बोलिरहेको छैन, त्यो झन् बुझिँदैन । कसको आगमन र जयजयकार बाँकी छ ! त्यो बुझिँदैन ।

कतिले भनेका छन् ।

टाउकोको अर्थ लाग्छ । टाउकोहरू उभिन देऊ । टाउको भनेको टाउको हो । टाउकोको गिन्ती हुन देऊ । आखिर टाउकोइतर सभा मौन छ ।

इज्जत आवरुको पर्याय नाक । नाकमा दम छैन । नाकहरू बज्ने हुन् । बज्ने सन्ध्या टर्दैछ । बज्नलाई पर्खने छन् । बज्नलाई आतुर छन् । ती उथलपुथल विचारहरू हुन् । परचियहरू हुन् । टाउको र नाकहरू भनेका ।

योगहरू मिलेर । रासायनिकताहरू मिलेर । उपनिषदीय वर्णन जे छन् । वेदान्तिकृत तरेली बनेका । लहरैलहर । विचार निर्मित दिग्दर्शन बनेका ।

अस्िमता रक्षाको प्रश्न छ । पद्धति निर्माणको सन्दर्भ छ । टाउको र टाउकोइतर प्रितविम्बले घोषित तुल्याइएका ।

ती पुरोवाक् भनेका ।

कोणहरू मिलेर । घनघोर बान्कीहरू मिलेर । मन बेमन दर्शन बन्छ । वटछाया अधीनस्थ संस्कृति ।

प्रितरक्षामा, गाण्डिव शैली ती, घषिर्त हुँदाहुँदै जब । उग्र स्वरूप धारण गर्न सनातनीय चैतन्यहरू, तिनमा थिए, कतिपय ।

यी कठोर उपवास भनेका ।

परमार्थ चिन्तनहरू ग्रहण गर्छाै, गर ।

यी कुलिन् आत्मदाह भनेका । स्मरण गर्छौ, गर ।

साधनाको तीव्रताले एक छोप लाग्दैन । उत्सर्ग-उत्सर्गजस्तो रहेन जब ।

निष्काम भनिने वस्त्र आभूषणहरू, निष्काम थिएनन् ।

दर्शन हुँदाहुँदै । विचारजस्तै, विचारहरू हुँदाहुँदै । ती टाउको-शिरहरू ।

शिरपोसहरू, ललाटहरू, तेजहरू, वायुहरू, निष्प्रभ देखिएका छन् । निष्प्राण देखिएका छन् । दिग्भ्रम देखिएका छन् ।

प्रश्न हुँदाहुँदै । प्रयोग हुँदाहुँदै । निरुत्तर किन, ती यौवनाकुण्डहरूसित ! संवेग हुँदाहुँदै । संसर्ग हुँदाहुँदै । रितहीन किन, ती क्रीडाकेलीसित ! आफैँले आफैँसित, ती जल्लादजस्तो मन हुन् । मन छुन । मन विसर्जन गर्न । राज्यले नपुगेर अराज्यको आग्रह छ । तन्त्रले नसकेर वाञ्छित तन्त्रको तन्मय छ । अभयले नधानेर विभयको आतंक छ ।

सभा भन्छ ।

राज्य सञ्चालन गर्ने कुरा लरतरो छैन । शिरच्छेदन, शिरहरू भन्छन् ।

आचार्य मनुले नसकेको कुरा !

चाणक्य, भतृहरि कसैले, कहीँ कुनै टुङ्गोमा पुर्‍याउन नसकेको यस्तो राजप्रासाद !

सरल कहाँ छ र !

विघ्न त स्वाभाविक छ ।

निर्माण । विनिर्माणका आयोजना टाँगेर । कार्यकुशलताका चिन्मय टाँगेर । खाका । योजना । कल्पना । परकिल्पना ।

‘भिजन’ । ‘कमिट्मेन्ट’ । ‘डिभोसन’ । ‘डिटरमिनेसन’ ।

कस्तो प्रस्ताव राखिएको हो शून्यमाथि ! रिक्ततामाथि ! यी अभिवादन र नमन्हरूमाथि ! सुलह-असुलहका गणितहरूमाथि !

क्रान्ति ! कस्तो क्रान्ति !

जनविद्रोह ! कस्तो जनविद्रोह !

कुन टुनामुना ! तिलस्िमतामा आश्रित छ ! यो नृशंष- जीवलीला !

यति पनि थाहा छैन ! मौन कति खतरनाक हुन्छ ! सन्नाटा कति उग्र हुन्छ! ठाडो बुझ्ने ‘पर्सेप्सन’ मात्र हो ।

गोधूलिमा, देखा परेका यी अदना आत्मघातहरू, अश्रुहिंसित पोखरीमा आइपुगेका हुन् । चीरकालीन घाउहरू छुन । निर्जल-जल स्नानादिले अभिषेक गर्दै ।

द्वन्द्व, विध्वंस र पुनर्योग । ती त्रिविषममाथि कावु तुल्याउन । दोहोर्‍याई तेहेर्‍याई बुझ्ने कुरा पनि ‘नोस्टाल्जिया’ मात्र हुनसक्छ । कदाचित ‘युटोपिया’ होइन ।

पुरोधारक्षित ठेटना प्रकाशहरू, आत्मोद्घाटनमा प्रवेश भएका हुन् । दम्भ, अहंकार र छलप्रपञ्चका सबै ती दाउपेचहरू चिर्दै, चिथोर्दै, चहर्‍याउँदै । मिथ्यामाथि, मिथ्याहीनता वंशिभूत तुल्याउन ।

विडम्बना ! घोर विडम्बना ! मौनताको परंब्रह्मा, अझै कति कुण्ठित बसिरहन सक्छ ! मौनले, मौनको धर्म निर्वाह गर्ने ताराहरू सामान्य हुँदैनन् । छैनन् ।

मौन स्थावर हो । जङ्गम हो । चिरनिद्रा हो । समानान्तर आकाश हो, अनन्त प्रतीक्षाको ।

चेतना रहोस् ।

प्रश्नचिह्न जब उठ्छ मौनतामा, प्रलय प्रारम्भ हुन्छ । प्रलय त्यो, विष्मयकारी हुन्छ । विनाशकारी हुन्छ ।

उप्रान्त बलिदानीलाई रूपान्तरण तुल्याइन्छ, कुनै आत्मघातीमा । यत्नपूर्वक, वीरगतिलाई । दुर्वल तुल्याइन्छ, कुनै कमिसारमा । प्लाटुनमा ।

निर्देशित । नियोजित । द्रुतविलम्बित । स्रग्धारीय । पराधीनता उन्मुख । कुन्नि, मौनमाथि । एम्बुस ताक्नेहरूले ! समय नै समयसित रहेन भने निषेधको निषेधलाई । कसरी स्वागत गर्न सकिन्छ ! भ्रान्तिको भ्रान्तिलाई, कसरी परचिालन गर्न सकिन्छ !

कुन मण्डलको ‘व्याले’ रच्यौ !

जनविरोधी जनतन्त्र रच्न !

करनिा ! तिम्रो सौन्दर्य ‘इल्युजन’ होइन । हुन सक्दैन । भन अबु, ‘लाइफलाइन’ बाँकी छ कि छैन !

यो नरमेघ यज्ञमा संसद् हराएर । संसद्जस्तो लज्जावस्त्र हराएर । नागर संस्कृति हराएर । अधिसंख्य संवाद हराएर । वसन्तीय डबली हराएर राजकौशलीय स्क्वायर हराएर !

किन गुलिभर यात्रा तय गररिहेका छौ !

के मौनको अग्निशमन देखेका छैनन्, ती छापामारहरूले !

तात्त्विक मौन, शून्यभन्दा माथि छ । रिक्तताभन्दा अग्लो । अणु परमाणुभन्दा शक्तिमान ।

पाश्र्वमा, फ्ल्यासब्याकहरूको खुलासा ।

सडक छताछुल्ल छ । जाम छ । चौराहा । गल्छेँडा । गल्ली । ऋषि मनीषी । अस्तव्यस्त छन् ।

वरपिर सबै । अन्योल र असमञ्जस्यताहरू । फ्लाइओभर उभिएर । हेररिहेको छ । एउटा अवाक् मन । रक्तवीजजस्तो मन ।

अनेक मन । सहस्र मन ।

मनहरूले थुप्रिएको मौन । मनहरूले पुरिएको मौन । अकारण चाउरिएको मौन । भवसागर भनिन्छ जसलाई । मौनको पिरामिडभित्र । पिरामिडबाहिर । तमासा चल्दैछ ।

बेसीमा झरेर । गोठमा चौपाया वध । परस्त्रीमाथि हिंसा । व्यभिचार । क्याम्पफायर । पाक्शाला परिणति । बृहत्तर भतेर । भोज । मस्ती । महामस्ती । मझेरीमा घुरेर । लज्जामा । सत्मा । समर्पित गृहलक्ष्मी । कुमारी आदि चीरहरण । अन्ततः मुस्तन्डहरूको क्षुधा तृप्ति ।

कोठामा । चोटामा । बुइँगलमा । महांकालमा । शृंखलाबद्ध म्यागेजिन प्रहार ।

पाखामा । भित्तामा । कान्लामा । छरपस्ट । आततायी चीत्कार । श्रवण र लक्ष्मणहरूजस्तै । मैना र मुक्तिहरूजस्तै । करनिा र फातुमा बेगमहरूजस्तै ।

लाचार क्रन्दन । अरण्य पुकार । निर्निमेष हार-गुहार ।

सपनै सपना बाँडेर । सपनाको हिंसा गर्नेहरू, ती हुन् ।

फूलैफूलका । क्रमनीय मुनाहरू चुँडेर । मुस्कान भत्काउनेहरू, ती हुन् ।

सृष्टि सम्पदाको । सौन्दर्य नष्ट तुल्याउने नरधामहरू, ती हुन् ।

‘नोस्टाल्जिया’ मात्र होइन अबु !

अग्निशमन सल्बलाउँदैछ ।

मौनको चक्रवर्ती फुकाउन ।

शाब्दिक संगीतको मेलोडी वर्षाउन ।

नेपाल साप्ताहिक ४५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *