Skip to content

पुस्तक समीक्षा : युग उचाल्ने अक्षरकर्मीको अवसान

20110729_RamBikramThapa_BookReview


बालकृष्ण सम, पहलमानसिंह स्वाँर, विजय मल्ल र गोपालप्रसाद रिमालहरूको जमाना अब रहेन । सरुभक्त र गोपी सापकोटाहरूले पनि नाटक लेखनबाट विश्राम लिएको वर्तमान अबस्थामा कृष्ण शाह यात्री, किशन थापा अधीर, विमल भौकाजीजस्ता सीमित सर्जकहरूले मात्र नाटक/एकाङ्की विधामा कलम चलाइरहेका छन् । नाटक मञ्चनको मौसम पनि प्रतिकुल भइरहेको यस्तो खडेरीमा एउटा नाटक/एकाङ्कीसङ्ग्रह प्रकाशित भएको छ -‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ । यो नाट्यकृतिका सर्जक हुन्-नन्दलाल आचार्य ।

२०३० सालमा उदयपुरको ठोक्सिलामा जन्मेर हाल राजविराजमा शिक्षणरत नाटककार नन्दलाल आचार्यका एकाङ्की, नाटक, कविता, कथा, समीक्षादि विविध विधाका फुटकर रचनाहरू राष्ट्रियस्तरका साहित्यिक पत्रिकाहरूमा पढ्न पाइएकै हो । २०६३-२०६६ मा सिर्जित र २०६४-२०६७ मा शब्दाङ्कुर, दायित्व, मधुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटागरी कुल १५ ओटा नाटक/एकाङ्की सङ्गृहित सद्य प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊध्र्वगामी भएकाले नाटक विधामा यिनलाई उदीयमान प्रतिभा नभनी सुखै छैन ।

पहिलो ‘वादविवाद’ एकाङ्कीमा भौतिकवादी पति र अध्यात्मवादी पत्नीबीचको तर्क-वितर्क, दोस्रो ‘करार-विवाह’ मा पाँचवर्षे म्यादको अस्थायी विवाह, तेस्रो ‘दर्द’ मा उपेक्षित र परित्यागित महिलाको मार्मिक पीडा, चौथो ‘आधा मेरो आधा तिम्रो’ मा सन्तानले आमा र बाबु दुवैबाट संयुक्त थर लिने समानताको वकालत छ भने पाँचौँ ‘जस्तो मति उस्तै गति’ मा पति र पत्नीबीचको धन र आर्जनको अहम् छ ।

पुस्तककै नाम बोकेको उल्लेख्य र प्रतिनिधि छैटौँ नाटक हो -‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ । प्रगतिवादी कवि एवम् निर्भीक पत्रकार कृष्णसेन इच्छुकलाई पुलिस प्रशासनले बर्बर यातनाकासाथ सहिद बनाएको हृदयविदारक शब्दचित्र यहाँ छ । तीनओटा दृश्यमा विभक्त यो ऐतिहासिक नाटक कलम र बन्दुकबीचको कारुणिक युद्ध हो र सेनहत्याकाण्डलाई पर्दाफास गर्ने जनयुद्धकालीन जीवन्त दस्तावेज पनि हो । सातौँ एकाङ्की ‘पीडा एकः भाका अनेक’ मा गणतान्त्रिक आजको नेपालमा पनि जनअपेक्षामा तुसारापात भएको कुरा, आठौँ ‘एकता’ मा हिमाल, पहाड र तराईको एकता र समझदारीमा जोड, नवौँ ‘नम्र- विनम्र’ मा प्रेम र विवाहको समस्याको सन्तुलित समाधान, दशौँ नाटक ‘नाम तिम्रो काम हाम्रो’ मा बोर्डिङ स्कुलको भ्रष्टाचार र विकृति-विसङगति छ भने एघारौँ ‘परिवर्तन’ मा परिवर्तनको नाममा गाउँमा मानवीय संवेदना हराएको धरासायी सन्दर्भ छ । यसैगरी बाह्रौँ एकाङ्की ‘छलछाम छात्ते छ पार्टी ’ प्रतिगामी तत्वहरूको चलखेल देखाउने हास्यव्यङ्ग्यात्मक नाटक हो भने तेह्रौँ ‘दाइजो’ मा दाइजोपीडित अभिभावकको टीठलाग्दो (भयावह) मनोदशा छ । चौधौँ नाटक ‘देश हराएको सूचना’ मा सीमा मिचिएको, देश टुक्रिने सम्भावित खतरा र संविधान-सभाको चुनाव पटकपटक सरेको पीडा छ । पन्ध्रौँ र अन्तिम नाटक ‘परिचय’ का १७ जना पात्रहरूले सङ्घीयताको औचित्य पुष्टि गरेका छन् ।

हरेक नाटकका पात्रहरूले आफ्नो अस्तित्व खोजेका छन् , परिचय खोजेका छन्, हक र अधिकार खोजेका छन् । नाटककारले समतामूलक र अग्रगामी समाज खोजेका छन् । पत्रपत्रिका र पुस्तकहरूबाट समसामयिक र जल्दाबल्दा कुराहरूको जानकारी लिएर नाटक/एकाङ्कीको निर्माण भएकाले नाटककार नन्दलाल आचार्यको अध्ययन, चिन्तन र मन्थनको क्षेत्र व्यापक र उज्यालो छ । उखान, तुक्का र गहकिला उक्ति र सूक्तिसहितको कवितात्मक भाषाले सम्बाद जीवन्त भएर नाटक गाढा र प्रभावकारी भएका छन् । अनुसन्धान र अनुभवको व्यापकताले नाटकहरू दार्शनिक, वौद्धिक र सार्थक भएका छन् । कुप्रथा, कुसंस्कार, विकृति, पीडा, विसङ्गति र असमानताका विरूद्धमा धावा बोल्ने यी नाट्यवाणीहरू विषयवस्तुको गहिराइमा पुग्दै र कुराको जरो (चुरो) पक्रेर अभिव्यक्ति दिन सफल छन् ।

नन्दलालका नाटकमा बालमनोविज्ञान, द्धन्द, अन्तरद्धन्द, आक्रोश, ग्रामीण परिवेश, घृणा, पारिवारिक वातावरण आदिको बाहुल्यता पाइन्छ । निम्नवर्गीय र सीमान्तकृत पात्रहरूको उन्मुक्तिको निचोड छ । परिवर्तनको पक्षमा वकालत गर्ने आचार्यको धारणा-नकारात्मक र पाखण्ड होइन, सकारात्मक र विवेकसम्मत परिवर्तनको पक्षमा सन्देश दिनु रहेको छ । प्रत्येक नाटकको अन्त्य सहज, सुखद र रमाइलो भएकाले यिनी संयोगान्त नाटककारका रूपमा उभिएका छन् । नाटक पढिसकेपछि पाठकको मनमा सानान्दको फूल फुलाउन सक्नु यिनको नाट्यशिल्पको चातुर्य हो । प्रगतिवादी साहित्यकार दिल साहनी भूमिकामा लेख्छन्ः

“उनका नाटक रोचक, विचारोत्तेजक, यथार्थपरक, प्रगतीशील, क्रान्तिकारी, शिक्षामूलक, समस्यामूलक, समाधानमूलक र समाजलाई नयाँ चेतना दिने खालका छन् ।”

नाटकहरू पढिसकेपछि दिल साहनीसित सहमत हुन सकिन्छ । यी नाटकहरू समस्याको पेटारो मात्र नभई समाधानको चाबी पनि भएर आएका छन् । भूमिकानुसारको पात्रहरूको पृथक-पृथक भाषा, शैली र बोली भएको भए रोचकतामा अभिबृद्धि हुने थियो । धेरै पात्रहरूको उपस्थितिले नाटक/एकाङ्कीको पठन र मञ्चनमा असहज हुने कुरालाई सर्जकले ख्याल गर्नु आवश्यक देखिन्छ । पुस्तकको नाम अलिक छोटो, छरितो र सार्थक राखेको भए अझ राम्रो हुन्थ्यो । जे होस्, नन्दलाल आचार्यको यो नाटक/एकाङ्कीसङ्ग्रह रोचक, घोचक, पठनीय, सान्दर्भिक र सङ्ग्रहणीय छ ।

कृति ः युग उचाल्ने अक्षरकर्मीको अवसान
नाटककार ः नन्दलाल आचार्य
प्रकाशक ः लक्ष्मी रिजाल, राजविराज-९
संस्करण ः प्रथम, २०६७
पृष्ठ ः १६०
मूल्य ः रू १५०।-

-रामविक्रम थापा

1 thought on “पुस्तक समीक्षा : युग उचाल्ने अक्षरकर्मीको अवसान”

  1. युग उचाल्ने अक्षरकर्मी…
    नमस्कार

    “युग उचाल्ने अक्षरकर्मीको अवसान” राम्रो छ ।

    धन्यबाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *