Skip to content

‘बेकर स्ट्रिटका दुई आँखा’ सँग आँखा जुध्दाको प्रभावहरू

  • by


जया जी !

तपाईँको ‘बेकरस्ट्रिटका दुई आँखा’ सँग एक दफा आँखा जुझ्दाको असरहरू (पाठकप्रतिकृया) कहने जाँगर चलाएको छु । तपाईँको निम्तो हुँदा-हुँदै उक्त कृतिको विमोचनमा उपस्थित हुन मैले नीच मारिसकेको थिएँ । किनकि म कथा बनाउँदिनँ (यद्यपि कथा पिउन मैले रुचाए पनि समय अभाव छ) र लन्डन बस्ने लाहुरेनीले फुर्सद र रहरमा बनाएको कथासङ्ग्रहको विमोचनमा वक्ताहरूले खास कुरा के बोल्लान् भन्ने मेरो पूर्वाग्रह वा उपेक्षा थियो । तर तपाईँसँग हेमखेम बढे मेरो भावी लन्डनयात्रामा तपाईँबाट साहित्यिक मदत पाइने आस, छिमेकी जिल्ला सङ्खुवासभा (भोजपुरपारि) को पुरानो वासी र पछि ससुरालीजिल्ला (झापा) वासी तथा स्वजाति महिला सर्जकको नाताले त्यस कार्यक्रममा जाने मन बनाएँ । जसले गर्दा तपाईँको रमाइलो कथाहरू पिउने अवसरदेखि मैले वञ्चित हुनु परेन ।

भूमिका बुनाइमा गोविन्दराज भट्टराईले कहेको यो भनाई मैले रुचाएँ, “सबै स्पेस तेस्रो विश्व मिसाएर बनेको हाइब्रिड भूमि हो, श्रमिक, दुःखी, जीवन खोज्न पुगेका र ज्यादा हतासिएकाहरू छन् । यद्यपि ती त्यहीँ आकर्षित छन् । कति कामले, कति यौनले, कति व्यर्थताले ।”

तपाईँको भनाइका यी वाक्यहरूले मेरो घतमा हिर्काएको छ – “ठूलो साहित्यकार नभए पनि यसो सुरुबुरु मनका भावनाहरूलाई कथाको रुपमा दिन खोज्दाखोज्दै नेपाली साहित्यमा नशा लागेजस्तो चाहिँ भएको छ मलाई पनि । सायद यसैले होला साहित्यलेखन र अध्ययन मेरो जीवनको अभिन्न साथी भएको छ । आजभोलि प्रवासी जीवनको व्यस्त समयको कसिलो घेराभित्र अरु धेरै क्षेत्रहरूमा खर्चिने समय कम गरी साहित्यसाधनामा म लाग्न रुचाउँछु । मानाँै लेखन र साहित्य मेरो जीवनको श्वासप्रश्वासजस्तै भएको छ ।

जीवनको असीमित चाहनाहरू सबै पूरा गर्न त यो जीवनकाल पर्याप्त नहोला । त्यसैले मनुष्यलाई जीवनमा प्राप्त आपूm र परिवारको जीवन चलाउन लाग्ने समयबाहेक बाँकी समयलाई एउटा कुनै सिर्जनात्मक क्षेत्रमा सदुपयोग गर्नु पर्छ मन्ने मेरो मान्यता रहेको छ ।

मेरो जीवनको हरक्षणमा साथ रहने मेरो श्रीमान बुद्धिजी जसले मलाई महँगो गहना र आभूषणभन्दा शिक्षा महत्वपूर्ण हो भनी मेरो लागि राम्रो लेख्नेपढ्ने वातावरण सधैँ तयार पारिदिनु भएको छ ।”

तपाईँलाई यो पाठकप्रतिकृया धस्क्याइरहँदा कुनै प्रेमपत्र लेख्दा जस्तै म रमाइरहेको छु । यसैलाई लेखनको अम्मल ठानिँदो होला । तपाईँको छोरो प्रतापले लेखनप्रति दिएको राय मैले पनि मननयोग्य पाएँ ।

‘रुप’ मा अध्यक्ष दाइले गरेको हर्कत वास्तविकताको नजिक छ । अनेक सम्बन्ध देखाइ र अनेक सहयोगी भावना व्यक्त गरी यौनस्वार्थ पूरा गर्न खोज्ने बोकाहरूदेखि महिलाले जोगिने ढङ्ग पु¥याउनु जरुरी छ । तर विमोचनको क्षण डा. सुष्मा आर्चायले औँल्याएकी जस्तो त्यो कथामा अश्लीलता मैले पाइनँ । यौनसन्दर्भ कथामा ल्याउन नरुचाउनु भनेको असभ्यता वा सङ्किर्ण धारणा हो भन्ने म ठान्छु ।

‘क्रिसमस डे’ मा बताइएको सपिङ्सेन्टरमा पैसा तिर्दाको लाम पढ्दा सान्तवनाले मलाई थुम्थुम्याएको छ । भाटभटेनी सुपरमार्केटमा पैसा तिर्न पनि मटीतेलको लाममा खडा भएझैँ लाममा उभ्नु पर्ने ठान्दै म छटपटिन्थेँ ।

‘जीवनको डुङ्गा चलाउनु कत्ति गा¥हो हगि !’ यो भनाइसँग म बिमति राख्छु । जीवनको डुङ्गा चलाउनु गा¥हो मात्र छैन, सजिलो पनि त छ । मेरो एउटा नीति (मान्यता) अनुसार मान्छेले जे ग¥यो त्यही ठीक हुन्छ र बेठीक त मान्छेको धारणा बेठीक हुँदा मात्र हुन्छ । जब काम बिग्रन्छ वा बेठीक लाग्छ । त्यसको नकारात्मक असर भुल्न (न्युटर्लाइज) गर्नु पर्दा मात्र यो नीति म लागु गर्छु । सधै सुख खोज्ने वा अघिल्लो सुख बिर्सने बैगुनी स्वभावले गर्दा मान्छे जीवन चलाउनु कठिन ठान्छ ।

‘गरिबीको बाढी हाम्रो परिवारमा समुद्रको शक्तिशाली छालझै उर्ली आयो ।’ ओहो ! यो कत्ति स्वादिलो उपमा छ । ‘स्टाफ रुममा’ मा पैसाको लागि आफ्नो योग्यताभन्दा अन्य काम गर्न तयार पर्ने सम्झौतावादी नीतिको राम्रो उदाहरण छ । सेखी नगरी सम्झौता गर्दा पैसाको लागि मान्छेले सिभिल इन्जिनियरले सुरक्षाकर्मीको काम गर्नु भन्दा भूmर काम पनि गर्न सकिन्छ । ‘अपोलो पवनिर’ मा लन्डनजस्तो सम्पन्न र विकसित राजधानीसहरमा पनि सार्वजनिक बसको बेटुङ्गो पढ्दा काठमाण्डूको सार्वजनिक बससेवाको बेटुङ्गोमा रुष्ट भएको मैले सहानुभूतिको ढाप पाएँ ।

”तिम्रो कथा अङ्ग्रेजीमा ट्रान्सलेट गराउन । म पनि पढ्न पाउँ ।” उनको त्यो भनाइले मनमा नभएको एउटा बीउ रोपियो । ‘बिउ’ मात्र भएको ठाउँमा ‘रहर’ वा दुःखको बीउ’ लेखेको भए बाक्यको भाव अझ प्रष्टिन्थ्यो भन्ने मेरो राय छ ।

उक्त कृतिमा मैले तपाईँको शैली रुचाएको हरफहरूमध्ये यी पनि छन् – “ब्लुबेरीका काँडाहरू पनि कम निष्ठुरी छैनन्, हतारमा लुछ्नेलाई मौका यही हो भनी नघोची छाड्दैनन् । बेरी खानु भन्दा आनन्द त बेरी टिपाइमा पो छ त, काँडाहरूसँग छेलिँदै । लाग्छ जीवनका झीनामसिना आनन्दहरू प्नि नबिर्सने माला बाँचिन्जेलको लागि बनिरहनेछ ।

हामी ब्लुबेरीका तीखा काडाँहरूसँग जोगिँदाजोगिँदा पनि हातका औँलाऔँलामा कैयौँ पटक चिटिक चिटिक चिमोटिसकेको छ । लुट्न आउनेलाई सजाय गरेकै हो ब्लुबेरीको झाङले ।”

ब्लुबेरी टिप्दाको खुद्रा मजाबाहेक लन्डनको डायस्पोरिक जीवनमा भोगिएको दुःखको रुपमा ‘बेकरस्ट्रिटका दुई आँखा’ खुलेको छ । लन्डनको डायोस्पोरिक जीवनमा (चाहे दुःख खटेर) थापेको स्टर्लिङ पाउन्डले किनमेल गर्दा, किस्ता तिर्दै लन्डनमा घर निजी पार्दा, नेपाल आउँदा आशामुखीहरूले गरेको आदार सम्झँदा वा आफ्नो देशमा जग्गा वा घर किन्दा वा ठड्याउँदाको आनन्द कथामा हाले पाठकले पढ्दापढ्दै आरिसले किताब थन्क्याउन बेर लाउँदैनन् हैन त ? परिजातजस्ती इमान्दार सर्जकले त मदनपुरस्कार पाउँदाको रमाइलो (धन र मान दुवै प्राप्ति) क्षणको सन्दर्भ त्यसैले तिनले आफ्नो संस्मरणमा नउतारी धेरै जसो अभाव र पीडाको सन्दर्भ उतारेकी होलिन् । सम्पन्नता वा रमाइलोको साटो अभाव वा कष्ट बताई सहानुभूति बटुल्न सर्जकहरू लोभिन्छन् । किनकि सुख वा सम्पन्नताको वर्णनमा पाठक ईर्ष्याले अरारिने हुँदा नै सर्जकहरू प्रायः दुःखको वर्णन गर्छन् । ‘चिहान फोरी बहु मूल्य चीज बेच्ने तस्करजस्तै दुःखको रास उधुनी दुःख बेच्ने तस्कर हो सर्जक’ भन्ने मेरो एक दृष्टिकोण छ । जुन दृष्टिकोणले सर्जकको चित्त दुखे मलाई पर्वाह छैन ।

भाषा शुद्ध र मीठो पार्न शरचचन्द्र वस्तीको ‘हाम्रो भाषा’ ले सघाएको मैले अनुभव गरेँ । साहित्यको असल लतले तपाईँलाई आजीवन नछाड्ने विश्वास गर्छु ।

अरुण पारे

निर्भीक राई
हाल ः मनमैजु, काठमाण्डू ।
२०६८, जेठ ५ (मे १९, २०११)

Leave a Reply

Your email address will not be published. Required fields are marked *