Skip to content


साढेसातको शनीदशा लागेका चक्रवर्ती राजालाई केही समय अघिसम्म स्वचालित मेशीन झैं आफ्नो आफ्नो काम कर्तव्यमा निरन्तरता दिइरहेका आफ्ना अँगरक्षकहरूलाई पनि राजादेखि रीस उठ्न थालिसकेको थियो। मन्त्रीपरीषद तथा देशका कर्मचारीहरू पनि राजादेखि अचानक असन्तुष्ट हुन थालेका थिए। दुःख सुखमा साथ दिने तथा देशमा अप्ठ्यारो स्थिति आइपर्दा समस्याको समाधानमा ठुलो सहयोग र मिठो सल्लाहा दिने आफ्नी रानी समेत देब्रो हुन थालिसकेकी थिइन्। देशमा कहिल्यै पनि आफ्ना देशवाशीहरूले दुःख पाए भोका छन्, दुःखी भए भन्नेकुरा सुन्न र देख्न नपरेका राजालाई दिनदिनै त्यस्ता समस्याहरूले पिरोल्न थालिसकेको थियो। निर्मल र पवित्र गंगा जस्तो वगिरहेको र चलिरहेको आफ्नो शासन र प्रशासनिक कार्यहरूमा अचानक दिनप्रतिदिन यस्तो अवस्था को सृजना हुन थालेपछि राजाले जतिसुकै सम्याउन र मिलाउन खोज्दा पनि त्यसले झन् उग्ररुप लिन थाल्यो। दरवार देश र जनता एकापटि र राजामात्र अर्कापटि हुनपुग्यो।आखिर राजाले कसैलाई केही भनी बिराएका पनि थिएनन् र बिगार्न खोजेका पनि थिएनन्। आफूमा र देशमा यस्तो स्थितिको सृजना हुनथालेपछि राजपाठ र शासन सँचालन अनि आफ्नो घृणित परिस्थितिबाट बैराग्य भएका राजा चक्रवर्तीलाई बाँचेर हिड्नुभन्दा मर्नु निको भएझैं हुन थाल्यो।

एकदिन राती अचानक राजा चक्रवर्तीको मनमा नैराश्य र कुबिचारको कारण उनले अनौठो कुरा सोच्न थाले। उनले सोचे, धेरै सोचे, तर मनोभावना बदलिएन। आफ्नी प्रिय पत्नी, छोराछोरी, दरवारको रमझम अनि मुटुभन्दा प्यारो आफ्नो देश अनि छोराछोरी भन्दापनि प्यारा देशबासी सबैलाई सम्झे र आफूले लगाएका सम्पूर्ण राजकीय पोशाकहरू फुकाल्न थाले। रातको करिब १२ बजेको हुदो हो राजा चक्रवर्ती धोती मात्र लगाएर सम्पतीको नाममा १ पैसा पनि नबोकि जोगीको रुपमा दरवारका शैनिक र अँगरक्षकहरूलाई पनि छकाएर हातमा एउटा बन्दुक बोकेर बाहिर निस्के। उनी निस्केको कसैले चाल पाएनन्। सुनसान मध्यरातमा उनी हिड्दा एउटा कुकुरसम्म पनि भुकेन। धमाधम उनी पूर्वतिर हिड्न थाले। बाटामा उनले थाहा पाउन थालेदेखि आजसम्मका आफ्ना बितेका दिनहरू एकपछि अर्को, अर्को पछि अर्को को क्रममा संझदै मनमा कुरा खेलाउँदै हिड्दा हिँड्दा उज्यालो भयो उनी हिँडिरहे । बाटो जँगलको थियो । मान्छे भन्ने कोही देखिदैन थियो ।फेरि रात पर्यो। उनलाई भोक प्यास थकाइ आलस्य केही लागेन। बेलाबेला भगवानको नाम पनि लिने गर्थे। तर धेरैजसो चाहिँ उनले गरेका राम्रा राम्रा र ठूला अनि महत्वपूर्ण कामहरू नैं उनको मस्तिष्कमा आइरहन्थ्यो। उज्यालो भयो। उनको हिड्ने क्रम जारी नैं छ। जब बेुलुकाको साँझ पर्न थाल्यो उनी एउटा ठूलो नदीको किनारमा पुगे। उनको बिचार थियो जमीनमा मरेंभनें मेरो लाशलार्ई स्याल, कुकुर र गिद्धहरूले लुछेर खानेछन् अथवा सिनु भएर गन्हाउने छ र मरेपछि पनि मेरो शरीरले शान्ति पाउने छैन, तर पानीमा मरेंभने ती सब कुराहरूबाट भिन्न हुनेछ। माछाले खानेछन् र मेरो शरीरबाट कुनै कालमा प्रसिद्ध मणि पनि बन्न्नसक्नेछ जसबाट पछि अरु कसैलाई लाभ हुन सकोस्। यही बिचार गरेर राजा चक्रवर्ती आफ्नो जीवन लीला सदाको लागि अन्त्य गर्न ती बहिरहेकी निर्मल र पवित्र नदीलाई साक्षी राखेर नदीमा पसे। साँझको बेला छ पानी उनको घुँडासम्म आयो। उनी अँझै भित्र गए। जब पानी कम्बरमा आइपुग्यो, आफूले बोकेको बन्दुकको नाल उनले आफ्नो चल्लीमा ठोकाएर एकपल्ट भगवानको नाम लिएर चोर औंलाले बन्दुकको घोडि तान्न मात्र लागेका थिए अकस्मात उनलाई आकाशबाँणी भएझैं भयो, उनले केहीकु्रा सुनेझैं भयो, एकदिन बाँचे दुइटा कुरा जानिन्छ। त्यसबेला उनले आँखा चिम्लेका थिए। उनलाई जीवन दान भएझैं लाग्यो। बन्दुक पानीमा छोडिदिए। जब उनले आँखा खोले उनीदेखि अलिक पर्तिर नदीको प्रवाहमा एउटा दोमुखी गाई बग्दै, बहुत कठिन साथ बग्दै, डुब्दै, उत्रंदै, ठोक्किदै आउँदै छ। उनी त एक ब्राम्हण पुत्र हुन्। यदि त्यो गाईलाई उनका आँखाले देखिदेखि बग्न दिउन् भने उनलाई अवश्य गौ हत्या लाग्ने छ। आखिर उनले देखिहाले। यदि उनले नदेखेको थियो भने त त्यसको केही दोष हुदैन थियो। सकि नसकि बल्लबल्ल तानेर त्यो गाईलाई नदीबाट बाहिर निकाले। जमीनमा पर्नासाथ गाईले बाच्छो झार्यो। अब उनलाई फसाद पर्यो। सुत्केरी गाई, त्यसलाई त्यसै छोडेर हिड्नु पनि भएन र उनको मनले मानेन पनि, किनकि उनी एउटा विवेकशील प्राणी त्यसमाथि पनि एउटा दयालु राजा। आज पो साढेसातको शनीदशा लागेकोले गर्दा उनलाई यो अवस्थामा पुर्यायो। उनले यस्तो होला भन्ने सोचेका पनि थिएनन् ।


गाईलाई अब के खान दिने। जताततै बालुवा मात्रै छ। बाच्छो जाडोले थरथर काम्दै छ। आगो पनि छैन। राजा चक्रवर्ती यस्तो बिपतमा परे। गाईलाई त्यहीँ छोडेर उनी केही खानेकुरा पाइन्छ कि भनेर हिड्न थाले। रात छिप्पिँदै जान थाल्यो। जाँदाजाँदा धेरै पर उनले आगो बलेको देखे। केही आसा पलायो। उनले सोचे त्यहाँ कुनै एउटा गाऊँ अथवा शहर हुनु पर्छ। त्यहाँबाट केही खानेकुरा गाईकोलागि ल्याउन सक्छु। धेरै समय पछि राजा त्यो ठाउँमा पुगे। त्यो त अर्कै देश पो रहेछ। त्यो देश त झन् सत्य र इमान्दारमा चल्ने देश पो रहेछ। उनी एउटा पसलमा पुगेछन्। त्यो देशको चलन भने भिन्दै रहेछ। बेच्ने सामानहरू एउटा कुनै भाँडोमा राखिदो रहेछ र बेच्ने मान्छे त्यहाँ बस्दो रहेनछ। अथवा बेच्नुपर्ने सामान राखिदियो, आफू गयो, किन्ने मान्छेले त्यो सामान को उचित दाम सामान राखेको ठाउँमा राखिदियो र सामान लग्यो त्यस्तो चलन रहेछ, उनले ढाकीमा केरा राखेको देखे। उनलाई त्यही केरा लैजाऊँ जस्तो लाग्यो तर उनीसँग त एक रुपैयाँ पनि थिएन। उनले सबै आफ्नो जिऊ हेरे, सँजोगवश उनको देब्रे हातको कान्छी औलामा एउटा सानो औंठिरहेको रहेछ। उनले फुकाल्न बिर्सेका रहेछन्। मौकामा काम दियो। उनले त्यो औंठी फुकाले र त्यो ढाकीमुनि राखेको बिंडामुनि औंठी राखिदिएर त्यो केराको ढाकी बोकेर राजा हिंडे। रात धेरै गइसकेको थियो। भोक र थकाइले गलेका राजा बल्लबल्ल गाई भएठाउँमा आइपुगे। गाईलाई ल्याएको केरा खान दिए, बाछालाई दूध चुसाए,अनि गाईलाई दिएर रहेको केही केरा आफूले पनि खाए। यति भए म गौहत्याबाट म बचें भनेर गाईलाई त्यहीं छोडि राजा फेरि त्यही अघिको ठाउँमा जान भनी हिंडे किनकि उनले ल्याएको ढाकि त्यहाँ पुर्याउनु थियो। उज्यालो हुने बेलामा राजा बल्लबल्ल त्यहाँ पुगे। ढाकी जहाँबाट लगेको थियो त्यहीँ राखिदिएर उनको दैनिकि क्रियापछि एउटा ठुलो पसलको छेउको पेटिमा गएर बसे।

अचम्मको कुरा राजा जुन पसलको छेउको पेटिमा बसेका थिए दिनभर त्यो पसलमा किन्ने मान्छेको भीड लागेको लाग्यै भयो। बेच्न राखेका धेरै सामानहरू सकिए तरपनि मान्छेहरू आउन छाडेका छैनन्। रातको करिब १० बजिसक्यो। त्यो पसलमा काम गर्नेहरू पनि वाक्क भए। पैसाले गल्ला भरियो। अनि वाक्क भएर पसलवालाले पसल बन्द गर्न लगायो। राजा अँझै त्यहीं बसिराखेका छन्। त्यो पसलको मालिकले बिहानै देखि त्यो बसिराखेको मान्छेलाई देखिरहेको थियो। उसले सोच्यो त्यो मान्छे को होला, निकै भलाद्मी देखिन्छ, सानोतिनो गरिब,दुःखी जस्तो पनि देखिदैन, आजसम्म यसरी पसल चलेको पनि थिएन। यसमा केही लुकेको हुनुपर्छ। यस्तै यस्तै सोचेर त्यो पसलवालाले आफ्नो नोकरलाई बोलाएर भन्यो, आज बिहान देखिनै त्यो मान्छे त्यहाँ बसिराखेको छ, भोकायो पनि होला, यहाँ बोलाएर सोधौंन को रहेछ। नोकरले राजालाई बोलायो र पसलले सोध्यो। राजाले म अर्कै गाउँको मान्छे हुँ, घुम्न आएको थिएँ, खर्च सकियो अनि तेसै बसिराखेको हुँ भंने। पसलेलाई दया लाग्यो र राजालाई भित्र बस्न भन्यो र नोकरलाई खान र सुत्नको ब्यवस्था मिलाइदिन अरायो। राजालाई भित्र लगियो एउटा कोठामा। कोठा सुन्दर, आकर्षक, आधुनिक ढंगले सजाइएको थियो। राजाले कोठामा चारैतिर हेरे र अनुमान लगाए, मान्छे निकै धनिरहेछ भन्ने। भित्तामा एउटा सुनको मयुर राखिएको थियो जसलाई सुनको मालामा नौ वटा मणि जडिएको हार लगाइएको थियो। राजाले एकपल्ट आफ्नो दरवारको पनि कल्पना गरे। केही समय पछि नोकरले राम्रो थालिमा मीठो खानेकुरा राजालाई ल्याइदियो र खानु भनेर ढोका लगाएर नोकर बाहिर निस्क्यो। राजा जब त्यो खानेकुरा मुछ्न थाले, भित्ताको त्यो सुनको मयुर जिंउँदो जस्तै गरेर आफ्ना पंखेटा भ्याट् भ्याट् गरेर उड्न खोजेजस्तै गर्न थाल्यो। राजालाई अचम्म लाग्यो, राजाले एक गाँस खाए, त्यो मयुरले पनि एउटा मणिको दाना क्वाप्प खायो। राजाले फेरि अर्को गाँस खाए,त्यसले फेरि अर्को मणि त्यसरी नैं खायो । एवं रीतले राजाले त्यो खाना नौ गाँसमा सिध्याए मयुरले पनि नौ वटै मणिका दानाहरू सिध्यायो र फेरि त्यो मयुर अघिको जस्तै मूर्ति अवस्थामा रह्यो। खाना खाएर राजा अचम्म मान्दै सुते। उनलाई रातभर निद्रा लागेन। उज्यालो भयो। राजा बिदा भएर त्यहाँबाट गए र शहरमा एकछिन घुमौं न भनेर घुम्न थाले । केही समय पछि नोकरले राजा सुतेको कोठामा मयुरको मणिको माला नभएको कुरा मालिकलाई सुनायो । त्यो मान्छे त निकै भलाद्मी जस्तो देखिन्थो तर चोर पो रहेछ, त्यसलाई समाउनु भनेर हल्ला मच्चियो र राजालाई समाउन भनेर मान्छेहरू खोज्न हिंडे । बिचरा राजा केही बिराएका थिएनन् तर दशाले उनलाई चोर बनायो, शहरमा बेलुकाको घटना सोच्दै हिंड्दै थिए, खोज्न हिंडेकाहरूले समातिहाले ।


त्यो देशमा चोर, जाली, फटाहाहरूलाई कडा सजाय दिने ब्यवस्था रहेछ। त्यसैले कोही चोरि गर्दो रहेनछ। त्यसैले चोरभन्दा सबैले अचम्म मानेर शहरका सबै मान्छेहरू राजाको पिछेपिछे थुक्तै, गिज्याउँदै हिंड्न थाले। यतिकैमा अस्ति बेलुका मेरो ढाकीको केरा चोर पनि यहिरहेछ भनेर अर्को प्रमाण पनि निस्क्यो। किनकि बिचरा राजाले राखेको त्यो सानो औंठी बिंडामा अल्झिएर केरावालाले देखेको थिएन। मान्छेले कुनै काम गर्दा बिगार्छु र त्यसलेपछि मलाई दूःख होस भनेर गरेको हुँदैन तर कारणवश त्यसको नतिजा उल्टो पर्न जान्छ। यही अवस्थाको सृजना अहिले राजालाई परेको छ। उनी बिवश छन्। आखिर उनी पनि त न्याय र अन्याय छुट्याउने एउटा विवेकशिल राजा त हुन् तर एक्लो वृहस्पति झुटो साबित भएको छ। उनको राज आत्माले सबैको अघाडि एउटा मूर्तिले मणि खायो, मैले चोरेको होइन भन्न लाज र घिन लागेर आयो रभन्दा पनि कसले पत्याउने। यदि उनले चोरेका नै हुन् भने उनीसँग त्यो माला पनि त थिएन र उनले बेचेको प्रमाण पनि त कहीं छैन तर पनि उनले धर पाएनन्। केराको बारेमा आफूले औंठी छोडेको कुरा एकपल्ट सानो स्वरमा भनेका थिए तर हजारौं मान्छेको चोर चोर को आवाज सँगसँगै कसैले सुनेन। धेरै होहल्ला र तानातान पछि उनलाई त्यसदेशका न्याय र अन्याय छुट्याउने राजाकहाँ पुर्याइयो।आखिर त्यस देशका राजासँग त त्यो मान्छे पक्कै चोर हो भन्ने के प्रमाण थिया ेर तर उनैले बनाएको कानूनको आधारमा चल्ने त्यस देशका जनताको आवाजलाई नै उनले प्रमाण ठानेर बिचरा अज्ञात,गौप्राणी, निश्कलंक भएका राजालाई कठोर दण्ड दिने घोषणा गरियो।
कुनैपनि देशको कानूनको आँखा हुँदैन, कानूनमा माया गर्ने मुटु हुँदैन, कानूनले आफन्त भन्दैन,कानूनले राजा र जनता छुट्याउँदैन,सानो र ठूलो भन्दैन,सबैलाई आफ्नो अधिनमा मुठिभित्र राख्न चाहन्छ। त्यसैले कानूनलाई अर्को पर्यायवाची शब्दमाभन्दा काल भनेर भन्न सकिन्छ किनकि कालको पनि कानूनको जस्तै चाल हुन्छ। तर काल मान्छेले बनाएको होइन, त्यसलाई कसले बनायो, कसले हिडाउँछ, त्यो थाहा छेन तर कानून त मान्छे मान्छे मिलेर बनाएको एउटा सुत्र हो वा जाल हो। त्यसैले यो भन्न सकिन्छ कि मुटु, आँखा, दयामाया, नभएको कानून बनाउने ती मान्छेहरू यी सबै चिज नभएका त पक्कै पनि थिएनन् होला। यदि भएका भए आज चक्रवर्ती राजालाई केही नबिराउँदा, नगर्दा पनि कानूनद्वारा दण्डित गरियो। यदि कानूनको आँखा भैदिएको भए उनले बिँडामुनि औंठी राखिदिएको थियो भन्थ्यो होला। अनि फेरि कानूनले भन्थ्यो होला मणिको माला उनले चोरेको छैन भनेर। अनि कानूनको मुटु भैदिएको भए उनलाई दण्ड दिनबाट रोक्थयो होला र यी राजा हुन् भन्थ्यो होला। तर अज्ञानवश ती दयावान राजालाई त्यसदेशको चोरलाई दण्डित गर्ने कठोर कानून अनुसार चार हातपाउ गिंडेर चौ बाटोमा एउटा ठूलो साइनबोर्ड लेखाएर राखियो। साइनबोर्डमा लेखियो—यो महान् अपराधी चोर हो, यसले पानी भनेको बेलामा मुखमा पिसाब गरिदिनु र कसैलाई एकमुठी केही दिन मन लागे एकपल्ट अनुहारमा थुकि लात्तले हानेर दिनु। सयौं वर्ष अघाडिदेखि चलाइएको त्यसदेशको त्यस्तो कानूनको डरले त्यहाँ कोही पनि चोर थिएनन्। त्यसैले होला साइनबोर्डमा लेखिएजस्तै गरेर चौबाटोबाट आवत जावत गर्ने मान्छेहरूले बिचरा राजालाई त्यसै गर्न थाले। दिनभरिको प्रचण्ड गर्मी, घाम, र रातभरिको शीत, आँधीवेरी,वर्षा आदिको मारमा राजाले दिन बिताउन बाध्य हुनु पर्यो। उनी केही शीतल अवस्था भएको बेला अथवा रातको बेला आफ्नो देश,आफ्ना प्रिय जनता, दरवार अनि आफ्नी पा्रणभन्दा प्यारी रानीलाई सम्झन्थे। अहिले मेरी रानी सुनको पलंगमा मलमल कपडामा पल्टिएर मेरा स्वामि कहाँ जानुभयो होला भन्दै छट्पटिंदै होलिन्। कठै ती मेरा छोराछोरीहरू हाम्रा वुवा हामीलाई छोडि कहाँ जानुभयो होला भनेर रुँदैहोलान्। अनि देशवासीहरू मेरो अनुपस्थितिमा खाँचोको अनुभव गर्दै होलान् तर हाय विधाता आज म यस्तो अवस्थामा यहाँ मरिराखेको छु। यदि पक्कै भगवान छन् भने मेरी पत्नीसँगको गहिरो प्रेम र मिलन साँचो थियो र छ भने लु त मेरी रानी यहाँ अहिले नै आएर मलाई उठाएर लैजाऊ त मेरो दरवारमा अनि मेरा छोराछोरीलाई पनि वावाको माया पक्का लाग्छ भनें अहिले नै मलाई आएर बोक त। मैंले छोराछोरीसरह भरणपोषण गरेका मेरा देशवासीहरू यदि म तिमीहरूको राजा थिएँ भनें मलाई किन यस्तो अवस्थामा पनि किन केहीगर्न सक्तैनौ। आदि आदि बिलौना गर्दै आँशुका धाराहरू गालाबाट भुईंमा झार्थे। यदि हात राखिदिएको भएपनि त ती बिचरा राजाले गालाको आँशु पुछ्नसम्म त पाउँथे तर त्यो पनि त उनी गर्न सक्दैनन्। अनि फेरि फेरि रानीलाई सम्झन्थे, मेरी प्रिय रानी मलाई लगेर काखमा सुताउन अनि मेरो गालाको आँशु पुछिदेउन भन्दै भन्दै करुणा र बिलौनाले रात काट्थे।


चक्रवर्ती राजा पनि सत्यतामा अडिग रहने राजा थिए। त्यसैले उनले सत्यराजा हरिश्चन्द्रको कथा पढेका थिए। कथामा राजा हरिश्चन्द्रका सन्तान हुँदैनन्। सन्तान प्राप्तिको लागि राजाले एकजना वरुण ऋषिसँग आग्रह गर्दा तिमीलाई छोरी मात्र मिल्छ छोरा छैनन् भन्छन्। राजाले मलाई छोरा नैं दिलाई दिनु भनेपछि छोराको मुखसम्म हेर्न पाउँछौ तर उसलाई बलिदिनुपर्छ भन्छन्। राजाले यदि सन्तानको मुख हेर्न पाउँछु भने म त्यसै गर्न तयार छु भन्छन् र सन्तान जन्मेपछि ती ऋषिले लाने सर्त गरिन्छ। समय बितेपछि राजाको सन्तान हुन्छ। राजा, रानी र सम्पूर्ण देश नै खुशीले मनाइरहेको बेला तिनैं ऋषि वालक लिन आइपुग्छन्। राजाले न्वारान् गर्न पाउँ भन्छन्। ऋषि फर्कन्छन्। विधि अनुसार न्वारान हुन्छ, उसको नाम रोहित राखिन्छ। ऋषि फेरि आउँछन्,दाँत उम्रन दिनु भनिन्छ। यसरी ५पटकसम्म ऋषि त्यसै फर्कन्छन्। अब उसको ब्रतबन्ध गर्न ठिक गरिन्छ। आफूलाई मार्छन् भन्ने साथीहरूबाट उसले चाल पाउँछ र ब्रतबन्धको एउटा विधिमा १२ वर्ष वनवास जानु भन्ने विधिमा आइपुग्दा रोहित भागेर वनवास जान्छ। राजा हड्बडाउँछन्। ऋषि अघि नैं आइसकेका हुन्छन्। राजा कबोल पुरा गर्न असमर्थ हुन्छन् र ऋषि श्राप दिन तयार हुन्छन्, नभए एउटा ब्राम्हण पुत्र किनेर ल्याउभन्दा एउटा ब्राम्हण पुत्र किनेर ल्याइन्छ र बलि दिने यज्ञ थालिन्छ। त्यो बालकलाई एउटा खम्बामा बाँधिएको हुन्छ। आफूलाई मार्ने कुरा चालपाइ अत्यन्तै रोइरहेको हुन्छ। जब बलि दिने बेला आउँछ, बलि दिने मानिस कोही तयार हुंदैन। त्यसैबिच त्यही बच्चाको बाबु मलाई त्यति नैं पैसा दिनेभए म बलि दिन्छु भनेर अघाडि आउँछ। त्यहाँ उपस्थित सबैले उसलाई लोभी, पापी, अधम, नीच, आफ्नो सन्तान्लाई बेचेर पनि अँझै पैसाको लोभले मार्न पनि तम्सन्छस् भनेर हो हल्ला गर्छन्। त्यतिखेर त्यहाँको वातावरण अत्यन्तै तनाव र दूःखदायी बनेको हुन्छ। त्यहीबेला विश्वामित्र ऋषि उपस्थित हुन्छन्, उनले अब मार्नु पर्दैन भनेपछि त्यो बालकले मेरो बाबु अब को हो भन्छ। बेच्ने बाबु हुँदैन, मार्नकालागि किन्ने पनि बाबु हुँदैन भने जसले ज्यान बचाउँछ त्यही बाबु हुन्छ भनिन्छ र विश्वामित्र ऋषिले उसलाई लान्छन्। राजा अत्यन्तै सत्यवादी र दानी भएका कारण एउटा ऋषिले छल गरी आफ्नी छोरीको विवाहको निम्ति राजासँग दान माग्छ। राजाले उसलाई के चाहिन्छ र कति चाहिन्छ भन्छन्। उसले सबै देश र भूयसी दान समेत माग्छ। राजाले हुन्छ भन्छन्। भोलि बिहानैं त्यो घरमा आउँछ। राजाले रानीलाई सबै भनेका हुन्छन्। भने बमोजिम सबै दान दिइन्छ तर अन्त्यमा दान प्रतिष्ठा भनेर दिनुपर्छ त्यो पनि देऊ भन्छ तर राजासँग अब केहीपनि हुँदैन र राजाले एक महिनाको म्याद माग्छन् अनि सबै देश छोडि राजा रानी र रोहित सहित काँशीतिर लाग्छन्। यस बिचमा आफूलाई अब मार्दैनन् भन्ने खबर पाएको हुँदा रोहित घर फर्केको हुन्छ। दिएको म्याद आइपुग्छ, त्यो ऋषि भूयसी दान लिन त्यहीँ पुग्छ। राजाले रानीलाई बेच्न बाध्य हुन्छन्। त्यो बेचेको सम्पति उसले लिन्छ तर यो त अघाडिको हो अब त्यो भूयसी दान त दिनैं पर्यो भनेर अड्को थाप्छ । राजा आफैं एउटा पोडेसँग बेचिन्छन् र त्यो ऋषिलाई दान दिएर राजा पोडेको घरमा गएर अत्यन्तै दुःखका साथ नीच कामहरू गर्न थाल्छन्। उता रानी पनि नोकर्नीका रुपमा काम गरिरहेकी हुन्छिन्। रोहित आमासँगै बसेको हुन्छ। एकदिन साथीहरूसँग बनमा खेल्न जान्छ। त्यहाँ उसलाई सर्पले टोकेर मर्छ। साथीहरूले घरमा आएर रानीलाई सुनाउँछन्। रानीलाई मालिकले काम सिध्याएर जा भन्छ। रानी काम सकि मध्यरातमा रोहित भएठाउँमा रुँदै पुग्छिन्। उनी धेरै रुन्छिन्। गाउँलेहरूले सुन्छन् र त्यहाँ गएर रानीलाई सोध्छन् तर रानीले सबैकुरा भन्न सक्दिनन्। भन्न नसकेको र रोहिरहेको कारणबाट यो आइमाई त बालक खाने पो रहिछ, यसलाई मार्नुपर्छ भनेर लछार पछार पारेर गाउँलेहरूले रानीलाई त्यही पोडेकोमा पुर्याउँछन्। पोडेले राजालाई त्यो आइमाईलाई मार भन्छ। तर राजाले अरु सबैकाम गर्छु स्त्री हत्या गर्दिन भन्छन्। पोडेले राजालाई हप्काउँछ। राजा अत्यन्तै दूःखित हुदै रानीलाई काट्न खड्ग उचाल्छन् तर राजा र रानीको चिनजान भएको हुदैन। रानीले मलाई मार्ने भए मेरो छोरा लिएर आउँछु अनि मार्नु भन्छिन् र राती नैं मृत छोरा बोकि त्यहीँ आइपुग्छिन्। रानीले मेरो छोरा रोहित मलाई छोडि गइस, उता राजाको के हाल होला भन्ने बिलौना गरेको सुन्दा राजा र रानीको चिनजान हुन्छ। रानीले सत्यको सधैं जित हुन्छ, तपाईंले मालिकको आज्ञा पालन गर्नुपर्छ, अब मलाई मारिदिनु भन्छिन् तर राजा सक्दैनन् र राजा रानी एउटै चितामा मृतछोरासँग जल्न तयार भएको बेला जसले राजाको सत्य थाहा पाउँन यो सबैकाम गरेको थियो ती सबै देवताहरूकासाथ उपस्थित हुन्छन्। अनि अमृत छर्कि रोहितलाई ब्यूँझाइन्छ र अन्यमा राजा हरिश्चन्द्र पार तर्छन् भन्ने कुरा उनले कथामा पढेका थिए। तर उनी त्यस कथालाई कथाकै रुपमा राख्थे। तर आज त्यो काल्पनिक कथा होइन रहेछ वास्तविक कथा तर आजभन्दा धेरैवर्ष अघाडिको कथा रहेछ वा घटना रहेछ भन्छन्। किनकि केही समय अघाडि उनी एउटा त्यस्तै सत्यराजा थिए र आज उनले त्यस्तै दूःखको घटना भोग्नु परिरहेछ।


आखिर सबै मान्छे निर्दयी वा पापी पनि त पक्कै हुँदा रहेनछन्। हजारौंमा एक त धर्मी नैं पनि हुँदोरहेछ। राजालाई जहाँ चौबाटोमा राखिएको थियो त्यसको केही पर एउटा तेलिको घर पर्थ्यो। उसको काम रातभरि तेल निकाल्नु थियो तोरी पेलेर। धेरै समय भएपछि राजा आफ्नो पीर, ब्यथा, वेदनालाई बिर्सन राती भएपछि गीत गाउँन थाले। उनको गीतमा वेदना भरिएको हुन्थ्यो,पिर गाँसिएको हुन्थ्यो, माया पोखिएको हुन्थ्यो अनि आँशु छचल्किएको हुन्थ्यो। तेलीले सोच्यो बिचराले लोभले वा अन्जानले चोरि गर्यो। अहिले दूःख पायो। ऊ पनि त एउटा आत्मा भएको मान्छे नैं हो। अहिले म पनि चोर भएको भए मेरो पनि यस्तै दशा हुन्थ्यो। बिचरालाई यहाँ ल्याउनु पर्यो। केही खान दिनु पर्यो। रातभरि गीत गाउँछ। म पनि एक्लै छु। रातभरि काम गर्नु पर्छ। मेरो साथी पनि हुन्छ। यस्तै यस्तै सोचेर एकरात त्यो तेलिले राजालाई बोकेर उसका घरमा ल्यायो, नुहाइदियो, घाउमा दवाइ लगाइदियो अनि तेल पेलेको पिनामाथि राखिदिन थाल्यो। राजा त्यही पिना खान थाले। अलिक बलिया पनि भए। झन् राम्रोसँग गीत गाउँन सक्ने भए। तेलि रातभरि राजाको गीत सुन्दै आफ्नो काम गर्न थाल्यो। समय बित्तै गयो, राजा र तेलिको यही क्रम चलिरह्यो। तेलिको घरको सिधा पश्चिम केही पर त्यसदेशका राजाको दरवार थियो। राजाकी एउटी छोरी थिई। चक्रवर्ती राजाले गीत गाएको त्यो छोरीले रातभरि सुन्ने गर्थी। उसलाई ती गीतहरू असाध्यै मार्मिक र मिठा लाग्थे, तर त्यो गीत गाउने मान्छे को हो, त्यसले कहाँबाट गाएको हो, त्यो मान्छे कस्तो छ इत्यादि कुरा त्यसले केही जाने बुझेकी थिइन। उसले गीत सुनेर नैं मनमनमा बाचा गरिसकि कि म त्यही मान्छेसँग बिहे गर्छु भनेर। उसले आफ्नो निर्णयको कुरा आमालाई सुनाई। रानीले राजालाई सुनाइन्। रानी र राजालाई पनि के थाहा त्यो मान्छे को हो भन्ने। तर गीत चैं सबैले सुन्नेगरेका थिए र गीतलाई निकै मन पनि पराउँथे सबैजना। राजाले छोरीको चाहना अनुसार त्यो मान्छेलाई ल्याउनु दरवारमा भनेर मन्त्रीलाई अराए। आदेश अनुसार मन्त्री लिन आयो, तर डुंडे मान्छे छ, उही अस्तिको चोर। तर राजाको हुकुम, मन्त्रीले राजा चक्रवर्तीलाई दरवारमा पुर्यायो। देख्नासाथ सबै तीन छक्क परे। राजा र रानीले त लैजा त्यहीँ पुर्याइदे भनेका थिए तर छोरीले मनमनै मेरो लोग्ने त्यही होस् भनेर बाचा गरेको हुँदा फर्काउन दिइन। आफ्नो कर्मको फल आफैं भोग्नु पर्छ भनेर चित्त बुझाई। राजा अब ज्वाँइको मान पाएर छोरीको सेवा टहलमा दरवारिया खाना खाएर आनन्दसँग रहन लागे।
केही समय पछिको कुरा हो एकदिन त्यस देशका राजाकी छोरीले एउटा अनौठो सपना देखिन्। सपनामा चारवटी लक्ष्मीहरू आपसमा झगडा गर्दै आइरहेको देखिन्। झगडाको कारण थियो — हामी चारजना लक्ष्मी मध्ये सबभन्दा ठूली चैं कुन लक्ष्मी हौं भन्ने। एक आपसमा आफू आफू नैं म ठूली हुँ भनेर घमण्ड देखाउँदै थिए। ती चारवटै लक्ष्मीहरू आएर सपनामै ती राजाकी छोरीलाई भनेछन्ः– “कि हेर कुमारी हामी चार लक्ष्मी मध्ये को ठूला हौं त्यसको छिनोफानो लगाउन यो देशको राजाले पनि सक्दैनन्, यो दरवारमा एउटा चार हातपाउ नभएको मान्छे छ, त्यसले मात्रै सक्छ, आजका सात दिनका दिन हामी वास्तविक रुपमा प्रकट हुन्छौं र निर्णय लिन आउँछौं, त्यो मान्छेलाई यो दरवारको फलानो ठाउँमा राखिछाड्नु र अरु सबै दरवारबाट बाहिर निस्कनु। यदि त्यसबेला अरु कोही दरवारमा बसेछ भने तुरुन्त मर्नेछ” भनेर अलप भएछन्। छोरीले सपनामा देखेको कुरा सबैलाई सुनाई। सबैले यो कुरा विश्वास गरे किनभने यसभन्दा अघाडि पनि धेरैचोटि सपनामा देखेको कुरा उसले भनेपछि वास्तविक हुन्थ्यो त्यसैले राजा रानीले त्यो छोरीको नाम पनि सपना राखिदिएका थिए।
भनेको दिन आइपुग्यो। लक्ष्मीहरूले भनेको ठाउँमा चक्रवर्ती राजालाई राखियो। कुमारी सपनाले ती राजालाई बृतान्त कुरा सुनाएकी थिई। चक्रवर्ती राजा पनि कम बुद्धिका मात्रै कहाँ थिएर, दैव लागेर पो उनलाई यस्तो अवस्थामा रहनु पर्यो त। उनले बाँकी छ वटा दिनहरूमा खुब सोचे, दिमाग लगाए, अनि आफू कसरी ठिक भइन्छ भन्ने बारेमा पनि खुब सोचे। भनेको समय आयो। चारवटी लक्ष्मीहरू— गौ लक्ष्मी, अन्न लक्ष्मी, द्रब्य लक्ष्मी र निद्रा लक्ष्मी आए। दरवारबाट अघिनैं सबै निस्किसकेका थिए। राजाले लक्ष्मीहरूलाई अर्कै कोठामा बस्न अह्राए। अनि पालैपालो आउन भने। सबभन्दा पहिले राजाले गौ लक्ष्मीलाई बोलाए। गौ लक्ष्मी आइन्। राजाले सोधे, तिमी केगर्न सक्छ्यौ, उनले भनिन्— महाराज म जे पनि गर्न सक्छु। राजाले भने त्यसोभए मेरो दाहिने हात जस्ताको तस्तै बनाउ त। लक्ष्मीले तुरुन्त बनाइदिइन्। राजाले भने स्यावास्। तर त्यो दोमुखी गाई नदीमा बगेर त्यस्तो अवस्थामा आइरहँदा तिमी कहाँ गएकी थियौ र मैले बल्लबल्ल तानेर निकाल्नु पर्योभन्दा लक्ष्मी चुप भइन्। राजाले भने तिमी त फटाहिरहिछ्यौ, जाऊ, भनेर

पठाइदिए। अब पालो आयो द्रब्य लक्ष्मीको। उनलाई पनि राजाले बोलाएर के गर्न सक्छ्यौभन्दा लक्ष्मीले जे पनि गर्न सक्छु भनेपछि आफ्नो देब्रेहात बनाउन लगाए। देब्रेहात तयार भयो। अब राजाले सोधे त्यो पसलेको घरमा सुनको मयुरले मणिको दाना खाएर मलाई चोर लगाएको बेला तिमी कहाँ थियौ र मैंले यस्तो दूःख पाउनु पर्योभन्दा लक्ष्मी चुप। उनलाई पनि राजाले फटाहि बनाएर पठाए। अब पालो आयो अन्न लक्ष्मीको। उनलाई पनि राजाले तिमी के गर्न सक्छ्यौभन्दा जे पनि गर्न सक्छु भनेपछि मेरो दाहिने खुट्टो बनाउ तभन्दा दाहिने खुट्टो तयार भयो। राजाले भने त्यो चौबाटोमा मलाई चार हातपाउ गिंडेर लडाएको बेला कसैले पनि केही अन्न अथवा केही खानेकुरा पनि दिएन। मैंले कति दिनसम्म त भोकभोकै बाँच्नु पर्यो, त्यतिबेला तिमी कहाँ गएकी थियौभन्दा लक्ष्मी चुप। उनलाई पनि राजाले तिमी बेकामे रहिछ्यौ भनेर पठाए। अब पालो आयो निद्रा लक्ष्मीको। अघिको जस्तै उनले पनि राजाको देब्रे खुट्टो बनाइदिइन्। राजा अब अघि झैं चक्रवर्ती राजाका रुपमा परिणत भए। अनि राजाले सोधे लक्ष्मी त्यो डुँडे मान्छे चौबाटोमा र तेलीको घरमा रहेको बेलामा रातभरि कराउँदै, चिच्याउँदै, बेलाबेलामा डाहा शान्त पार्न गीत पनि गाउँदै रातभरि बिताउँथ्यो। त्यसबेला तिमी कहाँ गएकी थियौभन्दा लक्ष्मी भन्छिन् महाराज म त्यतिबेला त्यहीँ थिएँ, किनकि त्यो मान्छे उज्यालो हुने बेलामा एकछिन् निदाउने गर्थ्यो। भनेपछि राजाको चित्त बुझ्यो किनकि उनी सधैं एकछिन् अवश्य निदाउँथे। त्यसरी चार लक्ष्मी मध्ये निद्रा लक्ष्मी सबैभन्दा ठूली लक्ष्मीका रुपमा विजयी भइन् र लक्ष्मीहरूको झगडा पनि मेटियो। अर्थात सबै मान्छेलाई जस्तोसुकै आपद बिपद, झोझ झमेला, दूःख, कष्ट, पीर ब्यथा आउँदा पनि एकछिन भएपनि अवश्य निदाउने गर्छ यो कुरा धु्रव सत्य हो। त्यसपछि चक्रवर्ती राजाको साढेसातको शनीदशा पनि त्यही दिन देखि सकियो र त्यसैदिन त्यही सपनालाई विवाह गरी आफ्नो देशतिर फर्किए अरे भन्ने सुनियो। धन्यवाद।।

1 thought on “दशा”

  1. दशा | मझेरी डट कम
    I have been browsing online more than 4 hours today, yet I never found any interesting article like yours.

    It’s pretty worth enough for me. Personally, if all webmasters and bloggers made good
    content as you did, the web will be a lot more useful than ever before.

    Here is my blog post michael kors australia

Leave a Reply

Your email address will not be published. Required fields are marked *