यहाँ मान्छे
पैसाको बुइ चढेर
डुक्रिन्छ साँढे गोरु झैं ।

यहाँ मान्छे
पैसाको धाक र रवाफमा
मातेको छ गरीबको
रगत र पसिना पिएर ।

गन्दैन ऊ
पैसा नहुनेलाई ।
भकुण्डोझैं लत्याउँछ
दयाको भीख माग्नेलाई ।

बिर्सियो नातागोता
चपायो सबै मानवता ।
बनायो धुलो पिठ्ठो
आदर, स्नेह र ममता ।

कुर्लिन पाए पुग्छ उसलाई
बिषालु बचन प्रहार गर्दै ।
डस्न पाए पुग्छ उसलाई
अरुको मानवअधिकार थिल्थिल्याउँदै

पैसाकै भरमा आज ऊ
अहंकारको बृक्षारोपण झन्झन् फैलाउँछ ।
सहानुभूति र समवेदनाका डोबहरु झन्झन् मेटाउँछ
प्रेमको स्वच्छ सागरलाई साउने भेलझैं धमिल्याउँछ ।

क्रोध र आक्रोसले भरिएको,
पैसाको उन्मादले लठ्ठिएको,
उसको दिमागलाई
खै ! के ले पखाल्ने हो ?

टीका खरेल सुवेदी
कुलेश्वर काठमाण्डौं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *