Skip to content

छोरीको मृत्युपछि दुःखका दिन सुरु भए

  • by


‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने नेपाली उखानको ठिकविपरित मलाई जीवनको अन्त्यमा एक्लिनुपर्छ भन्ने कहाँ थाहाँ थियो र ! उसो त हामी आफ्नो बुवाको पाँचभाइ दाजुभाइ थियौँ । ‘जेठो’ म आफैँ थिएँ । तर जीवनको आरोह-अवरोहले हामीलाई छिन्नभिन्न तुल्याईदियो । जीवनको शुभारम्भमा परिवारका सदस्यहरूसँग जीवन व्यतीत गर्ने अवसर पाइए पनि अन्तिम अवस्थामा परिवारबाट टाढिनु पर्‍यो । एक्लिनु पर्‍यो । परिवारको साथछँदा त्यति वास्ता नभए पनि एक्लो जीवन बाँच्नु परेपछि त्यसको अभाव खड्किदो रहेछ । मेरो जीवनमा त्यस्तै भइदियो । अहिले म एक्लो, नितान्त एक्लो जीवन जिउन बाध्य छु । परिवार, साथीसँगी तथा छोरा बुहारी, नाति नातिना सबै पराई भएका छन् । विराना भएका छन्, लाग्छ जीवनको एक्लो यात्री मै भएको छु ।

वि.सं. २००५ सालमा थारूहरूको सङ्गठन थारू कल्याणकारिणी सभा गठन हुँदा म २१ वर्षको थिएँ । सङ्गठन खोल्ने अभ्यास त्यस अगाडिदेखि भए पनि आपचौरिक रूप २००५ सालमा पाएको थियो । अझ दर्ता त त्यस पछाडि नै भएको हो । सानै उमेरमा मेरा राजनीतिक जीवनको शुरूवात भए पनि शुरूमा कुनै राजनीतिक सङ्गठनमा लाग्नु अगाडि यस्तै जातजातिका संगठन र क्लवमै सक्रिय भइयो । विस्तारै सङ्गठित हुने चेतना पनि बढ्यो । वि.सं. २००७ सालको क्रान्ति हुँदा सम्भवतः म एक्लो थारू थिएँ हुँला जो काठमाडौँमा आएर राणाविरूद्ध आन्दोलनमा समाहित भएको थिएँ । राणाहरूको तानाशाही र निरंकुश जहानिया शासनलाई सहन नसकी २००७ सालको क्रान्ति सफल पारेका थियौँ । सात सालको क्रान्तिको बेला म एकदम लक्काजवान थिएँ । मलाई अझै झझल्ती याद आउँछ, आन्दोलनको क्रममा एक नेवारको घरमा लुक्नपुग्दा एकजना आईमाइले मलाई हात समातेर भित्रै तानेकी थिइ ।

सात सालको क्रान्तिका सफलता पश्चात् देशमा अमयनचयन भयो । राजनीतिक दलहरूले पनि आफ्नो हाङ्गाविङ्गा फैलाउने सुर कसे । वि.सं. २००४ सालमा भएको नेपाली काङ्ग्रेसको गठनपश्चात् देशमा सङ्गठनात्मकरूपमा काङ्ग्रेसको चहलपहल बढ्यो । त्यतिबेलाका काङ्ग्रेसी नेताहरू अधिकांश भारतको बनारस तथा कोलकोत्तामा गएर अध्ययन गर्थे । म पनि सोही बेला भारतमै गएर अध्ययनरत थिएँ । भारतको उत्तर प्रदेशस्थित बलरामपुरबाट मैले म मेट्रिक पास गरें । उच्च शिक्षा पनि बनारसकै हिन्दू विश्वविद्यालयबाट लिएँ । ग्रेजुएशन पनि मैले सोही विश्वविद्यालयबाट पास गरें । सो क्रममा थुप्रै नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट हुने गथ्र्यो । साथीभाइसँगको भेटघाट र सक्रियतासँगै विस्तारै म पनि काङ्ग्रेसी राजनीतिमा प्रवेश गर्ने सोच बनाउन थालेको थिएँ । यद्यपि मैले काङ्ग्रेसमा प्रवेश भने आधिकारिक रूपमा वि.स. २००९ सालमा मात्रै गरेको थिएँ ।

वि.सं. २००९ सालको नेपाली काङ्ग्रेसको जनकपुरमा भएको महाधिवेशनमा दाङ जिल्लाको प्रतिनिधिको हैसियतले भाग लिने मौका मिलेको थियो । सोही साल नै काङ्ग्रेसको केन्द्रीय कमिटी सदस्यमा समेत मनोनीत हुने अवसर पाइएको थियो । राजनीतिक जीवनमा सक्रिय भएपछि वि.सं. २०१५ सालको प्रथम आमनिर्वाचनमा दाङ जिल्लाकै क्षेत्र नं. १ बाट म प्रतिनिधिसभामा निर्वाचित पनि भएँ ।

वि.सं. २०१६ सालमा विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रीकालमा म शिक्षामन्त्रीको जिम्मेवारी पाए पनि काम गर्न साह्रै समस्या थियो । आफ्नो तजबिजले काम गर्न पाईंदैनथ्यो । वि.सं. २०१७ सालको राजनीतिक परिवर्तनका कारण नौ वर्ष भारतमा निर्वासित जीवन विताउनु पर्‍यो । त्यतिबेला सुवर्ण शम्शेरको नेतृत्वमा प्रजातन्त्र पुनस्र्थापनाका लागि आन्दोलन गर्नुपरेको मलाई स्मरण छ । वि.सं २०१८ सालमा भारतको पटनामा भएको महाधिवेशनले सुवर्ण शम्शेरलाई नेपाली काङ्ग्रेसको कार्यकारिणी अध्यक्षमा चुनेपछि मैले महामन्त्रीको जिम्मेवारी पाएको थिएँ । त्यतिबेलाको राजनीतिक जीवन एकदम कठोर थियो । वि.सं. २०३८ सालसम्म २० वर्ष म निरन्तर काङ्ग्रेसको महामन्त्री भएर जिम्मेवारी वहनगर्दा निकै समस्या र चुनौतीसँग सामना गर्नुपरेको थियो । वि.स. २०२५ सालमा तत्कालीन राजा महेन्दले आममाफीको घोषणा गरेपछि हामी भारतको निर्वासित जीवनबाट मक्त भई स्वदेश फर्केका थियौं ।

२०३६ सालको जनमत सङ्ग्रहमा नेपालको धेरै जिल्ला घुम्ने मौका पाइयो । बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्ने एउटा सुअवसर पनि त्यही जनमत सङ्ग्रहले जुराई दियो । सुवर्ण शम्शेरले वि.पी. कोइरालालाई कांग्रेसको सभापतिमा मनोनित गरेपछि म वरिष्ठ महामन्त्री र गिरिजाबाबु महामन्त्रीमा चयन भयौं । त्यतिबेला बालिग मताधिकारको आधारमा भएको चुनावमा भाग लिनुपर्छ भन्ने अडान मैले लिएको भए पनि काङ्ग्रेसले चुनाव वहिष्कार गर्ने नीति लियो । सोही मतभेदले मलाई काङग्रेस पार्टी त्याग गर्ने सम्मको वातावरण सृजना गरिदियो । मतभेद झाङ्िगदै गएपछि म २०३८ सालमा सुधारिएको पञ्चायत व्यवस्थातिर लम्किएँ । २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले मलाई राष्ट्रिय पञ्चायतमा मनोनीत गरेपछि पुनः विभिन्न मन्त्रलयको जिम्मेवारी सम्हाल्ने अवसर पाएको थिएँ ।

वि.सं. २०४३ सालको मरिचमानसिंह श्रेष्ठको प्रधानमन्त्रीकालमा पुनः आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हालें । एक वर्ष वित्न नपाउँदै सो मन्त्रीमण्डल विघटनभयो । २०४४ सालमा पुनः श्रेष्ठकै प्रधानमन्त्रीमा अर्को मन्त्रीमण्डल गठन भएपछि म बाणिज्य, श्रम तथा सामाज कल्याणमन्त्रीको जिम्मेवारी सम्हालें । राजनीतिक उथलपुथल तथा खोसिएको प्रजातन्त्रका लागि हामी भित्रभित्रै सक्रिय भए पनि सोचेअनुसार काम गर्ने वातावरण बनेन । तत्कालीन राजाहरूकै इच्छाअनुसार शासनसत्ता सञ्चालन हुन्थे । २०४५ देखि २०४६ सम्म मरिचमानसिंह श्रेष्ठकै प्रधानमन्त्रीमा गठित मन्त्रीमण्डलमा पुनः मैले शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी पाएँ । पटक-पटक मन्त्रीमण्डलमा सहभागी हुने मौका पाए पनि आफूले चाहेजस्तो आम नागरिकका लागि काम गर्न सकिएन । काम गर्ने वातावरण समेत बनाउन सकिएन । त्यतिबेलाको राजनीतिक परिस्थिति बेग्लै खालको थियो । पञ्चायती व्यवस्थातिर लागे पनि आन्तरिक रूपमा म सो व्यवस्थाबाट पनि सन्तुष्ट हुन सकेको थिइन ।

२०४६ सालको जनआन्दोलनपछि काङ्ग्रेसका केही नेताहरूको अनुरोधमा म पुनः कांग्रेसमा प्रवेश भएँ । करिब छ महिनाको अवधिमा काङ्ग्रेसभित्रको गुटबन्दी र खिचातानीले मलाई पुनःसन्तुष्ट पार्न सकेन । किशुनजीको विशेष आग्रहमा म कांग्रेसमा प्रवेश भएको भए पनि गिरिजाबाबुहरूको असहयोगले मलाई पुनः काङ्ग्रेस छाड्न बाध्य बनाई दियो । २०४८ सालको निर्वाचनमा मलाई टिकटसमेत काङ्ग्रेसले दिन मानेन । मलाई टिकट नदिएर हरिबाबु चौधरीलाई टिकट दिइयो । सोही कारण म पुनः काङ्ग्रेस त्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीतिर लाग्न बाध्य भएँ । त्यसपश्चात् लामै समय घरायसी जीवन विताएँ । घरमा दाजुभाइसँगै मिलेर कृषि काम गरेरै विताएँ । गोबरडिहा -८, दाङ देउखुरीमा मेरो घर र खेतीपाति थियो । अहिले पनि जग्गा जमिन त छ तर उपयोग गर्न पाएको छैन । सशस्त्र द्वन्द्व सुरू भएपछि घरजग्गा कब्जा भयो र अहिले पनि त्यो त्यस्तै लथालिङ्ग अवस्थामा छ ।

काङ्ग्रेस परित्याग गरेपछि म पुनः थारू कल्याणकारिणी सभामा सक्रिय भएँ । ०४९ देखि ०५३ सम्म म सभाको अध्यक्ष भएँ । त्यस अगाडि पनि ०४३ देखि ०४८ सम्म म महामन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेको थिएँ । अहिले म सो सभाको मानार्थ सदस्य र सल्लाहकार पनि छु । राप्रपामा प्रवेश भएपछि पनि म आफ्नै दाङ् क्षेत्रबाट राजनीतिमा सक्रिय थिएँ । ०५२/०५३ को निर्वाचन मैले खुमबहादुर खड्कासँग लडेको भए पनि पराजित भएँ । सोही क्षेत्रबाट मेरै भतिजो खेमनारायण चौधरीलाई नेकपा (माले) बाट उभ्याइदिएपछि मेरो मत काटिएको थियो । दुई छोरा र एक छोरीको बुवा म र मेरो परिवारलाई त्यतिबेला खासै समस्या थिएन । छोराछोरी हुर्किसकेका थिए । २०५८ सालमा जेठो छोरा असुतोषनारायणलाई डिभी पर्‍यो र उ पनि अमेरिका गयो । अर्को छोरा सुभाष पनि पढ्न भनी विदेशतिर लाग्यो । छोरी कल्पना चौधरीको भने विवाह गरिदिएँ ।

२०५९ साल असोज १० गते बस दुर्घटनाले छोरी परालोक भइन् । कुरिन्टार क्षेत्रमा दाङ जाने क्रममा बस त्रिशुलीमा खसेर उनको मृत्यु भएको थियो । लाग्छ मलाई मेरो दुःखका दिनको सुुरूवात पनि त्यही घटनाबाट सुुरू भयो । लगत्तै दुई वर्षपछि मेरो श्रीमती २०६१ चैतमा बितिन् । छोराबुहारीहरू सबै विदेश भएका बेला घरमा एक्लो श्रीमतीको पनि देहान्तपछि त मेरो जीवनमा झन एक्लोपन शुरू भयो । आमाको देहान्तपछि छोराहरू विदेशबाट आए पनि काजक्रिया गरेर पुनः विदेशतिरै फर्किए । हुन त म २०५९ साल फागुन ७ गते राजपरिषद् स्थायी समितिको सभापतिमा नियुक्त भइसकेको थिएँ । खान बस्न र भौतिक सुख सुविधाको केही कमी नभए पनि पारिवारिक चिन्ताले मलाई खुशी हुन दिएको थिएन । ०६२/०६३ सालको जनआन्दोलनको सफलतासँगै स्थायी समिति पनि विघटन भयो । राजपरिषद्को सभापति भएकै बेला ०६२ साल फागुन ११ मा म एक्लो जीवनलाई कठिनाई भएपछि एकजना सुसारे मुना खत्रीलाई भित्र्याएको थिएँ । श्रीमान् र छोराको मृत्यु भइसकेकाले ऊ पनि एक्लो जीवन बाँचिरहेकी थिई । राजदरवारमा कार्यरत कार्यकर्ता तथा मेरै पिएहरूले मुनासँगको भेटघाटको अवसर जुराइदिएका थिए ।

वि.स. १९८४ मंसिर ११ गते जन्मेको म अहिले म ८४ वर्षको भएँ । भक्तपुरको लोकन्थलीस्थित १४ आना १ दाममा बनेको दुईतले घरमा बस्दै आए पनि मेरो जीवनको अन्तिम क्षण निकै कष्टकर छ । छोराहरूको अत्तोपत्तो छैन । घरमा सुसारेको बलमा शौचालय जाने र ओछ्यानको सहारा भएको छु । जीवनको अन्तिम घडीमा समेत राष्ट्रले राजनीतिक समस्याबाट मुक्ती पाउन नसकेपछि भने आफ्नो जीवनभन्दा पनि ठूलो चिन्ता देश र जनताको लाग्छ । राष्ट्र र जनताका लागि आफूले सारा जीवन व्यतित गरे पनि आम नागरिकको जीवनमा खासै तात्विक परिवर्तन हुन नसकेको देख्दा साह्रै चिन्ता लागेको छ ।

प्रस्तुती ः लक्की चौधरी

शनिबार, गोरखापत्र
श्रावण २१, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *