बालसाहित्य-सर्जकका रूपमा गोपाल पराजुली पृथक् परिचय बनाइसकेको नाम हो । तर, पछिल्लो समय बालसाहित्यमा मात्र उनको कलम सीमित भएन । केही राष्ट्रिय विभूतिहरू ३ भाग प्रकाशित गरसिकेपछि उनले पाँच प्रसिद्ध वैज्ञानिकहरूको जीवनी पनि लेखे र छ भागमा हाम्रा प्रसिद्ध साहित्यकारहरूलाई पनि समेटे । यसबाहेक समयका डोबहरू कवितासंग्रहमार्फत उनले काव्य क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाइसकेका छन् । तर, ६६ वर्षे उत्तरवयमा भने उनले विषय छाने, ‘मान्छे’ । हुन त मान्छेलाई बुझ्न सजिलो छैन । बुझ्नलाई त्यसका लागि ज्ञान र अध्ययनका साथै एउटा निश्चित उमेर पनि पार गरेको अनुभव पनि चाहिन्छ । सायद यसै भएर होला, कुनै समय बालसाहित्यमा शब्दहरू खेलाउने पराजुली अहिले मान्छे र उसको योगदानका पक्षमाथि कलम चलाउन थालेका छन् । त्यो पनि अनवरत र अविश्राम गतिमा । यसबाट २५-२५ का भाग लगाएर उनका पाँचवटा संग्रह प्रकाशित भइसकेका छन्, पच्चीस प्रतिभाका नाममा । यही क्रमको पछिल्लो निरन्तरता हो, पच्चीस प्रतिभा भाग-६ । पराजुलीले अहिलेसम्म १ सय २५ प्रतिभाको इतिवृत्तिमाथि प्रकाश पारसिकेका छन् । यस भागमा उनले विस्मृतिको गर्भमा पुग्न लागेका उपन्यासकार शोभाचन्द्र खनालदेखि प्रसिद्ध कवि/पत्रकार शिव अधिकारी र तरलवादी आन्दोलनका एक अग्रज कवि विनय रावलसम्मलाई समेटेका छन् । पच्चीस प्रतिभा भाग- ६ मा परेका यी नामहरूभन्दा अझ स्थापित र साहित्य, शिक्षा, राजनीति, पत्रकारतिा आदि क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने अरू नामहरूलाई पनि समेटेका छन् । नामै किटान गर्दा, गोविन्द गोठाले, भुवनलाल प्रधान, श्रीभद्र शर्मा, भारती खरेल, दिलबहादुर नेवार, खगेन्द्र प्रधानांग, कृष्णचन्द्रसिंह प्रधान, भवानी घिमिरे, उपेन्द्र श्रेष्ठ, हेमचन्द्र पोखरेल, बालमुकुन्ददेव पाण्डे, बासु रमिाल ‘यात्री’, रामलाल अधिकारी, रुद्र खरेल आदि यस संग्रहमा परेका सिर्जनशील स्वर्गीय व्यक्तित्व हुन् । पराजुलीले उनका हरेक पच्चीस प्रतिभामा दिवंगत भइसकेकाहरूलाई मात्र स्थान दिएका छन् । यसका दुइटा कारण हुन सक्छन् ः (१) दिवंगत भइसकेपछि लेखिएको जीवनीमा कतै गलत तथ्य उल्लेख भइहाले पनि विवाद आउँदैन र खण्डन गर्न स्रष्टा स्वयं उपस्थित हुन सक्तैन र (२) एक अर्थमा मृत्यपछि मात्र मानिसको जीवनी पूर्ण हुन्छ भन्ने शाश्वत मान्यता । यी पच्चीस मानकलाई लेखकले आफ्नो लेखकीय स्वभाव अनुरूप यस संग्रहमा उनीहरूको जन्म, जन्मस्थान, पिता-माता, शिक्षा, व्यवसायदेखि मृत्युसम्मका परम्परित जीवनी लेखनको ढाँचामा संक्षेपमा चर्चा गरेका छन् । सरल भाषा र प्रस्तुतिका दृष्टिले यसलाई बालसाहित्य नै भनेमा पनि अन्यथा हुँदैन । अझ शिक्षाका हिसाबले बालकदेखि प्रौढसम्मलाई हुने जानकारीमूलक ढाँचामा लेखिएको कृति भन्दा बढी न्यायसंगत होला । यस पुस्तकको अर्को विशेषता के पनि हो भने लेखकले छानेका व्यक्तिलाई क्रमबद्ध रूपमा अध्ययन गर्दा उनीहरूसँग गाँसिएर आउने शृंखलाबद्ध घटना, पात्र र स्थितिले यो नेपाली समाज र साहित्यको लघुइतिहास हुनपुगेको छ ।

भूमिका लेखनमा प्रसिद्ध कथाकार परशु प्रधानका शब्द सापट लिएर भन्दा यो कृति ‘विशिष्ट व्यक्तित्वहरूको जीवन-परिचयको एउटा सुन्दर फूलबारी’ हो । प्रधानका अनुसार यस कृतिमा जीवनीमा हुनुपर्ने प्रामाणिकता, आधिकारकिता, यथार्थता, सत्यता मात्र होइन, बालमनोविज्ञानमा खराब प्रभाव पार्ने किसिमका घटनाहरूबाट लेखक मुक्त छन् । त्यसैले यो बाल, युवा र वृद्ध सबै उमेरका पाठकका लागि उपयुक्त छ भन्न सकिन्छ ।

नेपाल साप्ताहिक ४५७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *