Skip to content


जगदीश घिमिरेले साहित्यका विभिन्न विधामा कलम चलाएका छन् । उनको साहित्यको सूक्ष्म मूल्यांकन गरेका छन् नेपाली विषयका सह-प्राध्यापक तथा अध्येता विष्णुप्रसाद पौडेलले जगदीश घिमिरेका साहित्यिक रचनाहरूको अनुशीलनमार्फत । कृतिमा स्रष्टा घिमिरेको रोगदेखि झन्डै एक दर्जन कृतिहरू सार्वजनिक गरेको साहित्यिक यात्रा र उनका सिर्जनशील पृष्ठभूमिसम्म यसमा उल्लेख गरिएको छ । साहित्यकार घिमिरेको समालोचनाबारे पनि चर्चा गरिएको छ पुस्तकमा । द्वन्द्वात्मक भौतिकवादी प्रमेथियस (०२५), उपन्यास र योगबोध (०३३) र कर्णाली दक्खिन बग्दो छ (०६५)ले घिमिरेको समालोचनात्मक व्यक्तित्वलाई सार्वजनिक गरेको मान्न सकिने तथ्य पुस्तकमा छ । नाटककारको समेत छवि बनाएका भए पनि साहित्यकार घिमिरेको ०३४ सालमा प्रकाशित सन्तान नाटक नै एक मात्र कृति भएको पाइन्छ । जुन नाटकले राजनीतिमा लागेर सहिद भएका परविारको मनोवस्था र समाजमा आदर्शविपरीतको विद्यमान यौनलाई संकेत गरेका छन् । यात्रा-संस्मरणतर्फ पनि कलम चलाउने घिमिरेका यात्रा-संस्मरणहरूमा मूलतः स्थानीय प्रकृति चित्रण र परदिृश्यप्रतिको अन्तरक्रियात्मक संवादहरूले विशेष महत्त्व पाउने पौडेलको अध्ययन-निष्कर्ष छ । घिमिरेले कविता-यात्राको प्रारम्भिक कालखण्डमा ‘छन्दोहार’ पढेर प्रभावित भए पनि छन्दको कठोर अनुशासनलाई निरन्तरता नदिएर गद्य लयलाई नै कविता लेखनको माध्यम बनाएको पाइन्छ  । ०२२ सालमा ‘हो’ कविताबाट कविता-यात्रा थालेका स्रष्टा घिमिरेका ०३४ मा प्रकाशित आठवटा कविताको संकलन केही कथा, कविता र संस्मरण र ०६५ मा प्रकाशित कविताको अग्निसूत्र प्रमुख मानिन्छन् । ०२५ देखि ०६५ सालसम्म ४९ वटा कविताहरूको मापनबाट नै घिमिरेलाई कविका रूपमा मान्न सकिने पौडेलले धारणा अभिव्यक्त गरेका छन् । त्यसैगरी, आख्यानकारका रूपमा चर्चा र ख्यातिसमेत हासिल गरेका साहित्यकार घिमिरेका यस अन्तर्गत मूलतः तीनवटा आयाम पाइन्छन् । ती हुन्, कथाकार, उपन्यासकार र आत्मकथाकार । तीनवटा कथासंग्रहका सार्वजनिक गरेका यिनका कथाकारतिाको आयामका रूपमा विशेषतः ह्रासोन्मुख मानवीय नैतिकता, बिग्रँदो वातावरणीय समस्या, सीमान्तकृतहरूका छटपटी, नारीमाथिको उत्पीडन, कला-साहित्यकर्मीहरूका पीडा तथा सामाजिक हिंस्रक मनोवृत्तिजस्ता विषयले स्थान पाउने लेखकको तर्क छ । लिलाम (०२७) र साबिती (०३२) नामक दुई उपन्यासबाट उपन्यासकारको धरातलीय हैसियत बनाएका घिमिरेले नेपाली जीवन र समाजको जटिल तथा असंगत पाटोलाई विषयवस्तुका रूपमा अघिसार्ने प्रयत्न गरेको देखिन्छ । घिमिरे बहुमुखी व्यक्तित्वका रूपमा नेपाली साहित्यिक क्षेत्रमा स्थापित भएको तथ्यमा दुईमत छैन । उनको समग्र साहित्यिक यात्रा र जीवनका विविध पक्षहरूमाथि विहंगम र सूक्ष्म ढंगले अध्ययन/विश्लेषणपछि वास्तविकता सार्वजनिक गर्नु चुनौतीपूर्ण हो तर पनि अनुसन्धाता पौडेलले साहित्यकार घिमिरेद्वारा सिर्जित रचनाहरूको अध्ययन-अनुसन्धानपछि तयार पारेको कृति जगदीश घिमिरेका साहित्यिक रचनाहरूको अनुशीलन खँदिलो, तथ्यपूर्ण र संग्रहणीय सामग्री बनेको छ भन्नुमा सायद अतिशयोक्ति हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *