Skip to content


ए शान्तिका प्रतीक परेवा !
कुनै दिन तिमीले
शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको
हाम्रो सुन्दर यो देश नेपालमा
शान्ति ल्याउन सक्छौं भन्ने विश्वासमा
म नदीभित्र डुबुल्किरहेछु
राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई सम्झेर
आँखाबाट आँसु झार्दै
डाको छाडी म रोइरहेको छु ।

यी अश्रुधाराले तिम्रो प्वाखमा लागेको
रङ्गहीन दागलाई पखाल्यो
यसै गुणलाई सम्झेर पनि
मलाई एक्लै छाडेर
कतै पनि नजाऊ है
तिमीले यो देशमा शान्ति ल्याएर
सबै नेपालीहरूको मनलाई जित
मेरो घरमा हरेक दिन बिहान
तिमी आहाराको खोजीमा नित्य
मेरो घर आगनमा आउँदै गर
तिमीलाई कहिले चामल, कहिले मकै
मेरै हातले दिइरहने छु ।

मेरो मनको चिन्ता
नेपालमा दिगो शान्ति प्राप्तिको
यस चिन्तालाई निमिट्यान्न पार्न
मसँगै तिमी पनि प्रयत्न गर्दै गर
ए शान्तिका प्रतीक परेवा !
कुनै दिन तिमीले
हाम्रो सुन्दर यो देश नेपालमा
शान्ति ल्याउन सक्छौ भन्ने विश्वासमा
म नदीभित्र डुबुल्किरहेछु
राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई सम्झेर ।

सामाखुसी मार्ग,
काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *