प्रेम गर्नु कुनै अपराध होइन तर हाम्रो समाजमा विद्यमान जातभात र छुवाछूतले मेरो मायालाई अपराध नै साबित गरिदियो । कुरा २०६० सालतिरको हो । मैले राजेशलाई अति मन पराउँथे र ऊ पनि मलाई माया गर्दथ्यो । हाम्रो जात मिलेको थिएन । म बाहुन र ऊ क्षेत्री । हामीलाई त कुनै परवाह थिएन । त्यसैले हाम्रो प्रेम निरन्तर चलिरहृयो । एकदिन राजेशले मलाई भन्यो- हेर, अब हामीले हाम्रो मायालाई जीवित राख्न बिहे गर्नुपर्छ ।

यो त्यति सहज थिएन । मेरो घरका एकदम कट्टर थिए । मैले एकदिन यो प्रस्ताव घरमा राखेँ । यो कुरा सुनेपछि घरमा मेरो बिहे अर्कै केटासँग गरिदिने कुरा गरे तर म मञ्जुर थिइनँ । मेरो घर परिवारले हाम्रो सम्बन्धलाई कुनै पनि हालतमा बिहेमा परिणत गर्न दिने पक्षमा थिएनन् । मैले अनेक सङ्घर्ष गरेर बाबुआमा तथा नातेदारलाई सम्झाउन कोसिस गरेँ तर सफल हुन सकिनँ ।

हाम्रो माया करिब पाँच वर्ष चलिरहृयो । यस्तो परिस्थितिमा म एकदम दोधारमा थिए । मलाई सहयोग गर्ने कोही थिएनन् र मैले राजेशलाई छोड्न पनि सक्दिनथेँ उता घरपरिवारलाई त्याग्न पनि । मैले एकातिर त्याग्न पर्ने बाध्यता नै थियो । मैले घर परिवारलाई त्याग्न विवश भएँ । किनकि राजेश र मेरो मायालाई अमर बनाउनु थियो । राजेशको घरको संस्कार र मेरो घरको संस्कार फरक थियो । मेरो घर गुल्मी र उसको घर दैलेख । त्यसैले मेरो बाबुआमाले नमान्नु स्वाभाविकै थियो । तैपनि मैले आफ्नो घरपरिवारलाई त्यागेर ऊसँग सँगै बाँच्ने सँगै मर्ने बाचा कसेँ । मेरो घरपरिवारले मलाई स्वीकारेनन् । राजेशले मलाई अति माया गर्दथ्यो त्यसैले म बिस्तारै घर परिवारलाई भुल्ने कोसिसमा थिएँ । राजेशले एउटा एनजीओमा काम गर्थ्यो । म चाहिँ एम.ए. को शोधपत्र तयार गर्दै थिएँ । हामी एक अर्कामा खुशी थियौँ । म सधैँ खुशी हुन पाऊँ भनी भगवान्सँग पनि प्रार्थना गर्दथे । समय बित्दै गयो र हाम्रो एउटा छोरी पनि भयो । यतिञ्जेलसम्म पनि माइतीले मलाई बोलाएनन् । राजेशलाई पनि ससुरालीले बोलाएमा जाने साह्रै रहर थियो तर सम्भव भएन । हाम्रो बिहे भएको करिब तीन वर्ष भएको थियो । छोरी करिब दुई वर्षकी थिई । एकदिन राजेश अफिसको कामबाट नेपालगञ्जतिर गएको थियो । म र छोरी कोठामै थियौँ । त्यसै समयमा मेरो जीवनमा यस्तो क्षण आयो, जुन म सोच्न र कल्पना गर्न पनि सक्दिनथेँ । राजेश दुर्घटनामा परेछ र बेहोस भएछ । राजेशले मलाई एक घण्टा अघि मात्रै ‘म अब पुग्न लागंेँ । पुगेपछि फोन गर्छु’ भनेर फोन गरेको थियो। । म फोनको प्रतीक्षामा थिए । फोन आएन । मैले फोन गरेँ । फोन लाग्दै लागेन । म आत्तिएँ । करिब साढे नौ बजेपछि राजेशको साथीले फोन गर्‍यो र भन्यो- ‘राजेश सामान्य दुर्घटनामा पर्‍यो तर ऊ ठीक छ । अहिले अस्पतालमा छ’ । म छाँगाबाट खसे जस्तै भए । रातभरि सुत्न सकिनँ । उता अस्पतालमा नपुर्‍याउदै बाटोमा नै मृत्यु राजेशको मृत्यु भएछ । म भोलिपल्ट त्यहाँ पुग्दा उसको मृत शरीर मात्रै थियो । म बेहोस जस्तै भएँ । के गर्ने के नगर्ने सोच्न सकिनँ । सँगै बाँच्ने सँगै मर्ने बाचा कसे पनि मर्न सकिँदो रहेनछ । छोरी नभएको भए मर्थें होला जस्तो लाग्छ ।

राजेशले मलाई धेरै समय माया दिन नसक्ने भएर रहेछ औधी माया गर्थ्यो । त्यसपछि उसको मृत शरीलाई उसको घरमा लगी दाहसंस्कारपछि काजकिरिया सकी म र छोरी आफ्नो कोठामा फर्क्यौ । २७ वर्षको उमेरमा भएको दुर्घटनाको पीडा भोगि नै रहेकी छु । म सक्षम भएकीले राजेशले काम गर्ने पदमा रहेर अहिले काम गरिराखेकी छु । राजेशले म र छोरीलाई छोडेर गएको पनि करिब तीन वर्ष हुन लाग्यो । अब त छोरी पनि ‘बाबा खोइ ? कहिले आउनु हुन्छ ?’ भनी प्रश्न गर्न थालेकी छे । यसको उत्तर मसँग छैन । म एक्लै भक्कानो छोडी रुन्छु । राजेशलाई भुल्न पनि सक्दिनँ । कहिलेकाहिँ भुल्नेे कोसिस गर्दा पनि छोरीले सम्झाइदिन्छे । म अहिले छोरीको लागि बाँचेकी छु । मेरो जीवनमा यो घटना जिन्दगीभरका लागि बिर्सन नसक्ने क्षण साबित भयो । यस्तो क्षण कसैको जीवनमा आउँदैन होला । नआओस् पनि !

युवामञ्च २०६८ असार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *