ऊ एउटा निकै ठूलो बैंकमा काम गर्दथ्यो । उसको काम थियो, बैंकमा जम्मा गर्न ल्याएका पैसाको हिसाब किताब राख्नु । उसले बैंकमा काम गर्न थालेको पनि धेरै वर्ष बितिसकेको थियो । उसले अवकाश पाउने समय पनि नजिकै आइसकेको थियो ।

एक दिनको कुरो हो, बैंकमा खास काम थिएन । ग्राहकहरू पनि खासै थिएनन् । खुट्टा पसारेर आरामसँग कुर्सीमा बसिरहेको थियो । भनिन्छ खाली दिमाग शैतानको घर । दिमागमा के के कुरा घुस्छ, घुस्छ । कुर्सीमा बस्दा बस्दै उसले आफ्नो भविष्यको बारेमा सोच्न थाल्यो, मैले यस बैंकमा २५ वर्ष बिताएँ । यी २५ वर्षमा अरबौंंं रूपियाँ मेरो हातमा आए, गए । मैले के पाएँ ? २५ वर्ष पहिले म जति गरिब थिए अहिले पनि त्यति नै गरिब छु । बालबच्चा र घरको बोझ भने पहिलेभन्दा निकै गह्रौं भएको छ ।

उसले झ्वाट्ट सम्झिहाल्यो, २५-२५ वर्षसम्म काम गरिसक्दा पनि आफ्नो घर बनाउन पुग्ने पैसाको जोहो त गर्नै सकिएन । आखिर किन ?

‘आखिर किन ?’ जवाफ पनि उसले पाइहाल्यो । उसले इमान्दारीसाथ काम गर्दै आएको थियो । ती सब कुरा सोच्दा सोच्दै ऊ निर्णयमा पुग्यो, अब धनी बनेरै छाड्नेछ ।

अर्को दिन एउटा निश्चयसाथ ऊ बैंक पुग्यो । उसले बैंकबाट १० लाख रूपियाँ गायब गर्‍यो । त्यति गरेर पनि उसले अरू अपराधीले जस्तो भाग्ने कोसिस चाहिँ गरेन । फलस्वरूप प्रहरीलाई उसलाई छिट्टै आफ्नो फन्दामा लिइहाल्यो । उसको विरुद्ध मुद्दा चल्यो । अदालतद्वारा १० वर्ष जेल सजायको निर्णय सुनाइयो ।

दश वर्ष ! १० वर्षको जेल सजाय उसले आरामसँग बितायो । सजाय पूरा भएपछि ऊ घर फर्क्यो । प्रहरी निरीक्षक पहिल्यै घरमा पुगिसकेको थियो । उसलाई अचम्म लागेन । तैपनि उसले सोध्यो, “तपाईं यहाँ कसरी ?”

“तपाईंकै प्रतीक्षामा । ठीक छ, १० लाख रुपियाँ गडबड गरेबापत तपाईंले १० वर्षको सजाय पूरा गरिसक्नु भएको छ तर बैंकले अझसम्म त्यो पैसा पाएको छैन ।”

“पाउनु हुनेछ, पाउनु हुनेछ, तपाईं मलाई दुई घण्टाको समय दिनुस्,” उसले प्रहरी निरीक्षकलाई आश्वस्त तुल्याउँदै आरामसँग भन्यो ।

पच्चीस वर्षको नियमित जागिर । त्यसपछि १० वर्ष जेल सजाय । ऊ बूढो भइसकेको थियो । १० वर्षको जेल सजाय भुक्तान गर्दा उसले अत्यन्त इमान्दारीपूर्वक गर्‍यो । जेल सजायको क्रममा उसले राम्रो इज्जत कमाएको थियो । बूढोमाथि विश्वास गर्न सकिन्थ्यो । उसलाई दुई घण्टाको समय दिइयो तर जासुस पछाडि लगाउन भने पुलिसले बिर्सेन ।

निर्धारित अवधि दुई घण्टा बित्यो । बूढो १० लाख रूपियाँसहित प्रहरी चौकीमा प्रहरी निरीक्षक सामु उपस्थित भयो । उसले प्रहरी निरीक्षकलाई पैसा सुम्प्यो र फर्कन तरखर गर्‍यो ।

“एउटा कुरा हामीले बुझेनौं,” प्रहरी निरीक्षकले भन्यो- “पैसा फर्काउनु नै थियो भने फेरि गडबडी नै किन गर्न पर्‍यो ?”

“त्यो यसकारण इन्स्पेक्टर साहेब,” बूढोलाई पछ्याउन पठाइएको जासुस, जो बूढोसँगै आइपुगेको थियो, ले भन्यो- “किनभने यससँग सम्पत्ति थिएन … । १० लाख रुपियाँ पाउनासाथ यसले विभिन्न बैंकमा जम्मा गर्‍यो । अहिलेसम्ममा त्यसबाट ब्याजका रूपमा यति पैसा जम्मा भइसकेको छ, यसको परिवारले अब बाँकी जिन्दगी आरामसँग गुजार्न सक्छ । अन्यथा यसले दुःखका साथ जिन्दगी गुजार्नुपर्थ्यो ।”

“अविश्वसनीय ! अचम्मको !!” प्रहरी निरीक्षक चकित थियो ।

युवामञ्च २०६८ असार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “अविश्वसनीय”

  1. कथानुवाद राम्रो लाग्यो।
    कथानुवाद राम्रो लाग्यो। अन्त्य पनि मार्मिक छ।

    साथै यो कथानुवाद कसले गर्नुभएको हो अनि कुन भाषाबाट अनुवाद गरिएको हो त्यो जानकारी पाउन पाए राम्रो हुन्थ्यो कि।

    हुन त धेरै अगाडि पोष्ट भएको कथा रहेछ तै पनि सम्पादक ज्यु तथा अन्य पाठकहरूबाट त्यस कुराको जानकारी पाउन पाए राम्रो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *