नीतिशास्त्रमा एउटा कथा छ – एकपटक एउटा बूढो मुसोले विशाल पर्वतको फेदमा बसेर खनिरहेको देखेर एकजना सज्जनले सोधेछन्- “के गर्न लागेको मुसा भाइ !

मुसोले उत्तर दिएछ- “यस पर्वतलाई ढाल्न लागेको ।”

सज्जनले पुनः सोधेछन्- “किन र मुसा भाइ !

मुसोले सहज उत्तर दियो- “यसको पछाडि धानको विशाल फाँट छ त्यसैले ।”

सज्जनले आश्चर्य मान्दै पुनः सोधेछन्- “यस्तो उमेरमा यति ठूलो पर्वत खनेर कहिले ढाल्न सक्छौ ?”

मुसोले भनेछ- “खनिरहे एक न एक दिन त ढाल्न सकिएला नि !

कुरो सामान्यतः आश्चर्यलाग्दो छ तर यथार्थ त्यही हो । हिँडिरहे जति नै टाढा भए पनि एक दिन गन्तव्यमा पुगिन्छ । त्यस्ताले बाटामा सहयोगी पनि भेट्छन् । होइन सकिँदैन भनेर अल्छी गरे नजिकै भए पनि पुगिँदैन । पौराणिक ग्रन्थहरू साक्षी छन् – निरन्तरता दिएकाले तेस्रो पुस्तामै सही राजा भगीरथले स्वर्गको नदीलाई पनि पृथ्वीमा ल्याएका थिए । अल्छी गरेर बस्दा आफू स्वयं सक्षम छँदाछँदै पनि रावणको जिउँदै स्वर्ग जाने सिँढी बनाउने अभियान अधूरै रहेको थियो । हिँडिरहेकाले हनुमान चार कोस लामो समुद्र तरेर लङ्का पुगेका थिए । हिँड्नपर्छ मात्र भनिरहेकाले साथी जम्बवान भने उनी फर्केर आइपुग्दा पनि समुद्रको वल्लो किनारमै लडिरहेका थिए जब कि हनुमानलाई बाटो देखाउने जम्बवान नै थिए ।

एकपटक भारतीय स्वामी रामतीर्थ पानीजहाजबाट अमेरिका जाँदै थिए । उनले चिनियाँ भाषा सिकिरहेको देखेर सहयात्री अङ्ग्रेज सज्जनले सोधे- “यस्तो वृद्ध उमेरमा पनि पढ्दै हुनुहुन्छ ? पढेर के गर्ने विचार छ ?”

उनले सहज उत्तर दिए- “किन कि म दुनियाँलाई त्यस्तो सन्देश दिन चाहन्छु, निरन्तर प्रयास गरे जस्तोसुकै उमेरमा पनि केही न केही गर्न सकिन्छ ।”

प्रायः संसारमा तीन किसिमका मानिस देखिन्छन् । एकथरि निरन्तर गरिरहन्छन्, एकथरि अन्तिम समयमा आएर हतारहतार सम्पन्न गर्न खोज्छन् भने अर्काथरि गर्दै गर्दैनन् । सफलता तिनले नै पाउँछन्, जसले निरन्तर गरिरहेका छन् । गर्दै नगर्नेको त के कुरा गर्ने अन्तिम समयमा आएर हतार गर्नेले पनि केही न केही गडबड गरेकै हुन्छन् । उदाहरण खोज्न टाढा जानै पर्दैन । हाम्रै नेताहरू काफी छन् । हतपतको काम लतपत भन्ने त उखानै छ । हामीलाई कछुवाको गति थाहा छ । खरायोको गति पनि थाहा छ तैपनि दौडको बाजी खरायोले नै किन मार्‍यो त्यसबाट पनि अनभिज्ञ छैनौं । तैपनि खरायोकै गतिलाई पछ्याइरहेका छौं भने दोष कसलाई दिने ।

तपाईं असफलताको चिन्ता त गर्नुहुन्छ तर असफल किन भइयो भन्नेतर्फ चिन्तन गर्न भ्याउनुहुन्न भन्ने ठाने हुन्छ, तपाईंका लागि सफलताको ढोका अझै निकै टाढा छ । अझ असफल हुँदा आफैँ धिक्कार्ने, भाग्यलाई दोष दिने वा अरूलाई अपसज दिने बानी छ भने त्योभन्दा मूर्खता अरू हुनै सक्दैन । किनभने देश, काल, परिस्थिति त संयोग मात्र हुन्, सफलता वा असफलताको मूल जड तपाईं आफैँ हो । भाग्यले पनि त्यसैलाई पछ्याएको हुन्छ, जसले बनाएको हुन्छ । कुन काम कतिबेला गर्ने र कुन कामलाई कति भार दिने त्यसको तालिका बनाएर नियमित अभ्यासमा लाग्नेका लागि सफलता त्यति टाढा छैन । होइन, जतिबेला जसरी मन लग्यो त्यसैगरी हचुवाको भरमा गर्ने गर्नुभएको छ भने ठान्नुहोस् समय साधन र स्रोतको बरबादी बाहेक केही गरिरहनु भएको छैन ।

प्रसङ्ग महाभारतको हो । एउटा तलाउमा तीनवटा माछा बस्दथे । उनीहरूमध्ये एउटाको नाम दीर्घदर्शी, अर्कोको नाम प्रत्युत्पन्नमति र तेस्रोको नाम दीर्घसूत्री थियो । दीर्घदर्शी आसन्न सङ्कट पहिल्यै थाहा पाउन सक्थ्यो । प्रत्युत्पन्नमति कतिबेला कुन काम गर्नुपर्छ राम्रो हेक्का राख्न सक्थ्यो भने दीर्घसूत्री अल्छी थियो र ‘अहिले के हतार ? गरौंला नि ! भन्ने गर्दथ्यो । एकपटक मलाहले माछा मार्न पोखरीको पानी सुकाउन लागेछ । पोखरीको पानी घट्दै गएपछि दीर्घदर्शीले भनेछ- “साथी हो ! पानी सुक्दैछ । लाग्छ हामीलाई सङ्कटले घेर्दैछ । त्यसैले यहाँबाट निस्कन पर्छ ।”

प्रत्युत्पन्नमतिले मलाहको आँखा छल्ने ठीक समयको अनुमान लगाउँदै भनेछ- “साथी हो ! मलाई जहाँसम्म लाग्छ यही समय उपयुक्त छ । त्यसैले निस्की हालौँ ।”

दीर्घसूत्रीले भनेछ – “अहिले हतार छैन । पोखरीमा पानी अझै निकै बाँकी छ । पछि निस्कौँला ।” फलतः दुइटाले समयमै पोखरीबाट अन्यत्र जलाशयमा प्रवेश गरी प्राण बचाएछन् । दीर्घसूत्री भने मलाहको आहार बनेछ । भनिन्छ, समय आउँछ पर्खंदैन । जसले समयको गतिलाई बुझेर त्यसलाई पछ्याउन सक्छ उसको उन्नति र प्रगति हुन्छ । होइन समयको गतिलाई पनि आफ्नो पकडमा ल्याउने प्रयास गर्ने हो भने अर्थात् आफू समय अनुकूल हुने होइन समयलाई आफू अनुकूल बनाउन खोज्ने हो भने सबैको अवस्था कथाको पात्र दीर्घसूत्री माछाको जस्तै हुन पुग्छ ।

समय अनुकूल चल्ने कुमार प्रवृत्ति हो । समय आफू अनुकूल हुनुपर्छ भन्ने गणेश प्रवृत्ति हो । समय अनुकूल चल्नु पर्छ भन्ने कुमार तत्काल विश्व भ्रमणमा निस्के । समय आफू अनुकूल हुनुपर्छ भन्ने गणेश आफ्नै बाबुआमा वरिपरि घुम्न मात्र थालेनन् अग्राधिकारको बरदान हत्याउन पनि सफल भए । अहिले यही प्रवृत्ति हाबी भएकाले पुनः संसार तारकासुर (अशान्ति र अन्धकार) ले ग्रसित हुन थालेको छ । अब पनि गणेश प्रवृत्तिमै लागेर संसारको स्वरूपलाई अरू बिग्रन दिने कि कुमार प्रवृत्तिको पछि लागेर उज्यालो भविष्यको खोजी गर्ने ? हाम्रै हातमा छ ।

युवामञ्च २०६८ असार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *