सोच्थें नाता गाडा छ, बिरानो भैसकेछु म,
आऊ – जाऊ टाडा छ, पुरानो भैसकेछु म
भर पारी मलाइ, अर्कैसँग गाँस्यौ नाता,
सम्बन्ध यो छाडा छ, फलानो भैसकेछु म
कलेजीमा रोपियो, बचन रुपी छुरा यो,
बोलीमा त्यो काँडा छ, अचानो भैसकेछु म
आफ्नो पाथी भर्यौ नि, मेरा भकारी भत्काई,
मात्र रित्तो भाँडा छ, खलानो भैसकेछु म
तिमी उच्च म निम्न, भाग्यै मेरो खोटो र’छ ,
बिचमा ठुलो डाँडा छ, स-सानो भैसकेछु म
२१/०४/२०६/ “सुमन काले”
